भर्खरै :

स्ववियु निर्वाचनमा पनि अपवित्र गठबन्धन

स्ववियु निर्वाचनमा पनि अपवित्र गठबन्धन

चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त करिब साढे तीन सय र ६२ आङ्गिक क्याम्पसमा एकैदिन एकै समयमा निर्वाचन गर्ने तयारी गरेको थियो । तर, ३८ वटा आङ्गिक क्याम्पस र तीन सय सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्ववियुको निर्वाचन भयो । कति क्याम्पसमा विद्यार्थी सङ्गठनबिच भएको विवादको कारण स्थगित भयो । १९ वटा आङ्गिक क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित भएको हो । कति क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भयो । चैत ६ गते प्रकाशित गोरखापत्रमा ‘दुईतिहाइ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न’ शीर्षकको समाचार छापियो । सोही दिनको नयाँ पत्रिकामा ‘ठुला क्याम्पसमा भएन निर्वाचन’ र कान्तिपुरमा ‘स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान’ शीर्षकको समाचार छापियो । नेपाल समाचारपत्रमा ‘उपत्यकाकै क्याम्पसमा झडप र तालाबन्दी’ शीर्षकको समाचार छापियो ।
विवादका कारण निर्वाचन हुन नसकेका क्याम्पसमा उच्चस्तरीय राजनीतिक सहमतिका आधारमा निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । स्ववियुको निर्वाचन सुरु भएलगत्तै ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारामण क्याम्पसको स्ववियु चुनाव स्थगित भएको थियो । पाटन संयुक्त क्याम्पसमा फर्जी मत खसालेको आरोपमा नेविसङ्घ र अनेरास्ववियुबिच झडप हुँदा विद्यार्थीहरू घाइते भएका थिए । पृथ्वीनारायण क्याम्पसमा तीन विद्यार्थी सङ्गठनबिचको झडप, आन्तरिक विवाद र फर्जी विद्यार्थी भर्नाको कारण निर्वाचन स्थगित भएको थियो । उपत्यकामा सत्ताधारी नेविसङ्घ अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले ताला लगाएका कारण निर्वाचन रोकिएको हो । पोखराको पृथ्वीनारामण क्याम्पसमा मतपत्रमा उम्मेदवारको नामावली छुटेको कारण मतदान हुन सकेन । पाटन संयुक्त क्याम्पसमा मतदानको नाम र फोटो आपसमा मेल नखाएपछि विवाद भएको थियो । तर, अधिकांश कलेजमा चुनाव शान्तिपूर्ण भएको थियो ।
स्ववियुको यो निर्वाचनमा पनि स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा झैँ अपवित्र गठबन्धन भएको थियो । कति क्याम्पसमा अपवित्र गठबन्धनको क्रममा भागबन्डा नमिलेर निर्वाचन नै भएन भने कति क्याम्पसमा फर्जी मत र अन्य सामान्य त्रुटिको कारण राय नमिलेर या सहमति नभएर निर्वाचन रोकियो । ठुला राजनीतिक दलमा झैँ सिद्धान्त र विचार नमिले पनि जित्नको लागि स्ववियुमा पनि विद्यार्थी सङ्गठनबिच गठबन्धन भयो । जित्नको निम्ति बल प्रयोग गरियो; लोभलालच देखाइयो; खानपिनको व्यवस्था त बयान गरेर साध्य छैन । सारमा, स्ववियुको निर्वाचनमा पनि सिद्धान्त र विचारको राजनीति भएन । भागबन्डा मिलेन या सीटको बाँडफाँड मिलेन भनेर निर्वाचन स्थगित गर्नु के उचित हो ?
स्ववियुका विद्यार्थी सङ्गठनका नेताहरू क्याम्पस–क्याम्पसमा जितेको भनी धाक लगाउँछन् । तर, स्ववियुले विद्यार्थी र कलेजको हितमा काम नगरी आ–आफ्नो विद्यार्थीहरूको स्वार्थपूर्ति गर्न लागेको हुन्छ । उनीहरू स्ववियुको जिम्मेवारी भुल्छन् । मौकामा हीरा फोर्नुपर्छ भनी पदको दुरूपयोग गरी स्ववियुलाई आयआर्जन गर्ने माध्यम ठान्छ । यस्ता आपराधिक या अनियमित काम सत्तारूढ दलका ठुला विद्यार्थी सङ्गठनले नै गरेका हुन्छन् । उनीहरूमा इमानदारिता र सेवा भन्ने कुरा नै भएन । इमानपूर्वक राजनीति गर्ने, स्ववियुमार्फत विद्यार्थी हक हितको निम्ति लड्ने भन्ने कुरै हुँदैन । बलको राजनीति गरेर, धाक धम्की दिएर, आश्वासन बाँडेर मत लिने काम स्ववियु निर्वाचनमा पनि रोकिएन । बल, पैसा र लोभलालचको आधारमा राजनीति हुन थाल्यो । यस्तो राजनीति ठुला दलमाझ मात्र होइन विद्यार्थी सङ्गठनमा पनि देखियो ।
स्ववियु निर्वाचन निर्धारित समयमा हुन सकेन । घोषणा भएको निर्वाचन पनि स्थगित भयो । कलेजमा विद्यार्थीबिचको झडप र फर्जी मत कसको कारण भयो ? ठुला विद्यार्थी सङ्गठनहरुले स्ववियुलाई स्वच्छ राजनीति गर्ने, विद्यार्थी हक हितको निम्ति लड्ने भन्ने कुरा भुले । स्ववियु उच्छृङ्खल राजनीति गर्न, अराजक गतिविधि गर्न, फर्जी भर्ना गर्न बनेको होइन । स्ववियु तोडफोड गर्ने, हाहु गर्ने र कुटपिट गर्ने संस्था होइन । यो स्ववियुको माध्यमबाट शैक्षिक स्तर उत्थान गर्न, रचनात्मक गतिविधि गर्न† विद्यार्थीका लागि आवश्यक पुस्तकालय, शैक्षिक सामग्रीको बन्दोबस्त गराउन, नियमित कक्षा र परीक्षा सञ्चालन गर्न आदि व्यवस्थाको निम्ति लड्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *