भर्खरै :

सिजः फल्चा (पाटी) को शिलान्यास

सिजः फल्चा (पाटी) को शिलान्यास

भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० सुकुनाफाँटस्थित सिजः फल्चा (पाटी) को बिहीबार शिलान्यास गर्नुभयो ।
फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको पहिचान जोगाउन यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, सत्तल, पाटी आदिको प्राचीन नामको संरक्षण हुनु जरुरी रहेको बताउनुभयो ।
नगरका हरेक पाटीसँगै पानीको स्रोत रहने गरेको उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणको महत्वपूर्ण पक्षको रूपमा नगरपालिकाले नगरभरिका फल्चा पुनःनिर्माणलाई अगाडि बढाउँदै आएको हो भन्नुभयो ।
प्रमुख प्रजापतिले सम्पदा संरक्षणलाई भक्तपुर नपाले सामाजिक सम्पत्तिको रूपमा ग्रहण गर्दै महत्वका साथ जीर्णोद्धार र पुनःनिर्माण गर्दै आएको बताउँदै सम्पदा संरक्षणकै कारण भक्तपुर आज संसारकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास भएको बताउनुभयो ।
हाम्रो ठाउँको विकास हामी आफैले गर्ने हो, अरूले विकास गरिदिन्छ भन्ने परनिर्भर सोचबाट हामी मुक्त हुनुपर्ने बताउँदै उहाँले फल्चा पुनःनिर्माण गुणस्तरीय ढङ्गले निर्धारित समयमै सम्पन्न गर्र्नेतर्फ जोड दिन आग्रह गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले वडा नं. १० मा ५४ वटा पाटी रहेको बताउँदै सिज फल्चा पाटी पुनःनिर्माणसँगै छालिङवासी र यहाँका किसानहरू बढी लाभान्वित हुने बताउनुभयो । उहाँले वडामा अवस्थित पोखरीलाई पुनः जीवन दिने काम वडाले गर्दै आइरहेको बताउँदै फल्चा पुनःनिर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले भक्तपुर नपाले प्राथमिकताका साथ भक्तपुरका सबै सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य गर्नु प्रशंसनीय भएको बताउनुभयो ।
समाजसेवी न्हुछेभक्त फोँजुले नगरपालिकाको गतिविधिहरूको आय र व्यय पारदर्शी बनाउन अनुरोध गर्दै सुकुनाफाँटमा नयाँ बस्ती वृद्धि हुने क्रममा रहेको हँुदा यहाँको ऐतिहासिक र पुराना ठाउँहरूको नाम नामङ्करण गर्नुपर्ने बताउनुभयो ।
सम्पदा शाखा प्रमुख ई. रामगोविन्द श्रेष्ठले फल्चाको ऐतिहासिक पक्षमाथि प्रस्ट पार्दै फल्चा पुनःनिर्माणमा स्थानीय जनताबाट आर्थिक सहयोग र जनश्रमदानको अपेक्षा रहेको बताउनुभयो । फल्चा पुनःनिर्माणपश्चात् यहाँका स्थानीयले यसको संरक्षण संवद्र्धनमा विशेष जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानकुमार मगजु, भनपा वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी र कृष्णनारायण दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *