नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चीनमा नयाँ प्रजातान्त्रिक आन्दोलनपछि अध्यक्ष माओको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भयो । सन् १९४९ देखि १९५२ सम्म चीनका लागि आर्थिक पुनप्र्राप्तिको महत्वपूर्ण अवधि थियो भने सन् १९५३ तिरबाट चीनमा समाजवाद निर्माणको अर्को अध्याय प्रारम्भ भयो । के हो समाजवाद ? समाजवादको निर्माण कसरी हुन्छ ? यी सवालमाथि देशैभरि विचारमन्थन चल्यो । चिनियाँ क्रान्तिका दुईवटा बलिया आधारहरू थिए — एउटा माक्र्सवादी साहित्य अर्थात् लिखित सिद्धान्त र अर्को संसारकै पहिलो समाजवादी देश सोभियत रुसमा समाजवादको अभ्यास ।
सबैभन्दा महत्वपूर्ण कुरा उत्पादन सम्बन्ध परिवर्तन गर्नु थियो । व्यक्तिगत अर्थात् निजी स्वामित्वका ठूल्ठूला उत्पादनका साधनलाई सामूहिक अर्थात् सार्वजनिक स्वामित्वमा ल्याउनु प्रमुख सवाल थियो । त्यसकारण राज्यकै स्वामित्व र रेखदेखमा उत्पादन सम्बन्ध अघि बढाउन चिकपाले ‘एक औद्योगिकीकरण र तीन रूपान्तरण’ को सिद्धान्त अघि सा¥यो । देशको औद्योगिकीकरणको लागि कृषि, पुँजीपतिहरूको उद्योग, वित्तीय व्यवस्था र निजी हस्तकलाका उद्योगहरूलाई समाजवादी रूपान्तरण जरुरी महसुस गरियो । कृषिमा रूपान्तरणको लागि सहकारीहरूको स्थापना गरियो । सन् १९५६ सम्ममा ९६.३ प्रतिशत चिनियाँ किसानहरू सहकारीमा आबद्ध भइसकेको तथ्याङ्क छ । निजी हस्तकला उद्योगको रूपान्तरणका निम्ति पनि हस्तकला सहकारी स्थापना गरियो । हस्तकला उत्पादनदेखि बजार व्यवस्थापनसम्मको काम सहकारीले गथ्र्यो । सन् १९५६ को अन्त्यसम्ममा करिब ९१.७ प्रतिशत हस्तकला क्षेत्रका कामदारहरू सहकारीमा जोडिए । चीनको प्रारम्भिक रूपान्तरणदेखि आजको चीनसम्म आइपुग्दा ‘चिनियाँ विशेषता’ नै प्रमुख विषय हो भन्ने आधार पुस्तक ‘What is the Path of Socialism with Chinese Characteristics’ ले दिन्छ । समाजवादी व्यवस्थामा माक्र्सवादी साहित्य र सोभियत सङ्घको अनुभवअनुसार देशका पुँजीपति वर्गको सम्पत्ति राज्यले जफत गर्छ । चीनले तत्काल त्यसो गरेन बरु राज्य र व्यक्तिको संयुक्त लगानीका उद्योगहरू सञ्चालन गर्यो । सम्पूर्ण उद्योग र वित्तीय व्यवस्थापनका लागि फेडेरेसन स्थापना गर्यो । अध्यक्ष माओकै समयमा चिनियाँ विशेषताका समाजवादी अगुवाइहरू भएको तथ्य पुस्तकले प्रस्तुत गर्छ । पेइचिङ सन् १९५६ भित्रै संयुक्त लगानीमा आधारित उद्योग सञ्चालन गर्ने उत्कृष्ट सहर बनिसकेको थियो । त्यही समय संयुक्तमा लगानीका करिब ३२७ फार्मेसी, ८०० उद्योग सञ्चालनमा ल्याइयो । यी केही दृष्टान्तमात्रै हुन् । संयुक्त लगानीका व्यवसाय र उद्योग सञ्चालनका लागि नगरपालिका तहबाटै अगुवाइ गरियो । तसर्थ पुँजीपतिहरूको पुँजी समाजवादी समाज निर्माणका लागि उपयोग गर्ने नीति अध्यक्ष माओ कै हो । सन् १९५६ को अन्त्य सम्ममा ९९ प्रतिशत निजी उद्योग र ८२.२ प्रतिशत वित्तीय संस्था राज्यको संयुक्त लगानीमा गइसकेको तथ्य रोचक छ ।
समाजवादी व्यवस्था निर्माणको अवधिमा थुपै्र उकाली ओराली मोड र घुम्तीहरू आए । अविकसित, पिछडिएको र अपहेलित चिनियाँ समाजमा समाजवादको निर्माण एक रातमा पक्कै सम्भव थिएन । युद्ध र उपनिवेशले सिथिल बनाएको चीन सावधानीपूर्वक पाइला चाल्दै थियो । विदेशी मोडलको अन्ध नक्कल पनि प्रत्युत्पादक बन्ने भय थियो । यद्यपि, सुरुआती वर्षहरूमा सोभियत रुसको अनुसरण चिकपाको निर्णय थियो । योजनाबद्ध विकासको अवधारणा चीनले रुसबाटै सिकेको हो । विशाल औद्योगिक देश भएको हुँदा सहर केन्द्रित औद्योगिकीकरण रुसका निम्ति सही थियो । त्यसको नक्कल चीन जस्तो गाउँ र किसानहरूको देशका लागि सही नहुने समीक्षा नेतृत्वले समयान्तरमा ग¥यो ।
अध्यक्ष माओले आप्mनो एउटा मन्तव्य “दश मुख्य सम्बन्धहरूमा” सोभियत रुसबाट सिक्दै चीनको माटो सुहाउँदो समाजवादको निर्माणबारे बोल्नुभएको थियो । सोभियत रुसमा देखापरेका खोटा विचार र कमजोरीहरूबाट पनि चीनले सिक्नुपर्ने सन्देश मन्तव्यमा थियो । “एकदमै ठूलो उद्योगहरूभन्दा पनि ग्रामीण कृषि, स–साना र मझौला उद्योगहरू प्राथमिकतामा राख्नुपर्छ साथै समुद्र किनारका क्षेत्र र भित्रको उद्योगबिच राम्रो सम्बन्ध, आर्थिक विकाससँगै सुरक्षा सामग्री निर्माणको सम्बन्ध बलियो हुनुपर्छ ।”— उहाँको विचार थियो यो । सर्वहारा र बुर्जुवा वर्गबिचको विरोधाभासको अन्त्य नभइसकेको तत्कालीन चिनियाँ समाजमा समाजवादी मार्गको वृहत्तर अवधारणा अध्यक्ष माओले अघि सार्नुभयो । जसको प्रमुख पक्ष वर्गसङ्घर्ष थियो भने समाजवादी निर्माणको गति अर्को पक्ष र अन्तिम आर्थिक नियमनका उपायहरू थिए ।
चिकपाले सन् १९५८ को सुरुतिर ‘तीन वर्षे ठूलो अग्रगामी छलाङ’ अर्थात् Three Year Great Leap Forward को योजना बनायो । साथै सन् १९६६ मा सांस्कृतिक क्रान्तिको सुरुआत ग¥यो । ‘ग्रेट लिप फर्वार्ड’ चीनका लागि आर्थिक र सामाजिक विकासको योजना थियो जसले कृषिप्रधान समाजलाई औद्योगिकीकरणतिर लाने र चीनलाई फलाममा आत्मनिर्भर बनाउने लक्ष्य राखेको थियो । सांस्कृतिक क्रान्तिको उद्देश्य प्रारम्भिक तहसम्मका कार्यकर्ता या जनतालाई समाजवादको शिक्षा दिनु, सानादेखि माथिल्ला प्रशासनसम्म सलहको रूपमा फैलिएको भ्रष्टाचार र कर्मचारीतन्त्रलाई जरैदेखि उखेल्नु, चिनियाँ कम्युनिस्ट पार्टीको ध्येय र भावनालाई जनतासँग जोड्नु थियो । सारा जनताको सांस्कृतिक स्तर उठाउँदै समाजवादी आचरण सिकाउनु सांस्कृतिक क्रान्तिको लक्ष्य थियो । विविध कारणले ती दुवै योजना पूरा भएन । चिकपा र अध्यक्ष माओको नेतृत्व र समाजवादी बन्दोबस्त विफल बनाउन प्रतिक्रियावादी र अवसरवादीहरूले कुनै कसर बाँकी नराखेको तथ्य पुस्तकले सङ्केत गर्छ । चीनका यी दुई घटना या समयावधिलाई चीनको इतिहासका दुई गल्ती या उतारचढाव हुन् भनी पछिल्ला साहित्यहरूमा लेखिएको पाइन्छ । तर त्यो अवधि चीनको आर्थिक विकासभन्दा पनि चीनको रक्षा र घरेलु शत्रुहरू समाप्त गर्ने अवधि थियो । त्यो अवधि देशलाई खुला गर्नुभन्दा पनि चारैतिरको सम्भावित हमला रोक्न चीनलाई भित्रबाटै बलियो बनाउनुपर्ने अवधि थियो । समाजवादले मात्र चीनको रक्षा गर्न सक्ने र माक्र्सवाद नै चीनको बाटो हो भन्ने विचार जन जनको हृदयमा स्थापित गर्ने अवधि थियो ।
सांस्कृतिक क्रान्तिपछि चीनको आर्थिक विकासमा विशेष जोड दिइयो । ‘चार आधुनिकीकरणको कार्यक्रम र दुई तहको विकास नीति’ अघि सारियो । आधुनिक कृषि, आधुनिक उद्योग, आधुनिक राष्ट्रिय सुरक्षा र आधुनिक विज्ञान तथा प्रविधि नै चार आधुनिकीकरण कार्यक्रमको उद्देश्य थियो । त्यसका लागि दुई वटा अवधि तोकियो । पहिलो १५ वर्षमा अर्थात्् सन् १९८० अघि सम्म स्वतन्त्र र तुलनात्मकरूपमा पूर्ण औद्योगिक प्रणाली या राष्ट्रिय अर्थतन्त्र स्थापित गर्ने उद्देश्य राखियो । दोस्रो चरण अर्थात्् यो शताब्दीको अन्त्यसम्ममा चीनलाई कृषि, उद्योग, सुरक्षा, विज्ञान तथा प्रविधिमा मात्र होइन सम्पूर्ण रूपले आधुनिक समाजवादी चीन निर्माण गर्ने लक्ष्य राखियो । चीनले विश्वमा चीन विरोधी भावना या मनोवैज्ञानिक युद्धविरुद्ध लामो सङ्घर्ष गर्यो । वर्गसङ्घर्ष र जनताको सेवा गर्ने भावनालाई आर्थिक विकासको मूल विषय बनाई अघि बढ्यो । सन् १९७८ मा आर्थिक विकासलाई मुख्य एजेण्डा बनाउँदै सुधार र खुलापनको नीति लिइयो । वास्तवमै त्यो पहलकदमी चिनियाँ आर्थिक विकासको कोशेढुङ्गा साबित भयो । अध्यक्ष माओको राजनीतिक विचार र आर्थिक विकासको जगमा ‘सुधार र खुलापन’ तत्कालका लागि चीनको मार्ग बन्यो ।
सुधारको कार्यक्रम सहरहरूबाट सुरु गरियो । ग्रामीण भेगमा अझै गरिबी थियो । किसानहरू सहरी मजदुरहरूले भन्दा कम सामाजिक सुरक्षा उपभोग गर्न पाउँथे । अधिकांश किसानहरूलाई हातमुख जोड्न गाह«ै थियो । चीनमा भोकमरीविरुद्धको लडाइँको कथा फेरि बेग्लै छ । ‘हाइब्रिड धानको बिउ’ उत्पादन चीनको भोकमरीविरुद्धको लडाइँले जन्माएको आविष्कार हो । चीनमा वैदेशिक ऋणविरुद्धको लडाइँ रोचक छ । चिकपाका सारा नेता कार्यकर्तामात्र होइन सारा जनताले विलासिता र मिठो भोजन त्यागी एक छाक खाएर देशलाई ऋणबाट मुक्त गरेको प्रसङ्ग प्रेरणादायी छ । त्यसैले सुधार र खुलापन त धेरै उकाली ओरालीपछिको एजेण्डा थियो । सारा कृषि कम्युनहरूलाई नयाँ ढाँचामा सञ्चालन गरियो । बिउबिजनको बन्दोबस्त, मलखाद र आवश्यक कृषि सामग्रीको उपलब्धतासँगै उत्पादकत्व वृद्धि र बजारको व्यवस्थापनमा सुधार गरियो । देशमा खाद्यान्न अभाव पूर्ति देशभित्रैबाट गर्ने योजना छोटो समयमै पूरा भयो । किसानले उत्पादनअनुसारको बजार र मिहिनेतअनुसारको पारिश्रमिक प्राप्त गरे । अर्थतन्त्र खुला बनाएलगत्तै चीन वैदेशिक लगानीमो उर्वर थलो बन्यो । चीनले लगानीका केही ठाउँहरूलाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्यो । सिमानाका सहररू र समुद्र जोडिएका सहरहरूमा केन्द्रीय सरकारको लगानी पुग्दैन भने वैदेशिक लगानी स्वागत गर्न पाइने खुलापन भित्रियो । तर, यो बाटो समाजवादी देश चीनको निम्ति रगताम्य पनि हुन सक्ने चुनौतिबारे नेतृत्व सचेत थिए । क्वानचाउ, फुसियानजस्ता सहरहरूलाई विशेष निर्यात क्षेत्रको रूपमा अभ्यास थालियो । चीनको उत्पादनलाई विश्व बजारमा लाने बाटो त्यहीँबाट खुला भयो ।
वास्तवमा विशेष आर्थिक क्षेत्रहरू चीनको लागि अवसर र आशाका ढोकाहरू थिए । तर चुनौती र खतरा पनि उत्तिकै थियो । ‘अब चीन पुँजीवादमा पतन हुन्छ, चीनको सुधार र खुलापन सोभियत सङ्घको ग्लासनोष्ट र पेरेस्ट्रोइका जस्तै हो, सोभियत सङ्घ जस्तै चीन पनि अब पुँजीवादी लाइनमा आयो’ भन्ने आलोचना या खिसिटिउरी पश्चिमबाट भयो । तर सन् १९८४ सम्म चीनको शेन्चेन आर्थिक क्षेत्रले समृद्धि हासिल गरिसकेको थियो । चुहाई क्षेत्र त्यही दौडमा थियो । समुद्री क्षेत्र जोडिएका भूभागहरूमा खुलापनको अवधारणा सार्थक बन्दै थियो । चिनियाँ युवालाई शिक्षा र प्रविधिको सिकाइका लागि विकसित देशहरूमा पढ्न पठाइयो । पुँजीमात्र होइन देशभित्र केही वर्षमै आधुनिक प्रविधि भित्रियो । व्यवस्थापकीय सिप आदानप्रदान भयो । सुधार र खुलापनको अवधि चीनमा समाजवादी बजार अर्थतन्त्र निर्माणको आधार साबित भयो ।
सुधार र खुलापनको मेरुदण्ड भनेको उत्पादनका साधनहरूमा सार्वजनिक स्वामित्वको सिद्धान्त नै थियो । निजी र विदेशी लगानीलाई राज्यको नियमनमा राखी देशको द्रुत विकास गर्ने चीनको नीति समाजवादी मुलुकमा अस्वाभाविक अनुभव नगरिएको होइन । तर माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधाराको राजनीतिक सिद्धान्तको जगमा निर्मित चीनको बन्दोबस्तमा विदेश र निजी क्षेत्र हाबी हुने कुनै पनि प्वाल या कमजोर ठाउँ नै थिएन । सुधार र खुलापनले बेरोजगारीको समस्या पनि हल गदै गयो । सन् १९७० को दशकको अन्त्य मै पनि एक करोड चिनियाँ शिक्षित युवाहरू सहरी क्षेत्रमा रोजगारीका लागि भौतारिरहेका थिए । तब चिकपाले राज्यबाट प्रत्यक्ष प्रदान गरिने रोजगारी, इन्टरप्राइजेजहरूको रोजगारी र स्वरोजगारी गरी रोजगारी सिर्जनाका तीन माध्यम अघि सार्याे ।
तथ्याङ्कअनुसार सन् १९८१ अक्टोबरसम्ममा अर्थात् १ दशकमा २ करोड चिनियाँहरूले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गरे । त्यही समयमा एक कृषि क्षेत्रका व्यवसायी चेन झिसियोनले आप्mनो मत्स्यपालन व्यवसायमा ४०० कामदारलाई रोजगारी दिइरहेको अध्ययन गरियो । स्थानीय तहको त्यो अध्ययन कै आधारमा सन् १९८१ पछि निजीक्षेत्रलाई पनि रोजगारी सिर्जनाको एउटा माध्यम घोषणा गरियो । ग्रामीण तथा सहरी निजीर साना–मझौला उद्योगहरूको नियमनका लागि राज्यबाटै नीति—प्रावधान तयार गरियो । निजीक्षेत्रको अर्थतन्त्र समाजवादी अर्थतन्त्र निर्माणको सहयोगी बनाइयो । यसरी ग्रामीण घरपरिवारलाई कृषिको औद्योगिकीकरण र आधुनिकीकरणसँग प्रत्यक्ष जोड्ने, विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, निजीक्षेत्रलाई सहयोगी माध्यम बनाउने नीति समयसँगै सफल भयो । ती सबै नीति माक्र्सवादका थेलीहरूमा थिएनन् तर माक्र्सवादको मूल मर्मलाई भाँच्ने काम पनि गरिएन । चीनको विशेष परिस्थितिसँग माक्र्सवादका गुह्य सिद्धान्तहरूको मेल या सामञ्जस्य नै चीनको व्यवहार हो , पहिचान हो ।
सन् १९८२ सेप्टेम्बर, सन् १९७८ मा सुरु गरिएको सुधार र खुलापनको समीक्षा गर्ने क्रममा नेतृत्वले बोलेका थिए –“चीनको आधुनिकीकरण चिनियाँ वास्तविकताको जगमा मात्र सम्भव छ । क्रान्ति होस् या समाजवादी व्यवस्था निर्माणको क्रममा होस् अन्य देशहरूको अनुभवबाट सिक्न जरुरी छ । तर प्राविधिक रूपमा कुनै पनि देशको अभ्यास नक्कल गर्नु अनुत्पादक हुन सक्छ ।” यसर्थ विश्वमा आज चीनको सानदार स्थान आप्mनै बल र विशेषताबाट स्थापित हो भन्दा समीचीन हुन्छ । आप्mनै विशेषताको समाजवादी बन्दोबस्त भन्नाले आप्mनै शैलीको अर्थतन्त्र, विदेश नीति, सुरक्षा बन्दोबस्तको तयारी पनि हो । सन् १९८७ अक्टोबरमा आयोजित चिकपाको १३ औँ देखि १९ औँ पार्टी महाअधिवेशनसम्म आइपुग्दा “चिनियाँ विशेषतासहितको समाजवाद” को ब्यानर निकै उँचो फहरियो । यही अवधिमा चिनियाँ विशेषताको समाजवादको व्यावहारिक विकास र सैद्धान्तिक आधारहरू तयार भयो । देशभित्र मात्र होइन विश्वभरमा चिनियाँ विशेषताको समाजवादबारे छलफल चलाइयो । चीनको समाजवादका चार पक्षहरू चीनको मार्ग, सिद्धान्त, प्रणाली र संस्कृति हुन् । चिनियाँ विशेषतासहितको समाजवाद चिनियाँ कम्युनिस्ट पार्टीको कुशल नेतृत्वमा चिनियाँ अर्थतन्त्रको द्रुत विकासमात्र होइन राजनीतिक विचारमा चीनको स्पष्ट अडान सँगै सामाजिक संरचनामा आमूल परिवर्तन र चिनियाँ सभ्यताको पुनर्जागरणको विचार हो । सुधार र खुलापनको चिनियाँ अगुवाइ उत्पादनका नयाँ नयाँ साधनहरूको निर्माण, समाजवादी बजार अर्थतन्त्रको निर्माण, समाजवादी प्रजातन्त्रको अवधारणा, समाजवादी पर्यावरणीय सुरक्षा अवधारणा नै चिनियाँ विशेषताको समाजवादी बाटो हो भन्ने बुझ्न यो पुस्तकले सघाउँछ । नयाँ अर्थात् आधुनिक समाजवादी चीन आजभन्दा समृद्ध, शक्तिशाली, सुसंस्कृत, मिलनसार एवम् सहयोगी र सुन्दर बन्ने विश्वास लिइएको छ । आज विश्वमा चीनको चमत्कार, अनुभव, अवधारणा र विचारबारे सघन चर्चा हुनुले चीनको लोकप्रियता दर्साउँछ ।
चीनमा समाजवादको अर्थ चीनको स्वाधीनता या स्वतन्त्रता हो । उत्पादनशील शक्तिको विकाससँगै विश्वमा ध्रुवीकरणको आतङ्कविरुद्ध लड्नु चीनको समाजवाद हो भन्न सकिन्छ । पुस्तकमा लेखिएको छ –“बजार अर्थतन्त्रको बाटो पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाबिच भिन्नताको मापदण्ड होइन । योजनाबद्ध विकासको अवधारणा समाजवादी व्यवस्थाको पर्यायवाची होइन । पुँजीवादी देशहरूले पनि विकासको योजना बनाउँछन् । बजार अर्थतन्त्र पुँजीवाद होइन किनभने समाजवादी व्यवस्थामा पनि बजार हुन्छ । योजना र बजार केबल आर्थिक क्रियाकलापलाई नियन्त्रण गर्ने ज्यावल मात्र हुन् । त्यसकारण, समाजवादको प्रश्न व्यवस्था कसरी निर्माण भयो र नयाँ चरणमा कसरी प्रवेश गर्दै छ भन्ने हो ।”
चीनका बजार अर्थतन्त्रको अर्थ साम्राज्यवादी या औपनिवेशिक विश्व अर्थतन्त्रविरुद्धको हाँक थियो । आज संसारले यो सत्य अनुभव गर्दै छ । चीनले कुनै पनि मोडमा आप्mनो विचार र सिद्धान्त त्यागेन । चीनले बजारमा राज्यको म्याक्रोकन्ट्रोल अर्थात्् बृहत्तर नियन्त्रण हुने समाजवादी ढाँचाको बजार अर्थतन्त्र हुर्कायो । पुँजीवादी अर्थतन्त्रको पिता एडम् स्मिथ हुन् । चीनका नयाँ एडम् स्मिथहरूले चीनको अर्थतन्त्रलाई पुँजीवादको आधारशीला मानिने बजार अर्थतन्त्र नै उपयोग गरी अघि बढ्न सिकाए । अब चीनको समाजवादी बजार अर्थतन्त्रले साम्राज्यवादी अर्थतन्त्रलाई पछार्ने दिन नजिकिँदै छ । चिकपाको नेतृत्वविना चीनको यो चामत्कारिक फड्को सम्भव थिएन् । माओको क्रान्तिविना त चीनलाई जोगाउने समाजवाद नै चीनमा सम्भव थिएन । तसर्थ चिकपाको नेतृत्व र माओ त्सेतुङ विचारधारा चिनियाँ समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता हो । चिनियाँ विशेषताको समाजवादी विचारले पार्टी र जनतालाई आप्mनो राष्ट्रिय पुनर्जागरण र वैज्ञानिक सिद्धान्तबारे दीक्षित बनाउँछ । नयाँ युगलाई हेर्ने वैज्ञानिक दृष्टिकोणसँगै शान्त र सन्तुलित विश्वको न्यायोचित माग गर्दछ ।
आजको चीनको स्थानलाई पश्चिमले ठूलो चुनौती भनिरहँदा विश्वले भन्दै छ –“चीन संसारको लागि होइन संरा अमेरिकाको निम्ति ठूलो चुनौती या टाउको दुखाइ जरुर हो ।” संसारले अपेक्षा गरेभन्दा ज्यादा सभ्य र सुन्दर छ आजको चीन । त्यसो त चीन सभ्यताको देश हो । ५ हजार वर्ष पुरानो सभ्यता, संस्कृति पुनर्निर्माणका निम्ति विश्वव्यापी सभ्यता अगुवाइ अघि सारिएको छ । चीनको सभ्यता चिनियाँ समाजवादको विशेषता हो ।
अध्यक्ष माओले १९४० तिर राख्नुभएको विचार पुस्तकमा छ –“चीनलाई हामीले राजनीतिक र आर्थिकरूपले मात्र स्वतन्त्र र समृद्ध बनाउन खोजेको होइन । अपहेलित र पिछडिएको चीनको परिचय मेट्दै प्रगतिशील र अगाडि बढेको सुसंस्कृत समाज निर्माण मुख्य लक्ष्य हो । त्यसका लागि नयाँ युगमा संस्कृति र सभ्यताको जागरण जरुरी छ ।” चीन आज जनताकेन्द्रित संस्कृति निर्माणमा तल्लीन छ । जसले आधुनिकता अङ्गालेको छ, सारा विश्व र भविष्यलाई आलिङ्गनमा बेरेको छ । जनकेन्द्रित संस्कृति निर्माण र आधुनिकताले समाजवादलाई भौतिक सुविधा सम्पन्न बनाउनेछ । समाजवादको सांस्कृतिक — जातीय विविधताको गौरव उँचो बनाउनेछ । चीनको विश्वास छ –“चिनियाँ संस्कृति र सभ्यताले चिनियाँ जनता र समाजवादको सेवा गर्नेछ ।” अध्यक्ष माओले भन्नुभएझैँ आज पनि चिनियाँ नेतृत्व सयौँ फूलहरू फुल्न दिने सिद्धान्त आत्मसात गर्छन् । सयौँ विचारहरूको मन्थनका लागि चीन आज पनि उत्तिकै खुला छ । रचनात्मक रूपान्तरण र विकासका लाग चीन सदा सहृदयी छ । यही चिनियाँ समाजवादको विशेषता हो ।
Leave a Reply