भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा स्थानीय स्काउट परिषद्को उद्घाटन

नगर प्रमुख प्रजापतिद्वारा स्थानीय स्काउट परिषद्को उद्घाटन

भक्तपुर, २१ चैत । भक्तपुर नगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट वाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट परिषद्को प्रथम बैठकको बिहीबार उद्घाटन गर्नुभयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले स्काउटको उद्देश्य र सिद्धान्तबाट नेपालका बालबालिका तथा युवावर्गलाई परिचित गर्दै उनीहरूलाई देश र समाजप्रति उत्तरदायी बनाउन सक्नुपर्छ भन्नुभयो ।
दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार र सहायता कार्य परिचालन गर्नु स्काउटको प्रमुख उद्देश्य हो भन्दै उहाँले सङ्कटको समयमा स्काउटले स्वयम्सेवी भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
स्काउट गतिविधिले विद्यार्थीहरूलाई अनुशासित बनाउनुका साथै सामाजिक क्रियाकलापमा सक्रिय बनाउने बताउँदै उहाँले युवा विद्यार्थीहरूलाई आफ्नै देशमा अध्ययन र रोजगारीको लागि प्रेरित गर्नुपर्छ भन्नुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका स्थानीय आयुक्त बालकृष्ण वनमालाले स्काउट गैरनाफामूलक संस्था भएको बताउँदै स्काउट गतिविधिले विद्यार्थीहरूमा दायित्वबोध गराउँदै व्यक्तित्व विकासको अवसर पनि पाइरहेको बताउनुभयो ।
राष्ट्रिय प्रशिक्षक तथा स्थानीय सल्लाहकार रामगोपाल कर्माचार्यले स्काउटको विकासमा भक्तपुर नपाले खेलिरहेको भूमिका सराहनीय भएको उल्लेख गर्दै स्काउट एउटा स्वयम्सेवी संस्था भएको बताउनुभयो ।
कार्यक्रमको सभापतित्व ग्रहण भक्तपुर नगरपालिकाका उपप्रमुख तथा स्काउट प्रमुख रजनी जोशीले गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले स्काउट सबैको साझा संस्था भएको हुँदा स्काउटमा लाग्नेहरूमा पारदर्शिता र जिम्मेवारीबोध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय स्काउटका पुष्पा प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *