भर्खरै :

महाबुमा विद्यार्थी भेला

महाबुमा विद्यार्थी भेला

दैलेख, २१ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ समर्थित विद्यार्थीहरूको भेला नेमकिपा महाबु गाउँपालिका समितिको आयोजनामा महाबु–४, काप्रीखोलामा बिहीबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले राजनीति भनेको देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्नु हो भन्नुभयो ।
कामदार जनताको पक्षमा नेमकिपाले स्थापनाकालदेखि सङ्घर्ष गर्दै आइरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “अहिलेको सरकारले द्वैध शिक्षा नीति लागु गरेर गरिबका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नबाट रोकेको छ । नेमकिपाले विश्वविद्यालय तहसम्म शिक्षा निःशुल्क तथा वैज्ञानिक र उत्पादन श्रमसँग जोडिएको शिक्षाका लागि आवाज बुलन्द गर्दै आइरहेको छ ।”
विदेशीको दास बनाउने शिक्षाको नीतिको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय अध्यक्ष गुरूङले पुँजीवादी व्यवस्थामा शोषण हुने हुँदा त्यसविरूद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका अध्यक्ष जगत ओलीले शिक्षालाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीति राम्रो भए बिस्तारै अरू क्षेत्र पनि राम्रो हुँदै जाने बताउनुभयो ।
नेमकिपा महाबुका अध्यक्ष टेकबहादुर सलामीको अध्यक्षतामा भएको विद्यार्थी भेलामा दुर्गबहादुर थापाले पनि बोल्नुभएको थियो । भेलाले निर्मला थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नेक्राविसङ्घ महाबु गाउँपालिका समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *