भर्खरै :

“शासक दलका नेताहरुसँग दास मानसिकता रहेसम्म देशको विकास सम्भव छैन”

“शासक दलका नेताहरुसँग दास मानसिकता रहेसम्म देशको विकास सम्भव छैन”
  • दोस्रो कार्यकालको लागि निर्वाचित गर्न पहिलो कार्यकालमा जनताका लागि के के काम गर्नुभयो ?
    हामी पाँच वर्षको लागि निर्वाचित भएका थियौँ । निर्वाचनको बेला जारी गरेको घोषणापत्रअनुसार हामीले काम ग¥यौँ । घोषणापत्रमा उल्लेख भएका बुँदाहरूमात्र होइन त्यस बाहेक पनि जनताको हितमा अन्य धेरै कामहरू पनि ग¥यौँ । जनताका लागि अति आवश्यक शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम ग¥यौँ । वडा–वडामा शिशुस्याहार केन्द्रहरूको व्यवस्थित सञ्चालन, विद्यालयहरूमा गुणस्तरीय शिक्षाको व्यवस्थादेखि नगरपालिकाले सातवटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेका छौँ । अहिले पनि देशैभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरू उच्च शिक्षामा अध्ययनरत छन् ।
    गरिबीको कारण कोही पनि उच्च शिक्षाबाट वञ्चित हुन नपर्ने गरी शैक्षिक ऋणको व्यवस्था ग¥यौँ । अहिले ७५१ जना विद्यार्थीहरू नगरपालिकाबाट रु. ५ लाखसम्मको शैक्षिण ऋण लिएर उच्च शिक्षा अध्ययनरत छन् । नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई वार्षिक रु. चार करोडभन्दा बढी रकम बराबरको छात्रवृत्तिको व्यवस्था गरेका छौँ । नेपालको आवश्यकता डाक्टर र इन्जिनियरमात्र होइन । इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्री, राजनीतिशास्त्र, नेपालभाषालगायतका जनशक्तिको आवश्यकतालाई ध्यानमा राखेर ती विषयमा अध्ययन गर्ने नगरवासी विद्यार्थीहरूका लागि विद्यावारिधिसम्म छात्रवृत्ति प्रदान गर्दै आएका छौँ । नगरपालिकाको छात्रवृत्तिमा अहिले ९ जनाले एमफील/पीएचडी गरिरहेका छन् भने स्नातक र स्नातकोत्तर गर्ने विद्यार्थीहरू पनि धेरै छन् ।
    स्वास्थ्य क्षेत्रमा घरदैलो नर्सिङ सेवा, वडा–वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालन र १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरिरहेका छौँ । नगरवासीहरूका लागि निःशुल्क अक्सिजन र रगत पनि वितरण गरिरहेका छौँ । घर–घरमा गएर ज्येष्ठ नागरिक, सुत्केरीको हेरचाह तथा असहायहरूका लागि आवश्यक सेवाको पनि बन्दोबस्त गरेका छौँ ।
  • यस्तो रचनात्मक कार्यको अरु पालिकाहरूले किन अनुशरण गर्न नसकेका हुन् त ?
    त्यो उहाँहरूको कुरा हो । विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भक्तपुर अध्ययन भ्रमणमा आउनुहुन्छ । हामीले गरेका कामहरू देखाउने गर्छौँ । हाम्रा कलेजहरू र अस्पताल अवलोकन गर्नुहुन्छ । त्यहाँ अध्ययनरत विद्यार्थी सङ्ख्या, परीक्षामा उत्तीर्ण प्रतिशत सुनेर आश्चर्य मान्नु हुन्छ । आफूहरूले पनि यसरी नै कलेज र अस्पताल सञ्चालन गर्ने बताउनुहुन्छ ।
  • यतिखेर विद्यार्थीहरू कक्षा १२ उत्तीर्ण गरेर विदेश जाने गरेका छन् । यहाँहरूले रोक्नका लागि के गरिरहनुभएको छ ?
    अहिले विद्यार्थी विदेश जाने लहर चलिरहेको साँचो हो । केही विदेशी एजेन्टहरूले विदेशमा रुखमै पैसा फल्नेजस्ता प्रचारप्रसार गर्दै छन् । त्यसको प्रभाव कलिला विद्यार्थीहरूमा पर्नु स्वाभाविक हो । यसमा विद्यार्थीहरूको मात्र दोषभन्दा पनि कतिपय प्राध्यापकहरूको दोष छ भने सरकार बढी दोषी छ । प्राध्यापकहरूले विद्यार्थीहरूलाई देशभक्ति भावना सिकाएको भए र सरकारले श्रमसँग जोडिएको शिक्षा प्रदान गरेको भए अहिलेको जस्तो वर्षको लाखौँको सङ्ख्यामा विद्यार्थीहरू बिदेसिने थिएनन् । प्राध्यापकहरूले नै विद्यार्थीलाई विदेशमा जाने परामर्श दिन्छन् । प्राध्यापनबाट भन्दा म्यानपावर कम्पनीबाट बढी तलब बुझ्ने प्राध्यपकहरू पनि नभएका होइनन् । कतिपय विद्यार्थीहरू अरुको लहैलहैमा पनि विदेश गइरहेका छन् । हरेक विद्यार्थीसँग एउटा/एउटा सीप हुनुपर्छ भन्ने उद्देश्यले व्यापकरूपमा विभिन्न किसिमका सीपमूलक तालिमहरू सञ्चालन गर्दै छौँ । युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न प्लम्बिङ, इलेक्ट्रिसियन, चिनियाँ भाषा, जापानी भाषा, सिलाइ, कुक तालिमजस्ता सीपमूलक तालिमहरू दिई स्वरोजगार र आत्मनिर्भर बनाउने कोसिस गर्दै छौँ । रोजगारी आफूले खोज्ने होइन, रोजगारीले आफूलाई खोज्ने वातावरण सिर्जना गर्नमा हाम्रो कोसिस भइरहेको छ । धेरैको सङ्ख्यामा दक्ष जनशक्ति देशको लागि आवश्यक छ ।
  • अब यो कार्यकालमा गर्न बाँकी के कस्ता कार्यहरू छन् त ?
    पहिलो, ख्वप विश्वविद्यालय सञ्चालन हो । हामीले कलेजहरू सञ्चालन गरिरहेका छौँ । धेरै विषयहरूमा स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गरिरहेका छौँ । हामीले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने अवसर दिन सकिरहेका छैनौँ । सांसद प्रेम सुवालले संसद्मा बरोबर ख्वप विश्वविद्यालयको विषयमा आवाज उठाइरहनुभएको छ । तर, पनि यो विषयमा सरकारले ध्यान दिएको छैन । हाम्रोभन्दा पछिका थुप्रै विश्वविद्यालयले सम्बन्धन पाइसकेका छन्, जस्तो मधेस विश्वविद्यालय, राजश्री जनक विश्वविद्यालय, नेपाल विश्वविद्यालय आदि । अन्य विश्वविद्यालय सञ्चालन गरेकोमा हामी खुसी नै छौँ । तर, ख्वप विद्याविद्यालय विधेयक किन अगाडि बढाइएन भन्नेमात्र हाम्रो प्रश्न हो ।
    हालै हामीले मधेस विश्वविद्यालय अवलोकन ग¥यौँ । अन्य विश्वविद्यालयहरूको पनि अध्ययन गरेका छौँ । भक्तपुर नगरपालिकाले त्यत्रो संरचना बनायो, देशभरिका विद्यार्थीहरूलाई पढाइरहेको छ, अरुको भन्दा त्यहाँ के कुराको कमी छ र ? तर, पनि विश्वविद्यालय विधेयक पारित गर्नमा ढिलाइ भइरहेको देख्दा अचम्म लाग्छ ।
    दोस्रो, भक्तपुर नगर दुवैतिर खोलाले घेरिएको नगर हो । धेरै जनसङ्ख्या भएको हुँदा फोहोर प्रशोधन गरेरमात्र सफा पानी खोलामा पठाउनेतर्फ हाम्रो ध्यानकेन्द्रित छ । अहिले फोहर पानी प्रशोधन केन्द्रहरू (उपचार पोखरीहरू) निर्माणका क्रममा छन् ।
    तेस्रो, भक्तपुरमा एउटा कला सङ्ग्रहालय छ । कला सङ्ग्रहालय मल्लकालीन र राणाकालीन गरी दुई शैलीमा निर्माण गरिएको छ । हामीले त्यो दरबारलाई मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न संस्कृति मन्त्रालय, पुरातत्व विभाग र नगरपालिकाबिच त्रिपक्षीय सम्झौता गरेका छौँ । विश्व सम्पदा क्षेत्रमा सूचिकृत दरबार क्षेत्रमा अवस्थित उक्त कला सङ्ग्रहालय पुनःनिर्माणमा युनेस्कोको पनि अनुमति चाहिन्छ भनेपछि घोषणापत्रमा उल्लेख भए पनि हामीले चाहेर पनि त्यो काम अगाडि बढाउन सकेका छैनौँ ।
    यसबाहेक अन्य धेरै वटा योजनाहरू सम्पन्न गरिसकेका छौँ । अहिले अरनिको सभाभवन निर्माण गरिरहेका छौँ । जनताको गुनासो कम आउने गरी कामहरू गर्ने प्रयास गर्दै छौँ । जनताले पनि नगरपालिकाको हरेक काममा साथ दिइरहका छन् ।
  • नेपाल मजदुर किसान पार्टी भक्तपुरमा मात्र सीमित भयो भन्नेहरूलाई तपाईँ के भन्नुहुन्छ ?
    त्यो साँचो होइन । हामी अहिले वीरगञ्जमा पार्टी कार्यकर्ताहरूसँग भेटघाटको क्रममा छौँ । मधेस प्रदेशका विभिन्न जिल्लाका साथीहरूसँग भेटघाट गर्ने हाम्रो कार्यक्रम छ । हाम्रा साथीहरू जिल्ला–जिल्लामा गएर काम गरिरहनुभएको छ ।
    एउटा कुरा के स्पष्ट पारौँ भने पार्टी भनेको भीड होइन । सिद्धान्त, विचार र दर्शनमा आधारित सङ्गठित जमात नै पार्टी हुने गर्छ । जसरी भए पनि चुनावमा धेरै मत लिएर जितेको आधारमा ठुलो पार्टी भन्नु सही हुँदैन । पार्टीको घोषणापत्रअनुसार काम गरेको छ छैन, सिद्धान्त र व्यवहार मेल खान्छ खान्दैन । त्यसको आधारमा पार्टीको मूल्याङ्कन गर्नुपर्दछ । नेमकिपाले सिद्धान्तअनुसारको व्यवहार गरिरहेको छ । शासक पार्टीहरूले सिद्धान्त एउटा, व्यवहार अर्को प्रदर्शन गरिरहेको सबैले देखेकै छन् । शासक दलका नेताहरूले पटक–पटक जनतालाई विश्वासघात गरेका छन् । अझै उनीहरू नै चुनाव जित्दै पनि छन् । यसको अर्थ के हो भने जनता राजनैतिकरूपले अझै सचेत भइसकेका छैनन् भन्ने हो ।
    नेमकिपाले प्रतिक्रियावादीहरूलाई सजिलैसित जित्न नदिन, जनविरोधी विधेयकहरू संसद्बाट पास हुनबाट रोक्न र जनताको पक्षमा कानुन निर्माणमा बल पु¥याउन निर्वाचनलाई उपयोग गर्दै आएको हो । पैसा र शक्तिको बलमा चुनाव जित्ने अवस्था भएसम्म इमानदारीपूर्वक जनताको सेवा गर्नेहरूलाई चुनाव जित्न गा¥हो हुनेछ । विचारको आधारमा चुनाव लड्ने हो भने धेरै ठाउँमा नेमकिपाको जीत निश्चित छ ।
  • भक्तपुरमा धेरै मतले जित्ने तर अरु ठाउँमा नजित्नुको कारण के होला ?
    जनताले मत दिए जित्ने हो । भक्तपुर हाम्रा साथीहरूले पहिलेदेखि नै जनहितमा धेरै कामहरू गर्नुभएको ठाउँ हो । त्यहाँका जनता राजनैतिकरूपले सचेत भए । जनताले नेमकिपाको सिद्धान्त र विचारलाई बुझेका छन् । हामीले चुनावमा कहिल्यै व्यक्तिगत पैसा खर्च गरेनौँ र कमाउने सोच पनि राखेका छैनौँ । राजनीतिमा लाग्नु भनेको जनताको सेवाको लागि हो भन्ने हाम्रो पार्टीको मान्यता छ । हामी जनप्रतिनिधिहरू पार्टीको त्यही भावनाअनुसार काम गर्दै छौँ ।
  • नेपालमा जनता सर्वाधिक मारमा परेको विषय भनेको शिक्षा र स्वास्थ्य नै हो नि !
    स्वास्थ्यको कारण वर्षको ५ लाख नागरिकहरू गरिबीको रेखामुनि जाने गरेको तथ्याङ्क छ । सरकारले राम्रो व्यवस्था गर्न नसक्दा यस्तो अवस्था आएको हो । नेका, एमाले र माओवादी पटक–पटक सरकारमा गए पनि गरिब जनताको जीवनस्तरमा कुनै भिन्नता आएको छैन । शासक दलहरूले आफू सरकारमा बसुञ्जेल केही नगर्ने, सरकारबाट हट्नासाथ सरकारको आलोचना गर्ने गरेका छन् । यो नै पुँजीवादको एक विकृत रूप हो । पुँजीपतिवर्गले जहिले पनि आफ्नो वर्गीय स्वार्थका लागि मात्र काम गर्छन्, जनताको हितलाई ध्यान दिँदैनन् ।
  • विकासको अपार सम्भावना भएर पनि किन देशले विकासको गति लिन सकेन ?
    कुरा प्रस्ट छ, सरकारले विकासतर्फ ध्यान नदिनु । जस्तो यो वर्ष नेपाल सरकार र चीन सरकार मिलेर पर्यटन वर्ष घोषणा गरेको छ । उद्घाटन कार्यक्रम भक्तपुरमा भयो । सरकारले त्यस कार्यक्रमलाई प्राथमिकतामै राखेन ।
    प्राकृतिक स्रोतमा धनी देश भएर पनि प्राकृतिक स्रोतहरूको संरक्षणमा सरकारले ध्यान दिएन । पुँजीवादी राज्य व्यवस्था भएसम्म यस्तै हुन्छ । थोरै मान्छेमा धेरै सम्पत्ति केन्द्रीकृत हुँदै जानु नै पुँजीवादी व्यवस्थाको विशेषता हो । राज्यले कल कारखाना खोलेको भए मजदुरहरूले रोजगारीको अवसर पाउने थिए । तर, विडम्वना ! सबै कलकारखानाहरू निजीकरण गर्दै छ ।
  • देश र जनताको निम्ति काम गर्ने भन्नेहरूकै कार्यकालमा देशले दुर्दशा भोग्नुपर्यो अनि जनता हेरेको हेरै ?
    एमाले र माओवादीहरू आफूलाई कम्युनिस्ट दाबी गर्छन् । ती पार्टीहरूले कम्युनिस्ट सिद्धान्तअनुसार काम गरेनन् । उत्पादनका मुख्य मुख्य स्रोतहरू सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने, आर्थिक समानता, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त नै समाजवादी नीति हो । तर, उहाँहरूकै सरकारको पालामा धेरै उद्योगहरू निजीकरण गरियो । अहिले मुख्य मुख्य ९ वटा उद्योगहरू निजीकरण गर्दै छ । सबै कुरा निजीकरण भएपछि राज्य कसरी बलियो हुन सक्छ ? महिनाको १ खर्ब जति व्यापारघाटा छ । ६ महिनामा ८ खर्ब बढीको आयात छ तर १ खर्बको पनि निर्यात छैन । बजेट घाटा हेर्ने हो भने पनि यस अवधिमा एक खर्ब घाटा देखाइएको छ । राजस्व उठेको भन्दा बढी खर्च भइरहेको छ ।
  • आज नेपाल निकै तल्लो अवस्थामा पुग्यो । यो दुर्दशा किन भयो ?
    नेपालको सम्पत्ति सबै विदेशीको हातमा सुम्पिएर देश कसरी धनी हुनसक्छ ? यो नियोजितरूपले नै दुर्दशा निम्त्याइएको हो । सबै विदेशी ऋणको भरमा काम गर्ने, एउटा पनि काम सरकार आफैले नगर्ने, २६ खर्ब सार्वजनिक ऋण पुगेको छ । देश ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ ।
  • जनतामा आशा भरोसा जगाउन के गर्नुपर्ने देखिन्छ ?
    राजनैतिक दलहरूले सिद्धान्तअनुसारको व्यवहार गर्नु आवश्यक छ । कम्युनिस्टहरूले कम्युनिस्ट आचरण र व्यवहार देखाउने, काङ्ग्रेसले काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादी विचारअनुसार काम गर्ने हो । अहिले सबै विदेशीको मुख ताक्नेतर्फ लागे । देश परनिर्भर हुँदै गयो । एउटा स्कूलको छाना छाउन पनि एनजीओ, आईएनजीओको मुख ताक्ने परिस्थिति सिर्जना भएको छ ।
    आत्मनिर्भरतालाई जोड दिनुपर्छ । पर्यटन, खनिज, जलस्रोत, जडिबुटी, कृषि आदिमा धेरै सम्भावना छ । त्यसैमा बसेर विकास खोज्नुपर्छ । प्राकृतिक सुन्दरताको दृष्टिले नेपालजस्तो देश विश्वमा कतिवटा छन् र ? त्यति हुँदाहुँदै पनि उपलब्ध स्रोत र साधनको समुचित व्यवस्थापन हुन सकेन । आर्थिकरूपमा दरिद्र हुनुभन्दा चिन्तनमा दरिद्र हुनु झन् खतरनाक हुन्छ भने देखियो । दास मानसिकतालाई त्याग्नुपर्छ । शासक दलका नेताहरूसँग दास मानसिकता रहेसम्म देशको विकास सम्भव छैन ।

(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग टीभी वीरगञ्जको चर्चा परिचर्चा कार्यक्रमका प्रस्तोता उज्ज्वल घिमिरेले २०८१ माघ १४ गते वीरगञ्जमा लिनुभएको अन्तर्वार्ताको सार – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *