भर्खरै :

हामी अमेरिकाको जङ्गी अखडा हौँ

हामी अमेरिकाको जङ्गी अखडा हौँ

(प्रशान्त महासागरमा सैन्यकरण बढ्दै छ । यसले गर्दा यस क्षेत्रमा र बाहिर पनि तनाव चुलिँदै छ । हवाइमा अमेरिकी जलसेनाको प्रशान्त जलबेडा छ । धेरै डलर खर्च गरेर संरा अमेरिकाले गरेको सैन्य कब्जा, आफ्नो भूमि तथा आसपासको समुद्रको दुरुपयोगविरुद्ध दसकौँदेखि हवाइका जनताको रैथाने अधिकारका लागि सङ्घर्ष भइरहेको छ ।
सङ्घर्ष गर्ने अभियन्तामध्ये एक हुन् जोय इनोमोतो । उनी ओआहु टापुमा बस्छिन् । उनले तेविला फ्वाताइसँग हवाइमा अमेरिकी सेनाविरुद्ध चलिरहेको सङ्घर्ष र त्यसको विरासतबारे गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।)

पछिल्लो अमेरिकी निर्वाचनमा केही हवाइवासीले ट्रम्पलाई मत दिए ।
ट्रम्पले हाम्रा मूल्यमान्यता र चाहना प्रतिविम्बित गर्छन् भनेर उनलाई त्यो मत दिएजस्तो लाग्दैन मलाई । डेमोक्रेटिक पार्टीको शासनकालमा धेरै हवाइवासीले आफूलाई परित्यक्त र बेवास्ता गरिएको पाए । मूलभूमिबाट धेरै टाढा रहेका हाम्रा टापुलाई केही वर्षयता अमेरिकी सरकारले बिर्सेको महसुस धेरै हवाइवासीले गरेका छन् ।
हवाइकी रैथाने (कानका माओली) हुनुको नाताले हामीले बुझ्नुपर्ने कुरा के हो भने अमेरिकासँग हाम्रो सम्बन्धका धेरै पाटा छन् । त्यहाँका राष्ट्रपति को हुन्छन् र तिनले हामीलाई के आश्वासन दिन्छन् ? योभन्दा पनि परको विचार गर्नुपर्छ हामी हवाइवासीले । कुनै पनि अमेरिकी राजनीतिज्ञ वा नेताले हामीले भोगिरहेका सामाजिक, स्वास्थ्य तथा वातावरणीय समस्यालाई कहिल्यै समाधान गर्ने छैनन् भनेर हामीले बुझ्न जरुरी छ । ट्रम्प जस्ता व्यक्तिले त अन्तरमनले यो काम गर्ने छैनन् । हामीलाई सधैँ आफ्नो मुठ्ठीमा राख्न अमेरिकाले किन यति धेरै लगानी गर्दै छ भनेर प्रत्येक हवाइवासीले बुझ्न जरुरी छ ।
हवाइ अमेरिकाका लागि अमूल्य छ किनभने उसको जलसेनाले यहाँ इन्धन भर्न सक्छ । हामी फिलिपिन्स र पूर्वी एसियाका धेरै भागमा हमला गर्नका लागि अमेरिकाका मार हान्ने ‘लन्चिङ प्याड’ हौँ । हवाइ अमेरिकाका लागि रणनीतिकरूपले अत्यन्त महत्वपूर्ण तथा विशाल सैन्य अखडा हौँ ।
हामी मावीबाट यो ओआहु टापुमा सरेपछि हामीले यहाँ ठुलो सङ्ख्यामा अमेरिकी सेनाले डेरा जमाएको पायौँ । अमेरिकी सेनाका प्रत्येक शाखाका अखडा छन् यहाँ । थल, जल, हवाइ, मरिन र कोस्टगार्ड सबै छन् हवाइमा । हाम्रो घरमाथि लगातार अमेरिकाका सैन्य हेलिकप्टर घुमिरहन्छन् । विमानस्थलमा अमेरिकाका बी–५२ बमवर्षकले सैन्य अभ्यास गरिरहेको दृश्य देख्ने यहाँ दालभात भइसकेको छ ।
‘रिमप्याक’ (प्रशान्तको रिम) सैन्य अभ्यास हुँदा बबन्डर नै मच्चिन्छ ।
‘रिमप्याक’ यामानको हुन्छ । यो विश्वकै सबैभन्दा ठुलो समुद्री युद्धकला अभ्यास हो । दुई–दुई वर्षमा हुने यो अभ्यासको आयोजना अमेरिकाले गर्छ । यसमा न्युजील्यान्डलगायत संसारका झन्डै ३० देशका सेना सहभागी हुन्छन् । यो अभ्यास हवाइमा विभिन्न टापुभित्र र तिनको सेरोफेरोमा हुन्छ ।
बाक्लै हुने सैन्य गतिविधि अत्यासलाग्दो हुन्छ । गत वर्ष ४० पानीजहाज, तीन पनडुब्बी र १५० विमानले ‘रिमप्याक’ गरेका थिए । होनोलुलु टापुमा मात्र त्यसको लागि २५ हजार सैनिक आएका थिए ।
स्थानीय समुदाय र परिवारमा पनि यसले ठुलो असर गर्छ । बार र स्ट्रीप क्लबमा ‘रिमप्याकलाई स्वागत छ’ लेखिएका ब्यानर र तुल टाँगिन्छन् । सैन्य अधिकारीहरूको सङ्ख्या बढ्यो कि हाम्रा टापुहरूमा हिंसात्मक घटनाहरूको सङ्ख्या ह्वात्तै बढ्छ । घरेलु हिंसाका घटना एकाएक बढ्छन् । यत्रतत्र गोली हानाहान हुन्छ । बलात्कारका घटना बढ्छन् । प्रायःजसो यी घटनामा पूर्व र वर्तमान सैन्य अधिकारीहरू संलग्न हुन्छन् ।
निश्चय पनि सैन्य क्रियाकलापले हाम्रो वातावरण र हाम्रा टापुमा बचेखुचेका जीवजन्तुलाई असर गर्छ ।
सन् २०२० मा कोभिडको बन्दाबन्दी थियो । त्यसैले ‘रिमप्याक’ अभ्यास पनि रद्द भयो । हवाइमा कसैलाई पनि अवतरण गर्न दिइएन । सैन्य अभ्यास समुद्रमा मात्र भयो । जल–जमिनबाट हुने अवतरण अभ्यास भएन । यसले गर्दा समुद्री तटमा त्यो वर्ष कुनै क्षति भएन । युद्ध अभ्यास गर्दा आउने चर्को आवाज पनि आएन । यसले गर्दा हाम्रा टापुका तटहरूमा पहिले–पहिले देखिने कछुवाहरू गुँड बनाउन आए ।
अमेरिकी सेना ठुलो प्रदूषक हो । हवाइमा हामीले जताततै त्यसले गर्ने फोहर देख्दै आएका छौँ ।
पर्ल हार्बरकै कुरा गरौँ । यो ओआहुको खाद्य उत्पादन हुने समुद्री बन्दरगाह थियो । त्यसैले हाम्रा लागि निकै महत्वपूर्ण थलो थियो । यसको विशेषता के भने यहाँ समुद्री पिँधका माछा मार्न जमिनबाट उति टाढा जानुपर्दैन । यहाँ लगभग २० माछा ताल थिए । शार्क माछा पनि यहाँ आहाल खेल्न आउँथे । यहाँका रैथानेहरूको लागि यो बन्दरगाह खानाको भण्डार थियो । तर, अमेरिकी सेनाले यसलाई विपत्तै दूषित पारिसकेको छ । सेनाले यहाँ नानाभाँती घातक फोहर थुपारेको छ । हिजोआज यसलाई अमेरिकी वातावरण रक्षा एजेन्सीले ‘दूषित क्षेत्र’ घोषणा गरेको छ । यहाँको माछा खाए वा यहाँको पानीमा पौडे बिरामी परिन्छ ।
हाम्रा टापुहरूलाई कतिबिघ्न सैन्यकरण गरिएको छ भने यसलाई कब्जाभन्दा हुन्छ । सबैभन्दा रिस उठ्ने कुरा यही हो । अमेरिकी सेनाले जमिनको ठुलो हिस्सा नियन्त्रणमा लिएको छ । हाम्रा सांस्कृतिकरूपमा अति महत्वपूर्ण क्षेत्र अमेरिकी सेनाको कब्जामा छन् ।
ओआहुमा मात्र २५ प्रतिशत जमिन अमेरिकी सेनाको हातमा छ । हवाइ टापुहरूको झन्डै ५.६ भूमि सेनाको कब्जामा छ । यो तथ्याङ्क अमेरिकी रक्षा मन्त्रालयको हो । अमेरिकाको कुनै पनि राज्यमा सेनाको नियन्त्रणमा यति ठुलो भूभाग छैन । हवाइमा मात्र अमेरिकाका ११ सैन्य अखडा छन् ।
अमेरिकी सेनाको यो उपस्थिति र नियन्त्रणविरुद्ध सङ्घर्ष गर्नु कष्टसाध्य काम हो किनभने अमेरिकी सेना र सरकारले यहाँ ठुलो संसाधन राखेको छ ।
एउटा उदाहरण ओआहु टापुको पश्चिम तट हो । दसौँ वर्षसम्म सङ्घर्ष गरेपछि बल्लतल्ल हामी माकुआ उपत्यकामा हुने गोलीबारीको तालिम रोक्न सफल भएका छौँ । त्यहाँका स्थानीय जनता सन् १९९६ मा अमेरिकी अभ्यासको विद्रोहमा उत्रेका थिए । सन् २०२३ मा धेरैपल्ट अदालत धाएपछि अमेरिकी सेनाले त्यस क्षेत्रमा आइन्दा गोलीबारीको तालिम वा अभ्यास नगराउने घोषणा ग¥यो ।
माकुआ यहाँका रैथाने जनताको लागि सांस्कृतिक स्थल हो । किनभने, हामी यही ठाउँमा पापा (पृथ्वी माता) र वाकिया (आकाश पिता) ले मानव जीवनको सृष्टि गरेको मान्छौँ । दोस्रो विश्वयुद्धताका यो क्षेत्रलाई अमेरिकी सरकारले कब्जा ग¥यो । त्यहाँका घरधुरीलाई अमेरिकाले अन्यत्र खेद्यो । सन् १९९० को दशकसम्म त्यहाँ बमबारी गरियो । त्यहाँ अचाक्ली विध्वंस मच्चाइयो । यसले गर्दा त्यहाँका प्राणी र पर्यावरणमा घातक असर प¥यो । आज त्यहाँका धेरै जीवजन्तु र वनस्पति सङ्कटापन्न अवस्थामा पुगेका छन् ।
रोचक के छ भने अमेरिकी सेनाले सन् १९६४ मा हवाइ राज्यसँग माकुआको भूमि लीजमा लिएको थियो । त्यसको लागि १ डलरको सम्झाता गरिएको थियो । सन् २०२९ मा त्यो सम्झौताको म्याद सक्किन्छ । सेना र राज्य सरकारबिच भएको यो लीज सम्झौतामा सेनाले हवाइको ३० हजार एकड जमिन लिएको थियो । सेनाले स्वभावतः ती सम्झौतालाई नवीकरण गर्न, नत्र नयाँ सम्झौता गर्न दबाब दिँदै छ । त्यसैले ती सम्झौता आजकै स्थितिमा सुचारु रहन सक्छन् ।
हवाइको विशाल टापुको केन्द्र नजिकै अमेरिकी सेनाले बमबारी गर्ने अखडा बनाएको छ । त्यसलाई हामी पोहाकुलोआ भन्छौँ । यहाँ जुन आकारमा बमबारी हुन्छ, त्यो बौलाहटपूर्ण छ ।
पोहाकुलोआ तालिम केन्द्रले १ लाख ३२ हजार एकड जमिन ओगटेको छ । हाम्रो सबैभन्दा सानो टापु काहोओलावीभन्दा पाँच गुणा ठुलो हो त्यो केन्द्र । माकुआले जस्तै पोहाकुलोआले पनि रैथानी संस्कृतिमा अहम स्थान राख्छ । किनभने, यो मौना की पर्वतबिच पर्छ । एउटा पर्वतको नाम मौना लोआ हो भने अर्को ज्वालामुखीले बनाएको हुआलालाइ पर्वत हो । आन्दोलनकारीहरूले ती डाँडामा बनाइने भनिएको ३० मिटर ठुलो टेलिस्कोप परियोजनाको विरोध गर्दै आएका छन् । हवाइ परम्परामा टापुका सबै पहाड र ज्वालामुखीका टाकुरालाई पवित्र मानिन्छ ।
अमेरिकी सेनाको नजरमा पोहाकुलोआ विशाल तालिम मैदान हो । सेनाका सबै शाखाले यहाँ सैन्य अभ्यास गर्छन् । यहाँ उसले अन्य देशका सेनालाई पनि बमबारीको अभ्यास गराउँछ । उदाहरणको लागि ‘रिमप्याक’ अभ्यासको बेला पोहाकुलोआमा बमबारीको अभ्यास गराइन्छ । यी बमबारी र सैन्य क्रियाकलापको अर्थ यो ठाउँमा हवाइवासीहरूलाई पहुँच दिइन्न भन्नु हो । वर्षौँदेखि हामीले ठुलो मात्रामा गोलाबारुद पड्काएको देखेका छौँ । यसले गर्दा रैथाने पशुपन्छी र बोटबिरुवामा ठुलो क्षति पुगेको छ । जमिन दूषित बनेको छ भने युरानियम, लिड र सेतो फोस्फोरस जस्ता फोहर मिसिएको हुनाले पानी विषाक्त बनेको छ ।
यी सेना नियन्त्रित क्षेत्रमा हुने सबैजसो गतिविधिलाई गोलाबारुद, बम र विध्वंशका माध्यमबाट हाम्रो भूमि तथा पवित्र स्थलमाथि गरिएको हिंसा भन्न मिल्छ । म यसलाई जैविक उपनिवेशवाद भन्छु । किनभने, यो नियन्त्रणको अन्तरमनमा जीवनका सम्पूर्ण स्वरूपमाथि कब्जा जमाउने चाहना लुकेको छ ।
सेनाका आफ्नै मान्छे, तिनका जहान–परिवारलाई समेत खाँचो परेका बेला बेसहारा र अलपत्र छोडिन्छ ।
होनोलुलुको रेडहिल इन्धन भण्डारण यसको एउटा उदाहरण हो । दोस्रो विश्वयुद्धताका अमेरिकीहरूले ओआहुको सबैभन्दा ठुलो पानीको भण्डार मानिने पहाडमा २० ओटा इन्धन भण्डारण गर्ने टङ्की निर्माण गरे । लाम्चा इन्धनका टङ्कीलाई ज्वालामुखी पर्वतका टाकुरामा राखियो । टापुको ८० प्रतिशत खानेपानी यहीबाट आउँथ्यो । तैपनि, इन्धनको टङ्की राखिछोडियो ।
सन् २०१४ र २०२१ मा रेडहिल डाँडामा दुई ठुला इन्धन चुहावट भए । एकचोटि २७ हजार ग्यालन र अर्कोचोटि २१ हजार ग्यालन इन्धन चुहियो । पहिलो पल्ट तेल चुहिँदा तेल जमिनमुनिको पानीको भण्डारसम्म पुगेको थिएन । तर, सन् २०२१ मा चुहेको तेल पानीको मुहानमा मिसियो र मुहानकै पानी विषाक्त भयो । त्यो पानी अमेरिकी जलसेनाका अधिकारीहरू बस्ने इलाकासम्म जान्थ्यो । पानीको आपूर्तिमा असर प¥यो ।
जम्माजम्मी ९३ सैन्य अधिकारी र तिनका घरपरिवार समस्याग्रस्त भए । तिनीहरूको छालामा बिबिरा आयो । कतिपय सिकिस्तै बिरामी भए । साना केटाकेटीमा नसाको समस्या देखियो । समस्या अझै उस्तै छ । पीडितहरूले क्षतिका लागि अमेरिकी सरकार जिम्मेवार रहेको भनेर मुद्दा हाल्दै छन् ।
दसकौँदेखि हामी अमेरिकाले देखाउँदै आएको हेरचाह, शिष्टता र सम्मानको अभावविरुद्ध सङ्घर्ष गर्दै छौँ ।
अमेरिकाले हवाइलाई एउटा सामरिक युद्ध अखडाको रूपमा प्रयोग गर्दै छ । यसको लागि गरिएका सबै सम्झौता मूलतः हिंस्रक र हानिकारक छन् । रैथाने जनताको रूपमा हाम्रा हकअधिकार र अवसरको निरन्तर घाँटी च्यापेर यी सम्झौता गरिएका छन् ।
हामीले स्थितिलाई जे हो त्यसरी नै हेर्नुपर्छ । हामीले हाम्रो आफ्नै भाष्य दाबी गर्नका लागि दीर्घकालीन सोच राख्न जरुरी छ । हामीले भोगिरहेका चुनौतीको समाधान र रैथाने जनताको रूपमा हाम्रो समृद्धिको योजना अमेरिकासँग छैन । यी कुरा हाम्रै हातमा छन्; भविष्यसम्बन्धी हाम्रो योजनामा छन् । साँच्चै भन्ने हो भने आफ्नो मुढेबल र उपनिवेशवादी सोचको घेराबाहिर निस्किन नसक्ने कब्जाकारीहरू हामीलाई सह्य छैनन् ।
(जोय इनोमोतो हवाइकी रैथाने अभियन्ता हुन् । उनी प्रशान्त टापुहरूबारे विज्ञ हुनुका साथै सामाजिक सङ्गठक र भिजुअल कलाकार हुन् । उनी हवाइ टापु तथा समग्र प्रशान्त क्षेत्रबाट अमेरिकाले सेना फिर्ता लग्नुपर्ने र यस क्षेत्रमाथिको बाह्य कब्जा बन्द गर्नुपर्ने नाराका साथ निरन्तर सङ्घर्षशील छन् । जोय ‘हवाइ शान्ति तथा न्याय’ संस्थाकी पूर्वनिर्देशक हुन् । यो हवाइको इतिहासकै सबैभन्दा पुरानो सैन्यकरण तथा भूमि अतिक्रमणविरोधी संस्था हो । अहिले जोय सपरिवार होनोलुलु टापुमा बस्छिन् ।)

स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *