नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
खेलकुदले जीवनलाई स्वस्थ, तन्दुरुस्त र फूर्तिलो बनाउँछ । मानव सभ्यता विकासको क्रममा स्वस्थ मानिसले अस्वस्थ समुदायप्रति अधिकार जमाएको इतिहास अध्ययन गर्न पाइन्छ । यसैको माध्यमबाट विश्व मानव सभ्यताको इतिहासमा नगर राज्य स्थापित हुँदै आएको छ ।
आधुनिक नेपाल निर्माण अघि फूर्तिलो र बलियो व्यक्तिलाई राजा बनाउने क्रममा हरेक वर्ष हुने लिगलिगे दौडमा उत्कृष्ट प्रदर्शन गर्नेलाई राजा बनाएको प्रमाण इतिहासमा अध्ययन गर्न पाइन्छ । यही परम्पराअनुसार दलसुर घलेमगरले १२ औँ पटकसम्म लिगलिग राज्यको राजा बने भने १३ औँ पटकको दौडमा द्रव्य शाहले राजकाज समाले । त्यसपछि नेपालको इतिहासमा शाह वंशीय शासन परम्परा सुरु भएको मानिन्छ ।
वाटरलूको युद्धमा नेपोलियनको भनाइअनुसार खेलले हामीलाई स्वस्थसँगै वर्तमान युगको सङ्कीर्णवादी सोचविरुद्ध निष्पक्ष, सहिष्णु र विनम्र बनाएर उपयोगी मानव संसाधनको रूपमा पनि परिवर्तित गर्दछ । खेलको महत्वलाई विश्वको प्रत्येक समाज र सभ्यताले स्वीकृति दिएको छ ।
पूर्वीय पौराणिक साहित्य रामायण, महाभारतदेखि पाश्चात्य साहित्य ग्रीकको रोमन दन्तकथाहरूमा समेत विभिन्न खेलको वर्णन गरिएको छ । यसबाहेक ओलम्पिकको प्रारम्भिक सुरूवातले खेलकुदलाई संस्थागत महत्व दिएको छ ।
वर्तमान परिवेश र जीवनशैलीमा सामान्य व्यायामलाई नै थाँति राखेर मोबाइल, ल्यापटप जस्ता इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोगको प्रवृत्तिले आज मानिस असङ्ख्य रोगले ग्रसित छन् । यस सन्दर्भमा खेलकुदको महत्वलाई दर्शाउँछ । खेलकुदको माध्यमले हाम्रो दैनिक जीवन नियमित हुनुका साथै उच्च रक्तचाप, मधुमेह, मोटोपना, हृदयरोगजस्ता बिरामीहरूको सम्भावना पनि न्यून हुने गर्दछ । यसबाहेक खेलकुदको माध्यमले आफूलाई चुस्तदुरुस्त राख्न पनि सहयोग प्राप्त हुन्छ, जसले हामीलाई आफ्नो दायित्वको पालना गर्न ऊर्जाशील शक्ति दिन्छ ।
असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्न व्यायामसँगै खेलकुदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेलकुदले केटाकेटी र युवायुवतीसँगै सबै प्रकारका मानिसहरूको मानसिक, शारीरिक तथा चौतर्फि विकासका लागि अति आवश्यक छ । आजको नयाँ पुस्ता मोबाइल, ल्यापटपजस्ता इलेक्ट्रोनिक डिभाइसको अत्यधिक प्रयोगको शिकारले किताबी ज्ञान र व्यवहारलाई बेवास्ता गएिकोले शारीरिक खेलप्रति रुचि जगाउनु पनि आवश्यक छ ।
खेलकुदले हाम्रो व्यक्तित्व तिखार्ने भएकोले मानव जीवनमा खेलकुदको धेरै महत्व छ । यसले हाम्रो मस्तिष्कको विकाससँगै शिक्षा एवं रोजगारका लागि पनि सहायक भूमिका निर्वाह गर्छ । शारीरिक खेल र सामान्य व्यायामले हाम्रो पाचनशक्तिलाई ठीक राख्दैे रक्तसञ्चारमा पनि सहयोग गरी हाम्रो स्वास्थ्यलाई राम्रो र बलियो बनाइराख्न मद्दत गर्छ । खेलकुदले हामीलाई रोगमुक्त बनाउने नभई हामीभित्रको अल्छीपनालाई दूर गर्छ । हाम्रो व्यक्तित्व विकासमा खेलकुदले सहयोग गर्नुका साथै हामीलाई आत्मनिर्भर र सफल बनाउँछ ।
विगतमा नेपाली समाजमा मध्यमवर्गको रोजगारको दृष्टिकोणले खेलकुदप्रति नकारात्मक धारणा छ । खेलकुदलाई मानिसको बौद्धिक विकास र रोजगार प्राप्तिमा बाधक ठान्दछ । खेलकुद मानिसको विकासमा सहायक बन्छ, बाधक होइन भन्ने मान्यता स्थापित हुने क्रममा छ ।
तपाईं कुनै क्षेत्रमा लामो सङ्घर्ष र समय खर्चिएपछि मात्र एउटा चिनारी प्राप्त गर्न सक्नुहुन्छ तर तपाईंले कुनै खेलको प्रतियोगितामा एउटा गोल हान्दा, एउटा चौका र छक्का लगाउँदा वा एउटा विकेट खसाल्दा आफ्नो विद्यालय वा क्लवका लागि मात्र हैन, खेल हेरिरहेका दर्शक सबैका माझ चिनारी बन्छ । खेलले तपाईंलाई नाम दिन्छ । कुनै खेल विशेषसँग जोडिएर अब्बल काम गर्यो भने तपाईंको नामसँग जोडिएर त्यस खेलको नाम आउँछ । शैक्षिक उपलब्धि नभएका खेलाडीद्वारा आर्जित यश, सम्मान, धन, लोकप्रियता आदि यसको सुन्दर उदाहरण हो । जस्तैः– भारतीय खेलाडी सचिन तेन्दुलकरले देशको सर्वोच्च सम्मान ‘भारत रत्न’ हासिल गर्नुले खेलको महत्वलाई दर्शाउँछ । आज विभिन्न देशका खेलाडीहरूले जुन सफलता र समृद्धि हासिल गरेका छन्, त्यसको सामु संस्थागत शिक्षाको उपलब्धि गौण हुन्छ ।
आज क्रिकेटमा नेपाली खेलाडीहरूले नेपालको नाम विश्व खेल जगत्मा इतिहास रचेर गौरवान्वित पारेका छन् । जसले गर्दा आज खेललाई नेपाली संस्कृति र एकताको प्रतीक मानिन्छ । खेलले हाम्रो प्रगतिलाई सुनिश्चित गरेर जीवनमा सफलता प्रदान गर्दछ । नेपाल सरकारले पनि नेपाली खेलाडीहरूलाई कैयन् प्रकारले सम्मानित गर्दै आएको छ र खेलको विकासमा सराहनीय काम गर्दै आएको छ । खेलकै माध्यमबाट नेपाली खेलाडीहरूले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय क्लवमा आबद्ध भएर आफ्नो जीवन गुजारा गर्नेहरूको सङ्ख्या बढ्दो छ ।
बच्चाहरूको व्यक्तित्व विकास र कल्याणमा खेलकुदको प्रभावलाई नेपालका शिक्षाशास्त्री तथा अभिभावकहरूले केही हदसम्म उपेक्षा गरेको देखिन्छ । विद्यालयको पाठ्यक्रममा खेलकुदलाई एउटा विषयको रूपमा स्वीकार गरिएको छैन । स्वीकार गरे तापनि केही हद वा न्यन प्राथमिकता राखेको पाइन्छ । खेलकुदमा लागेका प्रतिभावान बालकहरूलाई विद्यालय तहदेखि नै प्रोत्साहन गर्न सकिरहेको छैन । प्रचलित धारणाअनुसार कुनै पनि व्यक्तिले जित्नका लागि खेल्छ तर बच्चाहरूको मामिलामा यो सत्य होइन । उनीहरू त खेलकुदमा रमाउँछन् । एकदम सानै उमेरका बालबालिकाहरू जीतहारबारे सोच्दैनन् । उनीहरूलाई त खेल्नु र रमाउनु नै राम्रो लाग्छ । समय बित्दै जाँदा ठुलो भएपछि उनीहरूमा प्रतिस्पर्धाको भावना भरिंदै जान्छ । त्यसबारे पनि चिन्तन भएको छैन ।
विद्यालयले विद्यार्थीलाई कुन तहसम्म प्रतिस्पर्धाको भावना राख्नुपर्छ भन्नेबारे अध्ययन र मनन भएको देखिँदैन । सुरूआतमा व्यक्तित्व निर्माणका लागि केही अवधिसम्म बच्चाहरूलाई खेलको मज्जा लिन र मौजमस्ती गर्ने स्वतन्त्रता दिनुपर्छ । यस अवधिमा जीत र हारको कुनै महत्व हुनुहुँदैन । उसो त केही मानिसहरू भन्छन्, बच्चाहरूमा पनि जीतहारको भावना जगाउनुपर्छ । उनीहरूको बुझाइ प्रतिस्पधात्मक खेलले बच्चामा प्रतिस्पर्धा भावना विकास हुन्छ र ऊ उत्कृष्टतातिर लम्किनको लागि सहज र स्वाभाविक तरिकाले सामथ्यलार्ई सञ्चय गर्ने ढोका खुल्छ ।
खेलकुदले मित्रता बढाउन, एक अर्काप्रति सम्मान प्रकट गर्न, सहयोग जुटाउन, नाम कमाउन, राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न, सम्पत्ति आर्जन गर्न वा करियरको रूपमा त्यसलाई स्वीकार गर्न पनि खेलकुद उपयोगी हुन सक्छ । एउटा देश अर्को देशसँग, एउटा संस्था अर्को संस्थासँग एउटा गाउँ अर्को गाउँसँग मित्रता साझेदारी गर्न खेलकुद प्रतियोगिता आयोजना गर्छन् ।
दुई संस्था वा देशबिच सम्बन्धको पुनर्निर्माणमा खेलकुद आधारशिला हो । खेलकुदबाट बिग्रेको पारस्परिक सम्बन्ध र परिस्थिति सामान्य हुन्छ । खेलकुदले संवादको ढोका खुल्छ, एकले अर्काप्रति सम्मान गरेको ठहर्छ । त्यसैले खेलाडीहरूलाई राम्रो सम्बन्ध स्थापितको राजदूत पनि भनिन्छ ।
मिहेनत गर्ने बानी बसाल्न, अनुशासित जीवनयापन गर्न र विपतमा सामाजिक जिम्मेवारीको महसुस गर्न खेलकर्मी अग्रस्थानमा रहेका हुन्छन् । खेलाडीमा धैर्यता, टोली कार्य, नेतृत्व, अनुशासन, असफलताबाट सिक्ने आदि जस्ता सीपहरू विकसित हुन्छन् । खेलकुद गतिविधिहरूले नैतिकता, मूल्यमान्यता, अनुशासन र आपसी विश्वासको भावना सिकाउँछ । खेलकुदको आत्माले मानव जीवनका विभिन्न चरणहरूलाई राम्रोसँग व्यवहार गर्न मद्दत गर्दछ । साथै लागुपदार्थ र आत्महत्याजस्ता खराबीहरूबाट बच्न मद्दत गर्दछ । यसले हरेक मानव जीवनमा खेलकुदको महत्वलाई दर्साउँछ ।
Leave a Reply