भर्खरै :

अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताको अर्काे एक थप आकर्षण

अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताको अर्काे एक थप आकर्षण

भक्तपुर, २२ चैत । चैत २३ गतेदेखि भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रथम अन्तर–नगर जिम्नास्टिक प्रतियोगिता भनपा २ स्थित सहिद स्मृति खेल मैदानमा सञ्चालन हुँदै छ । देशका १८ नगरपालिका सहभागी रहने उक्त प्रतियोगितामा १७० भन्दा बढी खेलाडीहरू अनुशासित रूपमा आ–आफ्नो सीप प्रदर्शन गर्दै छन् । बिहान ७ः३० बजे भक्तपुरको दत्तात्रय चोकबाट सुरु हुने उद्घाटन ¥याली नगरको मुख्य बजार हुँदै खेल मैदानमा पुगेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुहुने कार्यक्रम छ । उक्त प्रतियोगितामा जिम्नास्टिक खेलको ६ वटा विधा अर्थात् (क) लङहर्स, (ख) फ्लोर (ग) हाइवार (घ) रोमन रिङ (ङ) साइडहर्स र (च) पाइरलवार विधामा प्रतिस्पर्धा हुँदै छ ।
नेपालमै पहिलो पटक हुन लागेको यस अन्तर–नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर जिल्लाबाट एकजना बाल खेलाडी पनि सहभागी हुँदै छ जो जन्मेको ४ महिनामै मृत्युको सङ्घारमा पुगेर पुनः जन्म पाएको थियो । उसको नाम हो–सोनिस अवाल । जो अहिले भक्तपुर मिवाछेँस्थित एभरेस्ट इङ्गलिस सेकेन्डरी स्कूलमा पढ्दै छ । सोनिस सूर्यविनायक नगरपालिकाको तर्फबाट लङहर्स र फ्लोर दुवै विधामा प्रतिस्पर्धा गर्दै छ ।
२०७२ वैशाख १२ गते दिउँसो ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टरको भूकम्प गयो । बुबा श्याम अवाल घरमा थिएन । ४ महिनाकी सुत्केरी आमा रस्मिला अवाल पनि बच्चा सुतेकोले एकछिनको लागि भनी घरको ढोका बाहिर मात्र के पुगेकी थिइन्; अचानक भूकम्प गयो । आतिँदै घरभित्र पस्ने तरखरमै थिइन् उनी । तर, घर भत्क्यो जहाँ आफ्नो ४ महिने बच्चा सुतिरहेको थियो । घर भग्नावशेषमा बदलियो । रुँदै कराउँदै हार गुहार माग्दै थिए बच्चाकी आमा र अन्य परिवारजन । तर, प्रायः नागरिकहरू आ–आफ्नै सुरक्षा एवं पारिवारिक खोजकार्यमै व्यस्त थिए । त्यसबिच छिनछिनमा आइरहने पराकम्पनले सबैलाई त्रसित तुल्याइरहेको थियो । त्यस दिन प्रेम सुवाल, तत्कालीन एस.पी. विकास श्रेष्ठसँगै म पनि बालबच्चा र वृद्ध उमेरका मानिसहरू खुला एवं सुरक्षित स्थानमा जाने र युवाहरू उद्धार कार्यमा जुत्न अनुरोधसहित माइकिङ टोलीमा थियौँ । करिब ४ः३० बजेतिर मूलढोकास्थितको उक्त घरमा जहाँ बच्चा पुरिएको थियो । हामीलाई उहाँहरूको चिच्याहत सुन्न सजिलो भएन । हेरिरहनेहरूमध्ये आँसु नबगाएका कोही पनि थिएनन् ।
२०७२ सालको सो भूकम्पले भक्तपुरलगायत देशको १४ जिल्लामा धनजनको क्षति भयो । भक्तपुर नगरभित्रै पनि त्यतिबेला १७, ८९६ घर धुरीमध्ये ७,९१० घर अनि ६७ सम्पदाहरू पूर्णरूपमा क्षति भएको थियो । भक्तपुर जिल्लाभरिमा ३५० जनाले ज्यान गुमाउनुपरेको थियो । त्यसमध्ये भक्तपुर नगर क्षेत्रभित्र २५२ जनाको ज्यान गएको थियो । त्यस्तै परिवेशमा भक्तपुरका युवा जमात तत्काल उद्धार कार्यमा जुट्न थाल्यो । नेमकिपाको भ्रातृ सङ्गठनका युवा र विद्यार्थीहरू परिचालित भए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिए । प्राथमिकताका साथ पुरिएका मानिसहरूको उद्धार कार्य भयो । सबैभन्दा बढीसम्म पुरिएर बसेकी श्रीया गणेशलाई उद्धार टोलीले ९० घण्टा अर्थात् ४ दिन ४ रातपछि जीवितै उद्धार गरिएको थियो ।
आजदेखि सुरु हुने अन्तर–नगर जिम्नास्टिक खेलमा सहभागी हुने सोनिस, जो त्यतिबेला मात्र ४ महिनाको थियो । छिनछिनमा रोएकै आवाजको आधारमा उसको पनि खोजी कार्य भइरह्यो । पुरिएको २२ घण्टापछि पलङमुनि दुबै आँखा सुनिएको र मुखभरि धुलो माटो रहेको अवस्थामा सो बच्चाको उद्धार भयो । त्यो बच्चालाई नेपाली सेनाले उद्धार गरी अस्पताल पु¥यायो । केही दिनपछि स्वस्थ भयो र घरमा लग्यो । त्यस भाइले आजदेखि सुरु हुने जिम्नास्टिक प्रतियोगितामा भाग लिँदै छ । आशा गरौँ, उसको खेलकुद कला राम्रै हुनेछ । निजले खेल सँगसँगै आफ्नो पढाइलाई पनि सफलतापूर्वक अगाडि बढाइरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *