भर्खरै :

सन्दर्भ : दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस – दास प्रथा र भ्रष्टाचारको पक्षमा उभिँदा

सन्दर्भ : दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस – दास प्रथा र भ्रष्टाचारको पक्षमा उभिँदा

दोस्रो उम्मेदवारी गुमाएका अमेरिकी राष्ट्रपतिहरू
जोन टाइलर–१८४४
ह्विग पार्टीका नेता विलियम हेनरी ह्यारिसनको गम्भीर बिमारीबाट मृत्यु भएपछि जोन टाइलर अमेरिकाको राष्ट्रपति बनेका थिए ।
यो कुनै राष्ट्रपतिको मृत्युपछि उपराष्ट्रपतिले पद सम्हालेको पहिलो घटना थियो । टाइलरकै कार्यकालमा टेक्सास अमेरिकामा गाभिएको थियो ।


टेक्सास दास प्रथा चलाउन दिने सर्तमा अमेरिकामा गाभिएको थियो । टाइलरले दास प्रथालाई समर्थन गरेका कारण पार्टीमा विद्रोह सुरु भयो ।
ह्विग पार्टीले टाइलरलाई उम्मेदवार बनाउन अस्वीकार ग¥यो र उनको स्थानमा हेनरी क्ले उम्मेदवार भए । तर, क्ले चुनावमा पराजित भए ।

मिलार्ड फिल्मोर–१८५२
मिलार्ड फिलमोर ह्विक पार्टीका नेता थिए र सन् १८५० मा ज्याकरी टेलरको मृत्युपछि उनी अमेरिकाको राष्ट्रपति बनेका थिए ।
उनको कार्यकालमा ‘फ्युजिटिभ स्लेभ एक्ट’ लागु भएको थियो । यसमा दासतासँग जोडिएका केही कानुन बनाइएको थियो । जसमा मालिकबाट स्वतन्त्र भइसकेका या भागिसकेका दासहरूलाई समातेर मुद्दा चलाउने अधिकार दिइएको थियो ।


यो कानुन असाध्यै विवादित र आलोचित भयो । जुन १९५२ मा ह्विग पार्टीको सम्मेलनमा फिलमोरलाई छाडेर विनफिल्ड स्कटलाई उम्मेदवार बनाइयो । तर, स्कट पनि डेमोक्रेट पार्टीका फ्र्याङ्कलिन पियर्ससँग पराजित भए ।

फ्रयाङ्कलिन पियर्स–१८५६
फ्र्याङ्कलिन पियर्स जब अमेरिकाका राष्ट्रपति थिए, तब त्यहाँ रेलवेको विस्तार भइरहेको थियो ।
उत्तरी राज्यमा नयाँ लिक बिछ्याउने र स्टेसन बनाउने व्यापारीले ठूलो सङ्ख्यामा दासहरू मागिरहेका थिए । यस क्रममा सन् १८५४ मा इलिनोइसमा केनसस–नेब्रास्का प्याक्ट पेस गरिएको थियो । जसले दासताको समर्थन गथ्र्यो ।


राष्ट्रपति पियर्सले यो कानुनको समर्थन गरे । यसका कारण अमेरिकामा गृहयुद्धको अवस्था सिर्जना भयो । डेमोक्रेटिक पार्टीका समर्थकहरू आफ्नै राष्ट्रपतिविरुद्ध उभिए । पार्टीले पियर्सको उम्मेदवारी रद्द गरिदियो र उनको स्थानमा जेम्स बुकाननलाई आफ्नो उम्मेदवार बनायो । बुकानन राष्ट्रपति बने ।

एन्ड्रयु जोन्सन–१८६८
सन् १८६५ मा अब्राह्म लिङ्कनको हत्यापछि एन्ड्रयु जोन्सन अमेरिकाको राष्ट्रपति भए । जोन्सनलाई आज पनि केही कारणले स्मरण गरिन्छ । उनी अमेरिकाका सबैभन्दा गरिब राष्ट्रपति थिए र उनी कहिल्यै स्कुलसमेत गएका थिएनन् ।
उनले सन् १८६७ मा ७२ लाख डलरमा रुससँग अलास्का राज्य किन्ने निर्णय लिएका थिए । उनी यस्तो पहिलो राष्ट्रपति थिए, जो महाअभियोगमा दोषी ठहर भएका थिए ।


लिङ्कनको हत्यापछि केही रिपब्लिकन नेताहरू दासप्रथा जारी राख्ने मानिसलाई सजाय दिने र दासहरूको अधिकारको रक्षा गर्ने कानुन बनाउन माग गरिरहेका थिए । जोन्सन यसमा बाधक बनिरहेका थिए । उनले पटकपटक भिटो लगाएर कानुन बन्न रोकेका थिए । यसपछि पहिलोपटक जोन्सनविरुद्ध महाअभियोग लगाइएको थियो । संसदले राष्ट्रपतिलाई दोषी ठहर ग¥यो । यसबाट उनको छविमा धेरै नोक्सान भयो । जोन्सनलाई अर्को निर्वाचनमा उम्मेदवार बनाइएन र उनी दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न पाएनन् ।

चेस्टर आर्थर–१८८४
जेम्स गार्फिल्डको हत्यापछि सन् १८८१ मा उपराष्ट्रपति आर्थर राष्ट्रपति बनेका थिए । उनी यस्ता व्यक्ति थिए, जसले राष्ट्रपति हुनुअघि कुनै सार्वजनिक पदमा काम गरेको अनुभव थिएन । उनले रिपब्लिकन पार्टीका नेता रोस्को कोन्कलिङ्गको निकट भएका कारण उपराष्ट्रपतिको टिकट पाएको बताइन्छ । रोस्को पार्टी नेता रहुन्जेल उनले आँखा चिम्लिएर समर्थन गरे ।


गार्फिल्डको हत्यापछि आर्थर र कोन्कलिङ्गले मिलेर हत्या गराएको आरोपसमेत लाग्यो । तर, राष्ट्रपति बनेपछि उनको व्यवहारमा जबर्जस्त परिवर्तन आयो । उनी एक पपेट राष्ट्रपतिबाट आफ्नै योजनामा चल्ने राष्ट्रपति बने । आर्थरले भ्रष्टाचार र घुसखोरी रोक्न कडा नीति लिए । उनले प्रमोसनका लागि उमेरभन्दा योग्यतालाई महत्व दिए । चेस्टरले राजनीतिका सबै पुराना प्रणालीलाई ध्वस्त पारिदिएका थिए, जसका कारण उनी भ्रष्टाचारमा लिप्त नेता र अधिकारीहरूको दुस्मन बने । उनले अर्को कार्यकाल राष्ट्रपति बन्न आवश्यक समर्थन पाएनन् । राष्ट्रपति पदमा रहँदै उनी मिर्गौलाको बिरामी भए । जसका बारेमा आममानिसलाई जानकारी थिएन । राष्ट्रपति पद छोडेको दुई वर्षपछि सन् १८८६ मा उनको मृत्यु भयो ।

ह्यारी ट्रुम्यान–१९५२
सन् १९४५ मा राष्ट्रपति फ्रेङ्कलिन रुजवेल्टको मृत्युपछि उपराष्ट्रपति ह्यारी ट्रुम्यान अमेरिकाका राष्ट्रपति बने । त्यसपछि उनले सन् १९४८ को राष्ट्रपति निर्वाचन जिते र सन् १९५२ मा दोस्रोपटक राष्ट्रपति हुने दौडमा थिए । उनले प्राइमरी चुनाव लड्न सुरु गरेको केही दिनमा नै उम्मेदवार नहुने घोषणा गरे ।
लिन्डन जोन्सनको जस्तै उनको पनि ‘अप्रुभल रेटिङ’ नराम्ररी घटेको थियो । जनवरी १९५१ मा ट्रम्यानको अप्रुभल रेटिङ २३ प्रतिशतसम्म झरेको थियो । जतिबेला जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारको दौड छाडे, त्यसबेला उनको ‘अप्रुभल रेटिङ’ ३८.५ प्रतिशत थियो । यसबाट ट्रुम्यान जनताको नजरमा कति कमजोर बनेका थिए भन्ने प्रस्ट हुन्छ ।


दोस्रो विश्वयुद्धपछि अमेरिकाले उत्तर कोरियामा गरेको युद्धले उनलाई यो हदसम्म अलोकप्रिय बनाएको थियो । यो युद्धमा ३६ हजार अमेरिकी सेना मारिएका थिए । ट्रुम्यानको शासनकालमा भ्रष्टाचारका केही घटनासमेत बाहिर आएका थिए । डेमोक्रेटिक पार्टी लगातार २० वर्षदेखि सत्तामा थियो । उनले छाडेपछि इलिनोइसका गभर्नर एडले स्टिभेन्सनले ट्रुम्यानको स्थानमा चुनाव लडे । तर, उनी रिपब्लिकन उम्मेदवार ड्वाइट आइजनआवरसँग पराजित भए ।

लिन्डन जोन्सन–१९६८
राष्ट्रपतिका लागि जो बाइडेनले दाबेदारी छाड्नुभन्दा पाँच दशकअघि लिन्डन जोन्सन यस्ता पहिलो राष्ट्रपति थिए, जसले आफैँ चुनाव नलड्ने घोषणा गरेका थिए । लिन्डन सन् १९६० को चुनावमा जोन एफ केनेडीको उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
सन् १९६३ मा केनेडीको हत्यापछि उनी राष्ट्रपति बने । एक वर्षपछि १९६४ मा जोन्सनले राष्ट्रपति निर्वाचन जिते । सन् १९६८ मा उनी पार्टीबाट उम्मेदवारी हासिल गर्नेमा सबैभन्दा अघि थिए । तर, बिस्तारै उनको समर्थन कमजोर हुन थाल्यो । यसको कारण भियतनाम युद्ध थियो । अमेरिकाले भियतनाम युद्धमा नराम्रो हारको सामना गर्नुपरेको थियो । त्यही कारण उनको ‘अप्रुभल रेटिङ’ घट्दै गएको थियो ।
त्यसैका कारण उनले चुनाव नजित्ने अनुमान गरे र चुनाव हुनुभन्दा ७ महिनाअघि नै राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि उपराष्ट्रपति ह्युबर्ग हम्फ्रीलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाइएको थियो । तर, हम्फ्री रिपब्लिकन उम्मेदवार रिचर्ड निक्सनसँग पराजित हुन पुगे ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले ५ नोभेम्बरमा हुने राष्ट्रपति चुनावको उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएका छन् । आगामी निर्वाचनमा निकै कमजोर उम्मेदवार मानिएपछि बाइडेनले आफ्नो नाम फिर्ता लिएर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
गत जूनमा राष्ट्रपति उम्मेदवारको पहिलो डिबेटमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको कमजोर प्रतिवादपछि डेमोक्रेटिक पार्टीभित्रै उम्मेदवार नबन्न बाइडेनमाथि दबाब बढेको थियो । उम्मेदवार हुनका लागि डेमोक्रेटिक पार्टीका ९५ प्रतिशत डेलिगेट्सको समर्थनका बाबजुद उनले उम्मेदवारी छाड्नुपरेको हो । यद्यपि दुई कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था भएको अमेरिकामा दोस्रो चुनावमा उम्मेदवारी छाड्ने बाइडेन पहिलो व्यक्ति भने होइनन् । उनीभन्दा अगाडि अमेरिकामा सात राष्ट्रपतिले दोस्रो कार्यकालका लागि चुनाव लड्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *