भर्खरै :

ऐतिहासिक भष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन

ऐतिहासिक भष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन

भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी चानपा ४ समितिको आयोजनामा २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भष्टाचार विरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम भयो ।
उक्त प्रवचन कार्यक्रममा नेमकिपा, चाँगुनारायण नगर समितिका अध्यक्ष एवम् नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजूले २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलनबारे प्रकाश पार्दै त्यस बेलाका किसान बचतकर्ताहरू सचेत, सजग र सङ्गठित नभएको भए किसानहरूको बचत रकम हिनामिना गर्ने नवदुर्गा बहुमुखी सहकारीका भ्रष्ट पदाधिकारीहरूलाई कारबाही गर्न सक्ने थिएन भन्नुभयो ।
उहाँले २०२१ सालको भूमि सुधार कार्यक्रमलाई नेमकिपाका अग्रहहरुले उपयोग गरेकै कारण अहिलेका किसानहरूको आर्थिक अवस्था सुध्रिएको हो र आफ्ना छोरा–छोरी, नाति–नातीनाहरूलाई उच्च शिक्षा हासिल गराउन सकेको हो भन्नुभयो ।
अहिले पनि स्थानीय तह, प्रदेश र सङ्घमा ब्यापक भ्रष्टाचार, अनियमितता र वेथितिहरू भइरहेको ब्यापक रूपमा चर्चा परिचर्चा भईरहेको हुँदा जनतालाई सचेत, सजग र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । २०८२ को निर्वाचनमा झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको रास्वपा सरकारले देश र जनताको हितमा काम गर्न सकेको छैन । देश र जनताको अहितमा स्वास्थ्य र शिक्षामा ३/३ प्रतिशत कर लगाउनु, विद्युतमा ५ प्रतिशत भ्याट लगाउनु र विरामीहरूले पाइराखेको स्वास्थ्य बीमाको सुविधा कटौती गर्ने नीति ल्याउनु जनघाती कदम हो ।” उहाँले भन्नुभयो ।
नेमकिपा चानपा – ४ का अध्यक्ष श्रीभक्त भडेल र सदस्य आर श्रेष्ठले स्थानीय तहका वडा–वडामा भ्रष्टाचार, अनियमितता र वेथितिका कार्यहरू ब्यापक रूपमा भइराखेको हुँदा त्यसको विरुद्धमा जनता लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *