भर्खरै :

चीन ग्रामीण क्षेत्रमा समृद्धिको बीउ छर्दै

चीन ग्रामीण क्षेत्रमा समृद्धिको बीउ छर्दै

चीनमा गरिबी उन्मूलन सन् २०२० मै भइसकेको हो । सन् २०३० को दिगो विकास उद्देश्त्न्दा १० वर्ष अगाडि नै चीनले ८–९ करोड चिनियाँ जनतालाई गरिबीको रेखामाथि उठाई चीनले देशमा समृद्धिको आधार तयार गर्यो । गाउँ नै गाउँले भरिएको चीनमा गरिबी उन्मूलन कुनै चमत्कारभन्दा कम थिएन भन्ने चर्चा संसारमा आजसम्म पनि छ । चीनले सहरसँगै ग्रामीण क्षेत्रमा क्षेत्रीय विशेषताको उत्पादन या आम्दानीको गतिविधिलाई जोड दियो; जनजीविका सहज बनाउन पूर्वाधार तयार ग¥यो । जनताको प्रतिव्यक्ति आम्दानी या क्रयशक्ति बढाउनु र देशको घरेलु बजार बलियो बनाउनुलाई चीनले प्राथमिकतामा राख्यो । विज्ञान प्रविधिको विकास एवम् अनुसन्धानसँगै उसले ग्रामीण कृषिलाई उत्तिकै जोड दियो । संसारकै दोस्रो ठूलो अर्थतन्त्रमा उक्लिए पनि उसले आफूलाई विकासशील देशको पङ्क्तिमा उभ्यायो । चीनले सबैभन्दा ठूलो निर्यातकर्ता देशको रूपमा कहिल्यै घमण्ड गरेन । आज कृत्रिम बौद्धिकता अर्थात् एआईको राम्रो विकासलाई चीन जनताको जीवनस्तर उकास्ने, गाउँ र सहरबिचको भेद हटाउने र सेवा क्षेत्र विशेषगरी ज्येष्ठ नागरिक सेवासँग जोड्दै छ । चीनले दोस्रो शताब्दी उद्देश्यअन्तर्गत देशलाई सबै आयाममा समृद्ध र शक्तिशाली बनाउन काम गर्दैछ ।
यतिबेला चीनको थुप्रै प्राथमिकतामध्ये ग्रामीण क्षेत्रको समृद्धिका लागि आधार तयार गर्नु हो, बिउ छर्नु हो । गएको डिसेम्बरमा ग्रामीण क्षेत्रको वार्षिक राष्ट्रिय सम्मेलन पेइचिङमा सम्पन्न भयो । यो वर्ष ग्रामीण क्षेत्रमा कृषि उत्पादन र ग्रामीण जीवन उकास्ने योजनाहरूबारे सघन छलफल चल्यो । देश कृषि उत्पादनमा बलियो नभईकन समृद्ध हुन सक्दैन भन्ने निष्कर्ष चीनको हो । कृषिलाई उद्योगसँग जोड्ने, आधुनिक युग सुहाउँदो कृषि प्रणाली हुर्काउने, कृषिमा एआईको प्रयोग गर्ने योजनाले ग्रामीण कृषिलाई बेग्लै उचाइमा पु¥याउने निश्चित छ । ग्रामीण क्षेत्रको विकासमा केन्द्रित चीनबारे पेइचिङ रिभ्युको जनवरी अङ्कले मिहिन चर्चा गरेको छ । पछिल्लो विश्वव्यापी आर्थिक अस्थिरता हेर्दा चीनको विकास पनि निश्चित लयमा जान्छ भनी ढुक्कले भन्न सकिने ठाउँ छैन, थुप्रै चुनौती छन् । त्यसकारण, चीनको अर्थतन्त्रलाई कृषि र ग्रामीण विकासले नै बलियो बनाउँछ । चिनियाँ अर्थतन्त्रमा ग्रामीण सवाल कुनै पनि भौतिक संरचनाको जग जस्तै हो । चीनको उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासका लागि कृषिको भूमिका बेजोड छ । सन् २०२४ को तथ्याङ्कअनुसार चीनले वार्षिक ७० करोड ७५ लाख टन उत्पादन गर्यो । वार्षिक १.६ प्रतिशतका दरले उत्पादन बढ्दो छ । पहिलो ४ महिनामा ग्रामीण चिनियाँ जनताको प्रतिव्यक्ति खर्च योग्य आम्दानी १६७४० युआन अर्थात् २२९४ डलर पुग्यो । यो भनेको ६.६ प्रतिशतले वृद्धि हो । उत्पादन प्रक्रियामा समुदाय तहको सुशासनले ग्रामीण क्षेत्रमा स्थिर प्रगति सम्भव भएको हो भन्न सकिन्छ । विकासको एउटा मापदण्ड जनताको सुख पनि हो । आपूर्ति, खुशी र सुरक्षाको अनुभूति ग्रामीण पुनरुत्थानकै महत्वपूर्ण हिस्सा हो । नेता सी चीङ फिङले सहर गाउँबिच विकास सहकार्यको अवधारणालाई जोड दिनुभएको छ । ग्रामीण क्षेत्रको उत्थानमा सहरको भूमिका र योगदान अनिवार्य छ भन्ने विचार व्यवहारमा अभ्यास हुँदै छ । देशैभर आर्थिक र सामाजिक सन्तुलनका निम्ति पनि यो जरुरी छ ।
“पहिला कृषिलाई बलियो बनाऊ कृषिमा आत्मनिर्भरताका लागि, तबमात्रै देश बलियो बन्छ जब कृषि बलियो हुन्छ ।” पहिलेदेखि नै चीनमा यो विचार बलियो छ । आधुनिक समाजवादी देश निर्माणका लागि पनि ग्रामीण क्षेत्रको उत्थान र आधुनिकीकरण अनिवार्य सर्त हो । सहरमा जस्तै जमिन लिजमा या भाडामा लिएर दसाँै वर्ष लगानी गर्ने उपाय ग्रामीण भेगमा फस्ताउँदो छ । चक्लाबन्दी खेती, खेतीपातीमा आधुनिक कृषि सामग्रीको प्रयोगदेखि अहिले ड्रोनको प्रयोगले चीनको ग्रामीण भेग आधुनिकीकरणतर्फ उन्मुख छ भन्ने प्रस्ट गर्छ । जग्गा जमिनको सुरक्षा या लगानीको सवालमा केही सुधारको विषयमा पनि छलफल चालु छ । किसानलाई सुरक्षित व्यवसायको प्रत्याभूतिका निम्ति लामो अवधिसम्मलाई व्यक्तिगत खेतीको सम्झौता गर्न सकिने प्रावधान ल्याइएको छ । एउटा उदाहरण अन्हुई प्रान्तको छ । त्यो प्रान्तले अठार गाउँलाई छुट्टाछुट्टै खेतीपाती अर्थात् व्यक्तिगत कृषि व्यवसायको निम्ति हौस्यायो । निकै पछाडि परेको त्यो क्षेत्र केही वर्षमै धनी बन्यो । यो सन् १९७८ तिरको कुरा हो । अन्हुई प्रान्तमा सामूहिकभन्दा व्यक्तिगत कृषि व्यवसाय फाइदाजनक देखिएपछि देशैभर परिस्थितिअनुसार त्यो कृषि नीतिको रूपमा हुर्कियो । किसानले भूमि सम्झौता ३० वर्ष सम्मका लागि गर्न सकिने प्रावधान २ वर्ष अघि थपियो । अन्हुई प्रान्तले अहिले पनि ग्रामीण सुधारमा अगुवाइ गर्दै छ । त्यो प्रान्तले कृषिमा आठ नयाँ अवधारणाको अभ्यास ग¥यो ।
नेता लेनिनले भन्नुभएको स्मरण छ, “विद्युतीकरण नै समाजवाद र साम्यवादको आधार हो ।” चीनमा ग्रामीण क्षेत्रलाई आधुनिक विद्युतीय साधन, प्राविधिक कृषि औजार सम्पन्न बनाउन क्रियाशील छ । नयाँ मोडलको अर्थतन्त्र, व्यापार र उद्योग कृषि विकासका निम्ति जरुरी छ । गाउँ गाउँमा विद्युतीकरण र आधुनिकीकरणको अभियान चालु छ । विज्ञान र प्रविधिमार्फत नयाँ उत्पादनशील शक्ति खडा गर्ने र चीनलाई विशाल कृषिप्रधान मुलुकबाट विश्वव्यापी अर्थात् ‘वल्र्डक्लास’ कृषि शक्तिकेन्द्रको रूपमा विकास गर्ने योजना छ । चीनको कृषि नयाँ नयाँ अन्वेषणबाट अघि बढ्छ र प्रविधिले शक्तिशाली बन्ने विश्वास लिइएको छ । त्यसका लागि उत्पादन प्रणाली र क्षमता अभिवृद्धिमा प्रत्येक प्रान्तको ध्यान केन्द्रित छ ।
गएको डिसेम्बरमा डिजेआई नामको विश्वमै ड्रोन प्रविधिमा नेतृत्व गर्ने कम्पनीले प्mल्यागसिप flagship ड्रोन ‘टि १००’ सार्वजनिक गर्यो । यसलाई पहाडमा उड्ने मेसिन पनि भनिन्छ । पहाडमा फलफूल टिप्ने, बिऊ छर्ने, मलजल गर्ने, बिरुवा जोगाउने काममा ड्रोनको प्रयोग बढ्दो छ । अम्लीय फलफूल व्यवसायमा बिरुवा जोगाउनेदेखि फल टिप्ने कामसम्म सबै यही ड्रोनले गरेको अनुभव चक्वी प्रान्तको हो । बजारीकरणको लागि पनि ड्रोन राम्रो विकल्प बन्यो । सन् २०१२ यता कृषिमा ड्रोनको प्रयोग सँगै कृषि उद्योगले छलाङ मारेको सत्य हो । डिजेआई ड्रोनको ओपरेसन २ लाख यूनिट पुगिसक्यो भने यसले ५ लाख नयाँ रोजगारी सिर्जना गरेको तथ्याङ्क छ ।
चीनमा कृषिको चुनौती भनेको ठूलो जनसङ्ख्या र सीमित जमिन, खाद्यान्नमा माग र पूर्तिको लगभग बराबरी मात्र हुनु हो । चीनमा खाद्यान्न सङ्कटको चुनौती नकार्न सकिन्न । यो चिन्तन माओ सिपिङको हो । उनी चीनको कृषि अर्थतन्त्र र विकास इन्स्टिच्यूटका खोजकर्ता हुन् । चीनमा कृषिलाई अन्य उद्योगसँग तुलना गर्ने हो भने उत्पादकत्व तुलनात्मकरूपले न्यून छ । अन्तर्राष्ट्रिय बजारमा चिनियाँ कृषि उत्पादन या खाद्यान्न प्रतिस्पर्धी नबनिसकेको समीक्षा कृषि क्षेत्रका चिनियाँ प्राज्ञहरूको हो । कृषि क्षेत्रमा अन्वेषण, खोज पर्याप्त नभएको र अझै थुप्रै चुनौतीको सामना गर्नुपर्नेमा चीन सचेत छ । त्यसका लागि छुट्टाछुट्टै प्रान्तमा नयाँ नयाँ प्रयोग र अभ्यास जारी छ ।
कृषि क्षेत्रमा सम्भावित चुनौती सामनाका लागि चीनको समाज विज्ञान एकेडेमीका एक विज्ञले सुझाएका छन् –“तत्कालका लागि पहिले कृषि विज्ञान तथा प्रविधिको संयोजन र अन्वेषण जरुरी छ । त्यसपछि वैज्ञानिक प्राप्तिहरूको प्रगोग जरुरी छ । दोस्रो, किसान र ग्रामीण मानिसहरूलाई कृषि पाठ्यक्रमसहितको शिक्षा, तालिम र प्रविधिको ज्ञान आवश्यक छ जसले कृषि उत्पादकत्वमा प्रत्यक्ष सम्बन्ध राख्दछ । तेस्रो, दिगो उत्पादनका लागि मेसिनरी र प्राविधिक सामग्रीको बुद्धिमत्तापूर्ण प्रयोगसहितको कृषि प्रणालीको विकास जरुरी छ । चौथो, किसान र कृषि क्षेत्रको विकासका लागि नीतिगत पहल एवम् राज्यको पुग्दो लगानी अनिवार्य छ ।”
कृषि कर्ममा सहर र गाउँबिचको योगले देशको ‘म्याक्रोइकोनोमी’ अर्थात् बृहत्तर अर्थतन्त्रमा प्रभाव पर्दछ । सहरको जनसङ्ख्या, उद्योग, पुँजी र प्रविधिले गाउँको विकासमा सहयोग गर्ने अनि गाउँको कृषि उत्पादन, पर्यावरणीय परिधि, सांस्कृतिक सम्पदा सहरको लागि बलियो सहयोग सिद्ध हुने विश्वास लिइएको छ । सहर र गाउँबिचको सहकार्य या एकताले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने र कृषि पर्यटन उकासिने पक्का छ । चीनमा ग्रामीण क्षेत्र ५० करोड चिनियाँ जनताको घर हो । ५० करोड जानता जहाँ छन् त्यहाँ सहरको विकास पु¥याउने र उत्पादन बढाउने, त्यतिमात्र होइन हिमाल र पर्वतहरूको सुन्दरता पनि जोगाउने उद्देश्य चीनको हो । चीनमा ग्रामीण भेग हरेक सहरको सुसाउने चौतारी हो, आनन्द लिने ठाउँ हो, दृश्यावलोकनका लागि बिदामा जाने ठाउँ हो । चीनमा हरित पुनरावृत्ति आयोजना क्रियाशील छ । सहरको सहयोगमा गाउँहरूले अनलाइन बजारको राम्रो बन्दोबस्त गरिरहेको छ । सहरका विद्यार्थीहरूले मोबाइलमा खेल्ने कृषि गेमहरूले तिनमा कृषि पेशा र अध्ययनप्रति आकर्षण बढेको अध्ययन पनि छ । माटो, बिउ, हेरचाह, सिँचाइ, मलजलको राम्रो ज्ञानले नै किसानलाई स्मार्ट बनाउने हो भन्ने शिक्षा चिनियाँ परिवेशबाट लिन सकिन्छ । कृषिमा राज्यको प्राथमिकता, लगानी, बन्दोबस्त र विज्ञान प्रविधिको प्रयोग, किसानलाई सुरक्षित कृषि कर्मको वातावरण प्रदान गर्नु चीनको विशेषता हो । चीनले सम्भावित खाद्यसङ्कट विरुद्ध विश्वकै निम्ति लड्दै छ । नयाँ किसिमको कृषि क्रान्ति गर्दैछ । नेपालजस्तो कृषिप्रधान देशले पनि चीनको योजनावद्ध कृषि विकासबाट सिक्न सके श्रेयस्कर हुन्थ्यो । यो अङ्कमा यस अलावा चीनको समसामयिक अन्य आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय आदानप्रदान र पर्यावरणीय सुरक्षाको सवालमा केही छलफल छापिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *