नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
प्राज्ञिक क्षेत्रमाथिको दमन कति अगाडि बढ्छ भन्ने कुरा अमेरिकीले आफ्नो स्वतन्त्रताको रक्षाका लागि कति लड्छन् भन्नेमा निर्भर छ ।
ट्रम्प प्रशासनको क्याम्पसमा हुने असहमतिविरुद्धको युद्धले नयाँ र चिन्ताजनक मोड लिएको छ । ८ मार्चमा आप्रवासन तथा भन्सार प्रवर्तन (आईस) अधिकारीले कोलम्बिया विश्वविद्यालयका हालैका स्नातक तथा गाजा ऐक्यबद्धता शिविरका प्रमुख आयोजक महमुद खलिललाई पक्राउ गरेको छ । त्यसको केही दिनपछि होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले कोलम्बियाकै स्नातक विद्यार्थी रञ्जनी श्रीनिवासनको भिसा रद्द गरेको घोषणा ग¥यो र कोलम्बिया विश्वविद्यालयका पूर्वविद्यार्थी लिका कोर्डियालाई गिरफ्तार ग¥यो । यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वविद्यालयले पाउँदै आएको ४० करोड डलरको सङ्घीय अनुदान तथा सम्झौता रद्द ग¥यो । त्यसैगरी, प्रशासनको मध्यपूर्वी, दक्षिण एसियाली तथा अफ्रिकी अध्ययन विभागलाई ‘कम्तीमा पाँच वर्षका लागि शैक्षिक प्रशासनको नियन्त्रणमा राख्न’ आदेश दियो । कोलम्बिया विश्वविद्यालयले आफ्ना तर्फबाट अप्रिल २०२४ मा भएको एउटा भवन ह्यामिल्टन हल (जसलाई प्रदर्शनकारीले गाजामा इजरायली सेनाद्वारा मारिएकी ६ वर्षीया प्यालेस्टिनी बालिका हिन्द राजबको नाममा ‘हिन्द हल’ नाम दिएका थिए) को कब्जामा संलग्न विद्यार्थीलाई निष्कासन गर्ने र उनीहरूको डिग्री खारेज गर्ने घोषणा गरेको छ । अन्ततः विश्वविद्यालय ट्रम्प प्रशासनका कठोर माग पूरा गर्न बाध्य भयो, नतिजा विश्वविद्यालयले कानुनी विशेषज्ञ र प्राज्ञिक समुदायबाट व्यापक आलोचना सामना ग¥यो । क्याम्पसमा अभिव्यक्ति स्वतन्त्रता र असहमतिविरुद्ध भएको यो अभूतपूर्व हमला यहुदी द्वेषको आरोपलाई हतियारका रूपमा प्रयोग गर्ने नयाँ हत्कण्डाको सङ्केत हो । प्रारम्भमा भाषणमा प्रतिबन्ध लगाउने र अनुशासनात्मक कारबाहीमार्फत सीमित गरिएको दमन अब गिरफ्तारी, देशनिकाला, निगरानी तथा विश्वविद्यालय प्रशासनमा प्रत्यक्ष हस्तक्षेपसम्म पुगेको छ ।
वास्तवमा अन्तिम लक्ष्य केबल प्यालेस्टिनी समर्थित सक्रियतालाई दबाउनुमात्र नभई अमेरिकी उच्च शिक्षामा विचारधारात्मक नियन्त्रण लाद्नु हो । विश्वविद्यालयमा भएको आक्रमण दक्षिणपन्थी शक्तिको व्यापक प्रयासको हिस्सा हो, जसले प्राज्ञिक संस्थालाई पुरातनपन्थी राष्ट्रवादको गढमा रूपान्तरण गर्न खोज्दै छ । ट्रम्पले आफ्नो अभियानमा यसबारे स्पष्ट गर्दै ‘हाम्रो एक समयका महान् प्राज्ञिक संस्थालाई उग्र वामपन्थी र माक्र्सवादी पागलहरूबाट फिर्ता लिनुपर्ने’ बताएका छन् । ट्रम्पले अहिले तीव्र बनाएको यो हमला वर्षौँअघि नै अमेरिकी, क्यानडाली र युरोपेली विश्वविद्यालयलाई इन्टरनेसनल हलोकस्ट रेमेम्बेरेन्स एलायन्स (आईएचआरए) को यहुदी विरोधको परिभाषाअनुरूपको संहिता अपनाउन दबाब दिने प्रयासबाट सुरु भएको थियो । सुरुमा यहुदीद्वेषी घटनाबारे नियमन गर्न बनाइएको यो परिभाषा बिस्तारै इजरायलको आलोचनालाई दमन गर्न प्रयोग गरिँदै आएको छ ।
विशेषतः जब युवा अमेरिकीबिच इजरायलप्रतिको दृष्टिकोण परिवर्तन हुन थाल्यो, तब विश्वविद्यालयलाई आन्तरिकरूपमा आईएचआरए संहिता लागू गर्न दबाब दिइयो । यसले इजरायलप्रति अमेरिकाको सर्वदलीय (दुवै डेमोक्य्राट र रिपब्लिकन) को समर्थन जोगाउन नयाँ प्रतिरक्षात्मक उपाय स्थापित गर्ने उद्देश्य राख्थ्यो । क्याम्पसमा यो संहिता बदनाम गर्ने, उत्पीडन गर्ने र खारेजीमार्फत इजरायलका आलोचकलाई मौन गराउने हतियार बन्यो । प्राध्यापक, विद्यार्थी र अभियन्तालाई यहुदीद्वेषीको आरोप लगाउँदै डरत्रासको वातावरण सिर्जना गरिन्थ्यो । ७ अक्टोबर २०२३ पछि यो दमन थप तीव्र बन्यो । प्राध्यापक बर्खास्त भए, विद्यार्थी समूह प्रतिबन्धित भए, प्राज्ञिक वक्ताको आमन्त्रण रद्द गरियो र अहिले त गिरफ्तारी तथा देशनिकालासमेत भइरहेको छ । यो अभूतपूर्व दमन अभियानले प्रगतिशील यहुदी समुदायलाई समेत निसाना बनाएको छ, जहाँ विश्वविद्यालयले ‘ज्युविस भोइस फर पिस’ जस्ता सङ्गठनलाई निलम्बन गर्दै इजरायलका आलोचक यहुदी प्राध्यापकलाई दबाउने प्रयास गरिरहेको छ ।
यहुदी प्राध्यापक मोरा फिन्केलस्टाइनलाई प्यालेस्टिनी मुक्तिको समर्थन गरेबापत मुहलेनबर्ग कलेजबाट बर्खास्त गरियो । उनले चेतावनी दिँदै ‘यदि मलाई विदेशी सरकारको आलोचना गरेबापत हटाउन सकिन्छ भने यहाँ कोही पनि सुरक्षित छैन’ भनेकी थिइन् । शोधकर्ताद्वय इतामार मान र लिही योना आईएचआरए संहिताजस्ता कानुनी संरचना यहुदी पहिचानलाई ‘अनुशासनमा राख्न’ र यहुदी सर्वोच्चतावादी राष्ट्रवाद (एन्टी–जायनिस्ट) आवाज दबाउन प्रयोग गरिँदै छ भन्ने दाबी गर्छन् ।
यो दमनले यहुदीद्वेषको आरोपलाई प्राज्ञिक संस्थालाई विचारधारात्मक गढमा रूपान्तरण गर्न हतियारका रूपमा प्रयोग गरिँदै छ । यो केवल रिपब्लिकनको मात्रै प्रयास होइन, यसमा डेमोक्य्राट पनि संलग्न छन् । डेमोक्र्याट सिनेटर जोन फेटरम्यानले ट्रम्पद्वारा कोलम्बियाको अनुदान कटौतीको खुलेर प्रशंसा गरे । त्यसैगरी जोस गटहाइमर, रिची टोरेसलगायत डेमोक्य्राट सांसदले विद्यार्थी प्रदर्शनकारीविरुद्ध थप कठोर कदम चाल्न माग गरेका छन् । यहाँसम्म कि सिनेट बहुमतका नेता चक सुमरले पनि प्यालेस्टिन समर्थित प्रदर्शनलाई ‘यहुदीद्वेषी’ भनेर चित्रण गर्दै यसलाई गलतरूपमा व्याख्या गरेका छन् ।
डेमोक्र्याट क्याम्पसमा असहमति दबाउन केबल दातालाई खुसी पार्न मात्र नभई भविष्यका कार्यकर्ता र बौद्धिकमाथि नियन्त्रण कायम राख्न पनि संलग्न छन् । यो दमन सन् १९५० को दशकको म्याकार्थीवादसँग मिल्दोजुल्दो छ, जब कम्युनिस्ट भएको आरोप लगाउँदै विश्वविद्यालय र सार्वजनिक जीवनबाट वामपन्थी आवाज हटाउन प्रयोग गरियो । त्यतिबेला कालोसूची, बर्खास्ती र कैदजस्ता उपाय अपनाइए पनि म्याकार्थीवाद वामपन्थी विचार मेटाउन असफल रह्यो ।
त्यसैगरी, आजको प्यालेस्टिन समर्थित सक्रियता र प्राज्ञिक स्वतन्त्रतामाथिको दमनले छोटो अवधिमा संस्थालाई डरत्रासमा पार्न सक्छ । तर, न्याय र मुक्तिका लागि हुने आन्दोलनलाई मेटाउन सक्दैन । यो नयाँ म्याकार्थीवाद कति अगाडि बढ्छ भन्ने कुरा अमेरिकीले आफ्नो स्वतन्त्रता रक्षाका लागि कति लड्छन् भन्नेमा निर्भर हुनेछ ।
(कुटी अधिवक्ता एवं विधिशास्त्री हुन्)
– अल जजिराबाट
Leave a Reply