चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, १६ चैत । निओ फ्युजन बाजा समूह र नवदुर्गा धिमे खलको संयुक्त आयोजनामा नववर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदानप्रदान एवम् विविध प्रशंसापत्र, सम्मान तथा कदरपत्र वितरण कार्यकम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेवारी बाजा र संस्कृतिको संरक्षण गर्दै त्यसलाई बिस्तारै व्यवसायीकरण गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हाम्रा परम्परागत बाजाहरू नयाँ पुस्तालाई प्रशिक्षण दिँदै त्यसको बोललाई लिपिबद्ध गर्न सके त्यसले जीवन्तता पाउने उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “युवा र विद्यार्थीहरू विदेशिने क्रमसँगै देशमा आवश्यक जनशक्तिको अभाव हुन थालेको छ । युवाहरूलाई सरकारले नै घर–खेत बैङ्कमा राख्न लगाएर विदेश धपाएको हो । देश युवाविहीन हुनुमा सरकार नै दोषी छ ।”
“पँुजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र हो । जनताले समाप्त पारिसकेको राजतन्त्र फर्केर आउने हल्लामात्रै हो, त्यो अहिले सम्भव छैन । राजतन्त्रभन्दा गणतन्त्र समाज विकासको दृष्टिले एक पाइला अगाडि हो । गणतन्त्रमा जनताका छोराछोरी पनि राष्ट्रपति बन्न पाइन्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नयाँ पुस्ताले भाषा र संस्कृति बिस्तारै छोड्दै गएको चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संस्कृति र बाजागाजालाई संरक्षण गर्न देशका विभिन्न जिल्लामा बाजाको प्रशिक्षण दिनु जरूरी भइसकेको छ । शिक्षा र संस्कृतिलाई सँगसँगै लानु आवश्यक छ ।”
निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले बाजागाजामा युवाहरूलाई लक्षित गर्दै निःशुल्क प्रशिक्षण दिँदै आएको र यसलाई अझ व्यवस्थित गर्दै लैजाने योजना रहेको बताउनुभयो ।
निओ फ्युजन बाजा समूहका सल्लाहकार लक्ष्मीप्रसाद बनमालाले झौखेल, ताथली, इथुली, वागीश्वरी तथा पोखरालगायतका ठाउँमा प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
सविन लेबाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नवदुर्गा धिमे खलःका संस्थापक दयाराम बनमाला र नवदुर्गा धिमे खलःका अध्यक्ष तथा प्रशिक्षक बालगोपाल बनमालालाई प्रमुख प्रजापतिले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply