भर्खरै :

पीबीएलले विद्यार्थीलाई जुनसुकै ओहोदामा पनि सफल बनाउने

पीबीएलले विद्यार्थीलाई जुनसुकै ओहोदामा पनि सफल बनाउने

भक्तपुर, ५ फागुन । गोल्डेन गेट इङ्गलिश सेकेन्डरी स्कूलले चौथो पीबीएल मेला २०८१ भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले आजको युगमा शिक्षाले ज्ञान मात्र दिएर नपुग्ने जनाउँदै त्यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताउनुभयो । कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूको पीबीएल प्रोजेक्टहरूको प्रस्तुतीकरण नजिकबाट नियाल्दै डा. सुवालले गोल्डेन गेटले अवलम्बन गर्दै आएको नवीनतम पीबीएल शिक्षण विधिले बच्चाहरूलाई आफै संलग्न भएर हेर्ने, देख्ने, छुने, अनुभव गर्ने र निर्माण गर्ने उत्कृष्ट अवसर दिएको र त्यस्तो अवसरले ज्ञान र सीपलाई कम्प्युटरमा सफ्टवेयर इन्स्टल गरेजस्तै मस्तिष्कमा दीर्घकालीनरूपमा अमीट बनाउने बताउनुभयो ।
उहाँले पीबीएलले सानै उमेरदेखि ‘रिसर्च मेथोडोलोजी’ को समेत भरपुर प्रयोगले विद्यार्थीहरूलाई जुनसुकै ओहोदामा पु¥याउन र सफल बनाउन सक्ने विश्वास प्रकट गर्दै विद्यालयको यस्तो प्रयासमा अभिभावकहरूको सहयोगी भूमिका अपरिहार्य रहने स्पष्ट पार्नुभयो ।
काठमाडौँ विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायमा स्टिम र पीबीएल शिक्षाका उपप्राध्यापक नवीन मरासिनीले गोल्डेन गेटले डा. होवार्ड गार्नरको मल्टिपल इन्टेलिजेन्सेज सिद्धान्त र जोन डीवीद्वारा प्रतिपादित प्रोजेक्ट बेस्ड लर्निङको समिश्रणबाट विकास गरेको एमआई पीबीएल पद्धति नयाँ युग अनुकूलको सिकाइको लागि अत्यन्त उत्कृष्ट रहेको जनाउँदै विद्यालयले नेपालको सिकाइ रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उपप्राध्यापक मरासिनीले अबको शिक्षा ज्ञानको स्मरण गराउने मात्र नभई एक्काइसौँ शताब्दीका लागि आवश्यक विभिन्न सफ्ट स्किल्सहरूमा पोख्त बनाउने, बहुविषयको सट्टा अन्तरविषयक शिक्षण गर्ने र मल्टिपल इन्टेलिजेन्सेजअनुसारका क्रियाकलापहरू गराउने खालको हुन अपरिहार्य भएको र शिक्षाका यी सबै आवश्यकताहरू पीबीएल पद्धतिले मात्रै पूरा गर्ने बताउनुभयो ।
प्रिन्सिपल तथा को–फाउन्डर सिङ्ग लामाले जीवनबाट बिमुख हुँदै निर्जीवनतर्फ उन्मुख बन्दै गएको शिक्षालाई जीवन्त बनाउन वास्तविक जीवन र जगतका विभिन्न परिवेशहरूबाट सिकाइ निर्माण गराउन गोल्डेन गेटले एमआई पीबीएल पद्धति विकास गरेको जनाउँदै प्रोजेक्ट बेस्ड लर्निङको योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्मका प्राविधिक पक्षहरूबारे प्रस्तुत गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ६ का महिला जनप्रतिनिधि रोशनमैँया सुवालले विद्यालयको अनुभवजन्य व्यावहारिक सिकाइको प्रशंसा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गर्दै आएको विविध गतिविधिहरूको जानकारी दिनुभयो ।
ग्रिनल्यान्ड पब्लिक स्कूल, चितवनका पीबीएल मेन्टर मिलन न्यौपानेले गोल्डेन गेटमा विकास भएको एमआई पीबीएललाई चितवनमा कार्यान्वयन गर्दाको सुखद अनुभव बाँड्नुभयो । विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीले अध्यक्षता गरेको उक्त कार्यक्रममा शिक्षिका सेलेना श्रेष्ठ र सीईओ शिव श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको अवसरमा एमआई पीबीएलसम्बन्धी महत्वपूर्ण जानकारीहरूका साथमा ९ वटा ‘स्पटलाइट प्रोजेक्टहरू’ समेटिएको विशेष कार्यक्रम पुस्तिकासमेत प्रकाशित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *