भर्खरै :

टिबुक्छेँमा दही विनायक द्योछेँको शिलान्यास

टिबुक्छेँमा दही विनायक द्योछेँको शिलान्यास

भक्तपुर, ३२ असार । धेरै वर्षदेखि अलपत्र अवस्थामा रहिरहेको सुकुलढोका टिबुक्छेँस्थित दहीविनायक द्योछेँको पुनर्निर्माणको लागि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बुधबार शिलान्यास (जग साइत) गर्नुभयो ।
विगत दुई वर्षदेखि स्थानीय टोलवासी र वडा कार्यालयको पहलमा अध्ययन, अनुसन्धान र कागजातहरू खोजीनीति गर्दै आएको हो । सो द्योछेँको संरक्षकको रूपमा टिबुक्छेँका स्थानीयहरू इन्द्रप्रसाद जोन्छे, रामगोपाल प्रधानाङ्ग, विष्णुहरि प्रधानाङ्ग र रत्नबहादुर धौबन्जार रहिआएको स्थानीय अगुवा नवराज धौबन्जारले बताउनुभयो ।
पटक–पटक टोलवासी र वडाको पहलमा सो स्थानमा सरसफाइ गरिसकेपश्चात् भक्तपुर नगरपािलकाको सम्पदा शाखाबाट उत्खनन कार्य गरी पुरानो जगसमेत भेटाएको सम्पदा शाखाका सरिता धुख्वाले बताउनुभयो ।
स्थानीयवासीको सहभागितामा बनेको उपभोक्ता समितिका अध्यक्ष रनेशराज राजोपाध्यायले अब पुनः निर्माण कार्य अगाडि बढ्ने र यसका लागि नगरपालिकाले रु. ६० लाख बजेटको व्यवस्था गरेको बताउनुभयो । परापूर्वकालदेखि टिबुक्छेँमा ङालाकेगु जात्रामा नवदुर्गा गणका ख्वपाहरू राखिने र गणका सदस्यहरू आरामसमेत गर्नुपर्ने दलानहरू घरमालिकहरूले बन्द गर्न थालेपछि जात्रामा नाचगणहरूसमेत अप्ठेरोमा पर्दै आएका थिए । सो द्योछेँ निर्माणपछि ङालाकेगु जात्रा सञ्चालनमा सहज हुने तथा सो सार्वजनिक स्थल सुरक्षित हुने पूर्ववडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *