भर्खरै :

स्ववियुमा देशको प्राकृतिक स्रोतमा युवा प्रतिभाको प्रयोग गर्ने नेतृत्व आवश्यक

स्ववियुमा देशको प्राकृतिक स्रोतमा युवा प्रतिभाको प्रयोग गर्ने नेतृत्व आवश्यक

विद्यार्थीलाई कुनैपनि राजनीतिक दलको सदस्य बनाउन हुँदैन । तर, तिनीहरूमा देशभक्ति तथा जनताको सेवा हुने भावनाको विकास गराउनुपर्दछ । विद्यार्थीलाई राजनीतिक दलको भातृ सङ्गठनको रुपमा प्रयोग गर्दा देशको लागि आवश्यक जनशक्ति भन्दा पनि राजनीतिक दलको कार्यकर्ता हुने प्रवृतिले नेपालको विद्यार्थी आन्दोलन राजनीतिक दलको सहयोगी भूमिका निभाइरहेको छ । हुन त विद्यार्थी आन्दोलनका क्रममा विद्यार्थी नेताहरूले देशको भविष्यलाई आफ्नो मूल मन्त्र र सिद्धान्त भएको बताउने गरेका हुन्छन् ।
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको हक अधिकार संरक्षण र सम्वद्र्धन गर्ने निकाय हो । सरकारी क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा लिइन्छ । विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको थियो । स्ववियु राजनीतिक दलको विचारभन्दा पनि विद्यार्थीको हक अधिकारका लागि निर्माण गरिएको साझा संस्था हो । विश्वविद्यालयमा स्ववियुलाई राजनीतिक क्रान्तिको अब्बल संस्थाका रूपमा पनि लिइन्छ । तर, विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई नबुझी राजनीतिक दलकै भातृसङ्गठनको रुपमा अघि बढ्न खोज्दा स्ववियुको महत्व र आवश्यकतामाथि नै प्रश्नचिन्ह उठेको छ ।
विश्व इतिहासमा विद्यार्थी सङ्गठनहरूको इतिहास हेर्दा स्ववियुको स्थापना दोस्रो विश्वयुद्धभन्दा पनि अघिदेखि भएको देखिन्छ । दोस्रो विश्वयुद्धमा विद्यार्थी सङ्गठनको पनि अहम् भूमिका रहेको इतिहासमा अध्ययन सकिन्छ । विद्यार्थीहरूले विश्वयुद्धमा सैनिकहरूलाई खाना, पानी पु¥याउनुका साथै उनीहरूको विश्वविद्यालयमा सुरक्षा दिने भूमिका निभाएको देखिन्थ्यो ।
विश्वयुद्ध समाप्तिसँगै विद्यार्थी सङ्गठनहरू विद्यार्थी हक अधिकारका साथै विद्यार्थीमैत्री क्रियाकलापमा रूपान्तरण गर्न गरेको पाइन्छ । आज पनि विश्वको अधिकांश विश्वविद्यालयमा स्ववियुको अभ्यास र कार्यान्वयन भइरहेको छ । विश्वविद्यालयको शिक्षालाई व्यावहारिक सीप र समग्र समदायको परिवर्तनका लागि अहिले पनि स्ववियुको भूमिका अति आवश्यक छ ।
नेपालमा पनि युगान्तकारी परिवर्तन र राजनीतिक घटनाक्रममा विद्यार्थी सङ्गठनहरूको भूमिका नेपालका विभिन्न विद्यार्थी सङ्गठनको पनि उल्लेखनीय रहिआएको छ । गर्विलो इतिहास बोकेको विभिन्न विद्यार्थी सङ्गठनहरूले समय र आवश्यकतालाई बुझेर आफ्नो औचित्यलाई परिवर्तन गर्न सकेका छैनन् ।
नेपालमा विद्यार्थी सङ्गठनहरूको स्थापना अहिलेका राजनीतिक पार्टीहरूभन्दा पहिल्यै भएको हो । नेपालको पहिलो विद्यार्थी सङ्गठनको रूपमा भारतको बनारसमा पढ्ने नेपाली विद्यार्थीहरू मिलेर वि.सं. १९९१ मा स्थापना भएको ‘नेपाली छात्रा सङ्घ’लाई लिइन्छ । राणाशासनको दमन र अत्याचारको विरोध गर्दै सशक्त बन्दै आएको समाज परिवर्तन गर्ने आवाजमा १९९७ मा गंगालाल श्रेष्ठ सहिद बन्न पुगे । उनलाई नै नेपालको पहिलो विद्यार्थी सहिदका रूपमा लिइन्छ । यस्तै राजनीतिक घटनाक्रम चर्किँदै जाँदा विद्यार्थीहरू आन्दोलित भएर विसं. २००४ सालमा ‘जयन्तु संस्कृतम्’ को रूप लियो ।
राणा शासकहरूको दमनले जनताका छोराछोरीलाई शिक्षाबाट वञ्चित हँुदा विद्यार्थी राजनीति सशक्त हुँदै अघि बढेको देखिन्छ । २०१७ सालमा राजा महेन्द्रबाट राजनीतिक पार्टीहरूलाई प्रतिबन्ध लगाए । त्रिभवन विश्वविद्यालय स्थापनाले विद्यार्थी आवाजलाई सशक्त बनाउन वि.सं २०१८ मा नेपालमा पहिलो पटक विद्यार्थीहरूको साझा संस्थाको स्ववियुको स्थापना भयो । त्यसपछि पञ्चायती सरकारविरुद्ध सशक्त आवाज उठाउने काम पनि स्ववियुले नै ग¥यो । त्यसैले पञ्चायती शासन व्यवस्था अन्त्य गर्न स्ववियुले महत्वपूर्ण खेल्यो । २०३६ मा जनमत सङ्ग्रह गर्न, २०४६ मा बहुदलीय व्यवस्था ल्याउन, २०६२–६३ को जनआन्दोलनमा राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा विद्यार्थी आन्दोलनको भूमिका महत्वपर्ण छ ।
स्ववियु निर्वाचित प्रतिनिधिहरूले राजनीतिक क्षेत्रमा माउ पार्टीको कार्यकर्ता र व्यक्तिगत रूपमा मात्र काम गरेको देखिन्छ । पार्टीका कार्यकर्तामात्र नभई विद्यार्थी हक अधिकारका लागि आफूलाई क्रियाशील गराउन नसक्दा स्ववियुको आवश्यकताको प्रश्नले स्ववियु नै धराशायी अवस्थामा पुग्न लागेको छ ।
गौरवमय इतिहास बोकेको स्ववियुले आफ्नो रचनात्मक भूमिका निभाउन नसक्दा विद्यार्थी हक अधिकार, अवसर, शैक्षिक मुद्दाहरू ओझेलमा परेका छन् । विभिन्न क्याम्पसमा विभिन्न नाम गरेका समूह वा सङ्गठनहरूले आफ्नो स्वार्थका विविध माग राखेर तालाबन्दी गर्दा त्रिविले आफ्नो सेवा विद्यार्थीसम्म पु¥याउन कठिन भइरहेको छ, विद्यार्थीका जायज माग सम्बोधन हुँदैन । यसले गर्दा देशको नेतृत्व गर्ने भोलिको जनशक्ति उत्पादनमा समस्या देखिन्छ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचनमा २८ वर्षको उमेर हदबन्दी र निश्चित निर्वाचन प्रणाली लागू गरिएको छ । शैक्षिक मुद्दामा आवाज उठाउने साझा थलोका रूपमा रहेको स्ववियुले विद्यार्थी हक अधिकारको पैरवी गर्ने, विद्यार्थीको क्षमता उजागर गर्ने, क्याम्पसमा रहेको विभिन्न अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गराउनेतर्फ आफूलाई क्रियाशील बनाउनपर्छ ।
स्ववियु निर्वाचनमा निर्वाचित व्यक्तिले आफ्नो व्यक्तिगतका साथै राजनीतिक क्षेत्रमा मात्रै समर्पित भएर निर्णय गर्ने प्रवृतिले विद्यार्थीहरूबिच हुने समस्याको उचित समाधान नगरि दिँदा स्ववियु विकृत र अराजकताको दिशातर्फ लम्किने, त्रिवि तथा त्रिविका आन्तरिक प्रशासनका विभिन्न कार्यक्रममा हिस्सेदारी खोज्दा स्ववियुको अस्तित्व नै धरापमा छ ।
अहिलेको स्ववियु लोभ, राजनीतिक चलखेल र व्यक्तिगत प्रभावमा नपरी काम गर्न सक्ने कुशल व्यक्तिको खोजीमा छ । त्रिविका कार्यक्रमलाई निष्पक्ष अध्ययन गरी सुझाव र प्रशंसा दिने तथा प्रलोभनमा नपरी काम गर्न सक्ने व्यक्ति अहिलेको स्ववियु नेतृत्वलाई आवश्यक छ ।
दैनिक हजारौँ युवा प्रतिभा विदेश पलायनलाई रोक्न देशमा उपलब्ध युरेनियम, पेट्रोल, डिजेलजस्ता विविध खनिज, प्राकृतिक स्रोत, विश्वको उन्नत जातको खाद्यान्न, विद्युत्, पर्यटन तथा स्थानीय उद्योगको सीप र उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष युवा जनशक्ति देशमै प्रयोग गर्ने नीति विश्वविद्यालयमा पुयाउन सक्ने स्ववियु नेतृत्व आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *