भर्खरै :

अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम

  • फाल्गुन ९, २०८१
  • सविनराज लामिछाने
  • विचार
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनको लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरूआत भएको हो ।
स्वास्थ्य सेवामा प्रभावकारीरूपमा सबैको पहुँच सुनिश्चित गर्नको लागि फार्मेसी विषयका दक्ष जनशक्तिमार्फत अस्पतालहरूबाट आफ्नै फार्मेसी सेवा सञ्चालन गरी बिरामी एवं सेवाग्राहीलाई औषधि तथा औषधिजन्य पदार्थहरू उपलब्ध गराउन अस्पताल फार्मेसी निर्देशिका २०७२ जारी भएको थियो । उक्त निर्देशिका लागु भएपश्चात् देशभित्रका सबैजसो अस्पतालहरूले आफ्नै फार्मेसीमार्फत सेवा प्रदान गर्ने कार्यको सुरूआत भयो ।
अस्पतालमा स्वास्थ्योपचारका लागि आउने सेवाग्राहीहरू रोगको पहिचानपश्चात् चिकित्सकबाट सिफारिस भएका औषधि लिनको लागि अस्पताल फार्मेसीमा पुग्दछन् । फार्मेसीमा सीमित स्रोतसाधन, संरचना एवं जनशक्तिमार्फत उच्चतम सेवा प्रवाह गर्नुपर्ने अवस्था हामीमाझ रहेको छ । बीमा कार्यक्रमलाई आम नागरिकले सरल, सहज एवं प्रभावकारी रूपमा सेवा लिनसक्ने अवस्थाको निर्माण गर्नुपर्नेछ । जसका लागि अस्पताल फार्मेसीबाट प्रवाह हुने सेवालाई विभिन्न कोणबाट अध्ययन गरी देखापरेका समस्याहरू साथै चुनौतीलाई निश्चित गर्दै समाधानको बाटो पहिल्याई सेवालाई सवलीकरण गर्नुपर्ने देखिन्छ ।
विभिन्न चुनौतीका विषयहरूलाई आधार मानी कार्य अनुभवका आधारमा समाधानका पाटाहरू यसप्रकार प्रस्तुत गरिएको छ –

वर्तमान चुनौती

सेवा प्रवाहतर्फ :
१. स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अस्पताल फार्मेसीबाट पूर्णरूपमा औषधि प्राप्त गर्न नसकेको गुनासो बारम्बार प्राप्त हुने गरेको,
२. स्वास्थ्य बीमाले निर्धारण गरेको सूचीभन्दा बाहेकका औषधिहरू बिरामीको उपचारको लागि चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सिफारिस गर्नुपर्ने अवस्था हुने भएकोले साथै बीमा कार्यक्रमले निर्धारण गरेको औषधि सूचीले सम्पूर्ण प्रकारका औषधिहरूलाई समेट्न नसकेको हुनाले आम नागरिकले अस्पताल फार्मेसीले औषधि उपलब्ध गराउन नसकेको भन्ने धारणा बनिरहेको,
३. एकातिर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिमितको सङ्ख्या बढ्दो क्रममा रहेको र अर्कोतर्फ औषधिको भण्डारण बिक्री–वितरण एवं परामर्शको लागि पुरानो सीमित स्रोतसाधन, संरचना एवं दक्ष जनशक्तिमार्फत सेवा प्रवाह गर्नुपर्ने भएकाले छिटो छरितो रूपमा कार्य सम्पादन गर्न नसकिएको अवस्था देखापरेको,
४. स्वास्थ्य बीमा लागु भएका इन्स्टिच्युसन सप्लाईतर्फ उपलब्ध हुने औषधिको गुणस्तरीयता एवं विश्वसनीयता सम्बन्धमा गुनासो आइरहनु,
५. प्रोत्साहनको कमी ।

कानुन निर्माणतर्फ

१. औषधि खरिदका लागि आवश्यक कानुन निर्माण नभएको हुँदा सार्वजनिक खरिद ऐन नियमावलीको अधीनभित्र रही सम्पूर्ण प्रकारका औषधिहरू उपलब्ध गराउनुपर्ने अवस्था छ,
२. उत्पादक, पैठारीकर्ता, टेन्डरका सप्लायर्स र खरिदकर्ताबिच औषधिको अटुट रूपमा उपलब्धता सुनिश्चित हुने अवस्थाको निर्माण गर्न आवश्यक नीति नबन्नु ।

सफ्टवेयर विकासतर्फ

१. हालसम्म मन्त्रालयले तोकेबमोजिमका कार्यहरूमा एकरूपता ल्याउने गरी फार्मेसी सञ्चालनको सफ्टवेयर नतोकिनु ।

समाधानको पाटो
१. औषधि खरिदको लागि आवश्यक कानुन निर्माण नभएको हुँदा यथाशीघ्र औषधिजन्य, सर्जिकलजन्य, चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सिफारिस हुने पुर्जामा भएका वस्तुहरूलगायत उपलब्ध गराउनको लागि प्रचलित सार्वजनिक खरिद ऐन नियमावली, अस्पताल फार्मेसी निर्देशिकामा औषधि खरिदसम्बन्धी विशेष कानुनी प्रबन्ध मिलाउनुपर्ने देखिन्छ वा औषधि तथा औषधिजन्य वस्तु खरिदसम्बन्धी कानुन निर्माण गरी गुणस्तरीय औषधिको खरिद व्यवस्थापन सहज, सरल एवं आमनागरिकले अटुट रूपमा अस्पताल फार्मेसीबाट प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेछ ।
२. स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अस्पताल फार्मेसीबाट पूर्णरूपमा औषधि प्राप्त गर्नको लागि चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सिफारिस गरिने पुर्जामा भएका सम्पूर्ण प्रकारका औषधिहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा समाविष्ट गर्नुपर्नेछ ।
३. स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिमितको सङ्ख्या बढ्दो क्रममा रहेको र अर्कोतर्फ औषधिको भण्डारण बिक्री–वितरण एवं परामर्शको लागि पुरानो सीमित स्रोत, साधन, संरचना, एवं दक्ष जनशक्तिमार्फत सेवा प्रवाह गर्नुपर्ने भएकोले छिटो छरितो रूपमा कार्य सम्पादन गर्न नसकिएको अवस्था देखापरेको हुँदा उक्त समस्या समाधानको लागि अस्पतालहरूले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उल्लेख भएअनुसार अस्पताल फार्मेसीलाई विभागको रूपमा स्थापना गरी अस्पताल फार्मेसी विभागअन्तर्गत मापदण्डअनुरूपको पर्याप्त भण्डार कक्ष, अस्पताल फार्मेसीको कार्यकक्ष, ओपीडी सेवा/अन्तरङ्ग सेवा/इमर्जेन्सी सेवा/निःशुल्क सेवा साथै परामर्श सेवालाई समेत प्राथमिकतामा राखी बिक्री वितरण कक्ष निर्माण गर्नुपर्नेछ । जसको लागि फार्मेसी विभागको छुटै ब्लक निर्माणको कार्य अघि बढाउनुपर्नेछ । बालबालिका/ज्येष्ठ नागरिक/अपाङ्गता भएका/गर्भवती महिला/स्वास्थ्य बीमा कार्यक्रमतर्फ मेडिसिन रिफिलसम्बन्धी सेवाको समेत सहज रूपमा सेवा लिन सकिने गरी भौतिक संरचना निर्माण गर्नुपर्नेछ । अस्पतालहरूले बिरामीको चापलाई आधार मानी चुस्त सेवा प्रवाहका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्था मिलाउनुपर्नेछ । नेपाल सरकारको हकमा जनशक्ति व्यवस्थापनको लागि ओएन्डएमको प्रक्रिया यथाशीघ्र अघि बढाउनुपर्ने देखिन्छ ।
४. कुशल फार्मेसी अभ्यासलाई आत्मसात गरी प्रभावकारी सेवा प्रवाहको वातावरण निर्माण गर्दै गर्दा यससँग जोडिएका औषधिको सचेत प्रयोग सम्बन्धमा जानकारी लिन सकिने गरी ड्रग इन्फरमेसन सेन्टर, बिरामीको सहजताको लागि वार्ड सप्लाइसम्बन्धी सेवा, कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू, अनुसन्धानसम्बन्धी कार्य, औषधीय सतर्कतासम्बन्धी कार्य, चिकित्सकको सिफारिसअनुसारका केही औषधिहरू प्रोटोकलअनुसार तयार गर्नको लागि Compounding सेवाजस्ता क्षेत्रहरूलाई मध्यनजर राखी आवश्यक नीतिहरू निर्माण गरी गुणस्तरीय फार्मेसी सेवा प्रवाह गर्नुपर्नेछ ।
५. अस्पताल फार्मेसी तथा स्वास्थ्य बीमा कार्यक्रमलाई सवलीकरण गर्न आबद्ध कर्मचारीहरूको मनोबल उच्च राख्नको लागि पर्फर्मेन्स बेस्ड इन्डिकेटरका आधारमा प्रोत्साहित गर्नुपर्नेछ,
६. औषधि उत्पादक, पैठारीकर्ता, टेन्डरका सप्लायर्स र खरिदकर्ताबिच औषधिको अटुट रूपमा उपलब्धता सुनिश्चित हुने अवस्थाको निर्माण गर्न सम्बन्धित क्षेत्रका विज्ञ एवं सरोकारवाला निकायहरूसँग व्यापक छलफल गरी सप्लाइ चेन म्यानेजमेन्ट – उत्पादकदेखि खरिदकर्तुम्मको सम्बन्धमा आवश्यक नीति निर्माण गर्नुपर्नेछ ।
७. अस्पताल फार्मेसीमा मन्त्रालयले तोकेबमोजिमका कार्यहरूमा एकरूपता ल्याउने गरी फार्मेसी सञ्चालनको सफ्टवेयर सञ्चालनमा ल्याई स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित गर्नुपर्नेछ ।
(लेखक लामिछाने फर्मासिस्ट हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *