भर्खरै :

नवनिर्वाचित सभामुख श्रेष्ठद्वारा पदबहाली

हेटौँडा, २७ माघ (रासस) ः प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई आज अपराह्न हेटौँडामा सभामुख पदको शपथ ग्रहण गराउनुभएको छ ।
श्रेष्ठले प्रदेशसभा सचिवालयमा आजै साँझ पद बहाली पनि गर्नुभएको छ । उहाँले त्यस अवसरमा मुलुकको संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशसभाको गरिमालाई उच्च पार्ने कार्यमा आफ्नो दृढता रहने धारणा व्यक्त गर्नुभयो ।
यसैबीच ३ नं प्रदेशसभाको आज बसेको बैठकले सभामुखका लागि एकमात्र उम्मेदवार सानुकुमार श्रेष्ठलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
उक्त प्रदेशसभाको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाचन तालिका प्रस्तुत गर्नुभएको थियो । सोही बैठकमा सभामुखको निर्वाचनको क्रममा प्रस्तावक बन्नुभएका नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल र समर्थक रहनुभएका नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर निवासी ५८ वर्षीय श्रेष्ठ तत्कालीन काठमाडौँ जिविसको सभापति पनि हुनुहुन्थ्यो ।
यसैगरी, आजै बसेको प्रदेशसभाको बैठकले भोलि माघ २८ गते दिनको २ बजे उपसभामुख पदको निर्वाचन सञ्चालन गर्ने कार्यतालिका स्वीकृत गरेको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।
भोलि माघ २८ गते दिनको ११ देखि १२ बजेको बीचमा उपसभामुख पदको उम्मेदवारी दर्ता गर्ने र २ बजेपछि प्रदेशसभाको बैठकमा निर्वाचनको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *