कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
२०२०–२२ सालमा भएको विद्यार्थी आन्दोलनको सिलसिलामा काठमाडौँ, पाटन र भक्तपुरका चारजना शिक्षक पनि पक्राउ परेका थिए । काठमाडौँबाट विष्णुबहादुर श्रेष्ठ (अङ्ग्रेजी र गणितका शिक्षक), डिल्लीबजारका रघु गुरू, पाटनका रामबहादुर श्रेष्ठ र भक्तपुरबाट म पक्राउ परेँ । नख्खु जेलमा लगेर मेरो पक्राउ पुर्जीमा ‘नजर बन्द’ लेखिएकोले जेलमा ठुली फुपू भेट्न आउनुहुँदा जेल प्रशासनले भेट्न दिएको थिएन ।
त्यसबेला मैले येनान गोष्ठीमा ‘कला र साहित्यमा माओ त्सेतुङको प्रवचन’ बारे चीनको एक अङ्ग्रेजी म्यागेजिन (पत्रिका) को जनमुक्ति सेनाको पत्रिकाको एक लेख (अप्रिसियसन) को अनुवाद (त्यसबेलासम्म नेपाली भाषामा अनुवाद छापिसकेको थिएन) नेपालीमा गरेको थिएँ ।
पछि सो लेखको अनुवाद ‘श्रमिक’ मा दुई–तीन पटक छापिएको अनुभव हुन्छ ।
सानोठिमीको प्राविधिक शिक्षा तालिम केन्द्रमा म श्री पद्म हाइस्कूलको तर्फबाट सचिवालय विज्ञान (सेक्रेटरियल साइन्स) को तालिममा थिएँ । त्यस अमेरिकी प्रोजेक्टमा १३ अञ्चलका शिक्षकहरू थिए । अमेरिकी पर्यटकहरू मात्र आए पनि उठ्नुपर्ने र नेपाली मन्त्रीहरू निरीक्षणमा आए प्रशिक्षार्थीहरू उठ्नु नपर्ने परिस्थितिमा शिक्षकहरूमा असन्तुष्ट हुनु स्वाभाविक थियो । त्यसको विरोधमा हडताल हुँदा म दोस्रोपटक पक्राउ परेँ । पछि म नख्खु जेलमा लगिएँ ।
त्यसबेला जेलको स्थिति र बन्दीहरूबारे कथाहरू लेखेको सम्झन्छु ।
भक्तपुर दरबार चोकमा अमेरिकी दूतावासले चन्द्रमामा रकेट पठाएको बारे एक फोटो प्रदर्शन हुँदै थियो । त्यसबेला युवा, विद्यार्थी, शिक्षक र किसानहरूबाट भियतनाममाथि अमेरिकी आक्रमणको विरोधमा फोटो प्रदर्शनी र विरोध प्रदर्शन भएको थियो । त्यसबेला पक्राउ हुनेहरूमा म पनि परेँ, अरू साथीहरू छुटे र म पुनः नख्खु जेल पठाइएँ ।
त्यसबेला मैले सिधासादा बन्दीहरूलाई पढाउने काम गरेँ । रूसी लेखक टल्स्टाएका निर्दाेष व्यक्तिहरू हत्याको मुद्दामा लामो समयसम्म अमानवीय सजाय भोगिरहेको कथाहरूबाट म प्रभावित थिएँ ।
त्यसबेला मैले नेपाली, युरोपेली र अमेरिकी इतिहास र साहित्यहरूको अध्ययनमा समय खर्च गरेँ । सोअनुसार केही लेखहरू ‘मजदुर’ पत्रिकामा धाराबाहिक रूपमा छापिए ।
चाँगुमा एक ठुलो जग्गा धनीले मोहियानी हक नदिँदा किसान सङ्घर्ष भड्किएको थियो । संयोगले म त्यसबेला काठमाडौँमा थिएँ । फर्किँदा बाटैमा पक्राउ परेँ । मेरो प्रस्ट उत्तर थियो – सङ्घर्र्षको निर्णय किसान सङ्गठनले गर्छ, म किसान सङ्गठनको सदस्य होइन । जोताहा किसानहरूको माग जायज छ, कानुनसम्मत छ र म त्यसको पक्षमा छु ।
प्रशासकहरूसँग पटकपटक छलफलपछि भक्तपुरमै प्रहरीले छोड्न ल्यायो ।
यसरी अनेक घटनाहरूमा पक्राउ गर्ने र छोड्ने गथ्र्योे प्रशासनले ।
भूमिगत
भक्तपुरमा नवदुर्गा सहकारी संस्थामा भ्रष्टाचार भएकोमा बचतकर्ता किसानहरूले सहकारी सदस्य भएका जनतालाई हिसाब–किताब देखाउन अस्वीकार गर्ने सभापतिलाई उल्टो टोपी लगाई नगर घुमाउने सङ्घर्षमा धेरै साथीहरू पक्राउ परे र म सङ्गठनको निर्णयअनुसार पहिलोचोटि भूमिगत भएँ ।
नेपालको भूमि सुस्तामा भारतीय अतिक्रमणको विरोधमा र भ्रष्टाचारविरोधी सङ्घर्षको कारण म भूमिगत अवस्थामा जनताको सेवामा लागँे ।
भक्तपुर नगरपालिकामा जनताका प्रतिनिधिहरूको बहुमत थियो । त्यसकारण, सरकारको थिचोमिचो थियो । अर्काेतिर भियतनाममा अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा दरबार स्क्वायरमा राष्ट्रपति जोनसन र अमेरिकीमन्त्री म्याकन माराको विरोधमा जनताले विरोध गर्दा पुनः भूमिगत जान बाध्य भएँ । त्यसैबेला मैले एउटा कविता लेखेको थिएँ – ‘साथी, म भियतनाम जान्छु ।’ त्यो कविता शशिकला शर्माद्वारा सम्पादित ‘स्वास्नीमान्छे’ त्रैमासिक पत्रिकामा छापिएको थियो । त्यो कविता शारदा माविको सभा भवनमा आयोजित कविता गोष्ठीमा पाठ गरेको थिएँ ।
१० वर्ष भारत प्रवास
सन् १९७० देखि १९८० सम्म म सङ्गठनको निर्णयअनुसार भारत प्रवासमा गई नेपाली जनताको सेवामा लागँे । प्रगतिशील साहित्य र कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक स्पष्टताको निम्ति काम गरेँ । जस्तै ः–
क) ‘जनताको साहित्य’ साहित्यिक प्रकाशन चालू राखेँ ।
ख) ‘जनताको साहित्य र साहित्यकार’ एक सरल पुस्तक लेखेँ र समयमै प्रकाशित भयो । नेपाल र भारतको सीमामा रहेका जनताका निम्ति केही भारतीय प्रगतिशील र साथीहरूसँग मिलेर ‘आधार’, ‘समाचार संसद्’, ‘ध्रुवतारा’ र ‘नेपाल तराई’ हिन्दी भाषामा प्रकाशित गरियो । पछि ‘आधार’ नेपाली भाषामा पनि प्रकाशित गरियो ।
नेपालमा बस्दा आफ्नो नामबाट पुस्तक प्रकाशित गर्न नमिल्ने हुँदा ‘हरिबहादुर श्रेष्ठ’ को नामलाई प्रयोग गरेँ । प्रवासमा बस्दा केन्द्रीय समितिमा ‘रोहित’ को नामबाट काम गर्थेँ । त्यस्तै ‘रामबहादुर ज्यापु’ र अन्य उपनामहरू पनि प्रयोग गर्ने गर्थेँ ।
कम्युनिस्ट आन्दोलनबारे
१) नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन (मुख्य शत्रुको पहिचान र आन्दोलनबारे अवसरवादको विरोधमा)
२) रूसी–संशोधनवाद सामाजिक – साम्राज्यवादमा पतन
३) नेपाल भारत सम्बन्ध र भारत
४) विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू
५) नेपालको तराईको किसान आन्दोलनबारे (ऐतिहासिक किसान आन्दोलन ः एक अध्ययन (बारा, रौतहट, धनुषा, सिराहा र सप्तरी )
६) समाज विकासको एक झलक (१५–२० वर्षपछि मात्र यो पुस्तक नेपालमा प्रकाशित भयो ।)
भारत प्रवासको अन्तिम समयमा पार्टी (नेमकिपा) भित्र घुसेका त्रोत्स्कीवादी र आतङ्कवादीहरूको गोली प्रहारमा परेँ र बाँचेँ ।
जनमतसङ्ग्रहको आह्वान र नेपाल प्रवेश
२०४२ सालमा ५ वाम आन्दोलनमा पाटनको सत्याग्रहमा म पक्राउमा परेँ । नख्खु जेलमा ५ महिना राखियो ।
२०४५ सालमा राज्यस्तरबाट गरिएको षड्यन्त्रमा २० महिनाको जेल जीवनमा दुई चार महिना काठमाडौँको केन्द्रीय कारागारमा राखिएको र देशमा बहुदलको पक्षमा आन्दोलन चर्केपछि ‘कोर्ट गार्ड’ (चौबीसै घण्टा प्रहरीको निगरानीमा) गुप्त रूपमा प्रहरीको केन्द्रीय कारागारमा राखियो । फेरि म नख्खु जेलमा लगिएँ ।
त्यसबेला परिवार र खासगरी शोभालाई भक्तपुरबारे सा¥है थोरै जानकारी भएको, आफ्नो मानिस र अरू परचक्रीहरूबारे केही थाहा थिएन । त्यस्तो जानकारी दिने समय र अवस्था नै भएन । उनी नख्खुमा भेट्न आउँदा उनको मुखले आफ्नो मनको सुख दुःख बताउनुभन्दा पनि आँखाको आँसुको अभिव्यक्तिबाट बुझेर मैले उनको मन र मस्तिष्कलाई सान्त्वना दिन, मेरो र दलको उद्देश्यप्रति कुनै भ्रम र अस्पष्टता नहोस् भनी पत्रको सहारा लिने उपाय रोजेँ । एकातिर तत्कालीन दुःख र पीडाबाट म र परिवारको चासो, अनि शोभाकै मनलाई ढाडस दिनु थियो । हामीबाट कुनै पनि गल्ती र नराम्रो काम भएको छैन र हामी कुनै पनि रूपमा पछि हट्नुपर्ने कुरा होइन । हामी देश र जनताको निःस्वार्थ रूपले सेवामा लागेका छौँ ।
त्यसैको निम्ति विद्यार्थीलाई विज्ञान प्रयोगशालामा आवश्यक सामग्रीहरू (आप्रटस) देखाएर शिक्षकले प्रस्ट पारेजस्तै भक्तपुर र भक्तपुरका जनताको देशप्रतिको योगदानबारे एकएक वस्तुलाई परिचय गराएजस्तै मैले भक्तपुरको भूगोल, इतिहास, कला–संस्कृति र हाम्रो निश्छल भावनालाई छर्लङ्ग पार्न खोजेँ । मनमा केही कुरा नपाउनु भनेको दुःख हो, जानकारी पाउनु सुखको अनुभूति हो । त्यसमाथि व्यक्तिको गहिरो अध्ययनले उनीमा साहस र लड्ने आँटको सिर्जना होस् भन्ने हो । हाम्रो जेल मुक्तिको समय ढिलो भए पनि बालबच्चालाई हुर्काउनेबारे विषयवस्तुको स्पष्टताले हिम्मतमा वृद्धि हुन्छ । पछि २–४ वर्षपछि उनको शान्त मुद्रा हेरी पत्रको कुरा उप्काउँदा उनले भनिन् – “मैले पत्रलाई दोहो¥याई तेह¥याई पढँे, मलाई एक प्रकारले मनलाई सान्त्वना दिने र सङ्र्घष गर्न ठुलो भूमिका खेल्थ्यो ।”
पहिलेका जेलका यात्राहरूमा चिठी लेखेरै बताउनुपर्ने केही थिएन, आमा, भाइ र बहिनीहरूलाई ¤ बरू अरू विषय थाहा पाउने अन्य विषय लेख्नमा ध्यान जान्थ्यो ।
नेपाली साहित्यमा विश्वका विभिन्न देशका बारेमा थोरै मात्र पुस्तकहरू थिए । यसकारण, म पहिलो र दोस्रो विश्वयुद्धका चर्चित व्यक्तिहरूको बारे आलोचनात्मक अध्ययन प्रस्तुत गर्न चाहन्थेँ । तर, शत्रुहरूको निरन्तर प्रहार हुँदा उत्तर पनि तत्काल दिनुपर्ने कारणले हामी सदा तयार रहनु जरूरी थियो । यसकारण, सेन्सरबाट समेत स्वीकार हुने गरी शोभालाई जानकारी दिनु अनि दिदीबहिनी र महिलाहरूसम्म पुग्ने अनुमानमा चिठीहरू लेखिएको थियो । सायद, निर्णय सही थियो ।
धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो । तर, शत्रुहरूको झूटा आरोप र लान्छनाहरूको उत्तर जरूरी थियो जो हामी सबै तत्काल र प्रतिकार गर्न सफल भयाँै । आफूसहित ६७ जना साथीहरूलाई सर्वस्वसहित ज्यान सजाय हुने मुद्दा थियो ।
घरमा बन्दी
प्रजातन्त्रको पुनःस्थापनापछि पनि फेरि दुईपटक ‘घरमै बन्दी’ (हाउस आरेस्ट) मा परेँ ।
प्रजातन्त्र पुनःस्थापनापछि पनि सरकारहरूको वक्रदृष्टि हामीबाट हटेन । त्यसको उदाहरण घरमै गरेको नजरबन्द थियो ।
१) १८ असोज २०५६ (४ अक्टोबर २००२) मा सुकुलढोकामा दुई हप्ता प्रहरी तैनाथ रह्यो ।
२) १९ माघ २०६१ (१ फेब्रुअरी २००५) कमलविनायकमा तीन हप्ता घरमै प्रहरीको पहरा रह्यो ।
हाम्रो जीवन भने आज पनि खुला पुस्तकजस्तै छ ।
यस चिठीको चिनियाँ भाषाको अनुवादले साधारण चिनियाँ जनताले तत्कालीन नेपालका कला–संस्कृति, नेपाली जनताका सुख–दुःख र समाजबारे प्रत्यक्ष देखेको अनुभव गर्नेछन् । चिनियाँ जनताले आफ्नै भाषामा वर्तमान नेपालबारे लेखिएका पुस्तकहरू कमै होलान् भन्ने म ठान्छु । यस चिट्ठीबाट चीनको नयाँ पुस्ताले पनि नेपालबारे मात्र होइन आफ्नै देशको हिजोको सुख–दुःखबारे पनि जिज्ञासा राख्ने सम्भावना छ । यसले नेपाली र चिनियाँ जनतामा आपसको सामाजिक र राजनीतिक विषयमा प्रत्यक्ष जानकारी हुनेबारे कुनै दुविधा हुनेछैन ।
यस कार्यमा अनुवाद कार्य गर्ने चिनियाँ साथी श्रीमती चाङ हेङवेई (श्ज्ब्ल्न् ज्इल्न्ध्भ्क्ष्) र नेपाली साथी प्रणय चित्रकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यसको प्रभाव १० वर्षपछि अझ धेरै गुणा बढी महत्वपूर्ण र सत्कार्य गरिएको साबित हुनेछ । यसको निम्ति प्रकाशनको मुख्य भूमिका खेल्ने बाल विकास विद्यालयका सहयोगी सञ्चालक समितिलाई धन्यवाद दिन चाहन्छु ।
तर, नेपाली जनतामा प्राचीन चीनको आध्यात्मिक प्रभाव थियो भने नयाँ युगको प्रभाव अझ व्यापक र प्रकाशमय छ । नेपाल र चीनको प्राचीन साहित्यको अनुवादले पनि दुई देशको जनतामा ठुलो अल्हाद (आनन्द) को अनुभूति हुनेछ ।
पुस्तकहरू लेख्ने मेरो तलतल
२०२२–२३ सालमै ‘भियतनाम एक परिचय’ भन्ने सानो पुस्तिका लेखेर मातृभूमि प्रेसमा दिएँ । पुस्तिका छाप्यो तर सहायक अञ्चलाधीशले प्रस्टै भने – “पुस्तिका स्वीकृत हुनेछैन, त्यसमा मित्रराष्ट्र अमेरिकी राष्ट्रपतिलाई निन्दा गरिएको छ ।”
मैले भनेँ– “यो मेरो विचार हो, नेपालमा प्रेस स्वतन्त्रता छ र वाक् स्वतन्त्रता पनि छ । यो मेरै पैसा हो ।”
त्यसको भोलिपल्ट हाम्रै परिवारका एक नातेदार ‘सरकार समर्थक’ व्यक्ति आएर भने “तिमीलाई सरकारले एक प्रेस र कागजको रकमसमेत पु¥याउँछ, तिमीले सरकारको एउटा पत्रिका चलाऊ ।” मैले उत्तर दिएँ – “गोरखापत्र र अरू पत्रपत्रिका छन् नि, मैले किन नयाँ पत्रिका चलाउने ?”
केही दिनपछि म प्रेसमा पुग्दा प्रेसका मालिकले भने – “यहाँ रहेका तपाईंका दुई पुस्तक अञ्चलाधीश कार्यालयबाट प्रहरीहरू आएर सबै पुस्तक लगेर जलाइदियो भने सुन्छु† मैले लेखकको निम्ति प्रुफ हेर्न एक–एक कपी तपाईँको निम्ति राखेको दिन्छु ।”
म पुस्तकहरू लिएर फर्केँ र पुस्तकलाई अन्तै साथीहरूकहाँ पठाएँ । पछि ती नै पुस्तकहरूमध्ये ‘चीन भ्रमण’ केही सम्पादनपछि छापियो र ‘भियतनाम परिचय’ मा भने आजको भियतनाम, होचि मिन्ह र संसारमा प्रथम महिला सेना नेतृबारे तथा अन्य विषय पनि गाँसेर प्रकाशित गर्ने विचारमा छु । त्यसमा भियतनाम, लाओस र कम्बोडियाको बारे पनि जानकारी दिने मनमा राख्दै आएको छु । समयले साथ दिएमा त्यसबाट पनि नेपाली भाषाको सेवा हुने भन्ठान्छु ।
आयोजक मित्रहरू, अनुवादक साथीहरू र सहभागी सबै साहित्यप्रेमी साथीहरूप्रति आभार प्रकट गर्न चाहन्छु ।
(यो मन्तव्य बाल विकास इङलिस सेकेन्डरी स्कूलद्वारा शुक्रबार आयोजित चिनियाँ भाषामा अनुदित ‘जेलका चिट्ठीहरू’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्त गर्नुभएको हो–सं)
Leave a Reply