प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
महान् पुस्तक त्यही हुन्छ जसले पाठकलाई ज्ञानबोध गराओस् । एउटा युवा मानिसका रूपमा कार्ल माक्र्सका बारेमा अध्ययनको प्रयास गर्दा ममाथि के गहिरो प्रभाव पर्यो भने उहाँको लेखन अबोध्य छ । निःसन्देह यसको अर्थ माक्र्सका सिद्धान्त र विचारमा पाठकलाई चेतनाबोध हुँदैन भन्ने होइन । आजको संसारमा उनीहरू माक्र्सको पक्षमा हुन् वा नहोऊन् माक्र्सद्वारा प्रतिपादित विचार, सम्पूर्ण मानवीय क्रियाकलाप वस्तु उत्पादन, आध्यात्मिक उत्पादन र सामाजिक पुनरुत्पादनमा वर्गीकृत रहेकोमा मानिसहरू सहमत छन् ।
अचिन्तनीय मुद्दा माक्र्सको कथाको प्रतीक हो र यो अचिन्तनीय मात्र होइन विस्मयकारी पनि छ ।
माक्र्सको जन्म सम्पन्न परिवारमा भएको थियो । २३ वर्षको उमेरमा उहाँले विद्यावारिधि हासिल गर्नुभयो । २५ वर्षमा उहाँको विवाह बारोनेससँग भयो । ती एकजना प्रमुख सरकारी अधिकारीकी छोरी थिइन् । त्यसपछि उहाँ राइनेस जाइटुङको सम्पादक हुनुभएको थियो । त्यस समयमा उहाँको मित्र या त लखपति थिए या उच्च अधिकारी । एउटा उज्ज्वल भविष्य उहाँको अगाडि थियो । के उहाँ त्यो मार्गमा अग्रसर हुनुभयो ? युवा डा. माक्र्स सर कार्ल, मन्त्री कार्ल, राष्ट्रपति कार्ल वा केही नभए प्राध्यापक कार्ल त हुनसक्नुहुन्थ्यो ।
तथापि एउटा खतरनाक र जटिल परिवर्तन अचानक उहाँमाथि आइलाग्यो । २५ वर्षको उमेरमा माक्र्सले सबैखाले भावी सम्मान र आफूलाई मिल्ने सम्पत्तिका सबै मार्ग अकस्मात् छाडेर आफ्नो जीवनका आगामी चार दशक स्थायी स्थानान्तर, कडा परिश्रम, क्रान्ति र सङ्घर्षमा व्यतीत गर्नुभयो । उहाँले रोजेको यस मार्गले उहाँको परिवार घोर गरीबीको दुष्चक्रमा फस्यो । लखपतिका छोराको जीवन हात मुख जोड्नमै सीमित भयो भने अभिजात वर्गको परिवारमा जन्मिएकी सुन्दर महिला, उहाँको श्रीमतीले थोरै पाउरोटीका लागि आफ्नो विवाहको औँठी बन्धकी राख्नु परेको थियो । लामो दिन काम गरेपछि एक छिनको निद्रा नै यी महान् मानिसको हार्दिक इच्छा बन्यो । सन् १८८३ मार्च १४ मा उहाँ आफ्नो काम गर्ने डेस्कमा निदाउनुभयो र त्यो यस्तो निद्रा थियो जसबाट उहाँ कहिल्यै बिउँझनु भएन ।
तर्क र अनुभूतिले माक्र्सको नियति व्याख्या गर्दैन नै । उहाँको इच्छा पनि वर्णन हुँदैन । उहाँ समस्या खोज्दै हुनुहुन्थ्यो जस्तो लाग्थ्यो । एउटा सम्भावित व्याख्या उहाँले १७ वर्षमा लेखेको रचनामा देखिन्छ जो मानव कल्याणका लागि काम गर्छ र सबैका लागि आफ्नो जीवन समर्पित गर्दछ ऊ सबैभन्दा खुसी मानिस हो । २३ वर्षको उमेरमा उहाँद्वारा लिखित विद्यावारिधिको व्याख्यानमा अर्को सम्भावित स्पष्टीकरण देखिन्छ : “अनुभव वा तर्कवितर्कले अको हासिल हुँदैन, अरूलाई हेरेर, उनीहरूको अनुरोध सुनेर र उनीहरूका लागि काम गर्न प्रतिबद्ध भएर यो प्राप्त हुन्छ ।”
व्यक्तिगत अवधारणाबाट माक्र्सको जीवन २५ वर्षपछि ओरालो लागेको देखिन्छ । तर मानवीयताको दृष्टिकोणबाट हेर्दा माक्र्सको जीवन २५ वर्षको उमेरदेखि महिमाको शिखरतर्फ बढेको थियो ।
व्यक्तिगत दृष्टिकोणबाट माक्र्सको वृत्तान्त अचिन्तनीय लाग्नसक्छ किनभने उहाँको जीवनले मानवताको रहस्यमय र विस्मयकारी नियतिको प्रतिनिधित्व गर्दछ । माक्र्सका बारेमा सम्झनु पर्ने मुख्य बुँदा के हो भने उहाँको नियति मानवताको जस्तो समान छ ।
त्यसो भए मानवताको नियति के हो इम्यानुयल क्यान्टले समयका साथ एउटा ठुलो घर निर्माण हुने सरह मानव जातिको विचारलाई लिनुभएको छ । पुस्तौँसम्मको कडा परिश्रमपछि अन्तिम पुस्ता मात्र खुसीसँग आत्मसात गर्नसक्छ । कैयौँ पुर्खाले कडा परिश्रममा योगदान दिए र घर निर्माण गर्न सङ्घर्ष गरे तर उनीहरूले त्यहाँ जीवन व्यक्ति गरेर खुसी हुन पाएनन् ।
क्यान्टले भनेको कुरा जहाँसम्म हामीले स्वीकार गर्दा मानवजाति ज्ञानवान छ र चैतन्यसँग जीवन सिर्जना भए पनि हामी नश्वरजाति हौँ । प्रजाति आफैँमा कहिल्यै मर्दैन तर अन्ततः हाम्रो क्षमताले भ्याएसम्म पूर्ण शक्तिका साथ विकसित हुन्छ । जस्तो कि क्यान्टले प्रस्तुत गर्नुभएको छ मानवीयताको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको अरुका लागि काम गर्नु र आफ्नो सन्तानका लागि ज्यान दिनु हो ।
माक्र्सले यसलाई दास गाटेङस्वेसन भन्नुभएको थियो । उहाँले विचार गर्नुभयो नागरिक समाजमा पुँजीवाद बढ्दै जाँदा र व्यक्तिले निजी स्वार्थमा लाग्दा दास गाटेङस्वेसन कमजोर हुन्छ । सन् १८४४ मा आफ्नो इकनोमिक्स एन्ड फिलोसोफिकल म्यानुस्क्रिप्ट्स लेखनद्वारा यसलाई बनाइराख्ने सङ्कल्प लिँदा उहाँ २५ वर्षको हुनुहुन्थ्यो । मेरो विचारमा माक्र्सको जीवनमा परिवर्तन यसैबाट निर्धारण भएको थियो ।
सबै मानवको नियतिको तुलना गर्दा माक्र्सको दृष्टिकोणमा व्यक्तिको सफलता वा असफलता सानो लाग्छ । हाम्रो आफ्नै भाग्यसँग तुलना गर्दा मानवताको भाग्य धेरै टाढा र हात नलाग्ने चिन्तन हुन्छ । यसै कारणले आज मानिसलाई माक्र्स अचिन्तनीय लाग्नुहुन्छ । हामी उहाँलाई मानवीयताको अवधारणाबाट सम्झन सक्छौँ तर हाम्रो निजी जीवनका दृष्टिकोणबाट होइन । यसर्थ, पाठकलाई ज्ञानको बोध गराउन एउटा पुस्तकका लागि यो कत्तिको महत्वपूर्ण छ ।
मानव इतिहासको प्रगतिलाई कृतघ्नताको इतिहास भन्नु वा लाभउपभोग सन्तानले मात्रै गर्ने विचार राख्नु तथा पहिलेका बलिदान, श्रम र सङ्घर्षका बारेमा सोच्न नचाहनुमा मलाई घृणा लाग्छ । म स्पष्ट रूपमा के भन्छु भने विश्वका सबै श्रमिक कार्ल माक्र्सप्रति ठुला ऋणी छन् । उहाँको सिद्धान्त, सङ्घर्ष र बलिदानबिना उनीहरू आफ्नो ढाड भाँचिने श्रमका बिच एक घुटको पानीको अधिकारका लागि अझै लडिरहेका हुन्थे ।
मेरो विचारमा यो हामी तथा कार्ल माक्र्स र माओबिचको अन्तर हो । आज हामी कार्ल माक्र्स र माओ त्सेतुङका वृत्तान्त विश्वका लाखौँ लाख सामान्य श्रमिकलाई सुनाउँछौँ र ती सबै जो जीवनलाई माया गरी राम्रो शिक्षा, जागिर, तलब, सामाजिक सुरक्षा, चिकित्सा सेवा, घरका आकाङ्क्षी, आवास व्यवस्था र वातावरण चाहन्छन् तथा ती सबै जो आफ्नो बच्चा भोकमरीमा, युद्ध वा उत्पीडनमा नबाँचून् भन्ने आशा गर्दछन् ।
विश्वलाई माक्र्सवाद र माओ त्सेतुङको खाँचो छ किनभने विश्वलाई उज्यालो चाहिएको छ ।
साभार : माओ त्सेतुङबारे अध्ययन
Leave a Reply