भर्खरै :

असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू – ३

असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू – ३

(रोजा जन्म जयन्तीको अवसरमा प्रकाशित सामग्री)

९ नोभेम्बर १९१८ मा सशस्त्र मजदुर तथा सेनाहरूको बलमा जर्मन साम्राज्यवादको केन्द्र बर्लिन कब्जा गरी सम्राट केसरको राजतन्त्रलाई परास्त गरिएको थियो । अब सत्ता मजदुर र सैनिक परिषदका सदस्यरूको हातमा थियो । यद्यपि, सत्ता कसरी चलाउने भन्ने कुरा उनीहरूलाई ठीकसँग थाहा थिएन । यस्तैमा दक्षिणपन्थी समाजवादी नेताहरूले प्रतिक्रियावादी नेताहरूलाई एकताबद्ध गरेर श्रमिकवर्गमाथि आक्रमण सुरु गरे । यससँगै जर्मनमा क्रान्तिको सुरुवात भयो ।
यही बेला रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेख्तले स्पार्टाकस लीगलाई पुनर्जीवित गरे । श्रमिक चेतनाको विस्तारको लागि उनीहरूले ‘लाल झन्डा’ नामक समाचारपत्रको स्थापना गरे र यसको सम्पादक रोजा बनिन् । यो समाचारपत्रको माध्यमबाट उनीहरूले सबै राजनीतिक बन्दीहरूलाई रिहाइको माग गरिन् र मृत्युदण्डलाई समाप्त गर्ने कुराको माग गरिन् । श्रमिक आन्दोलनलाई नयाँ जोशका साथ अगाडि बढाउने तयारी तीव्ररूपमा अगाडि बढ्न थाल्यो । रोजालाई गणतान्त्रिक प्रणालीमा पूर्ण विश्वास थियो । उनको मान्यता अनुसार समाजवादी गणतान्त्रिक प्रणाली भनेको नियन्त्रित अर्थव्यवस्थासम्म मात्र सीमित हुँदैन । समाजवाद वास्तवमा वर्गीय विभेदमा आधारित व्यवस्थाको उन्मूलनको स्थिति हो । यसको आरम्भ नै वर्गविभाजित समाजको पतनबाट हुन्छ । यो सर्वहारावर्गको अधिनायकत्वजस्तै नै हो । यो यथास्थितिवादको रक्षक नभएर रचनात्मक र सक्रिय हुन्छ र साम्यवादको स्थापनाको लागि बुर्जुवा समाजमाथि निरन्तर प्रहार गरिरहन्छ । त्यसकारण, बुर्जुवा (पुँजीवादी) समाजको उन्मूलनबिना समाजवादको लक्ष्य प्राप्त गर्न असम्भव छ । सर्वहारावर्गको अधिनायकत्वलाई स्पष्ट पार्दै रोजा अगाडि भन्छिन्, यो अधिनायकत्व समूह अर्थात् बहुसङ्ख्यक वर्गको अधिनायकत्व र यो वर्गहीनताको नाममा अल्पमत समूहको निरङ्कुशता होइन । उनको भनाइअनुसार अधिनायकवाद भलै जुनसुकै वर्ग अथवा व्यक्तिको भए पनि सर्वथा अवर्णनीय छ । त्यो कुनै पनि जीवन्त राज्यको मार्ग हुन सक्दैन । तर, बुर्जुवावर्गको उत्पीडनबाट मुक्तिको लागि सर्वहारावर्गको अधिनायकत्वबाट गुज्रिनु अनिवार्य स्थिति हो । रोजाको मान्यताअनुसार सर्वहारा वर्गको अधिनायकत्व कुनै न कुनै रूपमा जनसमर्थित हुनुपर्दछ । नागरिकहरूमा परिपक्वता आउँदै गएपछि सर्वहारावर्गको अधिनायकत्व परिपक्व हुँदै जान्छ । त्यसले आफ्नो निरङ्कुशता भुलेर नागरिकहरूका सामान्य इच्छाहरूलाई सुशासनमा बदल्न लाग्दछ ।

१४ डिसेम्बर १९१८ मा रोजाले स्पार्टाकस लीगको नयाँ आन्दोलनको रूपरेखा कार्यकर्ताहरूको सामु राखिन् । डिसेम्बर २९ देखि ३१ को बिचमा उनीहरूले स्पार्टाकस लीग, इन्डिपेन्डेन्ट सोसलिस्ट तथा जर्मनीको अन्तर्राष्ट्रिय कम्युनिस्ट नामक सङ्गठनहरूको संयुक्त सम्मेलनमा भाग लिए । यो सम्मेलनमा नै जर्मनीको कम्युनिस्ट पार्टीको जग खडा भयो । रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, क्लारा जेटकिन, लियो जोगिश र फ्रान्ज मेहरिङ यसका शीर्षस्थ नेता थिए । अब जर्मनीमा माक्र्सवाद तीव्ररूपमा अगाडि बढिरहेको थियो । मानिसहरू साम्यवादप्रति आकर्षित हुँदै गइरहेका थिए । क्रान्तिकारी नेता कार्ल लिब्नेख्तको सत्ता बलपूर्वक उखालेर फ्याँक्ने विचार थियो । अन्य धेरै नेताहरू पनि उनको समर्थनमा थिए ।
प्रतिक्रियावादी एस.पी.डी. नेतृत्व जर्मन सैन्य हाइकमाण्डसँग मिलेर कसरी क्रान्तिको उभारलाई दबाउने र बुर्जुवा सत्तालाई कसरी सशक्त बनाउने भन्ने उपायमा लागेको थियो । डिसेम्बरको अन्तमा कम्युनिस्ट पार्टीको निर्माण भएको थियो र यसको नाम के.पी.डी. राखिएको थियो । यो पार्टीमा धेरैजसो युवा, उत्साहित, साहसी, क्रान्तिकारी साथै अति वामपन्थी पनि थिए । यो पार्टीले जनवरीमा हुने भनिएको संविधान सभाको चुनाव पनि बहिष्कार गर्ने फैसला गर्यो । यही मौकामा रोजा आफ्नो कुरा मजदुरहरूको बिचमा लान चाहन्थिन् । तर युवाहरूको बहुमत ट्रेड युनियनमा एस.पी.डी.को बचस्र्वको कारण त्यसबाट बाहिर आउने कुराको वकालत गर्न थाले । जबकि मजदुरहरूको भरोसा ट्रेड युनियनहरूमा बढ्दै गइरहेको थियो । ठुलो सङ्ख्यामा मजदुर पहिलोपटक सार्वजनिक र राजनीतिक जीवनमा आइरहेका थिए । यस्ता मानिसहरूलाई क्रान्तिको बेलामा दैनिकका जीवन्त अनुभवहरूको माध्यमबाट सैनिक र मजदुरहरूको सत्ता किन आवश्यक छ भनेर स्पष्ट बनाउनु पर्दथ्यो । तर, आफ्ना युवा नेताहरूको अति वामपन्थी विचारको कारण यो ऐतिहासिक मौका गुम्न गयो । परिणामस्वरूप उनीहरू मजदुरबाट अलगावमा परे । लगभग ५ लाख मजदुर बर्लिनका सडकहरूमा यसको विरुद्धमा उत्रिए । यता नेतागण अगाडि के गर्ने भन्ने विषयलाई लिएर अनिर्णयको स्थितिमा रहे र मौका हातबाट निक्लियो ।
सन् १९१९ आउँदाआउँदै बर्लिनमा दोस्रो क्रान्तिको सफलताको लागि माहोल बन्न लागेको थियो । तर, रोजालाई भने हिंसात्मक क्रान्तिको त्यति भरोसा थिएन । तर, कम्युनिस्ट पार्टीमा क्रान्तिकारी पक्षधरहरूको बहुमत थियो । जनवरी १९१९ मा पुनः जर्मनीमा विद्रोहको एक लहर सुरु भयो । यद्यपि, रोजाले बलपूर्वक सत्ता हडप्ने कुराको विरोध गरेकी थिइन् तर क्रान्ति सुरु भएपछि उनले त्यसको समर्थन गरिन् र कार्ल लिब्नेख्तसँगै नेतृत्व गरिन् । रोजाको इच्छा नहुँदा नहुँदै पनि लालझन्डाका कम्युनिस्ट क्रान्तिकारी कार्यकर्ताहरूले सरकार समर्थित समाचारपत्रको कार्यालयमा कब्जा गरे । श्रमिक नेताहरूको दमनको लागि सरकार यही समयको प्रतीक्षा गरिरहेको जस्तो लाग्दथ्यो । यही बेला एस.पी.डी. सरकारले प्रतिक्रान्तिकारी शक्तिको उपयोग गरेर विशेषगरी कम्युनिस्ट पार्टीको नेतृत्व समाप्त गर्नेतिर लाग्यो । विद्रोहलाई दबाउनको लागि प्रतिक्रियावादी फ्रीकोरप्स बेसब्री (सेनाबाट आएका व्यक्तिहरूद्वारा गठित अर्धसैन्य टुकडी) पार्टीको नेता फ्रेड्रिक एबर्ट, जर्मनीको नयाँ चान्सलरले सेना बोलाएर विद्रोहलाई जुनसुकै हालतमा दबाउने आदेश दियो । यो आदेश पाउने बित्तिकै सेनाहरू आन्दोलनकारीमाथि खनिए । हजारौँ कार्यकर्ताहरूलाई बन्दी बनाइयो । सयौँलाई कुनै मुद्दा नै नचलाइकन र सुनुवाइबिना नै मारियो । १३ जनवरी १९१९ सम्म विद्रोहलाई पूर्णरूपले दबाइयो । अर्कोतिर नोस्केद्वारा गठित फ्रीकोरप्सले रोजा र लिब्नेख्तलाई खोजिरहेको थियो । अन्ततः १५ जनवरी १९१९ को राति ९ बजे रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, विलियम पिक, आदि प्रमुख नेताहरूलाई गिरफ्तार गरियो । त्यसपछि बर्लिनको विल्भेर्स अपार्टमेन्ट हुँदै इडेन नामको एक होटलमा लगियो । सैनिक कमान्डर भाल्डेमर पावेस्ट र होस्र्ट भान फ्लुक हार्टंगले उनीहरूसँग बलपूर्वक सोधपुछ गरे । स्पष्टीकरणको कुनै अवसर नदिइकन नै रोजालाई क्रान्तिको मुख्य सूत्राधार मानेर मृत्युदण्ड सुनाइयो । आदेश मिल्नेबित्तिकै आधा रातमा सुरुमा कार्ल लिब्नेख्तलाई राइफलको बटले हिर्काएर धक्का दिँदै पिठ्यँुमा गोली हानेर मारियो । त्यसपछि रोजालाई पनि ओटो रुङ्ग भन्ने सेनाले राइफलको बटले हानेर लडायो । रोजा लड्नेबित्तिकै लेफ्टिनेन्ट हरमन सुकोनले उनको टाउकोमा गोली हान्यो । यसरी एक महान् क्रान्तिकारी नेतृ तथा योद्धाको नृशंस ढङ्गले हत्या गरियो । रोजाको नृशंस हत्याको सूचना पाएर सम्पूर्ण श्रमिकहरू भड्किन्छन् भन्ने डरको कारणले हतियारबद्ध काँतर सैन्य कमान्डरले रोजाको शव चुपचाप बर्लिनको लेडवर नहरमा बगाइदियो । यसैगरी जर्मन कम्युनिस्ट पार्टीका सत्न्दा बढी सदस्यहरूलाई मृत्युदण्ड दिइएको थियो भने हजारौँ कार्यकर्ता र श्रमिकहरूलाई कैद गरिएको थियो । सुरक्षा परिषद् भङ्ग गर्ने आदेशसँगै जर्मन क्रान्तिको पहिलो क्रम समापन भयो । ठीक साढे चार महिनापछि १ जून १९१९ रोजा लक्जेम्बर्गको शव बरामत भयो । उनको मृत्युको लागि ओटो रुङ्गलाई दुई वर्षको सजाय दिइयो तर नाजी शासनद्वारा ओटो रुङ्गलाई दिइएको सजायको भर्पाइ गर्दै पछि उसलाई पुरस्कृत गरिएको थियो । यसरी गद्दार सामाजिक जनवादीहरूले जर्मनीको क्रान्तिलाई रगतमा डुबाइदिए । यसप्रकार जर्मन क्रान्तिले हारको सामना गर्नुपर्यो । पछि सन् १९२१ मा र १९२३ मा पनि जर्मनीमा क्रान्तिकारी लहर उठेको थियो तर सफल हुन सकेन । यो असफलतापछि नै हिटलरले नाजीवादी मार्ग तयार गर्यो ।
रोजा लक्जेम्बर्गले क्रान्तिकारी विचारहरूको अवश्य रक्षा गरिन् तर सङ्गठन निर्माणको हकमा उनीबाट केही कमजोरी भएको देखिन्छ । सबभन्दा ठुलो गल्ती माक्र्सवादी कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीको निर्माण गर्नमा उनी असफल भइन् । क्रान्ति नोभेम्बर १९१८ बाट सुरु हुन्छ तर कम्युनिस्ट पार्टीको निर्माण त्यसको दुई महिनापछि हुन्छ । जनताको स्वतःस्फूर्तामाथि आवश्यकताभन्दा बढी भरोसाका कारणले पनि उनीहरूको सङ्गठन निर्माण गर्नतिर ध्यान नपुगेको देखिन्छ । रोजालाई सम्भवतः आफ्नो अन्तको अनुमान थियो । तर पनि उनले बर्लिनका मजदुरहरूको साथ छोडिनन् । यो उनको क्रान्तिप्रतिको एक महानता थियो ।
रोजा लक्जेम्बर्गले मृत्युदण्ड पाउनुभन्दा केही अगाडि लेखेकी थिइन् – जर्मन क्रान्तिको असफलतामा क्षोभ त अवश्य थियो तर त्यसप्रति विश्वास कम भएको थिएन । सर्वहारा वर्गमा भरोसा कायम राख्दै उनले एउटा अर्को क्रान्तिको अपरिहार्यतामा जोड दिएकी थिइन् । उनका अनुसार, “वर्तमान नेतृत्व पूर्णतः असफल भइसकेको छ । नयाँ नेतृत्वको जन्म जनताको बिचबाट जनताद्वारा गरिनुपर्दछ । केवल जनता नै निर्णायक शक्ति हुन् । जनता नै चट्टान हुन्, जसमा बनेको भवनमा क्रान्तिको शीर्ष विजयपताका फहराइनेछ । इतिहास साक्षी छ : जनता पहिले पनि उच्चतम् स्थानमा थिए र पछि पनि रहनेछन् । अहिलेको पराजय अनेकौँ ऐतिहासिक पराजयहरूको सामान्य हिस्सा हो, जसले अन्तर्राष्ट्रिय समाजवादको लागि गर्व र जोश प्रदान गर्दछ । भविष्यको विजयले वर्तमानका यिनै पराजयहरूको कोखबाट जन्म लिनेछन् ।” तानाशाही सरकारलाई दुत्कार्दै उनले लेखेकी थिइन्, “बर्लिनमा तानाशाही कायम भइसकेको छ ! मूर्ख तानाशाह, तिमीहरूको तानाशाही शासन बालुवामा बनेको भवन हो, समय आइसकेको छ कि क्रान्तिले भोलि पुनः तिमीहरूको मृत्युको ढोका ढकढक्याउनेछ र तिमीहरूको ढोकामा उभिएर आतङ्कलाई पुन लल्कार्नेछ – म थिएँ, म छु र म सदैव रहनेछु । ”
रोजाका अनुसार सङ्ख्या जतिसुकै भए पनि कुनै सरकारका समर्थकहरूको स्वतन्त्रता अथवा कुनै राजनीतिक दलका सदस्यहरूको स्वतन्त्रता वास्तविक स्वतन्त्रता होइन । स्वाधीनताले हमेशा ती मानिसहरूलाई वरण गर्दछ, जो बक्सभन्दा बाहिर सोच्दछन् । न्यायको सिद्धान्तको कारणले मात्र होइन, बरू राजनीतिक स्वतन्त्रताको निमित्त शिक्षाप्रद, लाभदायक र शुद्ध हुने सबै कुरा निश्चित गुण र परिस्थितिहरूमा निर्भर हुन्छन् । त्यसको प्रभाव स्वाधीनताका केही मानिसहरूको विशिष्टाधिकार बन्नुको साथै असरविहीन हुन लाग्छ । लोकतन्त्रको सफलता नागरिकहरूको अभिव्यक्तिको पूर्ण स्वतन्त्रतापछि सम्भव हुन्छ । प्रेस जागरूक हुनुपर्छ, समाजमा स्वतन्त्रताको चेतना हुनुपर्छ, सर्वसाधारणलाई कुनै भेदभावबिना निर्भय निष्पक्ष मतदानको सुविधा प्राप्त हुनुपर्दछ । राज्यस्तरमा कल्याणको वितरण यसरी हुनुपर्दछ कि सबै मानिस समानरूपले त्यसबाट लाभान्वित हुन सकून् तथा नागरिकहरूमा लोकतन्त्र तथा त्यसका आदर्शहरूप्रति विश्वासको अखण्ड भावना हुन सकोस् । यिनीहरूको अभावमा स्वाधीनता प्रभावहीन हुन बेर लाग्दैन । विशेषगरी सार्वजनिक निकायहरूमा, जहाँ जनताको पुँजी लगानी भएको हुन्छ अथवा जसको गठन लोककल्याणलाई ध्यानमा राखेर गरिएको हुन्छ, त्यहाँ स्वतन्त्रताको वातावरण अनिवार्य हुन्छ । यसको अभावमा उनीहरू आफ्नो लक्ष्यबाट भत्किन्छन् । केही मानिसहरूको स्वार्थसाधनको माध्यम बन्न समय लाग्दैन । यसरी रोजाका अनुसार आम जनताको सुविधाको अभावमा, विधायिका र प्रेसको स्वतन्त्रताबिना, अभिव्यक्ति स्वतन्त्रताको उपस्थितिबिना, सार्वजनिक संस्थान निर्जीव हुन्छन्, यस्तो स्थितिमा केवल नोकरशाही फस्टाउन सक्दछ । अनियन्त्रित नोकरशाहीले समाजलाई निरङ्कुशता र कालान्तरमा त्यसलाई अराजकतातिर लैजान्छ ।
रोजाको आफ्ना समकालीनहरूसँग खुला र अनौपचारिक सम्बन्ध थियो । उनका समकालीनहरूमा अगस्ट बेबेल, कार्ल लिब्नेख्त, क्लारा जेटकिन, अलेक्जेन्ड्रा कोलोन्ताइ, लुसी काउत्स्की, कार्ल काउत्स्की, फ्रान्च मेहरिंग, भी.आइ. लेनिन, लियो जोगिश आदि प्रख्यात कम्युनिस्ट नेता थिए ।
रोजा लक्जेम्बर्ग एक साहसी सर्वहारा योद्धा थिइन् । उनको हत्यापछि रूसी क्रान्तिका नेता लेनिनले लेखे, “आज बर्लिनमा पुँजीपति र सामाजिक जनवादीहरू उत्सव मनाइरहेका छन् । उनीहरू कार्ल लिब्नेख्त र रोजा लक्जेम्बर्गको हत्या गर्नमा सफल भएका छन् । एबर्ट र शीडमन, जसले वर्षाैँवर्ष मजदुरहरूको सिकार गर्नको लागि उनीहरूलाई कसाइखाना पु¥याए, ले अब सर्वहारा नेताहरूको हत्याराको भूमिका अपनाएका छन् । जर्मनीको उदाहरणले के देखाउँदछ भने जनवाद केबल पुँजीवादी लुट र बर्बर हिंसाको चक्रव्युह हो । कसाइहरूको नास होस् ।”
मृत्युदण्ड दिएको बेला रोजा ४८ वर्षकी थिइन् । उनले छोटो समयमा पनि सक्रिय र सङ्घर्षशील जीवन बाँचिन् । उनले शरीरको अपाङ्गतालाई कहिल्यै वास्ता गरिनन् । उनले निरन्तर श्रमिकहरूको हितप्रति ध्यान दिइरहिन् । उनले निरन्तर सम्झौताहीन सङ्घर्ष गरिरहिन् । आफ्ना विचारहरूमा उनी सदैव अडिग रहिन् । समाजवादप्रति उनको निष्ठा अति प्रशंसनीय छ । आफ्ना सम्पूर्ण विचारहरूबाट रोजाले के कुरा प्रमाणित गरेकी थिइन् भने उनी आफ्ना सिद्धान्तहरूमा मात्र अडिग थिइनन्, बरू उनको अडिग सङ्कल्प पुँजीपतिहरू र साम्राज्यवादीहरूको हृदयमा आतङ्क पैदा गर्ने खालको थियो । उनको गर्जनाले श्रमिकहरूमा चेतना जागृत गर्दथ्यो र सङ्घर्षको उत्प्रेरणा प्रदान गर्दथ्यो । त्यसकारणले गर्दा नै काँतरहरूले रोजाको हत्याको तुरून्तै पछि उनको शवलाई नहरमा बगाउने जस्तो अमानवीय कार्य गरे ।
रोजा लक्जेम्बर्ग अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनकी एक प्रमुख नेतृ थिइन् । उनले आफ्नो सम्पूर्ण जीवन क्रान्ति र न्यायको पक्षमा लगाइन् । सामाजिक न्यायको लडाइँमा रोजाका कदम सबैले स्वीकार गर्दछन् । आफ्ना राजनीतिक विचारहरूका कारणले गर्दा नै रोजाले सधैँ विरोधको सामना गर्नुपरेको थियो । उनले स्वतन्त्रता र समानताको लागि जीवनको अन्तिम घडीसम्म सङ्घर्ष गरिरहिन् ।
रोजा एक महान सर्वहारा नेतृ थिइन् । उनको मूल्याङ्कन गर्दै लेनिनले उनलाई उच्च कोटीकी सर्वहारा नेतृ भने र उनका अन्ध आलोचकहरूको पनि विरोध गरे । उनको सर्वहारा कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान रहेको छ । रोजा जीवनलाई विविधतामा हेर्ने गर्थिन् । उनले जीवनलाई सम्पूर्णतामा चाहिन् । प्रियसँग एकान्तता, मित्रहरूसँग अन्तरङ्ग वार्ता, प्रकृतिका अन्य प्राणीहरूसँग सहचर्य, सङ्घर्षशील जनताको विशाल बाढीमा आफ्ना विचारहरू निरन्तर प्रवाह गर्नु, नारा लगाउँदै गरेका मानिस, आक्रमणमा सङ्गठित सङ्गठन, सङ्घर्ष, बहस गर्ने युवाहरूको समूहसँगसँगै अगाडि बढ्नु आदि रोजाका विशेषता थिए । यी सबै कुराले उनलाई निरन्तर आकर्षित गर्दथे । रोजा हडताल र धर्नाको वकालत गर्थिन् । उनी यसलाई मजदुरवर्गको सबभन्दा ठुलो हतियार मान्थिन् । उनी सामूहिक हडताललाई क्रान्ति अगाडि बढाउने मार्ग बताउने गर्दथिन् । रोजाको महिला आन्दोलनमा पनि महत्वपूर्ण योगदान रहेको छ । उनी महिलालाई पहिले वर्गीय र त्यसपछि मात्र सामुदायिकरूपमा विश्लेषण गर्ने कुरा गर्थिन् । महिलाको वस्तुकरण र लिङ्गभेदविरोधी सङ्घर्षमा उनको ठुलो योगदान रहेको छ । यद्यपि, उनी कम्युनिस्ट आन्दोलनमै बढी सक्रिय थिइन् । उनले समग्र श्रमजीवी जनताको मुक्ति आन्दोलनको जग खडा गरिन् । रोजा उग्रराष्ट्रवादको पनि विरोधी थिइन् । यसले समाजवादको होइन बरू पुँजीवादको पक्षपोषण गर्ने कुराको वकालत गरिन् । उनका अनुसार श्रमिकको नेतृत्वमा हुने क्रान्तिकारी आन्दोलनले मात्र समाजवाद ल्याउँछ । श्रमजीवीका लागि शासन र सबैका लागि अधिकार उनको मुख्य नारा थियो । रोजाले जर्मन सैन्यवाद र साम्राज्यवादले युद्ध निम्त्याउनेछ भन्ने कुरा पहिले नै भविष्यवाणी गरेकी थिइन् । यो युद्धलाई रोक्न उनले हरसम्भव प्रयास गरिन् । उनले समाजवादी क्रान्ति एक औद्योगिक देशमा मात्र होइन, बरु अविकसित देशहरूमा पनि हुन्छ भन्ने कुरा स्पष्ट पारिन् । एक युवा क्रान्तिकारी र नारीवादीका रूपमा उनले महिलाहरूको रूढीवादी मानसिकतालाई चुनौती दिइन् । उनको वीरता, क्रान्तिकारिता, त्यागलाई संसारका कम्युनिस्टहरूले सदैव स्मरण गरिरहनेछन् र उनी सदा संसारका सर्वहाराहरूमाझ जीवितै रहने छिन् । उनको जीवनी र उनका सम्पूर्ण कार्यहरूले संसारका कम्युनिस्टहरूलाई पथप्रदर्शनको लागि निरन्तर काम गरिरहनेछन् ।
रोजा लक्जेम्बर्गका केही महत्वपूर्ण भनाइहरू
“आधुनिक मजदुर आन्दोलनको सम्पूर्ण बल वैज्ञानिक ज्ञानमा टिकेको हुन्छ ।”
“लोकतन्त्रलाई बलियो बनाउने इच्छा राख्नेहरूले समाजवादी आन्दोलनलाई पनि बलियो बनाउनुपर्दछ, कमजोर होइन । जसले समाजवादको लागि सङ्घर्षलाई त्याग गर्दछ, उसले श्रमिकहरूको लामबन्दी र लोकतन्त्रलाई पनि त्याग गर्दछ ।”
“जो अगाडि बढ्दैनन्, उनीहरूले आफ्ना जञ्जिरहरूलाई महसुस गर्दैनन् ।”
“लोकतन्त्र मजदुरवर्गको लागि अपरिहार्य हुन्छ किनकि लोकतन्त्रको सङ्घर्षमा तिनीहरूका लोकतान्त्रिक अधिकारहरूको प्रयोगबाट मात्र सर्वहारावर्गका हितहरू र उसका ऐतिहासिक कार्यहरूको बारेमा जागरूक हुन सक्दछ ।”
“यो क्रान्तिमात्र होइन, बरू विश्व शान्ति हो । यो केवल समाजवाद मात्र होइन, बरू सर्वहारावर्गको विश्व क्रान्ति हो । शान्ति ल्याउने र सुरक्षित राख्ने एक मात्र तरिका समाजवादी सर्वहारावर्गको जित हो ।”
“पुँजीवादी विकासको इन्जिन सैन्यवाद एक पुँजीवादी बिरामी बनेको छ ।”
“स्वतन्त्रता सदैव र विशेषरूपले ती मानिसहरूको लागि स्वतन्त्रता हुन्छ, जो अलग तरीकाले सोच्दछन् ।”
“नेतृत्व असफल भए पनि नेतृत्वलाई जनताबाट पुनः प्राप्त गर्न सकिन्छ ।”
“त्यो एक अपराधी हो, जसले क्रूर बेहोसीपूर्वक गरीबलाई दबाउँदछ ।”
“जनता निर्णायक तत्व हुन्, उनीहरू स्तम्भ हुन्, जसको कारणले नै क्रान्तिको अन्तिम जित हुनेछ ।” “हामीले के भुल्नु हुँदैन भने इतिहास महान् भावनाबिना, उच्च नैतिकताबिना, महान् इसाराबिना बन्दैन ।”
“आम चुनावबिना, प्रेसको स्वतन्त्रताबिना, अभिव्यक्ति र विधान सभाको स्वतन्त्रताबिना, विचारहरूको स्वतन्त्र सङ्घर्षबिना सबै सार्वजनिक संस्थानहरूमा जीवन समाप्त हुन्छ । यो स्वयंमा बुट्टा भर्ने काम मात्र हुन्छ, जसमा केवल एक सक्रिय तत्वको रूपमा नोकरशाही हुन्छ ।”
“स्वतन्त्रता केबल सरकारका सदस्यहरूको लागि, केबल पार्टीका सदस्यहरूका लागि प्रचुर मात्रामा बिल्कुल स्वतन्त्रता होइन । स्वतन्त्रता हमेसा असन्तुष्टहरूको स्वतन्त्रता हुनुपर्दछ । राजनीतिक स्वतन्त्रताको सार न्यायको कट्टरपन्थीहरूमाथि होइन, बरू असन्तुष्टहरूको स्फूर्तिदायक र लाभकारी प्रभावहरूमा निर्भर हुन्छ । यदि स्वतन्त्रता एक विशेषाधिकार बन्छ भने राजनीतिक स्वतन्त्रताको सार टुट्नेछ ।”

समाप्त
प्रस्तुति : एन. गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *