कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
विद्यार्थी जीवन, विद्यार्थी र जीवन गरी दुई शब्द मिलेर बनेको हुन्छ । विद्यार्थी शैक्षिक संस्थाहरूमा गएर शिक्षा प्राप्त गर्ने व्यक्ति हो भने जीवन भनेको शिक्षा प्राप्त गर्न उसले खर्चेको निश्चित समय हो । यस अवस्थामा मानिसले आफ्नो जीवनलाई ज्ञान आर्जनमा समर्पित गरेको हुन्छ । विद्यार्थी जीवन उषाकाल एवं सुनौलो बिहानी हो । अहिलेको अवस्थामा भन्ने हो भने विद्यालय वा महाविद्यालयमा गई औपचारिक शिक्षा आर्जन गर्ने समय वा अवस्था भन्ने बुझिन्छ । विद्यार्थी जीवन कोमल हुन्छ । त्यसैले भनिन्छ, विद्यार्थी भनेको काँचो फलाम हो, त्यो फलामलाई जस्तो रूपमा ढाल्न चाह्यो त्यस्तै रूपमा ढाल्न सकिन्छ र विद्यालय भनेको त्यहीँ काँचो फलामलाई हानेर, गालेर, पगालेर समाजलाई समय र बदलिँदो परिस्थिति अनुरूपको आवश्यक र उपयुक्त हातहतियार उत्पादन गर्ने ठाउँ हो । यद्यपि, फरक–फरक ठाउँको फरक–फरक परिवेशअनुसार त्यहाँको नीति, नियम र मर्यादाको पालना गर्दै अगाडि बढ्नु वा सोहीअनुसारको आचरण प्रदर्शन गर्नु नै अनुशासन हो ।
विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्व हुन्छ । विद्यार्थीहरूको गहना भनेकै अनुशासन हो । अनुशासित विद्यार्थीले नै समाज तथा देशको शोभा बढाएको हुन्छ ।
हरेक विद्यार्थीहरू परिवार, समाज र देशको ढुकढुकी हो, देशको मेरुदण्ड हो, परिवर्तनको हुतहुती हो, देशको भविष्यको कर्णधार हो र परिवर्तनको सम्भावित नेतृत्वकर्ता हो । अहिलेको कलिलो मनमस्तिष्क बोकेका विद्यार्थी भोलिको सम्भावित नेतृत्व परिवार, समाज र देशको शिक्षक हो । त्यसैले, परिवार, समाज र देशलाई नै भविष्यमा अनुशासित बनाई सभ्य र सुसंस्कृत बनाउनको लागि, निश्चित गन्तव्यमा डोहो¥याउनको लागि, उन्नति र प्रगतिको सुमार्गमा हिँड्न र हिडाउनको लागि र हरेक सङ्घर्षलाई सफलताको शिखरमा पु¥याउनको लागि विद्यार्थी आफैँ अनुशासित बन्नुपर्छ र अनुशासित विद्यार्थी बन्न विद्यार्थी जीवनमा अनुशासनको महत्व हुन्छ । विद्यार्थी पनि सामाजिक प्राणी भएको हुनाले एउटा विद्यार्थीको व्यवहारले घरपरिवार, छरछिमेक र समाजलाई समेत प्रभाव पारिरहेको हुन्छ । अतः अनुशासित विद्यार्थीले नै जीवनको हरेक सङ्घर्षको मोडमा सफलता हासिल गर्न सक्छ । जीवनमा सफलताको लागि अनुशासनको पालना गर्नु अत्यावश्यक हुन्छ । त्यसैले, जीवन र अनुशासनबिच घनिष्ठ सम्बन्ध कायम गर्न सकेमा मात्र विद्यार्थीको भविष्य सुन्दर, सफल र पूर्ण बन्दै जान सक्छ । तसर्थ, अनुशासनले नै विद्यार्थीको सच्चा चारित्रिक गुणको निर्माण गर्छ । अनुशासनबिनाको विद्यार्थी लगामबिनाको घोडाजस्तै हुने गर्छ । अनुशासन र कर्तव्य एकाअर्कामा परिपुरक हुन्छ ।
यसको सम्बन्ध ढुङ्गा र माटोको झैँ हुन्छ । जसरी एउटा घरलाई सिमेन्ट प्लास्टर गरेर घरका भित्ताहरूमा अनेक डिजाइनको फुलबुट्टाहरू भरेर सुहाउँदो रङ्गरोगनहरू गरेपछि सुन्दर र मनमोहक हुन्छ, त्यसरी नै शिष्ट र सभ्य व्यवहार, नम्र बोली, आदरभाव र सहयोगी भावनाले युक्त अनुशासनले विद्यार्थीलाई आकर्षक र सुन्दर बनाउँछ । अनुशासित विद्यार्थी मेहनती, लगनशील, सहयोगी, सदाचारी र परिश्रमी बन्नुपर्छ । त्यस्तो विद्यार्थी विशेषगरी समाजको एक उदाहरणीय व्यक्तित्वको रूपमा अरुको निम्ति प्रेरणाको स्रोत बन्न पुग्छ । अनुशासनहीन मान्छे र विद्यार्थी भने अरूको नजरमा नअट्ने, अरुले मन नपराउने र अरुको नजरमा घृणा र खिसीको पात्र बन्न पुग्छ । हरेक विद्यार्थीलाई असल, इमानदार, सत्यनिष्ठ, देशभक्त, कर्मभक्त र कर्तव्यनिष्ठ बनाउन अनुशासनले मलजल गरिरहेको हुन्छ ।
अनुशासन मान्छेलाई मानव बन्न सिकाउने तत्व वा मानवीय गुणको रूपमा लिइन्छ । आफ्नो लक्ष्य र जीवनमा गतिशील भइरहनको लागि अनुशासनको महत्व हुन्छ । यसले मान्छेलाई गन्तव्यमा अगाडि बढ्न आत्मविश्वास जगाउँछ, प्रेरणा र उत्साह प्रदान गर्छ । त्यसैले, अनुशासन र कर्तव्य भनेको विद्यार्थीको अत्यावश्यक सच्चा गुण हो । कर्तव्यले व्यक्ति स्वयं परिवार, समाज र देशप्रतिको अभिभारा इमानदारीपूर्वक निर्वाह गर्न सिकाउँछ भने सादा जीवन उच्च विचार, उच्च आदरभाव, आदर्श व्यक्ति र व्यक्तित्व निर्माण गर्न अनुशासनले सिकाउँछ । अर्थात्, अनुशासनबिना विद्यार्थीले कक्षा उतिर्ण गर्नु भनेको उसले कागजी कोरा प्रमाणपत्र मात्रै लिनु हो । अहिलेको एक्काइसौँ शताब्दीमा ज्ञान र विज्ञानको क्षेत्र ज्यादै फराकिलो हुँदै गएको हुनाले विद्यार्थीले जीवनमा समयको सही सदुपयोग अनुशासित भएर गर्नुपर्छ ।
अनुशासित विद्यार्थी र मान्छेको जीवन जहिल्यै सुन्दर, उज्ज्वल र शान्तिमय हुन्छ भने अनुशासनहीन विद्यार्थी र मान्छेको भविष्य अराजक र उच्छृङ्खल हुन्छ । जसरी देश चलाउने नेताहरूमा अनुशासन र आत्मानुशासन भएन भने देश राम्रोसँग शान्तिपूर्वक चलाउन सक्दैन र देशलाई असल मार्गतिर अथवा उन्नति र प्रगतिको गन्तव्यतिर डो¥याउनुको सट्टा दिशाहीन, अराजक र उच्छृङ्खल बनाइराख्छ । अर्थात्, राजनीति गर्ने नेता अनुशासित नभए राजनीतिक कार्यकर्ताहरू पनि अनुशासित बन्न र बनाउन सक्दैनन् । यसरी राजनीतिक दलको नीति तथा कार्यक्रमहरूलाई जनताको बिचमा पु¥याउनुपर्ने नेता र जनताबिचको सेतुको रूपमा काम गर्ने कार्यकर्ताहरू अनुशासित नभए उनीहरूले जनतालाई अनुशासन र आत्मानुशासनको पाठ सिकाउन सक्दैनन् । परिणाम स्वरूप जनतालाई पनि अनुशासनहीन, अराजक र उच्छृङ्खल बनाउँछ र जनतामाथि उच्छृङ्खल ढङ्गले शासन गरिरहन्छ । ती नेता कार्यकर्ताहरूले समाज र सिङ्गो देशलाई अनुशासित, सभ्य र सुसंस्कृत पनि बनाउन सक्दैनन् । त्यसरी नै परिवारको नेतृत्व गर्ने मुख्य अभिभावकहरूसँग पनि अनुशासन र आत्मानुशासन भएन भने अनुशासनको पाठ सिकाउँदै सिङ्गो परिवारलाई नै अनुशासित बनाउन नसकेमा नयाँ पुस्ताका सन्तानहरूलाई एकताबद्ध गर्दै परिवारको भविष्यको सामूहिक र व्यक्तिगत उद्देश्य पूरा गर्नको निम्ति असल गोरेटो पहिल्याउन सक्दैन र परिवारलाई उन्नति र प्रगतिको सद्मार्गमा हिँडाउन सक्दैन । फलस्वरूप परिवारमा अराजक र उच्छृङ्खता उत्पन्न भई पारस्परिक सम्मान, आदरभाव र आपसी मेलमिलापमा खलल पुग्न गई परिवारसमेत फुट्न सक्छ । त्यसैले, परिवारलाई सभ्य र सुसंस्कृत बनाउन, सङ्घर्षहरूमा सफलता प्राप्त गर्नको लागि पनि अभिभावकहरू असल, इमानदार बनेर आफ्नो नयाँ पिँढीका पुस्ताहरूलाई अनुशासनको महत्व सिकाएर अनुशासित बनाउनु जरुरी हुन्छ । त्यस्तै, विद्यालयमा पनि अध्ययन गर्ने विद्यार्थी र अध्यापन गर्ने शिक्षक, शिक्षिकाहरूमा अनुशासन र आत्मानुशासन भएन भने विद्यालयमा अराजकता र उच्छृङ्खलता उत्पन्न हुन्छ ।
शिक्षक र विद्यार्थीहरूमा पारस्परिक प्रेम, आदरभाव, पारस्परिक सम्मान, सहयोगी भावना, आपसी सदभाव, सभ्य र शिष्ट आचरण तथा नम्र बोली वचन, असल बानीबेहोराजस्ता अनुशासन नभएको खण्डमा अथवा यी यावत कुराहरू सिक्न र सिकाउन नसकेको खण्डमा विद्यालयको शान, स्वाभिमान र पहिचानसमेत समाजमा गिर्ने र बदनाम हुने गर्छ । विद्यालय कागजी कोरा प्रमाणपत्र मात्र बिक्री वितरण गर्ने थलोको रूपमा रूपान्तरण हुन्छ । त्यसैले, विद्यालयमा विद्यार्थीहरूलाई शिक्षकहरू आफै अनुशासित भएर किताबी ज्ञानसँगसँगै अनुशासन र आत्मानुशासनका ज्ञानहरू दिई सभ्य र सुसंस्कृत बनाउनु जरुरी हुन्छ । विद्यार्थी जीवन भनेको मानव जीवनको आधारशिला पनि हो । त्यसैले मानव जीवनलाई सभ्य, सुसंस्कृत बनाई जीवनमा हुने हरेक सङ्घर्षको मोडमा सफलता प्राप्त गर्नको लागि विद्यार्थी जीवनदेखि नै मानिसहरू अनुशासित र आत्मानुशासित बनेर अगाडि बढ्नुपर्छ ।
Leave a Reply