भर्खरै :

गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ता अनिश्चित

गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ता अनिश्चित

गाजा, १७ फागुन (एएफपी) । इजरायल–हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ । तर, स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरू भएको १५ महिनाभन्दा बढी लामो युद्धपछि जनवरी १९ मा युद्धविराम लागू भएको थियो ।
सुरूको ६ हप्ताको अवधिमा गाजाका लडाकुहरूले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकहरूलाई मुक्त गरेका थिए भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेका थिए । बदलामा इजरायली सुरक्षा नियन्त्रणमा रहेका एक हजार ९०० कैदीबन्दीको रिहाइ भएको छ ।
युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने र युद्धको थप स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कायरोमा एक प्रतिनिधिमण्डल पठाउनुभएको छ र मध्यस्थ इजिप्टले इजरायलका साथै सहयोगी मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डलको उपस्थितिमा दोस्रो चरणको ‘गहन वार्ता’ सुरू भएको बताएको छ । शनिबार बिहानसम्म सहमतिको कुनै सङ्केत नदेखिएको भन्दै हमास स्रोतले इजरायलले दोस्रो चरणको वार्ताका लागि ढिलाइ गरेको आरोप लगाएको छ । “युद्धविराम सम्झौताको दोस्रो चरण आइतबारदेखि सुरू हुने बताइए पनि अझै पनि ढिलासुस्ती भइरहेको छ र सम्झौताको उल्लङ्घन जारी छ,” स्रोतले एएफपीसँग भन्यो ।
वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार कायरोमा हमासको प्रतिनिधिमण्डल अनुपस्थित भए तापनि गतिरोध समाधानका लागि छलफल भइरहेको छ ।
इन्टरनेसनल क्राइसिस ग्रुपथिङ्क ट्याङ्कका म्याक्स रोडेनबेकले दोस्रो चरण तत्काल सुरू हुने अपेक्षा गर्न नसकिने बताउनुभयो ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले दोस्रो चरणको साटो पहिलो चरणको विस्तारअन्तर्गत थप बन्धकहरूलाई मुक्त गर्नु इजरायलको प्राथमिकता रहेको बताउनुभएको छ ।
हमासको आक्रमणका क्रममा कब्जामा लिएका २५१ बन्धकमध्ये ५८ जना अझै गाजामा रहेका छन् । इजरायली सेनाले कुल बन्धकमध्ये ३४ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । मृतक बन्धकमध्ये आठ जनाको शव हमासले इजरायललाई हस्तान्तरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *