भर्खरै :

पिशाच चतुर्दशी (पाहाँ चः¥हे) को सङ्क्षिप्त चर्चा

पिशाच चतुर्दशी (पाहाँ चः¥हे) को सङ्क्षिप्त चर्चा

नेपाल संवत् चौलागा चतुर्दशीका दिन अर्थात् चन्द्रमानअनुसार चैत कृष्णपक्ष चतुर्दशीका दिन पाहाँ चः¥हे मनाइन्छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै पाशा चः¥हे पर्व मनाइन्छ । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, पिशाच चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये पाहाँ चः¥हे अर्थात् पिशाच चतुर्दशी नेवाः समुदायले मात्र मनाउने भएकोले यसलाई नेवाः समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको छ ।
पाशा चः¥हे काठमाडौँ सहर र यसको वरिपरिका क्षेत्रहरूमा मनाइने ऐतिहासिक महत्वको पर्व हो । खासगरी काठमाडौँका नेवारहरूले वर्षभरि मनाउने चाडहरूमध्ये पाहाँ चः¥हे ठुलो हो । यो चाड आ–आफ्नै रीतिथिति चलनअनुसार मनाउने गरिन्छ । चः¥हे अर्थात् चतुर्दशी तिथि प्रत्येक महिनाको औँसीको एक दिन अगाडि पर्दछ । महिनाभरिको सबैभन्दा अँध्यारो रात हुन्छ ।
यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधि भुतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भुत पन्छाउने कार्य) पनि गरिन्छ । यसरी बौ वाय यंकेगु गरेपछि भुतप्रेतले दुःख दिँदैन भन्ने जनश्रुति रहेको छ । यो कार्य विशेषगरी पाहाँ च¥हेको दिन मात्र गरिन्छ । यस रातलाई भुतप्रेत एवं बोक्सीहरूको रात भन्ने गरिन्छ । यस रात यी असुर शक्ति निकै शक्तिशाली हुने गर्दछ । तसर्थ, बौ वाय्गु गर्नाले यस्ता असुर शक्तिले दुःख दिँदैन भन्ने गरिन्छ ।
बौ ‘जाद्यः’ (भातको देवता आकृति) अर्थात् भातको मूर्ति हो । काठमाडौँ उपत्यकामा धान खेती भित्रिएपछि धातु र प्रस्तर मूर्तिकला विकास हुनुअघि नै भातका मूर्ति बनाएर पूजा र जात्रा चलाउने परम्पराको थालनी भएको हो ।
नेपालमा प्राचीनकालदेखि परम्परागतरूपमा चलिआएका चाड पर्वहरू मानिसमा लाग्ने विभिन्न रोग व्याधिसँग पनि गाँसेर हेर्ने गरेको पाइन्छ । त्यसैगरी, पाहाँ चः¥हेलाई पनि रोगसँग गाँसेर हेर्ने गरिन्छ । खासगरी पाहाँ चः¥हे भनेको फागुन–चैततिर मनाइन्छ । यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरु हुने भएकोले यस समयमा मानिसमा खास गरी केटाकेटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर केटाकेटीहरूलाई मलजा खुवाउने गरिन्छ । मलजा खुवाउनाले साना–साना नानीहरूलाई झाडापखालाजस्ता विभिन्नखाले महामारी रोगहरू लाग्दैन भन्ने जनविश्वास छ । त्यस्तै, माघ महिनादेखि सुरु हुने भक्तपुरको नवदुर्गा देवीगणको ङालाकेगु जात्राले हिउँदे याम समाप्त भई गर्मी याम सुरु हुने र यस समयमा मानिसमा झाडापखालाजस्ता विभिन्नखाले महामारी रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर जनचेतनाको सन्देश दिन नवदुर्गा गणले भक्तपुरको प्रत्येक टोल–टोलमा पुगेर नाच देखाउने गर्छन् । (कायस्थ, डा. वीरेन्द्र्रप्रसाद्र, मल्लकालीन संस्कृति र चाडपर्व)
आयुर्वेदशास्त्रअनुसार कतिपय यस्ता रोगहरू हुन्छन् जुन कसरी लाग्यो भन्ने कुनै शारीरिक कारण देखिँदैन तर त्यसले दैनिकरूपमा दुःख दिइरहन्छन् । यस्ता रोगहरूलाई भुतजन्य रोग भनिन्छ । यस्ता रोगहरूको निराकरण धामी झाँक्रीहरूले स्वस्तिशान्ति, झारफूक गरेर सञ्चो तुल्याएका हुन्छन् । भनिन्छ चतुर्दशीका दिन भुतप्रेत जागृत हुन्छन् । त्यसकारणले यस दिन तान्त्रिकहरू मन्त्र विद्याद्वारा त्यस्ता भुतप्रेत हटाउन सक्रिय हुन्छन् । पहिले आजको जस्तो विभिन्न रोगहरूको लागि विभिन्न औषधिहरूको उत्पादन भएको थिएन । कहिलेकाहीँ कसैलाई सानोतिनो रोग लाग्यो भने भुतप्रेत, बोक्सी लाग्यो भनेर धामी, झाँक्री, तान्त्रिककहाँ पुग्दथे र उनीहरूले झारफुक आदि गरेर सञ्चो बनाइदिन्थे । भुतप्रेत पिशाच महादेवका गण हुन् । यिनीहरूको पनि आफ्नै अस्तित्व रहेको विश्वास गरिन्छ । त्यसैले महादेवको पूजा गरिन्छ । (नेवारी चाड पिशाच चतुर्दशी र पाहाँच¥हे)
१) किंवदन्तीअनुसार पार्वती महादेवकी अधाङ्गिनी शक्तिकी देवी अर्थात् भगवती हुनुहुन्छ । उहाँलाई पूजा आराधना गर्दा मद्यपान, माँसले पूजा गरिन्छ तर महादेवले यसरी माँस, मद्यपान गर्नु हुँदैन । यस्तो अप्ठयारो परिस्थितिलाई महसुस गरी महादेव लुकेर पिशाच रूप धारण गरी माँस मद्यपान तथा अन्य खानेकुरा खाएर पार्वतीलाई देखाउनुभएको भनिन्छ ।
२) किंवदन्तीअनुसार शनिग्रहले आजदेखि शनिको साढेसातको दशा सुरु भयो भन्दै महादेवलाई छुन लाग्दा महादेव भागेर फोहोरको थुप्रोमा सात वर्षसम्म लुकेर बसेको पनि भनिन्छ । (नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाहाँच¥हे’ शनिबार, चैत २८, २०७७)
३) अर्को किंवदन्ती रहेको छ, एकपटक भष्मासुरले महादेवको तपस्या गरी आफूले आफ्नो हात जसको टाउकोमा राखिन्छ उसको भष्म होस् भनी बरदान मागेछ । खुसी भएका महादेवले भष्मासुरलाई उक्त बरदान दिएपछि महादेवमाथि नै परीक्षण गर्न महादेवलाई छुन खोजेछ । त्यो देखेर महादेव उक्त स्थानबाट अन्तरध्यान भई कसैले नदेख्ने गरी सःगामा गई लुकेर बसे । यसरी महादेवलाई लखेटेको भष्मासुरलाई मोहनीरूप धारण गरी विष्णुले आफ्नो मोहनी जालमा पारी आफूले जस्तै नाच्न जाने आफू त्यसै व्यक्तिको हुने भनेपछि भष्मासुरले मोहनीरूपले जस्तै नाच्न थाल्यो । नाच्दा नाच्दै आफ्नो हात आफ्नो टाउको माथि राख्न पुग्दछ र आफै भष्म हुन पुग्दछ । यसरी लुकेर बसेको महादेवलाई पूजा गर्ने भएकोले यस पूजालाई लुक्माद्यः पूजा वा लुकुमहाद्यः पूजा भनिन्छ ।
पाहाँ चः¥हे भन्नाले लुकमाःद्य (लुकेको महादेवलाई) पूजा गरी मनाइने पर्व हो । पाहाँ च¥हेका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महादेवको पूजा गर्ने गरिन्छ । उक्त दिन पूजा गर्ने महादेवलाई लुक्माद्यः वा लुकु–महाद्यः भनिन्छ । यो महादेवको पूजा कुनै शिव मन्दिरमा गएर गरिँदैन । बरू यो पूजा ‘सःगा’ मा गै पूजा गर्ने गरिन्छ । सःगा भन्नाले पहिले पहिलेको नेवा बस्तीमा मानिसहरूको घरबाट निस्केको फोहरहरू जम्मा गर्ने ठाउँ हो । यसरी घरबाट निस्केको फोहर जम्मा गरी मल बनाउने गरिन्छ । उक्त मल आफ्नो खेतमा धानबाली, गहुँबालीमा राख्ने गरिन्छ । मललाई नेपालभाषामा ‘सः’ भनिन्छ भने जम्मा गर्ने खाल्डोलाई ‘गा’ भनिन्छ । यसै सःगामा यस दिन महादेवको पूजा गर्ने गर्दछ । सःगामा किन महादेवलाई पूजा गरिन्छ । महादेवको पूजामा मांस, सम्येबजी, मदिराको प्रयोग गरिँदैन । तर, यस दिनको पूजामा भने मांस, सम्येबजी, मदिराको प्रयोग गर्ने गरिन्छ ।
लुकमाःद्य :– लुकुँवि अर्थात् सूर्यास्तपछि गरिने पूजा भएकोले लुकुमहाद्यो भनिएको भनिन्छ । लुकमाःद्य भनेको क्षेत्रपाल पनि हो । आ–आफ्नो घरको मूलढोका अगाडि स्थापना गरी राखेको देवता नै क्षेत्रपाल हो । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । वर्षको एकपटक काठमाडौँवासीले आ–आफ्नो घर अगाडि चोक र टोलटोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझमा पूजा गरी मनाइने गरिन्छ ।
यसरी लुकेको महादेवलाई वर्षको एकपटक भए पनि रछ्यानबाट निकाली तोरी र मुलाको फूल तथा नेवारी परम्पराअनुसार मासुसहितको सम्येबजी राखेर पूजा गर्ने गरिन्छ । लुकेर बसेको महादेवले मासुसहितको सम्येबजी खाएको अरु कसैले नदेखोस् भनेर यसरी तोरी र मुलाको फूलले छोप्ने परम्परा रहेको पनि भनिन्छ । महादेवलाई पूजा गर्दा चढाइएको विभिन्न मिष्ठान्न भोजन आफ्ना पाहुनाहरूलाई पनि खुवाउने चलन रहेको छ । त्यसकारण, यसलाई पाहाँ च¥हे भनिएको भनिन्छ । यो पूजा साँझपख गरिन्छ । यस दिन काठमाडौँका केही टोल–टोलमा रहेका देवीदेवता खटमा राखी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराई देवीदेवताहरूको जात्रा पनि गरिन्छ ।
पिशाच चतुर्दशीको भोलिपल्ट चन्द्रमानअनुसार चैत कृष्ण औँसीका दिने घोडाजात्रा पर्व मनाउने चलन छ । औँसी तिथिमा मनाइने यो पर्व भएकोले यसले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ । किनकि, घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभाव हो । यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् ।
१) किंवदन्तीअनुसार टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुति छ ।
२) जनश्रुतिअनुसार टुँडी नामक दैत्यमाथिको विजयको रूपमा घोडेजात्रा मानिएको हो । यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको हुन्छ । सो समारोहमा घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरिन्छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने गर्दछ ।
३) किंवदन्तीअनुसार नेवाःहरूको ‘सिमसिम राजा’ भनेको शिवसिंह देव हो । सिमसिम राजाको एउटा घोडाको सुसारे यही ओल्खुटोलमा बस्ने ज्यापू थियो । एक दिन राजा सधैँजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापू थाकेर आराम लिइरहेको रहेछ । तर, राजाले त्यो सुतिरहेको ज्यापूसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए । यता ज्यापू झसङ्ग भई निद्राबाट ब्युझँदा राजा आएर पनि फर्किसकेको थाहा पायो । डरले ज्यापू घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवान्को अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए । त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहि¥याई नगर परिक्रमा गराए । यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औँसीको दिन यो जात्रा मनाउने चलन रहेको हो ।
पाहाँ चः¥हेको अवसरमा घोडेजात्राको भोलिपल्ट काठमाडौँका असनमा विभिन्न देवीदेवताहरूको जात्रा हुन्छ । यो जात्रालाई नेपालभाषामा असन य द्येःल्वाकेगु भनिन्छ । यस दिन काठमाडौँका विभिन्न क्षेत्रहरूबाट अजिमालाई खटमा राखी असनमा ल्याई पूजा गरी जात्रा गरिन्छ । त्यसै दिन पशुपति गौशालामा वसलामाजु र अरू विभिन्न अजिमा देवीहरूको जात्रा पनि गरिन्छ । अजिमालाई तान्त्रिक देवी भनिन्छ । यसकारणले अजिमाहरूको पूजा पनि तान्त्रिक विधिबाट नै गर्ने गरिन्छ । तान्त्रिक विधिबाट पूजा गर्नुको अर्थ जीवनमा शक्ति प्राप्त होस् भन्ने हो । यही शक्तिबाट नै भुतप्रेत पिशाच आदिले छुन सक्दैन भन्ने विश्वास छ ।
पाटनको घोडेजात्रा पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो । यो एकल घोडेजात्राभन्दा पहिला पाहाँच¥हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिइन्छ । यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तुति दाफा भजनमा गाइन्छ । यसै दिन पाँच पाण्डवलाई पूजा गरी सम्येबजी खुवाइन्छ । पिशाच चतुर्दशीको भोलिपल्ट चन्द्रमान अनुसार चैत्र कृष्ण औँसीका दिने घोडाजात्रा पर्व मनाउन नेपाली सेनाले एउटा घोडा ल्याई पु¥याउने गरेका छन् । गुठीका थकालीले घोडालाई आवश्यक विधिपूर्वक पूजा गरी गुठियारमध्ये कुनै व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहि¥याई पूजा गरिन्छ । त्यस स्थानदेखि यो एकल घोडेजात्रा सुरु हुन्छ । यो गुठी संस्थानले नै बन्दोबस्त गर्ने गर्छ । यो जात्रा विधिवत्रूपमा पाटनको मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै फर्किन्छ । जात्राको पछि–पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छत्र ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गर्दछन् । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ । नगर परिक्रमापछि घोडा चढ्ने व्यक्तिलाई बालकुमारी मन्दिरको दायाँ राखी पान, सुपारी दिएर विद्यावारी गरी जात्रा समापन गरिन्छ । त्यसपछि सम्पूर्ण गुठियार त्यहाँदेखि पाहाँच¥हेमा गाइने धातु लयमा गीत गाएर भीमसेन मन्दिरमा फर्किने चलन छ । त्यसको भोलिपल्ट ५१ गुठियार बसी भोज खाइन्छ । त्यस भोजमा गुठियारबाहेक घरको परिवारलाई समेत राखिँदैन । पाहाँच¥हेको दिनमा भीमसेन मन्दिरमा बलि दिएको राँगोको अगाडिको भाग भीमसेनको भाग भनी त्यस दिन खाइन्छ । जात्राको भोलिपल्ट सम्पूर्ण गुठियारले सीउ लिएर भोज खाइन्छ । भोजमा नुन, तेलबाहेक अरू कुनै पनि मरमसला राख्न मनाही छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *