भर्खरै :

जेलेन्स्कीको अपमानपूर्ण निष्काशन, केही सन्देश

जेलेन्स्कीको अपमानपूर्ण निष्काशन, केही सन्देश

आफूले निमन्त्रणा गरेका युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीलाई संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति कार्यालय (ओभल अफिस) मा सञ्चारकर्मीहरूको उपस्थितिबिच झाँटेको घटना अन्तर्राष्ट्रिय राजनीतिमा बिरलै देखिने दृश्य हो । यो घटनाले ट्रम्प सरकारको कूटनीतिक अशिष्टता मात्र देखाएन, बरु पश्चिमा पुँजीवादी खेमाभित्र आजको गहिरो अन्तरविरोध पनि सतहमा ल्याएको छ ।
युक्रेन युद्धमा युरोपले कम लगानी गरेर पनि प्रतिफल उठाइसकेको तर संरा अमेरिकाले भने धेरै लगानी गर्दा पनि अझै उचित प्रतिफल नपाएको ट्रम्पको गुनासोपछि उनले चिताएजस्तै खनिज सम्झौता गर्न वाशिङटन पुगेका जेलेन्स्कीप्रतिको यस्तो दुव्र्यवहार पक्कै पनि संयोग मात्र थिएन । राष्ट्रपति भवनमा त्यो दिन भएको नमिठो संवादको अन्त्यमा ‘यो अवस्था अमेरिकी जनतालाई देखाउन यस (जेलेन्स्कीसँगको नमिठो संवाद) लाई लम्बिन दिइरहेको’ भन्ने ट्रम्पको अभिव्यक्तिले जेलेन्स्कीको अपमान योजनाबद्ध भएको पुष्टि गर्छ । सञ्चारमाध्यमका अनुसार त्यसपछि जेलेन्स्कीलाई संरा अमेरिकी राष्ट्रपति भवनबाट अपमानपूर्वक फिर्ता पठाइएको थियो । दुई देशबिच हुने भनिएको खनिज सम्झौता पनि काँचै फिर्ता भयो ।
यो घटनालाई केन्द्रमा राखेर यसले दिएका केही सन्देशबारे यस लेखमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
पहिलो, अन्तर्राष्ट्रिय सम्बन्धमा एउटा भनाइ बारम्बार दोहोरिरहेको हुन्छ, नो लन्च इज फ्रि । यसको शाब्दिक अर्थ हो, कसैले पनि सित्तैमा खाना खुवाउँदैन । अर्थात्, अन्तर्राष्ट्रिय सम्बन्धमा कसैले पनि केही पनि कुरा सित्तैमा दिँदैन, पाइँदैन । कुनै पनि देशले दिने आर्थिक अनुदान, ऋण, मानवीय सहायता, प्रविधि, मानव संशाधन जेसुकै होस्, त्यसका पछाडि उसका पनि केही न केही स्वार्थ हुन्छन् । दिने देशले दिएको देशबाट कुनै न कुनै प्रतिफलको अपेक्षा गरेकै हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धको यथार्थवादी सिद्धान्तले यस्ता सहायतालाई दिने देशको राष्ट्रिय स्वार्थसँग जोडेर हेर्ने गर्छ । खस्रो शब्दमा भन्दा अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राज्य धर्मात्मा हुँदैन । दिने देशले राख्ने त्यस्ता स्वार्थमध्ये केही स्वार्थ पाउने देशको लागि दीर्घकालीनरूपमा घातक हुने गर्छ भने कतिपय भने दुवै पक्षको लागि हितकारी पनि हुन्छन् । तथापि, इतिहासलाई फर्केर हेर्दा पूर्वउपनिवेशवादी देशहरूले दिने यस्ता सहायता भने फेरि पनि संसारलाई आफ्नो नयाँ उपनिवेश फैलाउने कुत्सित मनसायबाट अभिप्रेरित हुने गरेको देख्छौँ । निःस्वार्थ अन्तर्राष्ट्रिय सहायताको कल्पना गर्नु अवस्तुगत कल्पनामात्र हो । त्यसकारण, कुनै पनि देशसँग लेनदेन गर्दा साना र कमजोर देशहरूले अझ बढी संवेदनशील हुन जरुरी हुन्छ ।
रुससँग लड्न युक्रेनलाई हातहतियार र आर्थिक सहायता गर्नुको पछाडि संरा अमेरिका र युरोपका आ–आफ्ना राष्ट्रिय स्वार्थ छन् भन्ने वास्तविकता अहिले ट्रम्पको भनाइले प्रस्ट बनाएको छ । उनीहरूले मुखले भनेजस्तै रुसी आक्रमणबाट युक्रेनी जनतालाई जोगाउन त्यस्ता सहायता गरेका थिएनन्, बरु युक्रेनसँग भएका बहुमूल्य खनिज पदार्थमाथि आफ्नो नियन्त्रण जमाउन अमेरिका र युरोपेली देशहरूले अरबौँ डलर युक्रेन युद्धमा लगानी गरेको अहिले खुल्दै छ । अर्थात्, अमेरिका र युरोपले जेलेन्स्कीलाई दिएको डलर र हतियार सित्तैमा थिएनन् । त्यसमा अमेरिकी र युरोपेली पुँजीवादी सरकार र वर्गको गहिरो स्वार्थ जोडिएका छन् ।
दोस्रो विश्वयुद्धअघि उपनिवेशकालमा उपनिवेशवादी देशहरूले उपनिवेश देशहरूमा रेल र बाटोको सञ्जाल विस्तार गर्थे । त्यस्ता रेल र बाटा बनाउनुको उद्देश्य ती उपनिवेश देशहरूमा पूर्वाधार बनोस् र विकास होस् भन्ने थिएन । बरु उपनिवेश देशमा भएका प्राकृतिक स्रोतसाधनमाथि कब्जा र भरपुर उपयोग नै तिनका स्वार्थ हुन्थे । आज उपनिवेशकाल त समाप्त भइसकेको छ, तर उपनिवेशकालीन अभ्यास भने नयाँ रूपमा अझै कायम छ । युक्रेनमा अमेरिकी र युरोपेली लगानी उपनिवेशवादकै नवीन शिलशिला हो ।
दोस्रो, जेलेन्स्कीलाई तीन वर्षअघि रुससँग लडाइँ थाल्न उक्साउन सबभन्दा अगाडि अमेरिकी पुँजीपतिवर्ग नै थियो । अमेरिकी राष्ट्रपतिहरू ओबामा र बाइडेन मात्र होइनन्, ट्रम्प स्वयम्ले पनि युक्रेनी नेतालाई रुससँग भिड्न उक्साएका थिए । ट्रम्पकै अनुसार अहिलेसम्म युक्रेनमा अमेरिकाले ३५० बिलियन अमेरिकी डलर लगानी गरिसकेको थियो । अमेरिका र युरोपेली देशले दिएका अत्याधुनिक हातहतियार र पैसाकै भरमा युक्रेनले यो लडाइँ लड्दै आएको थियो । त्यसैकारण, युक्रेन युद्धलाई विश्लेषकहरूले पश्चिमा खेमा र रुसबिचको छद्म युद्ध भन्ने गरेका हुन् । जसमा युक्रेन पश्चिमा खेमाको ज्यावलको रूपमा प्रयोग मात्र भएको देखियो ।
युरोप र संरा अमेरिकामा जेलेन्स्कीलाई नायकको रूपमा चित्रण गरिँदै आएको छ । किनभने उनले युरोप र अमेरिकाको लागि रुससँग लडाइँ लडिदिएका छन् । लाखौँ युक्रेनी जनतालाई बलिमा चढाएर युरोपको सुरक्षा गरिदिएका छन् भने अमेरिकी हातहतियारको बजार फराकिलो बनाइदिएका छन् । त्यतिले नपुगेर अहिले युक्रेनसँग भएका दुर्लभ माटो (रियर अर्थ) जस्ता बहुमूल्य खनिज पदार्थसमेत शक्ति देशहरूका पाउमा चढाएका छन् । फलतः अमेरिका र युरोपले उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गर्दै आएका छन् ।
विडम्बना ! यसरी रातो कार्पेट बिछ्याएर स्वागत गरिने अमेरिकी राष्ट्रपति भवनबाट कुनै दिन आफू अपमानपूर्वक निष्काशित हुने उनले सायदै चिताएका थिए । उनी त ट्रम्प निर्वाचित भएलगत्तै उनले मागेको खनिजसम्बन्धी सम्झौता गर्न वाशिङटन पुगेका थिए । तर, युक्रेनमा गरेको लगानीबाट कुनै नाफा नपाएपछि र बालुवामा पानी खन्याएजस्तै भएपछि अमेरिकी पुँजीपतिवर्गले त्यहाँबाट हात झिक्ने निष्कर्ष निकालेसँगै हिजो नायक मानिएका जेलेन्स्की अपमानित गरिए । लडाइँ लडिरहेका राष्ट्रपतिलाई ट्रम्प र भान्सले हाकाहाकी तिमी हार्दै छौ भनी हतोत्साहित बनाउन खोजियो । त्यहाँ मानवीय संवेदनाको कुनै हिसाबकिताब नै रहेन । राजनीति कति कठोर र निर्मम हुन्छ भन्ने यो उदाहरण हो । माक्र्सले पुँजीपतिवर्ग आफ्नो नाफा जोगाउन आफैलाई झुण्ड्याउन पनि तयार हुन्छन् भनेजस्तै आफ्नो पुँजीमा आँच आउने भएपछि अमेरिकी पुँजीपतिवर्गले हिजोसम्म आफूले नायक बनाएको मानिसलाई अपमानको भारी बोकाएर गलहत्याउन कति पनि असहज मानेन ।
जेलेन्स्की मात्र होइन, हरेक साना र कमजोर देशका नेताले यो घटनाबाट निकै महत्वपूर्ण पाठ सिक्न सक्छन् । आफ्नो हितअनुकूल हुञ्जेल निकै आदर सम्मान गर्ने शक्तिहरूले जसै आफ्नो हितमा कुनै आँच आउने भएपछि साना देशका सार्वभौमिकतालाई शक्ति देशहरूले गुच्चा खेलाएजस्तै खेल्न सक्छन् भन्ने कुरा तीतो वास्तविकता हो ।
लडाइँ होस् वा विकास, आफ्नै जनताको भरमा गर्नु नै दिगो हुन्छ । जनताको रगत पसिनाको बलमा भएको विकास र जितेको लडाइँ नै अजम्बरी हुन्छ । प्यास लाग्यो भन्दैमा विष पिउनु र देशलाई चाँडै विकास गर्ने नाममा विदेशीकै भरमा मात्र सबै विकास गर्न खोज्नु समयान्तरमा देशको स्वतन्त्रता र सार्वभौमिकतामा खेलाँची हुनसक्छ ।
जेलेन्स्की आज चेसमा फसेको गोटीजस्तै बनेका छन् । उनी हार्न पनि सक्दैनन् किनभने उनको हारसँगै विश्व मानचित्रबाट युक्रेन मेटिन सक्छ । युगोस्लाभिया र चेकोस्लाभाकियाको नियति भोग्न सक्छन् । उनी जित्न पनि सक्दैनन् किनभने उनी जित्नुले विश्व मानचित्रमा युक्रेन रहे पनि त्यो युक्रेनी जनताको देश रहन गा¥हो छ । फलतः पश्चिमा देशहरूको हतियार र डलरको भरमा लडाइँमा जानु र उनीहरूसँग युक्रेनसँग भएका खनिज र प्राकृतिक सम्पदाको सम्झौता गर्नु जेलेन्स्कीको गल्ती थियो ।
तेस्रो, सोभियत सङ्घको महत्वपूर्ण हिस्सा युक्रेन सन् १९९४ सम्म आणविक हतियारसम्पन्न देश थियो । किनभने, तत्कालीन सोभियत सङ्घका प्रायशः महत्वपूर्ण हातहतियारको भण्डारण युक्रेनमा गरिएको थियो । तर, संरा अमेरिका र युरोपले नै फकाएर सन् १९९४ मा भएको बुढापेस्ट सम्झौतामा युक्रेनलाई ती सबै आणविक हतियार परित्याग गर्न सहमति गराए । त्यहीअनुसार युक्रेनले आफूसँग भएका सबै हातहतियार कुहायो । जसै युक्रेन निःशस्त्र भयो, तब पश्चिमा देशहरूले आज युक्रेनलाई आफ्नो तखतमा राख्न खोजिरहेका छन् । रुससँग लड्न युक्रेनी भूमि नष्ट पारिँदै छ जब कि यो लडाइँ युक्रेन र रुसको होइन, यो पश्चिमा खेमा र रुसबिचको लडाइँ हो किनभने यो लडाइँको मूल कारण नै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को विस्तारसँग जोडिएको छ । रुस नाटो पूर्वमा विस्तार नहोस् भन्ने चाहन्छ, युरोपेलीहरू नाटोलाई पूर्वतिर विस्तार गरेर रुसलाई घेराबन्दी, चीनलाई चुनौती र आफ्नो सुरक्षा गर्न चाहन्छन् । यसमा बिचमा फसेको छ युक्रेन ।
युक्रेनको आजको अवस्थाबाट प्रजग कोरिया, इरानजस्ता देशहरूले निकै महत्वपूर्ण पाठ सिकेको हुनुपर्छ । इरान र प्रजग कोरियालाई पनि संरा अमेरिका र युरोपेली देशहरूले साम, दाम, दण्ड र भेदको नीति लागु गरेर उनीहरूसँग भएका हतियार त्याग्न सम्झौता गराउन खोजेका थिए । उनीहरूलाई निःशस्त्र बनाउने हरेक प्रयास आजसम्म असफल हुँदै आएको छ । कदाचित उनीहरूले पनि पश्चिमा खेमाले चिताएजस्तै हतियार नष्ट गरेका भए पहिलेको इराक, लिविया र अहिलेको युक्रेनजस्तै हुने थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अपमानले प्रजग कोरिया र इरानका नेताहरूलाई झस्काएको हुनुपर्छ । साबुनको झोल देखाएर इराकसँग आमविनाशकारी हतियार भएको भन्दै सद्दाम हुस्सेनको हत्या, तानाशाहीको झूटा आरोपमा गद्दाफीको संहार र अहिले जेलेन्स्कीको अपमानले राज्यहरूलाई आफ्नो अस्तित्वको दिगो रक्षाको लागि सकेसम्म बढी हातहतियारको भण्डारण र प्रतिस्पर्धा गर्न उत्साहित गर्ने देखिन्छ ।
चौथो, जेलेन्स्कीको अपमानपूर्ण ह्वाइट हाउस निष्काशनले पश्चिमा खेमामा संरा अमेरिकाको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । के साँच्चै अमेरिका विश्वासयोग्य छ ? हिजो जसको कृपाको भरमा जेलेन्स्कीले लडाइँ जारी राखेका थिए, आज उनीहरू नै अर्कोतिर मुख फर्काउन थालेपछि युक्रेन अभरमा परेको छ । राष्ट्रपति फेरिएपछि विदेश नीतिमा ३६० डिग्रीको परिवर्तन हुने अवस्थामा संरा अमेरिकाको भर र विश्वासमा काम गर्ने देशलाई हतोत्साहित बनाएको छ । यसले अमेरिकालाई नै संसारको केन्द्र मान्दै बसेका संसारभरका शक्तिलाई वाशिङटनको भरमा काम गर्न दुईपटक विचार गर्नुपर्ने ठाउँमा पु¥याएको छ । संरा अमेरिकाको आन्तरिक राजनीति द्वन्द्वको पोल्ने तापले संसारका अन्य देशलाई पनि डढाउन थालेपछि त्यो देश र त्यहाँका नेताहरूमाथि कति भर पर्ने ? कुन नेता, दल र राष्ट्रपतिले भनेको कुरा सही र कसले भनेको गलत मान्ने ? विशुद्ध अमेरिकी पुँजीपतिवर्गको स्वार्थलाई मात्र केन्द्रमा राखेर काम गर्ने र अरु सबै पक्षप्रति गैरजिम्मेवार बनिदिने ट्रम्पजस्ता नेताहरू पटक–पटक निर्वाचित गर्ने अमेरिकी प्रजातन्त्र कति विश्वासिलो ?
जेलेन्स्कीको ह्वाइट हाउस निष्काशन विश्व पुँजीवादी खेमाभित्रको गहिरिँदो अन्तरविरोधको अभिव्यक्ति हो । पुँजीवाद आफ्नै अन्तरविरोधको कारण कमजोर हुने माक्र्सवादी निष्कर्ष फेरि सत्य साबित हुँदै छ । संरा अमेरिकाको ताण्डव नृत्यबाट युरोपेली देशहरू आफै आ–आफ्नो सुरक्षाको निम्ति ओत खोज्नेतिर लागेका छन् । क्यानाडालाई संरा अमेरिकाको ५१ औँ राज्य बनाउन, ग्रिनल्यान्ड र गाजा क्षेत्र अमेरिकाले नियन्त्रणमा लिनेजस्ता ट्रम्पका अभिव्यक्तिले युरोपेली शासकसमेत त्राहीत्राही छन् । जेलेन्स्कीको अपमान तत्काललाई देखिएको दृश्य मात्र हो, खासमा यो पुँजीवादभित्रको उकुसमुकुसिएको लाभा भूसतहमा फुसफुसाएको मात्र हो । खास ज्वालामुखी त फुट्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *