भर्खरै :

काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेस्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने

काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेस्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने

ललितपुर, १७ फागुन । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेस्टर उत्तीर्ण गरेको प्रमाणपत्रको आधारमा बाँकी रहेको सेमेस्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।
विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीहरूबिचको छलफलपछि यस्तो निष्कर्षमा पुगेको विश्वविद्यालयका कार्यवाहक उपकुलपति अच्युत वाग्लेले जानकारी दिनुभयो । छलफलमा विभिन्न विश्वविद्यालयमा एउटा सेमेस्टरमा कोर्स पूरा गरेको प्रमाणित भएमा यहाँ बाँकी सेमेस्टर अध्ययन गर्न सहज हुने जानकारी गराइएको थियो ।
“अध्ययन शुल्कमा हामीले धेरै सोचेका छैनौँ, बाँकी रहेका सेमेस्टर यहाँ ट्रान्सफर गरेर अध्ययन गर्न सकिन्छ । डिग्री काठमाडौँ विश्वविद्यालयकै हुन्छ, पढ्न चाहनेलाई सहज बनाउने हाम्रो प्रयास हो, विभिन्न विश्वविद्यालयमा अध्ययन पूरा गरेकाहरूको यहाँ परीक्षा लिने व्यवस्थाका लागि पनि सहज व्यवस्था गर्नेछौँ”, उहाँले भन्नुभयो ।
उपकुलपति वाग्लेले ओडिसास्थित केआइआइटी विश्वविद्यालयसँग काठमाडौँ विश्वविद्यालयको औपचारिक सम्झौता नभए पनि अहिलेको समस्या समाधानका लागि कूटनीतिदेखि प्राज्ञिक छलफलका माध्यमबाट सहजीकरणका लागि पहल गरिनुपर्ने बताउनुभयो । “कोर्स ट्रान्सफर गरेर अध्ययन गर्न र परीक्षा दिन चाहनेलाई सहज हुने गरी शुल्क व्यवस्थापन हुनेछ, हरेक विद्यार्थीको समस्यालाई पहिचान गरेर समाधान गर्न प्रयत्न गर्छौं”, उहाँले भन्नुभयो ।
विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङका सहडिन श्यामसुन्दर खड्काले विभिन्न विश्वविद्यालयमा कोर्स अध्ययन पूरा गरेकाले परीक्षा दिन पाउने सहज व्यवस्था भएको बताउँदै नीतिगत कुरामा सहजीकरण गर्न सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *