जारशाही संसद्मा बोल्शेभिक सांसद
- कार्तिक १९, २०८२

२०८१ फागुन १० गते सिरहा जिल्लाको औरही गाउँपालिका वडा नं ५ का दीपक मल्लिक (डोम) को घर विष्णु महायज्ञको मण्डप बनाउने वहानामा भत्काइयो । गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिपकुमार यादवको उपस्थितिमा यज्ञका मूलपुरोहित महात्यागी भनिने बजरङ्गी बाबाको निर्देशनअनुसार उनको घरमा डोजर चलाइयो । उनीहरूले दलितले टेकेको भूमि अपवित्र हुन्छ भनेर टेकेको माटोसमेत ताछेर फाल्नुका साथै भूमि शुद्ध गर्न गौमूत्र छर्कने काम गरे । धर्मको नाममा यस्तो आडम्बर कहिलेसम्म ?
ऐलानी जग्गामा रहेको मल्लिकको घर दुई वर्षअघि जनता आवास कार्यक्रममार्फत मधेस प्रदेश सरकारले बनाइदिएको रहेछ । अहिले डोम परिवारले चर्चेको जग्गाको माटो हटाएर छेउमै महाँकाल र हनुमानको मूर्ति बनाइँदै छ । स्वयम् पालिकाले नै मल्लिक परिवारलाई जग्गाको प्रमाण दिने भन्दै झुक्याएर घर भत्काउने लिखित फर्जी मन्जुरीनामामा ल्याप्चे ठोक्न लगाएको पनि खुल्यो । पीडित परिवारलाई ठुला भनाउँदा जातिकाहरूले कहीँँ कतै उजुरी नगर्न धम्काउँदै छन् । पक्की घर भत्काएर एउटा विद्यालयको स्वामित्वमा रहेको जग्गामा बाँसको टाटले बारेको टहरोमा पीडित परिवारलाई स्थानान्तरण गरिएको समाचार छ । जहाँ खानेपानी र बिजुलीको सुविधा छैन ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९४ हजार ५७८ मध्ये दलित समुदायको जनसङ्ख्या ४१ लाख ५५ हजार ९१७ (१३.६ प्रतिशत) रहेको छ । त्यसमध्ये ४० प्रतिशत दलितसँग अझै जमिन छैन । यति ठुलो सङ्ख्याका जनता बेघर हुनु सुखद होइन । दलितहरू अझै हेलाहोचोमा बाँच्न बाध्य छन् ।
आजभन्दा २६ सय वर्ष अगाडि सिद्धार्थ गौतम बुद्धले छुवाछुत तथा अस्पृश्यतामाथि प्रश्न उठाएका थिए । जातीय भेदभाव गर्ने एक ब्राह्मणको घमण्ड चिर्दै उहाँले भन्नुभएको थियो, “एउटा मान्छेको स्पर्शले अर्को मान्छेलाई कसरी दूषित गर्छ ? लालच, तृष्णा, लोभ, मोह, भ्रम हो मानिसलाई दूषित पार्ने । हरेक मान्छेको आँसुमा नुन हुन्छ, हरेक मानिसको रगत रातो हुन्छ । अस्पृश्यताको कुनै मूल्य हुँदैन ।”
ब्राह्मणले बुद्धलाई जाति, वर्णको ज्ञान नभएको ‘पाखण्डी’ भन्ने आरोप लगाउँछ । बुद्धले ‘अछुत’ भनेर तिरस्कार गरिएकाहरूमा पनि प्राण बसेको बताउँदै मान्छेलाई ‘नीच’ भनेर तिरस्कार गरी मानवबाट मानवता लुट्नेहरू ठुलो पाखण्डी रहेको जवाफ दिन्छन् ।
“धर्तीको माटोबाट सारा मानवताको सिर्जना भयो, आकाशले कसैलाई भेदभाव गरेन, हावा सबैको निम्ति समान रूपले बहन्छ, पानीले सबै प्राणीको प्यास मेटाउँछ । जब प्रकृतिले भेदभाव गर्दैन मान्छेले मान्छेलाई भेदभाव किन ?” उहाँको प्रश्न थियो । बुद्धले जातीय भेदभावविरुद्ध क्रान्तिकारी कदम उतिखेरै चाले पनि समाजमा यो विभेद कायम नै छ ।
राजा मनु (जन्म लगभग ई. पु. २००) ले ‘मनस्मृति’ रचना गरेर छुवाछुतसहितको वर्ण व्यवस्थालाई कठोरतापूर्वक लागु गरेका थिए । त्यसको जाँतोमा अछुत भनिएका धेरै निर्दोष मान्छेहरू पिसिए । हिन्दू धर्ममा छुवाछुत एउटा कलङ्कको रूपमा रहन पुग्यो । यसको विरुद्ध विद्रोह गर्दा कति अछुतहरूको ज्यान गयो भने कति अपमानित भएका छन् ।
भारतका महार जातिमा जन्मिएका भीमराव अम्बेडकरले ‘अछुतका निम्ति हिन्दू धर्म साँच्चिकै यातनाशाला रहेको’ रोष प्रकट गरेका थिए । भारतमा महारलगायत केही जातिका मान्छेहरूले आफ्नो कम्मरमा कुचो र घाँटीमा थुकदानी भिरेर हिँड्नुपथ्र्यो । उनीहरूले आफ्नो प्रदूषित पाइला मेट्नुपथ्र्यो भने बिटुलो खकार बाटोमा पर्न दिनु हुन्थेन । भारतका कतिपय ठाउँमा अझैसम्म यो बेथिति कायम छ । यसकारण, अम्बेडकरले आफ्नो जीवनभर जात व्यवस्थालाई आत्मसात् गर्ने हिन्दू धर्मको मूल ग्रन्थमा उद्धृत ‘वर्णाश्रम धर्म’ वा ‘चतुर्वर्ण’ अर्थात् चार वर्णको व्यवस्थाविरुद्ध सङ्घर्ष गरे । तर, पनि जाति व्यवस्थाको अन्त्य भएन । अन्ततः उनी आफ्नो जीवनको अन्तिम समय परिवारसहित हिन्दू धर्म परित्याग गरी बुद्ध धर्ममा प्रवेश गरे ।
दक्षिण एसियामा जाति तथा वर्णको भेदभाव जर्जर अवस्थामा छ । अमेरिका युरोपलगायतका देशमा मान्छेको छालाको रङ्गमा भेदभाव गरिन्छ । अमेरिका र युरोपमा काला छाला भएका मान्छेहरूलाई ‘निग्रो’ भनेर गरिने विभेद दक्षिण एसियाको जातीय विभेदभन्दा कम छैन । काला जातिकालाई अझै पनि युरोपमा मान्छे गनिँदैन । यसरी कुनै न कुनै रूपले विश्वमा मान्छे मान्छेबिच विभेद, दमन र अत्याचार कायमै छ । जबसम्म संसारमा शोषकवर्ग रहन्छ तबसम्म कुनै न कुनै रूपले विभेद र दमन बाँकी रहनेछ ।
१८ मार्च १८७१ को दिन पेरिसका मजदुरवर्गले क्रान्ति गरेर शोषकवर्गलाई सत्ताबाट फालिदिएका थिए । २८ मार्च १८७१ को दिन पेरिसमा नयाँ सरकारको घोषणा भयो । जसको नाम ‘पेरिस कम्युन’ थियो । त्यसबेला फ्रान्समा स्कूल, पाठशालालगायत शिक्षण संस्थाहरू धार्मिक चर्चको अधीनमा थियो । पेरिस कम्युनले ८ अप्रिलको दिन शिक्षण संस्थाहरूलाई चर्चबाट अलग गर्ने ऐन पारित ग¥यो । धर्मलाई राज्यबाट अलग गरेर धार्मिक कामको निम्ति राज्यले दिने गरेको रकमसमेत बन्द ग¥यो । धेरै चर्च र मठहरूलाई जनताको सभा भवनमा परिणत गरिदियो । जनविरोधी पादरीहरूलाई गिरफ्तार गरेर युगौँदेखिको धार्मिक शोषणको सिक्रीलाई चुँडालीदियो ।
रुसमा सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि सोभियत हुकुमले राज्य र स्कूललाई धर्मबाट अलग ग¥यो । क्रान्तिले राजा, रजौटा, सामन्त, गुठी र जमिनदारहरूको स्वामित्वलाई समाप्त पारेको थियो । धर्मको नाममा मनपरी गर्ने पुरोहित तथा मठाधीशहरूको शोषण अन्त्य गरिएको थियो ।
सन् १९४९ को क्रान्तिअघि चीनको तिब्बतमा ३२ लाख जनसङ्ख्यामध्ये २० लाख दासहरू थिए । दलाई लामालाई ‘धर्मराज’ (God King) मानिन्थ्यो । तिब्बतमा सम्भ्रान्त–धनाढ्य तथा धार्मिक परिवार तथा धार्मिक छविका मानिसहरूको नेतृत्व गर्ने दलाई लामाको शासन थियो । धर्मगुरु तथा पुरोहितहरूले तिब्बतमा हजारौँ वर्षदेखि शासन गरेका थिए । क्रान्तिपछि ती दास बनाइएकाहरू मुक्त भए । क्रान्तिपछि तिब्बतको पुरानो समाजमा तल्लोभन्दा पनि तल्लो ‘अछुत’ जातिका मानिएका डावा (म्बधब) ल्हासाको नवनिर्माणमा उच्च स्तरको विद्युत् प्रवाह गर्ने प्राविधिक बने । आज चिनियाँ जनता विनाभेदभाव समानताको बाटोमा हिँड्दै छन् ।
युगौँदेखि जकडिएको जाति, वर्ण र रङ्गभेदको अन्त्य कम्युनिस्ट क्रान्तिबाट मात्रै सम्भव भएको छ । नेपालका शासक दलहरू नेका, एमाले, माओवादीलगायतले दलित भनिएका जनतालाई सरकारमा पुग्ने भ¥याङ मात्र बनाए । यसर्थ, नेपालमा पनि उत्पीडनमा परेका जनता वैज्ञानिक समाजवादको तरवार अझ तिखो बनाएर सङ्घर्षको मोर्चामा कस्सिनुको विकल्प छैन ।
२०८१ चैत १०
Leave a Reply