भर्खरै :

वन डढेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड

वन डढेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौँ, १९ फागुन । सरोकारवालाले वन डढेलो नियन्त्रणको लागि अनुसन्धानलाई प्राथामिकता दिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन विषयक नीति संवादमा बोल्दै सरोकारवालाले अनुसन्धानले प्राथामिकता पाउन नसकेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका हुन् । वन डढेलो व्यवस्थापन कसरी गर्ने ? देखिएका समस्या र समाधानका उपाय, परिमार्जन गर्नुपर्ने नीतिलगायतका विषयमा विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको भन्दै अनुसन्धान बढाउनुपर्नेमा उनीहरूको जोड थियो ।
संवादमा वन तथा वातावरण मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले वन अनुसन्धानको आधारमा डढेलोसम्बन्धी नीति परिमार्जन गर्न नसकिएको बताउनुभयो । “डढेलो कसरी नियन्त्रण गर्ने ? किन समस्या समाधान भइरहेको छैन ? अबको दीर्घकालीन रणनीति के हुने ? भन्ने विषयमा विस्तृत अनुसन्धान गरेर नीति परिमार्जन गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । “डढेलो व्यवस्थापनका नयाँ नयाँ प्रविधि र उपायसमेतलाई समावेश गरी नयाँ नीति परिमार्जन गर्नुपर्छ ।
डढेलोविद् कृष्ण भुजेलले वन डढेलो व्यवस्थापनबारे अध्ययन अनुसन्धान नै कम भएको भन्दै अब यसको राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
बर्दियाका डिभिजनल वन अधिकृत विजय सुवेदीले डढेलो नियन्त्रणका लागि अग्नि रेखा बनाउनुपर्ने, सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र आगो लागेको जानकारी छिटो थाहा पाउन सकेमा नियन्त्रणमा सहज हुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की उपमा कोजुले डढेलो नियन्त्रणका लागि प्रविधिमा लगानी बढाउनुपर्ने र सूचनाको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
प्रस्तुतकर्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सुदिप छत्कुलीले डढेलो नियन्त्रणका लागि सरकार, समुदाय र निजी क्षेत्र तथा ती नै तहका सरकारबिच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *