नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै विश्वव्यापीकरणबारे तीतो सत्य बोले । उनले दक्षिणी गोलाद्र्धका पूर्व औपनिवेशिक देशहरूलाई विश्व मूल्यशृङ्खलाको पिँधमै अल्झाउनु वासिङटनको उद्देश्यबारे प्रस्ट पारे ।
अमेरिका नेतृत्वको पश्चिमा खेमाले कठोर अन्तर्राष्ट्रिय श्रम विभाजन कायम गर्न चाहेको भान्सले खुलस्त बताए । परिधिमा परेका यी गरिब मुलुकहरूले न्यून मूल्यजडित सामग्री उत्पादन गरिरहेको र केन्द्रमा रहेका धनी मुलुकहरूले उच्च मूल्यजडित प्रविधिमाथि नियन्त्रण जमाएर अचाक्ली एकाधिकार कायम गरेको पनि भान्सले स्वीकारे । (न्यून मूल्यजडित सामग्रीमा प्रतिस्पर्धा बढी र नाफा कम हुन्छ भने कडा बौद्धिक हकको कानुन लाग्ने उच्च मूल्यका सामानमा प्रतिस्पर्धा नगण्य हुन्छ ।)
चीनविरुद्ध युद्धको तयारी गर्दै सिलिकन भ्याली
अमेरिकी उपराष्ट्रपतिले यी टिप्पणी सिलिकन भ्यालीको पुँजीप्रदायक कम्पनी एन्ड्रीसेन होरोविजले आयोजना गरेको सम्मेलनमा गरेका हुन् । वासिङटनमा आयोजित यस वार्षिक कार्यक्रमलाई अमेरिकी गतिशील शिखर सम्मेलन भनिन्छ । यसले विभिन्न कर्पोरेट प्रमुख तथा ठेक्कापट्टा सहज पार्ने अमेरिकी उच्चअधिकारीहरूलाई एकै ठाउँ ल्याउँछ ।
चीनविरुद्ध युद्धको तयारी गर्नुलाई तिनले मुख्य प्राथमिकता दिएका छन् । एन्ड्रीसेन होरोविजले अमेरिकाका ५० त्यस्ता कम्पनीलाई मलजल गर्दै छ जसले ‘भविष्यको लडाइँलाई आकार दिइरहेको’ दाबी गर्छ । ताइवानको विषयमा चीनविरुद्ध परिकल्पित २०२७ युद्ध गर्ने दृश्यबारे उसले चर्चा गर्दै छ ।
भान्स चीनविरोधी युद्धपिपासु हुन् । उनले अमेरिकाका धेरै आर्थिक समस्याहरू समाधान गर्न पेइचिङको बलि चढाउने सोचेका छन् । उनी ‘हाम्रो देशको लागि सबैभन्दा ठुलो खतरा’ भन्दै चीनलाई राक्षसीकरण गर्दै छ ।
सन् २०२४ को चुनावी प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पले भान्सलाई उपराष्ट्रपतिको पदमा लड्न छनोट गरेपछि भान्सले युक्रेन युद्ध टुङ्ग्याउने वाचा गरे । यसको अर्थ भान्स शान्तिका पक्षधर हुन् भनी बुझ्नु हुँदैन । बरु बुझ्नुपर्ने कुरा के भने उनी चीनविरुद्ध केन्द्रित हुन चाहन्छन् । भान्सले भने, “संरा अमेरिका परिस्थितिलाई झन्झन् अमेरिकानजिक ल्याउनेछ । यसले गर्दा अमेरिका वास्तविक मुद्दा अर्थात् चीनमा केन्द्रित हुनसक्नेछ ।”
उनले भने, “चीन हाम्रो देशको लागि सबैभन्दा ठुलो खतरा हो र हाम्रो ध्यान त्यसबाट पूर्णतः अन्य मोडिएको छ ।”
एन्ड्रीसेन होरोविज सम्मेलनमा मार्च १८ गते मन्तव्य राख्दै अमेरिकी उपराष्ट्रपति भान्सले दक्षिणपन्थी ‘लोकरिझ्याहा’ र ‘प्रविधि–आशावादी’ हरूबिचको खाडलमा पुल बनाउन खोजे । प्रविधि–आशावादी पदावली भान्सका साथी र अरबौँ सम्पत्तिका मालिक पुँजीपति मार्क एन्ड्रीसेनले प्रयोगमा ल्याएका हुन् ।
सिलिकन भ्यालीका अर्बपतिहरूसँग भान्सको नजिकको सम्बन्ध छ । उनले कतिपय अर्बपतिसँगै मिलेर काम पनि गरेका छन् ।
भान्स आफ्नो गरिब बाल्यकालबारे बढाइचढाइ गर्ने गर्छन् । त्यसकारण, उनलाई गरिबीको ‘फाइदा लिएको’ आरोप पनि लाग्ने गर्छ । भान्स कुलीनहरू पढ्ने ‘येल ल स्कूल’ का विद्यार्थी थिए । पछि उनले कर्पोरेट अधिवक्ता तथा पुँजी लगानी कम्पनीमा काम गरे ।
सिलिकन भ्यालीका अर्बपति पिटर थिल चरम दक्षिणपन्थी हुन् । उनैले भान्सलाई पहिले काम दिएका थिए । थिलले नै भान्सको राजनीतिक करियर बनाइदिएका हुन् । यसको लागि थिलले ओहायो राज्यबाट सन् २०२२ को सिनेट निर्वाचनमा भान्सलाई जिताउन साढे १ करोड डलर खर्च गरेका थिए ।
भान्स जस्तै थिल पनि चरम चीनविरोधी हुन् । थिल खुलेआम एकाधिकार पुँजीको पक्ष लिन्छन् । पुँजी लगानीमा हात हालेका उनले घोषणा नै गरे – प्रतिस्पर्धा हार्नेहरूका लागि हो । उनले लेखे, “प्रत्येक सफल व्यवसायको सर्त हो एकाधिकार ।”
थिल आफूलाई रुढीवादी खुला व्यापार पक्षधर भन्छन् । उनी पुँजीवाद प्रजातन्त्रभन्दा महत्वपूर्ण रहेको तर्क गर्छन् । उनले लेखे, “खासमा पुँजीवाद र प्रतिस्पर्धाविपरीत चीज हुन् ।” उनले सुझाव नै दिए, “अमेरिकी कर्पोरेसनहरूले एकाधिकार कसरी जमाउने भनी हेर्नुपर्छ ।”
आश्रित सिद्धान्त सही थियो
अमेरिकी गतिशीलता शिखर सम्मेलनमा भान्सले जोड दिएर भने, “धनी मुलुकहरू मूल्य शृङ्खलामा माथि चढिरहनेछन् र गरिब मुलुकहरूले सादा सामान मात्र बनाउनेछन् – विश्वव्यापीकरणको मन्त्र यही थियो । आइफोन बक्स खोल्नुभयो भने त्यसले भनिहाल्छ – कुपरटिनो, क्यालिफोर्नियामा डिजाइन गरिएको ।
आजभोलि निश्चय नै यसको उत्पादन (चीनको) शेनजेन वा अन्य स्थानमा हुनसक्छ । यसको उत्पादन गर्दा केही मानिसले रोजगारी गुमाउन पनि सक्छन् । तर, तिनले डिजाइनको काम सिक्न सक्छन् । लोकप्रिय भाषामा भन्नुपर्दा कोड गर्न सिक्न सक्छन् ।
तर, मेरो विचारमा हामीले गल्ती गरेछौँ । उत्पादन गर्ने भूभागहरू डिजाइनिङको काममा पनि अब्बल भए । सञ्जालमा प्रभाव प¥यो । तपाईँहरू बुझिहाल्नुहुन्छ ।
वस्तु डिजाइन गर्ने कम्पनीले उत्पादन पनि गर्छन् । तिनले बौद्धिक अधिकार साटासाट गर्छन् । उत्कृष्ट अनुभव साट्छन् । कहिलेकाहीँ महत्वपूर्ण कारिन्दा साटफेरसमेत गर्छन् ।
हामीले अन्य राष्ट्रले मूल्य शृङ्खलामा हामीलाई सधैँ पछ्याइरहनेछन् भन्ने अनुमान ग¥यौँ । तर, मूल्य शृङ्खलाको तल्लो तहमा राम्रो गर्दै गएपछि तिनीहरू माथि उक्लिन थाले । हामी दुवैतिरबाट थिचियौँ ।”
यो भनाइमा अमेरिकी उपराष्ट्रपतिले सन् १९६० को दशकमा आएको आश्रित सिद्धान्तको मूल विचार सही रहेछ भनी स्वीकार गरेका छन् ।
विश्व व्यवस्थाको केन्द्रमा रहेका (मूलतः उत्तरी गोलाद्र्धका) धनी मुलुकहरू परिधिमा रहेका (मूलतः दक्षिणी गोलाद्र्धका) गरिब र पुराना उपनिवेशहरूलाई जालमा फसाउन खोज्छन् । उन्नत प्रविधिमाथि एकाधिकारी नियन्त्रणको बलमा केन्द्रको उच्च मूल्यजडित उत्पादनमा परिधिका देशलाई आश्रयको चक्रमा फसाउन खोज्छन् ।
परिधिका मुलुकहरू (कृषि उत्पादन, कच्चा तेल र अप्रशोधित खनिजजस्ता) प्राथमिक वस्तु र (टेक्स्टाइल जस्ता) न्यून मूल्यजडित वस्तु उत्पादन गर्नका लागि निरन्तर आपसमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । यसकारण, तिनको नाफा कम हुन्छ र व्यापार असन्तुलित हुन्छ । यसबाट फाइदा केन्द्रका धनी मुलुकहरूलाई जान्छ जसले कुनै बेला परिधिका देशलाई उपनिवेश बनाएका थिए ।
चीनले विश्व व्यवस्थामा आफ्नो गौण वा दासवत स्थानलाई चुनौती दिन खोजेको छ । ऊ विश्व मूल्य शृङ्खलामा माथि चढ्दै छ र परिधिबाट बाहिरिन खोज्दै छ । यसको प्रतिवादमा अमेरिकी सरकारले आक्रामक भन्सार कर, आर्थिक प्रतिबन्ध र निर्यात नियन्त्रण लगाएको छ । यसको उद्देश्य चीनको प्राविधिक नवप्रवर्तन र आर्थिक विकास ध्वस्त पार्नु हो र अमेरिकालाई अन्तर्राष्ट्रिय श्रम विभाजनको शिरमा राखेर आफ्नो एकाधिकारपूर्ण असुलीको धन्दा चलाइरहनु हो ।
यसलाई संयोग नमानौँ – ब्रिक्सका संस्थापक देशहरू तिनै देश हुन् जसले आफूलाई परिधिबाट अर्धपरिधिको देशमा उकासे । तिनले विश्व व्यवस्थालाई रूपान्तरण गर्न खोज्दै छन् ।
गत फेब्रुअरीमा म्युनिख सुरक्षा सम्मेलनमा बहुध्रुवीयताबारे ऐतिहासिक मन्तव्य राख्दै चीनका विदेशमन्त्री वाङ यीले यो तथ्य उल्लेख गर्नुभयो । बहुध्रुवीय विश्वको पक्षमा आउन आग्रह गर्दै उहाँले घोषणा गर्नुभयो, “औपनिवेशिक व्यवस्था होस् वा केन्द्र–परिधि संरचना, असमान प्रणालीहरू अन्ततः नष्ट हुनेछन् ।”
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply