भर्खरै :

गाजामा फेरि भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजामा फेरि भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा, १८ फागुन (सिन्ह्वा) । इजरायली सेनाले गरेका हवाई आक्रमणहरूमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएका छन् ।
“इजरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइट हानौन सहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टिनीको हत्या गरेको छ,” गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू नजिक शङ्कास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई देखेको थियो ।
स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइट हानौनको पूर्वी क्षेत्रबाट सयौँ परिवार विस्थापित भएको जानकारी दिए ।
गाजा–आधारित स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फराहिन सहरमा इजरायली बमबारीपछि मेडिकल टोलीले एक महिलाको शव फेला पारे र दुई जना घाइतेको उपचार गरे ।
सहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा उभिरहेको बेला इजरायली सेनाले गरेका आक्रमणमा परी एक युवकको मृत्यु भएको छ ।
इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूको बारेमा टिप्पणी गरेको छैन । इजरायल र हमासबिचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिनपछि यो घटना भएको हो ।
युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुनेछ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात सय मिटर पछि हट्नेछ ।
युद्धविरामको पहिलो चरण सबै ठीकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ । यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति भएको छ । युद्धविरामको क्रममा इजरायलले कुल १ हजार बढी प्यालेस्टिनीलाई रिहा गर्नेछ ।
तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ । पुनर्निर्माणको काम ३ देखि ५ वर्षभित्र सक्ने लक्ष्य छ । यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरूको शव पनि आदानप्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *