भर्खरै :

‘मै एक मै अनेक’ निबन्धसङ्ग्रह पढ्दा

‘मै एक मै अनेक’ निबन्धसङ्ग्रह पढ्दा

बुढेशकालमा पनि जोश र जाँगर भएका संस्कृतिविद्, साहित्यकार, बुद्धिजीवी एवम् प्रतिष्ठित तेजेश्वरबाबु ग्वंगः का अनेक कृतिहरूमध्ये ‘मै एक मै अनेक’ साहित्यिक वजन र जीवन गाथाको अनुभव रहेको एक महत्वपूर्ण कृति हो । जागरणको बिगुल बजाउने, आफ्नै शैली र मौलिकपनको अनुभूति दिने, संस्कृतिका ज्ञाता, ग्वंगः प्रत्येक पारिभाषिक, प्राविधिक शब्द शब्दको अर्थ केलाउने, विश्लेषण गर्ने क्षमताका प्रतिभावान् व्यक्ति हुन् । साहित्यिक यात्रामा प्रवेश गरेदेखि वाक्कलाका धनी, स्पष्ट वक्ता, छोटो मिठो वाक्य गठनका प्रेरणास्रोतका ग्वंगःको साहित्यिकै शैली र मर्म प्रतीकात्मक, बिम्बात्मक, काव्यात्मक भएर पनि सरल, सहज र बुझ्ने शैलीमा छ । अर्थपूर्ण शब्द चयन, तार्किकता, दार्शनिकताले उनको बौद्धिक क्षमता असामान्य रहेको अथ्र्याउन सकिन्छ । बौद्धिक जगत्का एक खम्बा ग्वंगःको ‘मै एक मै अनेक’ निबन्धसङ्ग्रहले निबन्ध यात्रालाई उचाइमा पु¥याएको छ ।
समाज, संस्कृति र भविष्यका लागि साहित्य लेखन र संस्कृतिको जीवन्तता दिन नयाँ पुस्तालाई प्रेरित गर्ने निबन्धकार ग्वंगःले भाषा, साहित्य र संस्कृतिमा डुबुल्की मारेर समाज र देशमा आफूलाई चिनाएका छन् । सादगीपन, सोझोपन, खुल्दुली मेटाउने, जनताको मन छुने खालको वाक्शैली र वाक्य संरचनाले समाजमा उनको छुट्टै पहिचान बनेको छ । अर्थपूर्ण छोटा वाक्य या वाक्यांश शैलीमा साहित्य कोरेर छुट्टै पहिचान बोकेको ग्वंगःको साहित्यिक शैली सुरुदेखि अहिलेसम्म एउटै धाराप्रवाह देखिन्छ । यो उनको शैलीको परिचय नै हो भन्दा फरक नपर्ला । शैलीको यो रस्वादन उनको न्वारनमात्र होइन, अहिलेसम्मको दृष्टिगोचर नै देखिन्छ ।
यस निबन्धसङ्ग्रहमा ४४ वटा निबन्धहरू छन् । हरेक निबन्धको शैलीमा एकरुपता छ, सहजता छ, मौलिकता छ, आफ्नैपन छ । निबन्धमा विषय प्रारम्भ भएपछि उनी माहुरीझैँ कताकता रङ्गीचङ्गी फूल फुलेको बगैँचामा पुग्थे, सुगन्धित र वासनादार रस चुस्थे र आनन्दित हुन्थे । ‘ऊ नै मात्र ऊ’ निबन्धमा ऊभित्र ऊमात्र होइन एउटा बिन्दु लुकेको उनी देख्थे । ऊभित्र उनी सर्वव्यापी देख्थे ।
देश सेवाको भावनाले ओतप्रोत हुन नेपालको माटोलाई बोक्नुपर्ने, छुनुपर्ने र माटोभित्रै देशको अस्तित्व छुने छायाँ देख्थे उनी । उनी भन्थे, अस्तित्व आफ्नै दर्शनमा अटेको हुनुपर्छ; अस्तित्वको अनुभूति बाह्य प्रभावले हुँदैन । अस्तित्व प्राणीभित्रको ऊर्जा हो । अस्तित्व विखण्डित हुनु हुँदैन । कायर भएर अस्तित्व जगेर्ना गर्ने चेष्टा छलकपट हो । यो देशप्रेमको भावना ‘अस्तित्वको खोजस्वी ओज’ निबन्धमा प्रस्ट्याइएको छ ।
तर, विडम्बना ! देशका शासकहरू आफ्नो अस्तित्व खोज्दैनन्, देश जोगाउने र बनाउने यत्न गर्दैनन् । देशको स्थिति जस्तो काकाकुल, दयनीय, भद्रगोल भए पनि शासकहरू आफ्नो दलगत र व्यक्तिगत स्वार्थमात्र खोज्छन्; खोजिरहेका छन् । अनि देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ ? देशको आयले देश कसरी धान्न सक्छ ?
‘आँखाका ढोकाहरू’ निबन्धको शीर्षक प्रतीकात्मक छ, बिम्बात्मक छ । निबन्धमा उनी लेख्थे, आँखा एक दृष्टिमात्र होइन दृष्टिकोण हो, दर्शन हो, सृजनशील कला हो । आँखा चिन्तन हो । आँखाका अनेक आयाम छन् । आँखा चिन्तन हो, दिशाबोध हो, दिव्यदर्शन हो । आँखाका ढोकाहरू युगअनुसार खुल्छन्, खोल्नुपर्छ भन्ने मान्यता राख्छन् उनी । हो, हाम्रो दर्शन, चिन्तन, विचारलाई कमाइ खाने आधार बनाइनु हुँदैन । आफ्नो स्वार्थ पूरा गर्न छिनछिनमा विचार फेर्ने र अवसर खोज्ने काम गर्नुहुँदैन । आज देशको मुहार फेर्न नसक्नुको कारण पनि त्यस्तै त्यस्तै अवसरमा भुलेकोले हो ।
सुकुमार जीवन साँच्चै निश्चिन्त हुनेरहेछ । आपत्भित्र अनुपम आनन्द लुट्दा साहस नआउने रहेछ । तर, आपत्लाग्दो अवसर बटुलेर आनन्दको अनुभूति लिन सक्नु निडर, निःशङ्कोच, सहनशीलता मनस्थितिकै उपज हुन्छ । ‘आपत्भित्रको आनन्द’ निबन्धमा यही कुराको उल्लेख छ ।
‘आफूलाई छाडी गिलास समाउँदा’ मा होस हारेर पाइने मोज केको मोज भनी छेड हानेको छ । ठेट नेपाली शब्दले विशुद्ध नेपाली संस्कार र संस्कृतिलाई सँगालेको चर्चा ‘आफ्नै ताना आफ्नै बाना’ मा उल्लेख गरिएको छ । सिद्धान्त कण्ठ गर्ने होइन, व्यवहारमा लागु गर्ने हो । सजीव व्यवहारबिनाको जीवन दर्शन मुर्दा दर्शन, अन्ध दर्शन र अनर्थ दर्शन हुने निबन्धकार ग्वंगः को तर्क हो । आचरणविरुद्धका दर्शन मिथ्या हुने वर्णन आफ्नै बाल्यजीवनको प्रसङ्गसहितको आफ्नै शैशव खोज्न हिँडेझैँ लागेको निबन्धमा उल्लेख छ ।
‘उत्तर आधुनिक पाखुरीहरू’ मा दोस्रो विश्वयुद्धले श्रम, साधन, प्रविधि मिसाई निर्माण भए गरिएका वास्तुकला, स्थापत्य स्तम्भ, भवन खरानी भएको, वीभत्स बेथितिले मानवीय चेतलाई दुरुत्साहित बनाएको, आकुलव्याकुल मनस्थितिको जन्म गराएको स्मरणले निबन्धकार ग्वंगःमा दोस्रो विश्व युद्धविरोधी भावना जागेको देखिन्छ । निबन्धकार ग्वंगः स्वस्थ जीवन, स्वस्थ समाज, स्वस्थ समाज र स्वस्थ राष्ट्र हुनुपर्ने तर्क राख्छन् । उनी एक असल, स्वस्थ, दूरदर्शी, देशभक्त र देश र जनताप्रति जिम्मेवार नागरिकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमै तहल्का मच्चाउन सक्छ भन्ने विचार राख्छन् । माक्र्स, लेनिन, माओ त्सेतुङ, स्तालिन, एङ्गेल्स, होचि मिह्न, किम इल सङ, ह्युगो चाभेज, फिडेल क्यास्ट्रोजस्ता अन्तर्राष्ट्रवादी नेताहरूले जनताको साथ र सहयोग विश्वमा तहल्का मच्चाएकै हुन् ।
आफ्नै संस्कारमा सांस्कृतिक आँखाले देख्ने विश्वजनित संस्कारको आवश्यकता निबन्धका ग्वंगःले देखेका छन् । जीवन अनेक अनुभवजन्य अनुभूतिको दिप्त ज्योतिपुञ्ज हुने उनको अभिमत हो । देश, प्रदेश, नगर र गाउँपालिकालाई कर्मशील र कर्मनिष्ठ बनाउने उनको विचार अनुकरणीय छ । सकारात्मक सोच भए जटिल र कठिन काम पनि सम्भव हुने उनको तर्कमा गतिशीलता, जोश र जाँगर रहेको अनुभूति हुन्छ । सच्चा नागरिकले आफ्नो भाग्य आफैँ निर्माण गर्छ† कर्म गर्नु धर्म हो; कर्ममै भाग्य निर्माण गरिएको हुन्छ भन्ने जागरुक उनको भावनाप्रति सलाम छ ।
मोहन शमशेर राणाको सिन्दुर यात्राको दिन काठमाडौँबाट भक्तपुर पुग्न एकातिर निबन्धकार र अर्काेतिर बहिनी खर्पनमा बसेर गरिएको उहिलेको यात्रा वर्णन आजको नयाँ पुस्ताको लागि अनौठो लाग्नु स्वाभाविक हो । ‘भकुण्डे भूत’ निबन्धमा इन्डोनेसियामा प्रवेश भएको दुःखद सुनामीको स्मरण गरिएको छ । साहित्य युग सापेक्ष सचेतनाको थुङ्गो हो भन्ने उनको विचारमा नवीनता छ । मानिसले संरचना गरेको संस्कार संस्कृतिलाई छोड्न नहुने उनको मनको बह पनि निबन्धमा उल्लेख छ । सत्यविहीन धर्म धर्म हुनै सक्दैन भन्ने उनको वाणीमा सत्यको मार्गमा हिँड्नुपर्छ भन्ने साश्वत विचार भिजेको छ । समय र जीवन परिवर्तनशील छ, हुनुपर्छ भन्ने उनको परिवर्तनशील विचार सान्दर्भिक छैन कसरी भन्ने ? ‘मै एक मै अनेक’ निबन्धमा एक अनेक र अनेकमा एक भएर बाँच्नु नै उनी आफ्नो जीवन ठान्छन् । जीवनमा थाक्न नहुने र आफूसित आफैँ थाक्नु बाँच्नुसितको हारझैँ लाग्छ उनलाई ।
निबन्धकार ग्वंगःलाई साहित्यकारहरू कर्मले खारिएको जीवनको अनुभूति बुढ्यौलीको कोसेली भन्छन् । पाइला चाल्दै गर्नुपर्ने र पाइलाले नै कठिनलाई साध्य बनाउने उनको तर्कमा थकाइको अनुभव भेटिँदैन । उनी भन्छन्, “लालित्य जीवनको सौरभ हो; लालित्य जिउँदाको आकर्षण हो । चेतनाभित्रबाट उजागर हुँदो चिन्तनका करामत नितान्त सार्थक र शक्तिशाली हुन्छ । मान्यजनलाई भेट्दा ढोग्नु र भेटेर ढोग्नु नेपाली संस्कार हो । ढोग्नु मान्यजनलाई आदर गर्नु हो ।” निबन्धकार ग्वंगः ढोग भेटका अन्य पक्ष रहेको बताउँछन्, सामाजिक ढोग भेटका स्वरुप एक हुन्छ । पौराणिक ढोग भेटका स्वरुप धार्मिक हुन्छ । राजनीतिक ढोग भेटको प्रदर्शन आफ्नै प्रकारको हुन्छ । नक्कली ढोगभेट हुन्छ; सक्कली ढोगभेट हुन्छ ।
जिउँदो जीवन जिउने रहर सबैलाई हुन्छ । बाँचेर पनि मरितुल्य जीवन कसलाई मनपर्छ र ¤ हो, जिउँदो लाश बन्न कसैलाई मन लाग्दैन । बानी बेहोरा भन्नु प्रवृत्तिकै अभिव्यक्ति हो । समय संस्कार त नेपालीको वैदिक परम्परा हो । संस्कार भन्नु पनि जाति, समाज र राष्ट्रकै विवेक फस्टाउन सकेको दृष्टान्त हो । प्रवृत्ति नै गरिब भएपछि समाज र राष्ट्र नै कमजोर, निर्बल र निस्तेज बनेको वर्तमान राजनीतिक परिवेशको चित्रण गर्न उनी पछि परेनन् । प्रवृत्तिकै गरिबीले मानिस आचारहीन दरिद्र र दुष्ट कपटी बन्छ । प्रवृत्ति नै बिग्रेपछि देशै बिग्रिने देशको यथार्थको उद्घाटन गर्दै उनी भन्छन्, “गरिबीमा सबैभन्दा निर्घिन दरिद्रता प्रवृत्तिको गरिबीभन्दा अरु केही पनि रहन सक्दैन । चोर प्रवृत्ति नसँगाली चोर्न सकिन्न । ढाँट प्रवृत्ति धारण नगरी ढाँट्न सकिन्न । असल प्रवृत्तिबिना कसैले असल गर्नै सक्दैन । सेवा भावबिना सेवा गर्नै सक्दैन । हरेक नागरिक, नेता, कार्यकर्तामा असल प्रवृत्ति हुनुपर्छ; सेवा गर्नुपर्छ भन्ने गुण हुनुपर्छ । मन स्वच्छ, शुद्ध र सङ्लो हुनुपर्छ । हो, यो राजनीतिमा पनि लागु हुन्छ । शुद्ध मनले, शुद्ध विचारले शुद्ध राजनीति गरेमा जनताको विश्वास बढ्छ, राजनीतिक स्थिरता पाउँछ र देशको विकास हुन्छ ।
दलको आ–आफ्नो दर्शन, सिद्धान्त, विचार र वर्ग आधार हुन्छ । कुनै दलको उद्देश्य आमूल परिवर्तन हुन्छ त कुनै हाल कायम भएको व्यवस्थालाई सुधार गरेर अघि बढेको हुन्छ । लेखकले भनेझैँ कोही घेराबन्दीको चकला सीमाबद्ध गर्ने तरखरमा छन् त कोही फराकिलो पार्न कार्यरत छन् त कोही तटस्थताको घेराबन्दीभित्रै आबद्ध रहन उद्यत छन् । दलहरूको यस्तै यस्तै उद्देश्य हुने भएकोले कहीँ देश र राष्ट्रहरू विकसित, कहीँ अर्धविकसित त कहीँ विकासोन्मुख घेराबन्दीभित्र परेका छन् । तर, नेपालले विकासोन्मुख देशमा पनि पाइला टेकेको छैन । के यो देशको विडम्बना होइन ?
देश र जनताको हितको निम्ति ज्यानको बाजी राख्ने, रगतको खोलो बगाउने वीर सपुतहरू मरेर पनि जिइरहेका हुन्छन् । देश, समाज र जनताले सम्झिरहेका हुन्छन् । शुक्र, गङ्गा, धर्म र दशरथजस्ता वीर सहिदहरूको स्मरण गर्दै निबन्धकार ग्वंगःले ‘मरेर जिएकाहरू’ निबन्धमा लेखे, तिमीहरूले जिउँदै ज्यान फाल्न कम्मर कस्यौ । हारेनौ तिमीहरूले आफ्नो आत्माका अठोटहरूलाई पनि । तिमीहरूले आफ्ना मुटुको न्यानो रगत वाग्मतीमाथि पवित्र गङ्गाजलझैँ बहायौ । त्यसैले, त्यो ठाउँ जहाँ तिम्रा ताता रगतले क्रान्तिको धारा बगाएर सधैँभरि नै दमन, शोषण र अत्याचारविरुद्धको निरन्तर स्रोतको निर्माण गरे । यसरी निबन्धमा क्रान्तिकारी स्वर पनि भेटिन्छ, वीर सहिदहरूको स्मरणमा । हो, जिउँदै मर्नेहरूको महिमा हुन्छ । उनीहरूको न्यानो तातो रगतले उनीहरूको ललाटलाई अझ सुन्दर र चहकिलो पार्ने निबन्धकारको मनोकाङ्क्षा अझै पूरा हुन नपाउँदा जनता निरास छन् ।
नैतिकवान देशवासीका नैतिक बल शुद्ध भएर सार्थक नागरिक चरित्र निर्माण गर्न सकिनेमा शङ्का छैन । चरित्रवान् नागरिक समाजले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक संस्कारहरू क्रमिकरूपमा सृजना गर्छ । संस्कारयुक्त समाज र राष्ट्र बन्न, बनाउन सक्दा समृद्धशाली राष्ट्र निर्माणको मजबुत आधार बन्छ । निबन्धकार ग्वंगःको यो विचार पूरा हुन्छ कहिले ? यथार्थमा शासकहरू नैतिकवान्, चरित्रवान् र संस्कारयुक्त बन्न सकेनन् । आदर्शाेन्मुख समाज निर्माण गर्नेतर्फ उनीहरूको ध्यान पटक्कै गएको छैन । दोष कसको ? सरकारको होइन ?
‘आफ्नै अनुभूतिका अभिव्यक्ति’ निबन्धमा निबन्धकारकै शिक्षारम्भका दिनहरूको स्मरण गरिएको छ । फ् नमः शिवाय नमोवागीश्वराय’ मन्त्र उच्चारण संस्कारयुक्त शिक्षा लाभ गरेका ग्वंगःले चार वर्ष खेलेर कखग गरेको, २००१ सालमा नेपाली बोल्न धौ धौ परेको, भीम शमशेरका शिक्षकसँग घरमा पढ्दा नेपालीमा वार्तालाप गर्न हम्मेहम्मे परेको, २००१ सालमा भक्तपुर इङ्गलिस स्कूलमा कक्षा १ मा प्रवेश भएको, २००४ मा शान्तिभक्त विद्यालय र विद्यार्थी निकेतन खोलेको स्मरण पनि गरिएको छ ।
सार्वभौम राष्ट्रको सीमा सुरक्षा नेपाली सेनाबाट हुनुपर्ने उनी मान्यता राख्छन् । हिमाल, हेटौँडा सिमेन्ट उद्योग, हेटौँडा कपडा उद्योग, कागज कारखाना कता गयो भनी उनी प्रश्न गर्छन् । बिजुलीबाट चल्ने काठमाडौँ–भक्तपुर चल्ने ट्रलिबस सेवाको किन अवसान भयो ? इँटा टायल कारखाना टिक्न किन हम्मे प¥यो ? देशको उद्योगधन्दा सखाप गरेरै नेपाली नागरिकलाई बिदेसिन बाध्य पारिएकोमा उनी चिन्तित छन् । कर्मठ युवा शक्ति विदेश पलायन हुनुपर्ने बाध्यताले देशका गाउँहरू युवाशून्य भएर उर्वर भूमि उजाड बन्न पुगेकोमा उनको दुःखेसो छ ।
यसरी नै यस निबन्धसङ्ग्रहमा ‘किनारै किनार’ नीलो प्रकाशमुनिको विजय टीका’, ‘एक शरद् एक वसन्त’, ‘लस्करे छालहरू र छाले लस्करहरू’, हेलो ¤!नुवाङ्गी, न्वाङ्गी, नुवागी, ‘स्वर, रङ र शब्द’, ‘राशलीला’, ‘म्वाइका मनसायहरू’, ‘झनक झनकका छनक–झङकार’ जस्ता अन्य निबन्धहरू पनि समेटेर कृतिलाई वजनदार बनाइएको छ ।
वाक्य गठनको नाउँमा एक शब्द लेखेपछि पूर्णविरामको चिह्न प्रयोग गर्दा कताकता व्याकरणको मूल्य र मान्यतामा चोट पुगेको भाषाविद्हरूको टिप्पणीलाई अन्यथा नमान्दा उपयुक्त नै हुन्छ । जस्तैः १९९७ श्रीपञ्चमी । वसन्त ऋतु । सघारै सघारै । नुवाईधुवाई । निबन्धको शाषा शैली सुमधुर, सरस र सहज भए पनि शब्द चयनमा फाटफुट त्रुटि हुनु अस्वाभाविक होइन । यी शब्दहरूको चयन नजानेर होइन भुलेर त्रुटि हुन गएको कुरा लेखक र सम्पादकको भाषा शैली र अनुभवले थाहा हुन्छ । कृतिकार ग्वंगः प्रति साधुवाद ! प्रकाशक सुन्दर स्वदेश पब्लिकेसन, काठमाडौँप्रति आभारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *