भर्खरै :

विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा र नियुक्तिले गर्दा सक्षम र योग्य व्यक्तिहरू ओझेलमा

विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा र नियुक्तिले गर्दा सक्षम र योग्य व्यक्तिहरू ओझेलमा

भक्तपुर, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा बिहीबार कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले कलेज र विश्वविद्यालयहरू राजनैतिक कार्यकर्ता तयार हुने थलो भएको बताउँदै विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा र नियुक्तिले गर्दा सक्षम र योग्य व्यक्तिहरू ओझेलमा परिरहेको बताउनुभयो ।
जनताको अपेक्षाअनुसार मुलुकले आर्थिक प्रगति र समृद्धि हासिल गर्न नसकेको बताउँदै उहाँले सरकार असफल साबित भएको बताउनुभयो ।
शिक्षक तथा प्राध्यापकहरूले व्यापक दृष्टिकोण राखेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिँदै उहाँले परीक्षा उत्तीर्ण गर्ने उद्देश्यले मात्र उच्च शिक्षा अध्ययन गराए विद्यार्थीहरूको शैक्षिक जग कमजोर हुने बताउनुभयो ।
स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेमा जोड दिँदै उहाँले शासक दलहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताललाई सधैँ पक्षपातपूर्ण व्यवहार गरिरहेको उल्लेख गर्नुभयो ।
भारतको ओडिसास्थित किट कलेजमा घटेको घटनामा सरकार नै मुख्य दोषी रहेको बताउँदै उहाँले सरकारले हरेक प्रदेशमा एउटा विश्वविद्यालय र अस्पताल सञ्चालनमा जोड दिए देशको सन्तुलित विकास हुने थियो भन्नुभयो ।
राजनीतिक नेता तथा कार्यकर्ताहरूले इमानदारीपूर्वक देश र जनताको पक्षमा राजनीति नगर्दा देशमा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उहाँले कुनै पनि देश विकासमा बुद्धिजीवीहरूले देश र समाजलाई अगाडि बढाउने उद्देश्यले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै गौरवको योजना भएको बताउँदै उहाँले शासक दलहरूबिच हरेक विषयमा भागबन्डा गर्ने गलत प्रवृत्तिकै कारण ख्वप विश्वविद्यालयको विधेयक अहिलेसम्म पारित हुन नसकेको बताउनुभयो ।
नेपालमा एमसीसी स्थगित मात्र नभई खारेज नै हुनु आवश्यक रहेको बताउँदै उहाँले विदेशीको भरमा देश कहिल्यै आत्मनिर्भर हुन नसक्ने बताउनुभयो । भक्तपुर नगरपालिका र नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताललाई आत्मनिर्भर तरिकाले सञ्चालन गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको सञ्चालन विधि तथा प्रणाली सबैको चासो र सिकाइको विषय बनिरहेको बताउँदै ख्वपको शैक्षिक प्रगति सबैको लागि अनुकरणीय बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले शिक्षक र विद्यार्थीहरूले देश विदेशको राजनीति नबुझ्दा भविष्यमा ठुलो दुर्घटना हुनसक्ने र राजनीतिकरूपमा प्रतिबद्ध शिक्षक विद्यार्थीमा क्रान्तिकारी भावना रहेको हुन्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *