भर्खरै :

“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”

“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”

२०२०–२२ सालमा भएको विद्यार्थी आन्दोलनको सिलसिलामा काठमाडौँ, पाटन र भक्तपुरका चारजना शिक्षक पनि पक्राउ परेका थिए । काठमाडौँबाट विष्णुबहादुर श्रेष्ठ (अङ्ग्रेजी र गणितका शिक्षक), डिल्लीबजारका रघु गुरू, पाटनका रामबहादुर श्रेष्ठ र भक्तपुरबाट म पक्राउ परेँ । नख्खु जेलमा लगेर मेरो पक्राउ पुर्जीमा ‘नजर बन्द’ लेखिएकोले जेलमा ठुली फुपू भेट्न आउनुहुँदा जेल प्रशासनले भेट्न दिएको थिएन ।
त्यसबेला मैले येनान गोष्ठीमा ‘कला र साहित्यमा माओ त्सेतुङको प्रवचन’ बारे चीनको एक अङ्ग्रेजी म्यागेजिन (पत्रिका) को जनमुक्ति सेनाको पत्रिकाको एक लेख (अप्रिसियसन) को अनुवाद (त्यसबेलासम्म नेपाली भाषामा अनुवाद छापिसकेको थिएन) नेपालीमा गरेको थिएँ ।
पछि सो लेखको अनुवाद ‘श्रमिक’ मा दुई–तीन पटक छापिएको अनुभव हुन्छ ।
सानोठिमीको प्राविधिक शिक्षा तालिम केन्द्रमा म श्री पद्म हाइस्कूलको तर्फबाट सचिवालय विज्ञान (सेक्रेटरियल साइन्स) को तालिममा थिएँ । त्यस अमेरिकी प्रोजेक्टमा १३ अञ्चलका शिक्षकहरू थिए । अमेरिकी पर्यटकहरू मात्र आए पनि उठ्नुपर्ने र नेपाली मन्त्रीहरू निरीक्षणमा आए प्रशिक्षार्थीहरू उठ्नु नपर्ने परिस्थितिमा शिक्षकहरूमा असन्तुष्ट हुनु स्वाभाविक थियो । त्यसको विरोधमा हडताल हुँदा म दोस्रोपटक पक्राउ परेँ । पछि म नख्खु जेलमा लगिएँ ।
त्यसबेला जेलको स्थिति र बन्दीहरूबारे कथाहरू लेखेको सम्झन्छु ।
भक्तपुर दरबार चोकमा अमेरिकी दूतावासले चन्द्रमामा रकेट पठाएको बारे एक फोटो प्रदर्शन हुँदै थियो । त्यसबेला युवा, विद्यार्थी, शिक्षक र किसानहरूबाट भियतनाममाथि अमेरिकी आक्रमणको विरोधमा फोटो प्रदर्शनी र विरोध प्रदर्शन भएको थियो । त्यसबेला पक्राउ हुनेहरूमा म पनि परेँ, अरू साथीहरू छुटे र म पुनः नख्खु जेल पठाइएँ ।
त्यसबेला मैले सिधासादा बन्दीहरूलाई पढाउने काम गरेँ । रूसी लेखक टल्स्टाएका निर्दाेष व्यक्तिहरू हत्याको मुद्दामा लामो समयसम्म अमानवीय सजाय भोगिरहेको कथाहरूबाट म प्रभावित थिएँ ।
त्यसबेला मैले नेपाली, युरोपेली र अमेरिकी इतिहास र साहित्यहरूको अध्ययनमा समय खर्च गरेँ । सोअनुसार केही लेखहरू ‘मजदुर’ पत्रिकामा धाराबाहिक रूपमा छापिए ।
चाँगुमा एक ठुलो जग्गा धनीले मोहियानी हक नदिँदा किसान सङ्घर्ष भड्किएको थियो । संयोगले म त्यसबेला काठमाडौँमा थिएँ । फर्किँदा बाटैमा पक्राउ परेँ । मेरो प्रस्ट उत्तर थियो – सङ्घर्र्षको निर्णय किसान सङ्गठनले गर्छ, म किसान सङ्गठनको सदस्य होइन । जोताहा किसानहरूको माग जायज छ, कानुनसम्मत छ र म त्यसको पक्षमा छु ।
प्रशासकहरूसँग पटकपटक छलफलपछि भक्तपुरमै प्रहरीले छोड्न ल्यायो ।
यसरी अनेक घटनाहरूमा पक्राउ गर्ने र छोड्ने गथ्र्योे प्रशासनले ।
भूमिगत
भक्तपुरमा नवदुर्गा सहकारी संस्थामा भ्रष्टाचार भएकोमा बचतकर्ता किसानहरूले सहकारी सदस्य भएका जनतालाई हिसाब–किताब देखाउन अस्वीकार गर्ने सभापतिलाई उल्टो टोपी लगाई नगर घुमाउने सङ्घर्षमा धेरै साथीहरू पक्राउ परे र म सङ्गठनको निर्णयअनुसार पहिलोचोटि भूमिगत भएँ ।
नेपालको भूमि सुस्तामा भारतीय अतिक्रमणको विरोधमा र भ्रष्टाचारविरोधी सङ्घर्षको कारण म भूमिगत अवस्थामा जनताको सेवामा लागँे ।
भक्तपुर नगरपालिकामा जनताका प्रतिनिधिहरूको बहुमत थियो । त्यसकारण, सरकारको थिचोमिचो थियो । अर्काेतिर भियतनाममा अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा दरबार स्क्वायरमा राष्ट्रपति जोनसन र अमेरिकीमन्त्री म्याकन माराको विरोधमा जनताले विरोध गर्दा पुनः भूमिगत जान बाध्य भएँ । त्यसैबेला मैले एउटा कविता लेखेको थिएँ – ‘साथी, म भियतनाम जान्छु ।’ त्यो कविता शशिकला शर्माद्वारा सम्पादित ‘स्वास्नीमान्छे’ त्रैमासिक पत्रिकामा छापिएको थियो । त्यो कविता शारदा माविको सभा भवनमा आयोजित कविता गोष्ठीमा पाठ गरेको थिएँ ।
१० वर्ष भारत प्रवास
सन् १९७० देखि १९८० सम्म म सङ्गठनको निर्णयअनुसार भारत प्रवासमा गई नेपाली जनताको सेवामा लागँे । प्रगतिशील साहित्य र कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक स्पष्टताको निम्ति काम गरेँ । जस्तै ः–
क) ‘जनताको साहित्य’ साहित्यिक प्रकाशन चालू राखेँ ।
ख) ‘जनताको साहित्य र साहित्यकार’ एक सरल पुस्तक लेखेँ र समयमै प्रकाशित भयो । नेपाल र भारतको सीमामा रहेका जनताका निम्ति केही भारतीय प्रगतिशील र साथीहरूसँग मिलेर ‘आधार’, ‘समाचार संसद्’, ‘ध्रुवतारा’ र ‘नेपाल तराई’ हिन्दी भाषामा प्रकाशित गरियो । पछि ‘आधार’ नेपाली भाषामा पनि प्रकाशित गरियो ।
नेपालमा बस्दा आफ्नो नामबाट पुस्तक प्रकाशित गर्न नमिल्ने हुँदा ‘हरिबहादुर श्रेष्ठ’ को नामलाई प्रयोग गरेँ । प्रवासमा बस्दा केन्द्रीय समितिमा ‘रोहित’ को नामबाट काम गर्थेँ । त्यस्तै ‘रामबहादुर ज्यापु’ र अन्य उपनामहरू पनि प्रयोग गर्ने गर्थेँ ।
कम्युनिस्ट आन्दोलनबारे
१) नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन (मुख्य शत्रुको पहिचान र आन्दोलनबारे अवसरवादको विरोधमा)
२) रूसी–संशोधनवाद सामाजिक – साम्राज्यवादमा पतन
३) नेपाल भारत सम्बन्ध र भारत
४) विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू
५) नेपालको तराईको किसान आन्दोलनबारे (ऐतिहासिक किसान आन्दोलन ः एक अध्ययन (बारा, रौतहट, धनुषा, सिराहा र सप्तरी )
६) समाज विकासको एक झलक (१५–२० वर्षपछि मात्र यो पुस्तक नेपालमा प्रकाशित भयो ।)
भारत प्रवासको अन्तिम समयमा पार्टी (नेमकिपा) भित्र घुसेका त्रोत्स्कीवादी र आतङ्कवादीहरूको गोली प्रहारमा परेँ र बाँचेँ ।
जनमतसङ्ग्रहको आह्वान र नेपाल प्रवेश
२०४२ सालमा ५ वाम आन्दोलनमा पाटनको सत्याग्रहमा म पक्राउमा परेँ । नख्खु जेलमा ५ महिना राखियो ।
२०४५ सालमा राज्यस्तरबाट गरिएको षड्यन्त्रमा २० महिनाको जेल जीवनमा दुई चार महिना काठमाडौँको केन्द्रीय कारागारमा राखिएको र देशमा बहुदलको पक्षमा आन्दोलन चर्केपछि ‘कोर्ट गार्ड’ (चौबीसै घण्टा प्रहरीको निगरानीमा) गुप्त रूपमा प्रहरीको केन्द्रीय कारागारमा राखियो । फेरि म नख्खु जेलमा लगिएँ ।
त्यसबेला परिवार र खासगरी शोभालाई भक्तपुरबारे सा¥है थोरै जानकारी भएको, आफ्नो मानिस र अरू परचक्रीहरूबारे केही थाहा थिएन । त्यस्तो जानकारी दिने समय र अवस्था नै भएन । उनी नख्खुमा भेट्न आउँदा उनको मुखले आफ्नो मनको सुख दुःख बताउनुभन्दा पनि आँखाको आँसुको अभिव्यक्तिबाट बुझेर मैले उनको मन र मस्तिष्कलाई सान्त्वना दिन, मेरो र दलको उद्देश्यप्रति कुनै भ्रम र अस्पष्टता नहोस् भनी पत्रको सहारा लिने उपाय रोजेँ । एकातिर तत्कालीन दुःख र पीडाबाट म र परिवारको चासो, अनि शोभाकै मनलाई ढाडस दिनु थियो । हामीबाट कुनै पनि गल्ती र नराम्रो काम भएको छैन र हामी कुनै पनि रूपमा पछि हट्नुपर्ने कुरा होइन । हामी देश र जनताको निःस्वार्थ रूपले सेवामा लागेका छौँ ।
त्यसैको निम्ति विद्यार्थीलाई विज्ञान प्रयोगशालामा आवश्यक सामग्रीहरू (आप्रटस) देखाएर शिक्षकले प्रस्ट पारेजस्तै भक्तपुर र भक्तपुरका जनताको देशप्रतिको योगदानबारे एकएक वस्तुलाई परिचय गराएजस्तै मैले भक्तपुरको भूगोल, इतिहास, कला–संस्कृति र हाम्रो निश्छल भावनालाई छर्लङ्ग पार्न खोजेँ । मनमा केही कुरा नपाउनु भनेको दुःख हो, जानकारी पाउनु सुखको अनुभूति हो । त्यसमाथि व्यक्तिको गहिरो अध्ययनले उनीमा साहस र लड्ने आँटको सिर्जना होस् भन्ने हो । हाम्रो जेल मुक्तिको समय ढिलो भए पनि बालबच्चालाई हुर्काउनेबारे विषयवस्तुको स्पष्टताले हिम्मतमा वृद्धि हुन्छ । पछि २–४ वर्षपछि उनको शान्त मुद्रा हेरी पत्रको कुरा उप्काउँदा उनले भनिन् – “मैले पत्रलाई दोहो¥याई तेह¥याई पढँे, मलाई एक प्रकारले मनलाई सान्त्वना दिने र सङ्र्घष गर्न ठुलो भूमिका खेल्थ्यो ।”
पहिलेका जेलका यात्राहरूमा चिठी लेखेरै बताउनुपर्ने केही थिएन, आमा, भाइ र बहिनीहरूलाई ¤ बरू अरू विषय थाहा पाउने अन्य विषय लेख्नमा ध्यान जान्थ्यो ।
नेपाली साहित्यमा विश्वका विभिन्न देशका बारेमा थोरै मात्र पुस्तकहरू थिए । यसकारण, म पहिलो र दोस्रो विश्वयुद्धका चर्चित व्यक्तिहरूको बारे आलोचनात्मक अध्ययन प्रस्तुत गर्न चाहन्थेँ । तर, शत्रुहरूको निरन्तर प्रहार हुँदा उत्तर पनि तत्काल दिनुपर्ने कारणले हामी सदा तयार रहनु जरूरी थियो । यसकारण, सेन्सरबाट समेत स्वीकार हुने गरी शोभालाई जानकारी दिनु अनि दिदीबहिनी र महिलाहरूसम्म पुग्ने अनुमानमा चिठीहरू लेखिएको थियो । सायद, निर्णय सही थियो ।
धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो । तर, शत्रुहरूको झूटा आरोप र लान्छनाहरूको उत्तर जरूरी थियो जो हामी सबै तत्काल र प्रतिकार गर्न सफल भयाँै । आफूसहित ६७ जना साथीहरूलाई सर्वस्वसहित ज्यान सजाय हुने मुद्दा थियो ।
घरमा बन्दी
प्रजातन्त्रको पुनःस्थापनापछि पनि फेरि दुईपटक ‘घरमै बन्दी’ (हाउस आरेस्ट) मा परेँ ।
प्रजातन्त्र पुनःस्थापनापछि पनि सरकारहरूको वक्रदृष्टि हामीबाट हटेन । त्यसको उदाहरण घरमै गरेको नजरबन्द थियो ।
१) १८ असोज २०५६ (४ अक्टोबर २००२) मा सुकुलढोकामा दुई हप्ता प्रहरी तैनाथ रह्यो ।
२) १९ माघ २०६१ (१ फेब्रुअरी २००५) कमलविनायकमा तीन हप्ता घरमै प्रहरीको पहरा रह्यो ।
हाम्रो जीवन भने आज पनि खुला पुस्तकजस्तै छ ।
यस चिठीको चिनियाँ भाषाको अनुवादले साधारण चिनियाँ जनताले तत्कालीन नेपालका कला–संस्कृति, नेपाली जनताका सुख–दुःख र समाजबारे प्रत्यक्ष देखेको अनुभव गर्नेछन् । चिनियाँ जनताले आफ्नै भाषामा वर्तमान नेपालबारे लेखिएका पुस्तकहरू कमै होलान् भन्ने म ठान्छु । यस चिट्ठीबाट चीनको नयाँ पुस्ताले पनि नेपालबारे मात्र होइन आफ्नै देशको हिजोको सुख–दुःखबारे पनि जिज्ञासा राख्ने सम्भावना छ । यसले नेपाली र चिनियाँ जनतामा आपसको सामाजिक र राजनीतिक विषयमा प्रत्यक्ष जानकारी हुनेबारे कुनै दुविधा हुनेछैन ।
यस कार्यमा अनुवाद कार्य गर्ने चिनियाँ साथी श्रीमती चाङ हेङवेई (श्ज्ब्ल्न् ज्इल्न्ध्भ्क्ष्) र नेपाली साथी प्रणय चित्रकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यसको प्रभाव १० वर्षपछि अझ धेरै गुणा बढी महत्वपूर्ण र सत्कार्य गरिएको साबित हुनेछ । यसको निम्ति प्रकाशनको मुख्य भूमिका खेल्ने बाल विकास विद्यालयका सहयोगी सञ्चालक समितिलाई धन्यवाद दिन चाहन्छु ।
तर, नेपाली जनतामा प्राचीन चीनको आध्यात्मिक प्रभाव थियो भने नयाँ युगको प्रभाव अझ व्यापक र प्रकाशमय छ । नेपाल र चीनको प्राचीन साहित्यको अनुवादले पनि दुई देशको जनतामा ठुलो अल्हाद (आनन्द) को अनुभूति हुनेछ ।
पुस्तकहरू लेख्ने मेरो तलतल
२०२२–२३ सालमै ‘भियतनाम एक परिचय’ भन्ने सानो पुस्तिका लेखेर मातृभूमि प्रेसमा दिएँ । पुस्तिका छाप्यो तर सहायक अञ्चलाधीशले प्रस्टै भने – “पुस्तिका स्वीकृत हुनेछैन, त्यसमा मित्रराष्ट्र अमेरिकी राष्ट्रपतिलाई निन्दा गरिएको छ ।”
मैले भनेँ– “यो मेरो विचार हो, नेपालमा प्रेस स्वतन्त्रता छ र वाक् स्वतन्त्रता पनि छ । यो मेरै पैसा हो ।”
त्यसको भोलिपल्ट हाम्रै परिवारका एक नातेदार ‘सरकार समर्थक’ व्यक्ति आएर भने “तिमीलाई सरकारले एक प्रेस र कागजको रकमसमेत पु¥याउँछ, तिमीले सरकारको एउटा पत्रिका चलाऊ ।” मैले उत्तर दिएँ – “गोरखापत्र र अरू पत्रपत्रिका छन् नि, मैले किन नयाँ पत्रिका चलाउने ?”
केही दिनपछि म प्रेसमा पुग्दा प्रेसका मालिकले भने – “यहाँ रहेका तपाईंका दुई पुस्तक अञ्चलाधीश कार्यालयबाट प्रहरीहरू आएर सबै पुस्तक लगेर जलाइदियो भने सुन्छु† मैले लेखकको निम्ति प्रुफ हेर्न एक–एक कपी तपाईँको निम्ति राखेको दिन्छु ।”
म पुस्तकहरू लिएर फर्केँ र पुस्तकलाई अन्तै साथीहरूकहाँ पठाएँ । पछि ती नै पुस्तकहरूमध्ये ‘चीन भ्रमण’ केही सम्पादनपछि छापियो र ‘भियतनाम परिचय’ मा भने आजको भियतनाम, होचि मिन्ह र संसारमा प्रथम महिला सेना नेतृबारे तथा अन्य विषय पनि गाँसेर प्रकाशित गर्ने विचारमा छु । त्यसमा भियतनाम, लाओस र कम्बोडियाको बारे पनि जानकारी दिने मनमा राख्दै आएको छु । समयले साथ दिएमा त्यसबाट पनि नेपाली भाषाको सेवा हुने भन्ठान्छु ।
आयोजक मित्रहरू, अनुवादक साथीहरू र सहभागी सबै साहित्यप्रेमी साथीहरूप्रति आभार प्रकट गर्न चाहन्छु ।
(यो मन्तव्य बाल विकास इङलिस सेकेन्डरी स्कूलद्वारा शुक्रबार आयोजित चिनियाँ भाषामा अनुदित ‘जेलका चिट्ठीहरू’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले व्यक्त गर्नुभएको हो–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *