भर्खरै :

भक्तपुर क्याम्पसमा त्यो कन्सर्ट काण्ड

भक्तपुर क्याम्पसमा त्यो कन्सर्ट काण्ड

संस्मरण

दुई वर्षअघि कुरा हो । २०७९ चैत ५ गते । भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भयो । निर्वाचनमा जित्न शासक दलका विद्यार्थी नेताले सबै हत्कण्डा लगाए । चुनावी मैदानमा पसेका ती नेताहरूले सुरूदेखि नै आफ्नो भ्रष्ट चरित्र देखाए । जेहेनदार विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिको रकम खोसेर नेविसङ्घ, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरू २५० रूपैयाँमा भर्ना भए । क्याम्पस प्रशासनले पनि यो विद्यार्थीमारा काममा भित्रभित्र तिनलाई सहयोग ग¥यो । विद्यार्थीको साँच्चै हितमा हुन्थे भने तिनले सबै विद्यार्थीलाई २५० रूपैयाँमा भर्ना गर्नुपथ्र्यो । तर, उद्देश्य अर्कै थियो । तिनको सक्कली अनुहार छिट्टै देखियो ।
एसईई परीक्षा चल्दै थियो । भक्तपुर क्याम्पसमा कन्सर्टको तयारी चल्यो । भर्खर स्ववियु निर्वाचन जितेको विद्यार्थी गठबन्धनले क्याम्पस हाताभित्रै कन्सर्ट गर्ने भयो । विद्यार्थीको अध्ययन गर्ने थलो हजारौँ मानिसको मोजमस्ती गर्ने क्लब बन्ने भयो । क्याम्पस प्रशासनले पनि त्यसमा कुनै आपत्ति जनाएन । बिदाको दिन शैक्षिक वातावरण बिगार्ने गरी बाहिरी संस्था वा समूहलाई कन्सर्ट गर्न सिफारिस दियो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुरूदेखि नै त्यो कार्यक्रमको पक्षमा थिएन ।
चैत १८ गते आयो । त्यो दिन क्याम्पसमा बीबीएस चौथो वर्ष र स्नातक तह सेमेस्टर प्रणालीको दोस्रो र चौथो सेमेस्टरको अन्तिम वार्षिक परीक्षा चल्दै थियो । शासक दलका विद्यार्थी नेताहरूलाई यसको कुनै पर्वाह थिएन । क्याम्पस वरपर घर–घरमा विद्यार्थीहरू जीवनकै महत्वपूर्ण परीक्षाको तयारी गर्दै थिए । हामीले रोक्ने प्रयास गर्दागर्दै पनि कन्सर्ट सुरू भयो । दिउँसोको एक–दुई बजेको थियो । क्याम्पसमा हजारौँ मानिसहरूको घुइँचो लाग्यो । कन्सर्टको चर्को हल्लाले एसईईका विद्यार्थीहरूको तयारीमा बाधा पुग्यो ।
नेक्राविसङ्घका साथीहरूसँगै हामी पनि कन्सर्टको अवस्था बुझ्न क्याम्पस गएका थियौँ । क्याम्पस पस्दा जे देखियो, त्यो एउटा प्राज्ञिक थलोलाई कत्ति पनि सुहाउने कुरा थिएन । क्याम्पस भद्रगोल थियो । क्याम्पसमा बियर, रक्सी र चुरोटको व्यापार चुलिएको थियो । शिक्षा आर्जन गर्ने ठाउँ मादक पदार्थ र मदिराको व्यापार गर्ने थलो बनेको थियो । कन्सर्टमा आएका हजारौँ दर्शकले खाएका बियर, रक्सी र कोकाकोलाका बोतल र क्यानहरू क्याम्पस परिसरभरि छरपस्ट थिए । रक्सी र बियरले मात्तिएका मानिसहरू कोही नाच्दै थिए त कोही बिचबिचमा बीबीएस र बिएस्सी पढाइ हुने भवन तथा कक्षा कोठाहरूमा गएर शौच गरिरहेका थिए । हाम्रो शिक्षालय जँड्याहा र रक्स्याहाहरूको शौचालय बन्न पुग्यो । क्याम्पसको मैदानमा सहभागीहरू मात्तिएर नाचे । केही रक्स्याहाहरू आपसमा हानाहान गर्दै थिए । तिनको मुखबाट निक्लेका घिनलाग्दा गाली र वचन सुनेर कान थुन्नुपर्ने अवस्था थियो ।
नवनिर्वाचित स्ववियुले भक्तपुर क्याम्पसको राम्रै प्रचार ग¥यो । कन्सर्टमा आएका हजारौँ मानिसले सामाजिक सञ्जालमा राखेका पोस्ट क्याम्पसमा छोराछोरी पढाइरहेका अभिभावकले पनि हेरे । तिनमा भक्तपुर क्याम्पसको नराम्रो छाप प¥यो । भक्तपुर क्याम्पसमात्र नभई देशैभरिका आङ्गिक क्याम्पसप्रति मानिसमा नराम्रो छाप पर्न गयो । शासक दलका विद्यार्थी सङ्गठनहरूले आङ्गिक क्याम्पसहरूको दोहोलो काढे, भक्तपुर क्याम्पसलाई बदनाम पारे ।
विद्यार्थीको हकहितको निम्ति आवाज उठाउनुपर्ने संस्था स्ववियुलाई जँड्याहाहरूको सेवक बनाइयो । मनपरी गतिविधि गरेर स्ववियुमाथि नै कलङ्क लगाइयो । पञ्चायत कालमा स्वेच्छाचारी र तानाशाही राजतन्त्रको विरोध गर्नका लागि हाम्रा अग्रजहरूले स्ववियु गठन गरेका थिए । स्ववियुहरूले विद्यार्थीहरूको पढ्न पाउने अधिकारका लागि ठुलो सङ्घर्ष गरेका थिए । स्ववियुले विदेशीहरूसँग गरिने असमान सन्धिसम्झौताविरूद्ध आन्दोलनको आँधी ल्याएको थियो । जनताका मौलिक अधिकार कुण्ठित भइरहेको बेला ०३६ सालमा जनमत सङ्ग्रह गराउन स्ववियुले निर्णायक भूमिका खेलेको थियो । प्रजातन्त्रको पक्षमा स्ववियुकै अगुवाइमा ठुलाठुला आन्दोलन उठेका थिए । यिनै सङ्घर्षको बलमा ०४६ सालमा बहुदलीय व्यवस्थाको दैलो उघ्रेको थियो ।
चैत १८ गते भक्तपुर क्याम्पसमा जे देखियो, त्यसले स्ववियुको गर्बिलो इतिहासमा कालो पोतेको आभाष भयो । नेपाली काङ्ग्रेसको नेविसङ्घ, नेकपा (एमाले) को अनेरास्ववियू र एकीकृत माओवादीको अनेरास्ववियू (क्रान्तिकारी) ले भक्तपुर क्याम्पसलाई बहुराष्ट्रिय कम्पनी कोकाकोलाको विज्ञापन गर्ने थलो बनाए । कोकाकोला कम्पनी आजभोलि गाजामा प्यालेस्टिनी जनताको नरसंहारमा फासिवादी इजरायललाई सघाउने कम्पनीको रूपमा पनि बदनाम छ । बीडीएस आन्दोलनमा संलग्न विश्वका करोडौँ न्यायप्रेमी विद्यार्थीहरू अहिले यो कम्पनीलाई बहिस्कार गर्नुपर्ने आवाज उठाउँदै छन् ।
कन्सर्टमा भएका केही बेथितीको फोटो खिचेर साँझपख हामी घर फर्किँदै गर्दा दिमागमा धेरै कुरा खेले । शासक विद्यार्थी नेताहरू किन भड्किला कन्सर्ट गर्छन् ? किन विद्यार्थीलाई रमाइलो र मोजमस्तीमा भुलाउन खोज्छन् ? किनभने तिनका मातृपार्टीहरू भ्रष्ट बनिसकेका छन् । उनीहरू आफ्नो नयाँ पुस्तालाई पनि भ्रष्ट बनाउँदै छन् । विद्यार्थी नेताहरू नेता कम बढी गुण्डा बन्दै छन् । भ्रष्ट व्यक्तिलाई कसले आफ्नो नेता बनाउला ? भ्रष्ट विद्यार्थीले मात्र भ्रष्ट व्यक्तिलाई आफ्नो नेता बनाउन सक्छन् । विद्यार्थीलाई कसरी भ्रष्ट पार्ने त ? यसको लागि विद्यार्थीलाई अध्ययनशील, चिन्तनशील र विवेकशील बन्नबाट रोक्नुपर्ने हुन्छ । भड्किला कन्सर्ट गरेर विद्यार्थीलाई (दुईचार दिनको) मासुभात, कोक, जाँडरक्सी र रमझममा भुलाएर मात्र तिनलाई अध्ययन र चिन्तनबाट टाढा राख्न सकिन्छ । तपस्याबाट विद्यार्थीको ध्यान भङ्ग गर्न दुष्ट इन्द्रले विश्वामित्रविरूद्ध गरेभन्दा धेरै तिगडम गरिन्छ । ‘मास मेनिपुलेसन’ को गजबको काइदा हो यो । यसमा पुँजीवादी दल र नेता खप्पिस छन् । कुनै बेला फासिवादी हिटलरले पनि यही काइदाको प्रयोग गरेको थियो ।
शासकहरू मात्र होइन, तिनका विद्यार्थी नेता–कार्यकर्ता पनि विद्यार्थीको आँखामा पट्टी बाँधेर कमिसन खाने खेलमा डुब्न हानथाप गर्छन् । यस्ता विद्यार्थी सङ्गठनविरूद्ध लड्न सकिएन भने अबको केही दशकमा देशको उच्च शिक्षा काम नलाग्ने र रद्दी बन्नेछ । हुनेखाने त बाहिर विदेश गएर पढ्लान् तर गरिबका छोराछोरी कहाँ गएर पढ्ने ? नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको सङ्घर्ष कति गहन र दूरदर्शी है ? हामी विद्यार्थीलाई भेँडाको भीड बनेको देख्न चाहन्नौँ। दुईचार दिनको सित्तैको र सस्तो रमझममा बलि चढाउन लागेको बोकाजस्तो झुलेको हेर्न चाहन्नौँ । बरू, हामी यो देशका बहुमत विद्यार्थीहरूलाई अध्ययनशील, चिन्तनशील र विवेकशील बनाउन प्रयत्नशील छौँ । स्ववियुलाई विद्यार्थीको पक्षमा रचनात्मक कार्य गर्ने थलो बनाउन खोज्दै छौँ । विद्यार्थीलाई देश र जनताको पक्षमा सचेत र एकगठ गर्न प्रयासरत छौँ । यही सोच्दा–सोच्दै म घर पुगेँ ।
(लेखक भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *