भर्खरै :

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन बन्द सत्र जारी – अमेरिकी नेतृत्वको सैन्य मोर्चा–नाटोको विस्तार विश्वकै लागि खतरा

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन बन्द सत्र जारी – अमेरिकी नेतृत्वको सैन्य मोर्चा–नाटोको विस्तार विश्वकै लागि खतरा

भक्तपुर, १९ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको बन्द सत्र सोमबार पनि जारी रह्यो । बन्द सत्र बैठकमा पार्टी जिल्ला समितिहरूको प्रतिवेदन पेस गरिनुका साथै नेपाल क्रान्तिकारी महिला सङ्घको प्रतिवेदन पेस भयो । बन्द सत्रमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक स्थितिसहितको पार्टी केन्द्रीय समितिको प्रतिवेदन पेस गर्नुभयो ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अमेरिकी नेतृत्वको सैन्य मोर्चा नाटोको विस्तार विश्वकै लागि खतरा भएको उल्लेख गर्दै नाटो सदस्य देशहरू र नाटोको क्रियाकलापबारे विस्तृत अध्ययन गर्नुपर्ने बताउनुभयो ।
ब्रिक्स र बीआरआईबारे गहिराइमा अध्ययन गर्नुपर्ने खाँचो औँल्याउँदै उहाँले यस अन्तर्राष्ट्रिय संस्था साम्राज्यवादविरोधी आन्दोलनको रूपमा अघि बढे विश्वका गरिब देशको हित हुनेछ भन्नुभयो ।
युक्रेन– रुस युद्ध अमेरिका र युरोपेली देशहरूको छद्म युद्ध भएको बताउँदै अध्यक्ष रोहितले पहिलो विश्व भनिएका धनी देशहरूले युरोपेली, एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने र कतिपय देशमाथि हमला गरिरहेका छन् भन्नुभयो ।
उहाँले साम्राज्यवादी युद्धमा गरिब जनताका छोराछोरीहरू मर्ने र मारिने हुँदा युद्धको विरोध गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष रोहितले समाजवाद नआएसम्म दुःख हुने हुँदा मजदुर र कम्युनिस्टहरूले भोकै मर्नुभन्दा लडेर मर्ने सङ्कल्प गर्ने बताउँदै क्युवा पनि त्यस्तै सङ्कल्प बोकेको समाजवादी देश भएको स्पष्ट पार्नुभयो ।
कार्यकर्ताहरूलाई निर्देशन दिँदै उहाँले विश्वविद्यालयसम्मको अध्ययनपछि जागिर खाने र भ्रष्टाचार गरी सम्पत्ति जम्मा गर्ने सोचको विरोध गर्दै देश र जनताको निःस्वार्थपूर्वक सेवामा लाग्नु जरुरी रहेको बताउनुभयो ।
कम्युनिस्टहरू निःस्वार्थी र निडर हुने उल्लेख गर्दै अध्यक्ष रोहितले स्वार्थीहरू कम्युनिस्ट हुनै नसक्ने बताउनुभयो ।
क्रान्तिको निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुनु जरुरी रहेको उल्लेख गर्दै उहाँले जनता तयार भए नभएको मापन आम निर्वाचन हो† निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरजस्तै भएको बताउनुभयो ।
कम्युनिस्टहरू पुँजीवादी सरकारमा जानु गलत भएको पुष्टि भएको बताउँदै उहाँले सरकारमा गएका संसद्वादी दलहरूको बदनामबाहेक अहिले केही भएको छैन भन्नुभयो ।
समाजवादको विजय र साम्यवादमा पदार्पण भएरै छोड्ने बताउँदै अध्यक्ष रोहितले भन्नुभयो, “कामदारवर्गका लाखौँ जनतालाई उठाउन समय लाग्छ । जनताको चेतनासँगै आन्दोलन अघि बढ्छ । कामदारवर्गको आन्दोलनको अस्थायी हार हुनसक्छ तर, पुनः पुनः उठ्छ ।”
बन्द सत्रमा केन्द्रीय समितिको प्रतिवेदन, विधान पारित गर्नुपर्ने प्रस्ताव र आगामी कामबारे सुझाव पेस गर्न छलफलको लागि सात समूह विभाजन गरी छलफल र सुझाव सङ्कलन गरियो ।
बन्द सत्र फागुन २० गते मङ्गलबार बिहान ८ः०० बजेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *