भर्खरै :

प्रज्ञाले बेच्यो पाँच लाखको किताब

काठमाडौँ, २५ माघ (रासस) ः नेपाल प्रज्ञा–प्रतिष्ठानले पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा रु पाँच लाखको पुस्तक बिक्री भएको छ । दर्शन, साहित्य, धर्म, राजनीति, समाज विषयवस्तुलगायतमा विभिन्न लेखकले रचना गरी प्रतिष्ठानले प्रकाशन गरेका कृति प्रदर्शनीमा समावेश गरिएको थियो ।
नोबेल पुरस्कार विजेता ‘रवीन्द्रनाथ ठाकुरका बीस प्रतिनिधि कथा’ एक सय थानभन्दा बढी बिक्री भएको छ । ‘दर्शनावली’ भाग १ देखि ४ सम्मका कृति र ‘पौरष्य दर्शनमा भौतिकवाद’ पनि राम्रै बिक्री भएको छ । प्रदर्शनीका संयोजक सुधिर ढुंगेलका अनुसार विसं २०३० देखि हालसम्मका प्रकाशन राखिएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० मूल्यका किताब थिए ।
तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको शुभजन्मोेत्सवमा प्रकाशित ‘काव्यार्चना’ कृति रु तीनमा पाइएको थियो भने ‘प्रज्ञा नेपाली–अंग्रेजी शब्दकोश’को मूल्य रु एक हजार ४०० निर्धारण गरिएको थियो । केही विदेशी लेखकका अनूदित कृतिसमेत प्रदर्शनीमा थिए । विसं २०६७ सम्मका कृतिमा ६० प्रतिशत तथा २०६८ देखि हालसम्मका पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानले केही चित्र समेत सोही प्रदर्शनीमा समावेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *