भर्खरै :

पोप फ्रान्सिसको स्वास्थ्य अवस्था जटिल अवस्थामा : भ्याटिकन

पोप फ्रान्सिसको स्वास्थ्य अवस्था जटिल अवस्थामा : भ्याटिकन

भ्याटिकन सिटी, ११ फागुन (एएफपी) । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उहाँको कार्यालयले आइतबार बिहान अस्पतालबाटै जारी एक विज्ञप्तिमा भनिएको छ ।
गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले पोपको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन शनिबार राति जारी विज्ञप्तिमा भनिएको छ ।
‘शनिबार राति पोपले शान्तिपूर्वक आराम गर्नुभएकोे’ होली सीले आइतबार बिहान दिएको संक्षिप्त अपडेटमा उल्लेख छ ।
सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।
भ्याटिकनले शनिबार साँझ नियमित मेडिकल बुलेटिनजारी गर्दै भनेको छ, “होली फादरको अवस्था गम्भीर रहेको छ, त्यसैले उहाँ अझै ‘खतरामुक्त’ हुनुहुन्न ।”
भ्याटिकनले फ्रान्सिस अझै पनि सतर्क रहेको र अघिल्लो दिनको तुलनामा बढी दुःख भोगेको भए तापनि कुर्सीमा दिन बिताएको बताएको छ ।
“नियमित रक्त परीक्षण भइरहेको र आइतबारको रिपोर्टमा रक्तअल्पतासँग सम्बन्धित ‘थ्रोम्बोसाइटोपेनिया’ समस्या पनि देखिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
थ्रोम्बोसाइटोपेनिया रगतमा प्लेटलेटको सङ्ख्या धेरै कम हुँदा हुन्छ र यसले रक्तस्राव रोक्न नसक्ने समस्या निम्त्याउन सक्छ र मानव स्वास्थ्यमा अत्यधिक जोखिम हुन सक्छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार अत्यधिक रक्तस्राव भइरहेको छ वा रक्तस्रावको उच्च जोखिममा छ भने जोखिम कम गर्नका लागि रक्तनलीमा ‘इन्ट्राभेनस (आईभी)’ लाइनमार्फत रक्तनलीमा रगत वा प्लेटसलेट ट्रान्सफ्युजन गरिन्छ ।
इटालीको कोरिएरे डेला सेरा अखबारले आइतबार बिहान ‘पोपको अवस्था झनै बिग्रँदै गएको’ शीर्षकमा समाचार छापेको छ भने ला रिपब्लिकाले भ्याटिकनको ‘सबैभन्दा कालो दिन’ भनेको छ ।
इटालीका एक प्रमुख ‘भाइरोलोजिस्ट’ फाब्रिजियो प्रेग्लियास्कोले ला स्टाम्पा दैनिकसँग कुरा गर्दै भन्नुभयो, “स्थिति थप चिन्ताजनक बन्दै गएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *