भर्खरै :

संरा अमेरिकी सैनिक आधारविरुद्ध फागुन ११ मा विश्वभर विरोध गरिने

विश्वका विभिन्न देशहरुमा रहेका संरा अमेरिकी सैनिक आधारहरु बन्द गर्न माग गर्दै संसारभरका अभियन्ताहरुले आगामी फागुन ११ गते(फेब्रुअरी २३) का दिन संसारभर विविध गतिविधि गर्ने भएका छन् ।
त्यो दिन क्युवाको ग्वान्टानामो टापुमा संरा अमेरिकाको जलसेनाले कब्जा गरेको ११५ औं वर्ष पुग्नेछ । त्यो दिन संरा अमेरिकालगायत संसारभरका समूहहरुले विरोध प्रर्दशन गर्ने र सञ्चारमाध्यममार्फत् प्रचार गर्ने कार्यक्रम रहेको बताइएको छ ।
विदेशी भूमिमा संरा अमेरिकी सैनिक आधारविरोधी मोर्चाको आयोजनामा सो कार्यक्रम गरिन लागेको हो । गएको महिना संरा अमेरिकाको मेरील्याण्डस्थित बाल्टिमोर विश्वविद्यालयमा भएको विदेशी भूमिमा सैनिक आधारविरोधी सम्मेलनले त्यो कार्यक्रम तय गरेको हो ।
मोर्चाले ग्वान्टानामो टापुमा संरा अमेरिकाका सबै सैनिक जवान र बन्दोबस्त फिर्ता गरी सो टापुमा संरा अमेरिकाको कुनै पनि स्वामित्व अन्त्य गर्न माग गरेको छ ।
शान्ति, न्याय र स्वाभिमानको लागि अन्तर्राष्ट्रिय समितिको क्युवाली एकाईले त्यो दिन चलचित्र निर्माता हर्नान्डो काल्भो आस्पिनाले बनाएको चलचित्र ‘अल ग्वान्टानामो इज आवर्स’ प्रदर्शन गर्न आह्वान गरेको छ । सो वृत्तचित्रमा ग्वान्टानामो टापुमा संरा अमेरिकी उपस्थिति क्युवाको राष्ट्रिय सार्वभौमिकतामाथि खतरा, हमला र हस्तक्षेप भएको कुरा चर्चा गरिएको छ ।
संसारका १४४ देशहरुमा संरा अमेरिकाका ८६० वटा सैनिक आधारहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *