भर्खरै :

गणेश माध्यमिक विद्यालय, भार्वाचोको ४१ औँ वार्षिक उत्सव

गणेश माध्यमिक विद्यालय, भार्वाचोको ४१ औँ वार्षिक उत्सव

भक्तपुर, ५ फागुन । गणेश माध्यमिक विद्यालय, भार्वाचोको ४१ औँ वार्षिक उत्सव कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई भनपाका जनप्रतिनिधिहरूले मार्ग दर्शकको रूपमा लिई अग्रजहरूको सुझाव र सहयोगमा कार्य गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरलाई सांस्कृतिक नगर, शिक्षा तथा ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्ने लक्ष्यअनुसार जनप्रतिनिधिहरूले निःस्वार्थपूर्वक कार्य गरिरहेका छन् । समाजवादी सिद्धान्तअनुसार भनपाले शिक्षा–स्वास्थ्यलाई प्राथमिकता राखी जनताको सेवा गर्दै आएको छ ।”
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामगरी खाने वर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले गणेश माविको स्थापना गरेको हुँदा विद्यालयले लिएको लक्ष्यलाई पूरा गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
भनपाले सस्तो शुल्बाट चिकित्साशास्त्र विषय अध्यापन गराउन ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसहित ख्वप विश्वविद्यालय विधेयक संसद्मा दर्ता गरेको तर शासक पार्टीहरूको अदूरदर्शिता एवं सङ्कीर्ण सोचको कारण उक्त विधेयक पारित नहुँदा भनपाले लिएको लक्ष्यमा बाधा पुगिरहेको छ, उहाँले भन्नुभयो ।
विद्यालयका संस्थापक एवं समाजसेवी कृष्णबहादुर दुगुजुले शिक्षा प्रचारको साथै निम्न वर्गका छोराछोरीलाई शिक्षित बनाउन यो विद्यालय स्थापना भएको बताउनुभयो ।
विद्यालयका प्रअ गणेशराम थुसाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रअ लक्ष्मीसुन्दर सुवालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवं अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा शिक्षिका सुशिला न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *