कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
माक्र्सवाद मानव जीवन र जगत्को पूर्णतः भौतिक आधारमा मात्र व्याख्या गरेर तिनलाई द्वन्द्वात्मकरूपमा सदा गतिशील एवम् विकासमान ठान्ने वैज्ञानिक दर्शन हो, अनि त्यो पुँजीवादी समाज व्यवस्थाका ठाउँमा साम्यवादी व्यवस्थाको स्थापनाका लागि मार्गदर्शन गर्ने क्रान्तिकारी विश्वदृष्टि पनि हो । त्यो जर्मनीका कार्ल माक्र्स (१८१८–१८८३) को नाउँसित गाँसिएको छ । तापनि, जर्मनीमै जन्मेका उनका आजीवन सहकर्मी फ्रेडरिक एङ्गेल्स (१८२१–१८९५) का सिद्धान्तहरूसमेत त्यसमा अविभाज्य रूपबाट मिसिएका छन् । त्यसपछि रुसका भ्लादिमिर इलिच लेनिन (१८७१–१९२४) बाट ऐतिहासिक विकासको नयाँ चरणमा त्यसको अझै गुणात्मक विकास गरिएकोले उनको नाउँ पनि जोडेर माक्र्सवाद–लेनिनवादको नयाँ नामकरण प्रचलनमा आयो र लेनिनवादलाई बीसौँ शताब्दीको माक्र्सवाद पनि भनिन्छ । माक्र्सवाद कुनै जडसूत्र वा धर्मसिद्धान्त नभएर व्यवहारलाई पथप्रदर्शन गर्ने सदा गतिशील सिद्धान्त भएको हुनाले त्यसको निरन्तर सिर्जनात्मक विकास हुँदै आएको छ । यसका साथै, सामान्य अर्थमा विश्वको तात्विक व्याख्यामा मात्र सीमित रहने पुरानो शैलीको चिन्तनप्रणालीमात्र नभएर संसारको क्रान्तिकारी रूपान्तरण गर्ने क्रियात्मक दर्शन पनि भएकोले त्यसका प्रमुख जन्मदाता कार्ल माक्र्सलाई दार्शनिकका साथै वैज्ञानिक साम्यवादका संस्थापक, सर्वहारावर्गका गुरु एवम् अन्तर्राष्ट्रिय नेता पनि मानिन्छ ।
माक्र्स र एङ्गेल्स आफ्नो समयका राजनीतिक, सामाजिक एवम् वैज्ञानिक समस्याहरूको गहन अध्ययन अनुसन्धान गर्ने क्रममा विगत इतिहासको पनि समीक्षात्मक मूल्याङ्कन गर्दै क्रान्तिकारी व्यवहारका अनुभवहरूबाट निष्कर्ष झिक्दै र क्रमशः युवा हेगेलवादी, उग्र जनवादी वा समाजवादी, अनि अन्तमा साम्यवादी हुन पुग्दै १८४८ मा आएर एउटा सुस्पष्ट एवं सुसम्बद्ध विश्व दृष्टिकोण प्रस्तुत गर्न सफल भए । त्यो सोही वर्ष प्रकाशित विश्व प्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र भन्ने रचनामा देखाप¥यो । त्यसपछि आफ्नो जीवनको आखिरी घडीसम्म उनीहरू अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा सक्रियतापूर्वक संलग्न रहिरहे उनीहरूकै तत्परतामा पहिलो पटक कम्युनिस्ट इन्टरनेसनल नामक सङ्गठन पनि स्थापना गरिएको थियो । त्यसैगरी, लेनिन त प्रथम समाजवादी राष्ट्रका निर्माता तथा सोभियत पार्टी र राज्यका प्रमुख सिद्धान्तकार एवम् नायक नै थिए ।![]()
युरोपका अनेक क्षेत्रहरूमा, औद्योगिक क्रान्तिको परिणामस्वरूप बढ्दै आएको पुँजीवादले गर्दा उन्नाइसौँ शताब्दीको मध्यसम्ममा, उत्पादन पद्धति र विज्ञान प्रविधिसँगसँगै त्यहाँको सामाजिक संरचनामा पनि छिटोछिटो परिवर्तन हुन थालेको थियो । जताततै ठूलठूला कारखानाहरूका साथै विशाल सङ्ख्यामा ज्यामी कामदार र सर्वहाराहरू पनि देखापर्न लागे । आफ्नो जीवन दरिद्रता, महामारी, भोकमरी र निष्ठुर शोषण दमनले गर्दा नरकतुल्य हुँदै गइरहेकोले उनीहरूबाट त्यस्तो निर्मम शोषण दमनको विरुद्ध र मौलिक हक अधिकारहरूको लागि विभिन्न आन्दोलनहरू थालिएका थिए । फ्रान्सेली ज्यामीहरूले लियोन सहरमा र जर्मन कामदारहरू साइलिसियामा गरेका विद्रोहहरू, बेलायतको चार्टिस्ट आन्दोलन आदि त्यस नयाँ चेतनाको अभिव्यक्ति बनेर प्रकट भए । ज्यामीहरू बढी ज्याला, छुट्टीको उचित व्यवस्था, जीवन–यापन र कामको अवस्थामा सुधार आदिको माग गर्न थाले । तर, ती सङ्घर्षहरू अझै पनि छिटपुट, स्वस्फूर्त, असङ्गठित र आफ्नो उद्देश्यमा अस्पष्ट नै थिए । त्यस्तो नयाँ खालको व्यापकरूपमा बढ्दो सङ्घर्ष र सामाजिक हलचलको सुसम्बद्ध सैद्धान्तिक व्याख्या गर्ने, तिनको विकासका नियमहरू पहिल्याउने र तिनलाई सही बाटो देखाउने एउटा नयाँ समाजशास्त्रको खाँचो भइसकेको थियो । हुन त त्यसअघि पनि सेन्ट साइमन (१७६०–१९२५), चाल्र्स फुरियर (१७७२–१८३९), रबर्ट ओबेन (१७७१–१८५८) आदि विचारकहरूले निजी सम्पत्तिमा आधारित अन्यायपूर्ण समाज व्यवस्थाका विरुद्ध आवाज उठाएर सामूहिक स्वामित्व तथा समानतामा आधारित आदर्श समाजको परिकल्पना गर्दै आफ्ना योजनाहरू प्रस्तुत गरेका थिए । तापनि, ती सबै वैज्ञानिक विश्लेषणबाट भन्दा नैतिक आध्यात्मिक सद्भावनाबाट बढी प्रेरित रहेको हुनाले, समाजमा तिनको खास व्यावहारिक प्रभाव पर्न सकेको थिएन ।
त्यसैगरी, भौतिक शास्त्र, जीवशास्त्र, भूगर्भविज्ञान, रसायनशास्त्र आदिमा पत्ता लागेका नयाँ नयाँ तथ्यहरूले पनि त्यसबेलासम्म प्रकृति विज्ञानमाथि प्रभाव जमाई बसेका अधिभौतिक, यान्त्रिक दृष्टिकोण र पुराना मान्यताहरूको खण्डन गरिरहेका थिए । यो ब्रह्माण्ड चिरन्तन, परिवर्तनरहित परिघटना नभएर पदार्थको दीर्घकालीन विकासको परिणाम हो भन्ने कान्ट–लाप्लास परिकल्पना, पृथ्वीको भूगर्भीय पत्रहरूको अध्ययन–अनुसन्धान गर्ने भूगर्भ विज्ञानको उदय आदिबाट यान्त्रिक भौतिकवादी व्याख्याहरूको ठाउँमा द्वन्द्वात्मक विकासका अवधारणाहरूको सत्यता प्रमाणित भइसकेको थियो । अझ त्यसभन्दा पनि बढी महत्वपूर्ण कुरा, ऊर्जाको सञ्चारण र परिवर्तन, जीवित शरीरको कोशीय संरचना र चाल्र्स डार्विनको विकासवादी नियम आदिको उद्घाटन गर्ने क्रान्तिकारी वैज्ञानिक सिद्धान्तहरूबाट त प्रकृतिसम्बन्धी विगतका सम्पूर्ण जडवादी अभौतिक व्याख्याहरू पूर्णतः निराधार ठहरिन पुगेको पाइयो ।
![]()
यसरी त्यसबेला नयाँ विज्ञानहरूले यो जगत् पृथक र एक अर्काबाट स्वतन्त्र रहेका वस्तुहरूको समूह नभएर पारस्परिक सम्बन्ध तथा अन्तक्रिरयाहरूद्वारा स्वपरिचालित एउटा भौतिक समग्रता हो, अनि त्यसमा हुने परिवर्तनहरू भनेको गतिको यान्त्रिक विस्थापन वा पुनरावर्तन नभएर विकास तथा पुनर्जीवनको निरन्तर प्रक्रिया हो भन्ने तथ्य देखाए । तिनबाट केही कुराहरूको अन्य कुराहरूमा रूपान्तर, गतिका विभिन्न गुणात्मक रूपहरू र तिनका बीचको सम्पर्क, भौतिक जगत्का विभिन्न क्षेत्रहरूको विकासमान स्वभावजस्ता तथ्यहरूको पनि उद्घाटन हुन गयो । त्यसैगरी, सामाजिक आर्थिक घटनाहरूबाट पनि समाजको विकासमा भौतिक उत्पादनको आधारभूत स्थान र विभिन्न वर्गहरूको पारस्परिक द्वन्द्वको भूमिका पनि स्पष्ट हुन गयो । पुँजीवादी अर्थतन्त्रका आन्तरिक अन्तर्विरोधहरू सामाजिक एवम् राजनीतिक सङ्घर्षमा परिणत हुँदै थिए र श्रमजीवी वर्ग समाजमा एउटा नयाँ स्वाधीन राजनीतिक शक्तिको रूपमा दृढतासाथ अघि सरिरहेको थियो ।
त्यसैगरी, दर्शन र चिन्तनको क्षेत्रमा पनि त्यसबेला प्रभावकारी मानिने जर्ज विल्हम फ्रेडरिक हेगेल (१७७०–१८३१) र लुडविग फायरबाख (१८०४–१८१२) का दर्शनहरू पनि त्यस नयाँ परिस्थितिको व्याख्या प्रस्तुत गर्न असमर्थ थिए । हेगेलको भावनावादी द्वन्द्ववाद वास्तविक भौतिक सामाजिक जगत्सितभन्दा रहस्यमय परमसत्तासितै बढी सम्बद्ध थियो भने फायरबाखको भौतिकवादले पनि मनुष्यलाई सामाजिक दृष्टिले नहेरेर नृशास्त्रीय वा जीवशास्त्रीय दृष्टिबाट मात्र हेर्ने भूल गरेको हुनाले समाज विकासको व्याख्या गर्न सकिरहेको थिएन । अन्त्यमा, त्यो इतिहासका विभिन्न युगहरू एक अर्काबाट अलग विभिन्न धर्महरूले गर्दा नै फरक हुने गर्दछन् भन्ने नयाँ धार्मिक दर्शनमा टुङ्गिन पुगेको थियो । हेगेलले प्रकृतिको विकासमा द्वन्द्वको भूमिकालाई बुझे पनि उनको लागि यो जगत् वा प्रकृति कुनै परम रहस्यमय विचारसत्ताको बाह्य अभिव्यक्तिमात्र रहेकोले त्यस्तो द्वन्द्वात्मक विकास धारणाहरूको द्वन्द्वबाहेक अरू केही हुन सक्दैनथ्यो, अनि हेगेलको भावनावादको आलोचना गरेर फायरबाखले भौतिकवादलाई पुनः स्थापित गर्न खोजेका थिए । तापनि, द्वन्द्वको वास्तविकता स्वीकार नगरेबाट उनको भौतिकवाद पनि अन्ततः भावनावादकै अर्को परिष्कृत रूपमात्र रहन गयो । यसरी, मुख्यतः तत्कालीन सामाजिक तथा वैज्ञानिक यथार्थताहरूले उठाएका नयाँ–नयाँ प्रश्न र समस्याहरूको जवाफ पुराना दर्शनका पुस्तकहरूमा थिएन । त्यसैले प्रकृति, समाज र चिन्तनका क्षेत्रहरूमा एउटा नयाँ विश्वदृष्टिको उदय हुनको लागि पूर्वाधारहरू तयार भइसकेका थिए र तिनकै गर्भबाट माक्र्सवादले जन्म लिएको थियो ।
ठीक त्यस्तो परिस्थितिमा जर्मनीको शास्त्रीय दर्शन (मुख्यतः हेगेल र फायरबाखका कृतिहरू) एडम स्मिथ, डेबिड स्मिथ र डेविड रिकार्डोको राजनीतिक अर्थशास्त्र, अनि सेन्ट साइमन, फुरियर र ओवेनका आदर्शवादी काल्पनिक समाजवादका सिद्धान्तहरूको आलोचनात्मक मूल्याङ्कन गर्ने क्रममा नै माक्र्सवादले आफ्नो स्वरूप ग्रहण गरेको थियो । मूलतः त्यसका स्रोत पनि तिनै हुन् । पछि त्यसकै आधारमा माक्र्सवादअन्तर्गत तीनवटा विषयहरू द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको दर्शन, वैज्ञानिक राजनीतिक अर्थशास्त्र र वैज्ञानिक साम्यवादको सिद्धान्त, परस्परमा अविच्छिन्नरूपमा गाँसिएर रहेका त्यसका अविभाज्य अङ्ग मानिए ।
![]()
द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई प्राथमिक र चेतनालाई गौण ठान्दै भौतिक जगत् अटुटरूपमा गतिशील, विकासमान तथा पुनर्जीवित रहेको ठान्दछ । अनि ऐतिहासिक भौतिकवाद समाजको अध्ययनमा प्रयोग गरिने द्वन्द्वात्मक भौतिकवाद हो र त्यसले समाजको विकास पनि द्वन्द्वात्मक भौतिकवादका आधारभूत नियमानुसार नै हुन्छ भन्दै त्यसका सर्वसामान्य नियमहरूको उद्घाटन गर्दछ । वैज्ञानिक राजनीतिक अर्थशास्त्रले अतिरिक्त मूल्यको सिद्धान्तद्वारा पुँजीवादी व्यवस्थाले कसरी प्रशस्त नाफा कमाएर श्रमिकहरूको शोषण गर्दछ, कसरी त्यसबाट सामान्य जनता बेरोजगारी र दरिद्रताको शिकार हुन पुग्छन् ? एकातिर उत्पादनका साधनहरूको विकेन्द्रीकरण र अर्कोतिर श्रमको सामाजीकीकरण बढ्दै गएबाट चर्कँदै जाने वर्गसङ्घर्षद्वारा कसरी सर्वहारा क्रान्ति हुन्छ ? अनि पुँजीवादको पतन र साम्यवादको विजय एउटा अनिवार्य ऐतिहासिक तथ्यको रूपमा कसरी प्रकट हुन्छ भन्ने कुरा देखाउँछ । वैज्ञानिक साम्यवादको सिद्धान्तले पहिले समाजवाद र त्यसपछि क्रमशः साम्यवादी समाजको स्थापना सर्वहारा अधिनायकत्व र त्यसका विभिन्न पक्षहरू, नयाँ विश्व व्यवस्थाको निर्माणमा सर्वहारावर्गको ऐतिहासिक भूमिका आदिको विवेचना गर्दछ ।
माक्र्सवादका अनुसार सृष्टिको मूल प्रकृति भौतिक छ र त्यो निरन्तर गतिशील, विकासशील र पुनर्जीवितरूपमा रहने हुनाले त्यो द्वन्द्वात्मक पनि छ । पदार्थको अस्तित्व वस्तुगत हुन्छ र त्यो मनुष्यको चेतनाभन्दा स्वतन्त्र छ । यस ब्रह्माण्डमा गतिशील पदार्थबाहेक अरू केही हुनसक्दैन र त्यो विभिन्न रूपहरूमा प्रकट हुने गर्दछ । देश र कालका साथै विभिन्न गतिहरू पनि पदार्थकै गुणधर्म नै हुन् । चेतना भौतिक जगत् र इतिहासको दीर्घकालीन विकास प्रक्रियाको एउटा परिणाम हो । अजैवबाट जैव र जैवबाट चिन्तनशील पदार्थको उत्पत्ति भएको हो र त्यसमा श्रमको निर्णायक भूमिका रहेको हुन्छ । मनुष्यको चेतना अति सङ्गठित पदार्थ (मस्तिष्क) को एउटा विशेष गुणधर्म हो । जसमार्फत त्यसले भौतिक वस्तुपरकतालाई प्रतिबिम्बित गर्दछ । तर, चेतनाले पनि पछि गएर सापेक्ष स्वाधीनता हासिल गर्दै पदार्थको विकासमा सक्रिय भूमिका खेल्दछ । चेतनाले वस्तुजगत्लाई ठीकसँग प्रतिबिम्बित गर्न सकेको खण्डमा त्यसमा भौतिक जगत्को रूपान्तरण गर्नसक्ने क्षमताको प्रादुर्भाव हुन जान्छ । यो संसार अज्ञेय छैन । मनुष्यले क्रमशः यसको ज्ञान प्राप्त गर्दै जान सक्छ । सामाजिक व्यवहार र श्रम नै ज्ञानको एकमात्र आधार हो । त्यसैले, सत्य भन्ने कुरा सधैँ नै विशिष्ट, वस्तुगत र सापेक्षमात्र हुन्छ । सिद्धान्त र व्यवहारको एकत्व सत्यज्ञानको लागि अपरिहार्य पूर्वाधार हुन्छ । मानव जाति सापेक्ष सत्यबाट क्रमशः त्यसभन्दा पूर्ण सत्यतर्फ पाइला सार्दै आइरहेको छ ।
माक्र्स र एङ्गेल्सले आफ्नो दर्शनमा भौतिकवादी द्वन्द्ववादलाई सर्वोपरि महत्व दिएका छन् । लेनिनका अनुसार त त्यो माक्र्सवादको सारतत्व नै हो । समग्र जीवन र जगत् अर्थात् प्रकृति, मानव समाज र चिन्तनमा हुने विकासको मूल स्रोत र त्यसलाई अभिप्रेरित गर्ने मूल ऊर्जा प्रत्येक कुराभित्र पाइने एकता र द्वन्द्वको स्थिति नै हो र त्यसै आन्तरिक द्वन्द्वको स्थितिले गर्दा नै सम्पूर्ण जगत् र जीवन परिचालित भइरहेका हुन् । अनि निरन्तर पुरानाको अवसान र नयाँको उदय तथा विकास हुने प्रक्रिया पनि अटूटरूपमा विद्यमान रहिरहेको हो । वस्तुगतरूपमा अस्तित्ववान् रहने ती द्वन्द्वहरू निरपेक्ष स्वभावका हुन्छन् । तर, विपरीतहरूको एकताको अवस्था भने क्षणिक र सापेक्षमात्र हुन्छ । विपरीतहरूको सङ्घर्ष नै प्रत्येक परिवर्तनको मूल कारण हो । सबै वस्तुहरू आन्तरिक परिमाणात्मक परिवर्तनमार्फत निरन्तर गुणात्मक परिवर्तनतर्फ रूपान्तरित वा अग्रसर भइरहेका हुन्छन् । निषेधको नियम मुताविक सम्पूर्ण जगत् बाङ्गोटिङ्गो तर उत्तरोत्तर विस्तारको स्वभावबमोजिम विकसित भइरहेको छ ।
आजसम्मको इतिहासलाई दृष्टिगत गर्दा, सामाजिक जीवनका अन्य क्षेत्रहरूको दाँजोमा आर्थिक क्षेत्रले नै प्रमुख ठाउँ ओगटेको देखिन्छ । त्यसैगरी, अन्य सामाजिक सम्बन्धहरूको तुलनामा उत्पादनका सम्बन्धहरूले निर्णायक भूमिका खेल्ने गर्दछन् । सामाजिक जीवनका अन्य सबै क्रियाकलापहरू यी दुई कारकहरूबाटै निर्धारित हुन्छन् । समाजको स्वरूप र विकासमा त्यसको उत्पादन–पद्धतिले निर्णायक प्रभाव पार्दछ । उत्पादक शक्तिहरू (उत्पादनका साधन, श्रमका यन्त्र–औजार, त्यस्ता यन्त्र औजार बनाउने र प्रयोग गर्ने सामथ्र्य भएका मानिसहरू) निरन्तर विकसित भइरहने तर उत्पादनका सम्बन्धहरू (उत्पादनका साधनमाथिको स्वामित्व, त्यस्तो स्वामित्वको स्वरूपबाट निर्धारित हुन पुगेका विभिन्न सामाजिक समूहहरू र तिनको स्थिति, अनि स्वामित्वको स्वरूपले निर्धारित गर्ने वितरण प्रणाली) त्यति छिट्टै परिवर्तन नहुने कारणबाट यी दुईमाझको त्यस्तो अन्तर्विरोध चर्कँदै जान्छ, अनि नयाँ उत्पादक शक्तिहरूको लागि सहायक हुने उत्पादनका सम्बन्धहरू कायम गर्न भनेर सामाजिक क्रान्ति अनिवार्य हुन्छ । उत्पादक शक्ति र उत्पादन सम्बन्धको यस द्वन्द्वात्मकताबाटै मानव–समाज विकसित हुँदै आएको हो । इतिहासले देखाउँछ एउटा सामाजिक आर्थिक सङ्गठनको ठाउँ, त्यसभन्दा उन्नत अर्को सामाजिक–आर्थिक सङ्गठनले लिने गरी, नियम अधिशासित क्रमअनुसार उत्पादन पद्धतिहरूको विकास हुँदै आएको छ । मानव समाजमा अझसम्म आदिम, सामुदायिक, दास, सामन्ती, पुँजीवादी र समाजवादी गरी पाँचवटा प्रमुख उत्पादन पद्धतिहरू उत्पन्न भइसकेका छन् ।
इतिहासमा सामाजिक श्रम विभाजन र निजी सम्पत्तिको स्वामित्व सुरु भएपछि अर्थात् दास समाजताक विभिन्न वर्गहरू उत्पन्न भए । त्यसपछिको इतिहास वर्गसङ्घर्षको इतिहास रहिआएको छ र वर्गसङ्घर्ष नै सामाजिक विकासको एकमात्र प्रेरक शक्ति हो । दास समाजमा दास र दासस्वामी, सामन्तकालमा किसान र सामन्ती सरदार, पुँजीवादी युगमा सर्वहारा र पुँजीपति आधारभूत वर्गहरूका रूपमा देखापरे । इतिहासका विभिन्न चरणहरूमा आफ्ना शोषक स्वामीहरूविरुद्ध लाखौँ करोडौँ दास, कृषक र श्रमिकहरूले गर्दै आएका महान् विद्रोह वा क्रान्तिहरूबाटै युग परिवर्तन भएको देखिन्छ । यसबाट जनता नै इतिहासका निर्माता हुन् भन्ने कुरा पनि सिद्ध हुन्छ । पुँजीवादी समाजमा सर्वहाराहरूको वर्गसङ्घर्षले अनिवार्यतः समाजवादी क्रान्ति र अन्तमा वर्गविहीन साम्यवादी समाजको स्थापना गर्दछ । त्यसअघिका क्रान्तिहरूले एउटा शोषण पद्धतिको ठाउँमा अर्को शोषण पद्धतिमात्र खडा गरेका थिए । केही अवधिको लागि केही सामाजिक प्रगति पनि भयो । तर, वर्गशोषण भने नयाँ रूप फेरेर कायम नै रहेको पाइयो । सर्वहारा क्रान्तिले मात्र निजी सम्पत्तिको अन्त गरी वास्तविक अर्थमा शोषणविहीन समाजको स्थापना गर्नेछ ।
समाजमा वैमनस्यपूर्ण वर्गहरू देखापरेपछि नै राज्यको जन्म भएको हो र यो वर्ग समाजको सबैभन्दा महत्वपूर्ण संस्था हो । त्यसले अझसम्म आर्थिक दृष्टिबाट शक्तिशाली रहेका खास वर्गका विशेष अधिकार र सुविधाहरूको संरक्षण गर्दै आएको छ । यसरी त्यसको आर्थिक आधारलाई हेरी ल्याउँदा इतिहासमा अझसम्म दास, सामन्ती, पुँजीवादी र समाजवादी– यी चार प्रकारका राज्यहरू देखा परेका छन् । जसमध्ये अघिल्ला तीन थरीका राज्यप्रणालीहरू शोषकवर्गका सेवक थिए भने सर्वहारा अधिनायकत्व भएको समाजवादी राज्य, सामूहिक सम्पत्तिमा आधारित, शोषितवर्गको सेवा गर्ने राज्य हो । समाजवादमा उत्पन्न–सम्बन्ध र उत्पादक शक्तिहरूका माझ अनुकूलता र सामञ्जस्य रहेको हुन्छ । त्यो चरण पार गरेपछि त्यसभन्दा उच्चतर चरण अर्थात् साम्यवाद आउनेछ । जसमा आवश्यकताअनुसारको वितरण गर्न सकिनेछ र त्यसबेला राज्यको पनि कुनै आवश्यकता रहने छैन । त्यो सम्पूर्ण जनताको राज्य हुनेछ । त्यसपछि नै मानव जातिले आफ्नो प्राग्ऐतिहासिक अवस्था पार गरी साँचो अर्थमा नयाँ सभ्यताको शुभारम्भ गर्नेछ ।
भौतिक उत्पादनको विधि र उत्पादनका सम्बन्धहरूको कुल जोडबाट आर्थिक संरचना अर्थात् त्यसको मूल आधार खडा हुन्छ अर्को शब्दमा, कुनै पनि समाजमा त्यहाँको सम्पत्तिको रूप, उत्पादन प्रक्रियामा मानिसहरूको पारस्परिक सम्बन्ध र भौतिक सम्पत्तिको वितरणलाई समग्ररूपमा लिएर त्यसको आर्थिक आधार बन्छ, अनि त्यस आधारमाथि नै समाजको राजनैतिक, नैतिक, कानुनी, धार्मिक, दार्शनिक र सौन्दर्यबोधात्मक धारणाहरू, अनि त्यसै अनुरूपका सङ्घ–संस्था (राज्य, न्यायालय, राजनीतिक दल, चर्च र अन्य संस्थागत कुराहरू) को अधिरचना अडेको हुन्छ । आर्थिक आधार निर्णायक भएकोले त्यसमा परिवर्तन हुनासाथ अधिरचनामा पनि परिवर्तन हुन थाल्दछ । तर, त्यो यान्त्रिक नभएर द्वन्द्वात्मक प्रकृतिको हुने गर्दछ र कालान्तरमा अधिरचनाले सापेक्ष स्वतन्त्रता प्राप्त गर्दै आर्थिक–भौतिक आधारलाई पनि प्रभावित गर्दछ ।
आर्थिक आधार र अधिरचनासम्बन्धी माक्र्सवादको सिद्धान्तले सामाजिक सत्ताबाटै सामाजिक चेतनाको निर्धारण हुन जाने तथ्यको आधारमा ती दुवै माझको सम्बन्ध, तिनको पारस्परिक अन्तक्र्रिया, समाजको प्रचलित परिपाटी, मत–मान्यता, विचारधारा, चालचलन र सङ्घ–संस्था आदिको उत्पत्तिका वास्तविक कारण र सामाजिक विकासमा तिनको क्रियाशील भूमिका आदि विषयहरूको वैज्ञानिक व्याख्या गरेको छ ।
स्रोत : गोविन्द भट्टका दार्शनिक रचनाहरू
Leave a Reply