अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याड्ढ हेर्दा बिहीबार मध्याह्नसम्ममा पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।
प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विशेष चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाड्ढानुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सड्ढेत गर्छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू–बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिनुभयो ।
विपद् व्यवस्थापन तथा जलवायुविद् डा. धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा वर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताउनुभयो । “यो समयमा तापक्रम बढ्दै गएको छ, कृषिवस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिसिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन । पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो”, उहाँले भन्नुभयो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्वाधार निर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ ।
“काठमाडौँ कचौरा आकारमा पनि छ । पानी नपर्दा सतहमा रहेको प्रदूषण तल खस्न पाउँदैन र हावा पनि चलेको छैन । जसले गर्दा प्रदूषण उपत्यकामा नै थुप्रिएर बसेको छ”, उहाँले भन्नुभयो ।
जेठसम्म वायु प्रदूषण उच्च
विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुँवा, सडक तथा निर्माण कार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ ।
विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
डढेलोको कारण प्रदूषण
डढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताउनुभयो ।
“बुधबार मात्र २५३ स्थानमा डढेलो लागेको छ । मुलुकभर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ”, उहाँले भन्नुभयो ।
मुटुरोगीलाई बढी असर
पछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकोले सतर्कता अपनाउनुपर्ने बताउनुहुन्छ, मुटुरोगी विशेषज्ञ डा. रञ्जित शर्मा ।
“मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृृदयघात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो ।
आँखामा समस्या
तिलगङ्गा आँखा प्रतिष्ठानका आँखारोग विशेषज्ञ डा. मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग) जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थीलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
छालामा पनि समस्या
छालारोग विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिनुभयो ।
“प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ । जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन् । डन्डिफोर पनि आउन सक्छ । छालाको चमक हराउन सक्छ”, उहाँले भन्नुभयो ।
गर्भवती प्रभावित
काठमाडौँ नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताउनुहुन्छ ।
“गर्भवतीले धूमपान गर्न हुँदैन, जसरी धूमपानले बच्चाको वृत्तिविकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ”, उहाँले भन्नुभयो ।
जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाव
वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताउनुभयो ।
“अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ । तीन सय कट्नेबित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ”, उहाँले भन्नुभयो ।
स्वच्छ वातावरणको हक खोइ ?
वातावरण कानुनका विज्ञसमेत रहनुभएका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्चता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानव अधिकार नै हनन भएको भन्दै टिप्पणी गर्नुभयो ।
नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा (२) मा वातावरणीय प्रदूषण वा ¥हासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ । धारा ३० को उपधारा (३) मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबिच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पु¥याएको मानिने छैन भनी उल्लेख छ ।
संविधानको भाग ४ मा उल्लेखित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवद्र्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ ।
नीतिगत व्यवस्था कस्तो छ ?
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिने रणनीतिमा उल्लेख छ ।
काठमाडौँ उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् । सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ ।
वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँबु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।
दीर्घकालीन रणनीति आवश्यक
वातावरणविद् भूषण तुलाधारले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुकभर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसकोे प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ । “घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ”, तुलाधारले भन्नुभयो, “नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।”
प्रदूषण नगर्न निर्देशन
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताउनुभयो ।
Leave a Reply