भर्खरै :

अनुशासनले विद्यार्थीको चारित्रिक गुणको विकास गर्ने

अनुशासनले विद्यार्थीको चारित्रिक गुणको विकास गर्ने

भक्तपुर, ५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा तारा माध्यमिक विद्यालयको ४५ औँ वार्षिकोत्सव कार्यक्रम सोमबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई अनुशासित बनाउनुपर्ने उल्लेख गर्दै अनुशासनले विद्यार्थीको चारित्रिक गुणको विकास गर्ने बताउनुभयो ।
विद्यार्थीहरूलाई स्वयम्सेवी भावनाको विकास गरी जनताको निम्ति काम गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्दै उहाँले आजको सामाजिक कार्यकर्ता भविष्यका राजनैतिक कार्यकर्ता हुने हुँदा विद्यालय जीवनदेखि सक्षम र योग्य बनाउनेतर्फ शिक्षकहरूले जोड दिनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर अहिले शैक्षिक क्षेत्रमा अगाडि बढेको नगरको रूपमा विकास भइरहेको स्पष्ट पार्दै नेमकिपाका अग्रज नेता कार्यकर्ताहरूको दूरदर्शी सोचकै कारण भक्तपुरलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्यस्थलको रूपमा विकास गर्न सम्भव भएको हो भन्नुभयो ।
उहाँले विद्यार्थीहरूको जग राम्रो भए उनीहरूको भविष्य निश्चितरूपमा राम्रो हुने विचार राख्दै शिक्षाको गुणस्तर विद्यालयको भौतिक संरचनामा मात्र निर्भर नहुने बताउँदै त्यहाँ कार्यरत शिक्षक, कर्मचारी, व्यवस्थापन समितिहरूको सामूहिक प्रयासले कुनै पनि संस्थालाई दिगो र सफल बनाउने धारणा राख्नुभयो ।
सामुदायिक र निजी शिक्षालाई समान ढङ्गले विकास गर्ने प्रयास भक्तपुर नपाले गर्दै आएको चर्चा गर्दै उहाँले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गरी देशभरिका विद्यार्थीलाई सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्य लिएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुरको शिक्षा विकासमा तारा माध्यमिक विद्यालयको भूमिकाबारे प्रस्ट पार्दै विद्यालय आजको अवस्थासम्म आइपुग्नुमा यहाँका अग्रज, समाजसेवी, शिक्षासेवीहरूको महत्वपूर्ण देन रहेको बताउनुभयो ।
तारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव सुजखूले विद्यालयको विकासमा यहाँका किसान, मजदुर, शिक्षासेवी, जनप्रतिनिधि, शिक्षकहरूको भूमिकाबारे प्रस्ट पार्दै नेमकिपाको मार्गनिर्देशनमा विद्यालयको विकास भएको बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुले विद्यार्थीलाई देशभक्तिपूर्ण भावना जगाउने काममा शिक्षकहरू क्रियाशील हुनुपर्ने बताउँदै विद्यार्थीमा आत्मनिर्भरताको भावनाको विकास गर्नुपर्ने बताउनुभयो ।
तारा माविका संस्थापक अध्यक्ष पुष्पलाल सुजखूले भक्तपुरको शैक्षिक विकासमा तारा माविले उदाहरणीय कार्य गर्दै आएको बताउँदै पाठ्यक्रम कार्यान्वयन, विकास र व्यवस्थापनमा पनि तारा माविको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले धेरै समस्या र चुनौतीबिच तारा माविले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै २०३३ सालमा स्थापना भएको तारा मावि संयुक्त परीक्षा समितिको पनि सक्रिय विद्यालयको रूपमा रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायनाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अनिवार्य अवकाश प्राप्त शिक्षक कृष्णगोविन्द दुवाल, शिक्षक हरिकृष्ण प्रजापति, लेखा सहायक रवीन्द्र सुजखू, शिक्षक विनोद कासुला र शिक्षक हरिप्रसाद बास्तोलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो भने विशेष अतिथि तथा अन्य अतिथिहरूले विद्यालयको आयोजनामा भएका अतिरिक्त क्रियाकलापका विजेताहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले विद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षक कृष्णगोविन्द दुवाललाई दोसल्ला ओढाई बिदाइ गर्नुभयो ।
विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *