क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
१४ महिना इजरायली थुनामा रहँदा पत्रकार अहमद शाकुराको झन्डै १३८ पाउन्ड तौल घट्यो ।
उनलाई देखेर उनका परिवार, साथी र म आफै पनि दङ्ग परेँ । सन् २०२३ डिसेम्बर ८ को दिन उनी पक्राउ परेका थिए । त्यसबेला उनको तौल ३१९ पाउन्ड थियो । रिहाइपछि गत फेब्रुअरीमा उनी अल–रिमाल टोलमा फर्के । उनको छाला हाडमा टाँसिएजस्तो देखियो । कैदमा उनलाई ‘बिरालाको आहार जति मात्र खाना’ दिइन्थ्यो ।
उमेरले शाकुरा अहिले ३७ वर्ष पुगे । उनलाई मैले चार वर्षदेखि चिन्छु । सन् २०२१ मा गाजा सहरमा डिजिटल मिडियाको तालिम लिन गएको थिएँ । त्यही तालिमको क्रममा शाकुरासँग मेरो चिनापर्ची भएको थियो । त्यो चिनजान पछि मित्रतामा फेरिएको थियो । उनी प्यालेस्टिन टुडे पत्रिकामा काम गर्छन् । उनका पाँच सन्तान छन् ।
उनी खाना पकाउन पनि सिपालु छन् । उनलाई पौडी खेल्न मनपर्छ । इलेक्ट्रोनिक स्ट्राटेजिक खेल खेल्न र त्यसमा पनि फूटबल खेल्न मनपर्छ ।
मार्चमा मैले अल–रिमाल टोलमा शाकुरालाई भेटेँ । दिउँसोको बेला थियो । हामी घाम ताप्दै बाहिर बस्यौँ । १४ महिनाको कैदमा रहँदा घाम देख्न नपाएर उनलाई नियास्रो लागेको रहेछ । फेब्रुअरीमा तीन इजरायली बन्धकको बदलामा छाडिएका ३६९ प्यालेस्टिनी कैदीलाई छोडिएको थियो । त्यसैमा परेर शाकुरा रिहा भएका थिए ।
हामीले बस्नलाई गतिलो ठाउँ पनि पाएनौँ । त्यसैले, ध्वस्त घरका भग्नावशेषमा बसेरै गफ ग¥यौँ ।
सुरुआती पक्राउ
शाकुराले बताएअनुसार उनी त्यो दिन गाजा सहरमा इजरायली सेनाले कब्जा गर्दै आएको खबर सुन्दै थिए । घरमा बसेर रेडियो सुनिरहेकै बेला सेना आयो र लाउडस्पिकरबाट सबैलाई घर छोडी बाहिर निस्किन र आत्मसमर्पण गर्न भन्यो ।
शाकुराले भने – पुरुषहरूलाई लुगा फुकालेर खालि भित्री लुगामा उभिन लगाइयो ।
हातमा घाउको खत देखाउँदै उनले भने, “सिपाहीहरूले मेरा नाडीमा तीनवटा कडा प्लास्टिकका हत्कडी कसे र आँखामा पट्टी बाँधे । त्यसपछि मैले केही देख्न सकिनँ ।”
“हत्कडीले मेरो हात सुकेजस्तो भयो । त्यो छाला र मासु कसेर हड्डीमा चिपिक्कै भयो ।”
इजरायली सिपाहीले शाकुरा र उनको टोलका पुरुषहरूलाई समूह बनाएर बसमा राखे र उत्तरतर्फ लगे । त्यसपछि उनीहरूलाई इजरायली सेनाको छाउनी रहेको जिकिम पु¥याए । उनले भने, “१८ घण्टा ठिङठिङ्ती उभ्याए । हामीलाई खाने पानी दिइएन । अलिबेर थकाइ मार्न पनि दिइएन । ठिरि¥याउने जाडो थियो । तैपनि, हामीलाई लुगा लगाउन दिइएन ।”
त्यसपछि शाकुरालाई इजरायली सेनाको कुख्यात सैन्य शिविरमा ‘स्दे ताइमन’ मा सारियो ।
उनले भने, “आँखामा पट्टी थियो, हातमा हत्कडी । तिनीहरूले मलाई धारिला ढुङ्गा बिछ्याइएको कैदमा बसाले । मेरो खुट्टाभरि घाउ भयो । त्यसरी नै मैले त्यहाँ पाँच दिन बिताएँ ।”
क्यामराबाट लुकाएर निर्घात कुटे
पछि शाकुरालाई अल–जालमे कारागारमा सारियो । मध्य इजरायलमा पर्ने त्यो कारागारमा उनलाई १४० दिन राखियो । ती क्रूरतापूर्ण दिन सम्झिँदा आज पनि उनी अझै झस्किन्छन् ।
त्यस अवधिमा शाकुराको आँखाको पट्टी खोलिएन । शाकुराले भने, “अल–जालामे जाने सडकमा लगातार पाँच घण्टासम्म सिपाहीहरूले मलाई फलामको छडीले निर्घात कुटे । मसँग अरु थुनुवा पनि छन् भन्ने मलाई थाहा थिएन । कुटाइ खाएर चित्कार छोड्न थालेपछि बल्ल थाहा पाएँ । तिनलाई पनि मलाई जस्तै कुटपिट गरिएको थियो ।”
“अल–जालामे पुगेपछि मलाई कारागारमा हुलियो । त्यहाँ जताततै निगरानी राख्ने क्यामराहरू थिए । त्यसपछि सिपाहीहरूले मलाई फेरि शरीरभरि गहुँ चुटेझैँ चुट्न थाले ।”
पीडाले उनी रन्थनिएँ । उनलाई आफ्ना केही हड्डी भाँचिएझैँ लाग्यो । तर, उनले कुनै उपचार पाएनन् ।
त्यो कुटपिटका कारण दुई महिनासम्म शाकुरा चलफिर गर्नै सकेनन् । उनले सम्झे, “म बाथरुमसम्म पनि जान सकिनँ । बाथरुम जानुपर्छ भनेर मैले खाना खान छोडेँ ।”
कारागारको दुरवस्था र दिनदिनैको दुव्र्यवहारले गर्दा शाकुराका समस्याहरू झन् पेचिला बने ।
उनले भने, “हामीलाई घाममा जान मनाही थियो । कति समय बित्यो, पत्तै पाइएन । थुनुवाको मनोबल गिराउन जेलका कोठाभरि कालो रङ पोतिएको थियो । ताजा हावा थिएन । बाहिरी संसारसँग, आफन्त र वकिलसँग सम्पर्कमा जाने बाटै थिएन ।”
उनले बताएअनुसार रात–दिन खालि सोधपुछ चल्थ्यो । दबाबमा राखेर उनको आत्मबल तोड्न उनलाई ‘एक महिनासम्म एक मिटर लाम्चो र आधा मिटर चौडा एकान्त कालकोठरी’ मा राखियो ।
शाकुरालाई त्यसपछि पश्चिम किनारको रमल्लाहनजिकै पर्ने ओफर जेलमा सारियो । त्यहाँ उनीमाथि पहिलेझैँ कुटपिट गरियो र अभावमा राखियो ।
उनले भने, “तीन दिनसम्म बाहिरका मान्छेले खाने खानाको आधामात्र खान दिइयो । हामी भोकभोकै नमरौँ भनेर त्यसो गरेका थिए ।”
उनले सम्झे, “हामी फलामका खाटमा सुत्यौँ । हिउँदका ती चिसा रातमा ओछ्यान, तन्ना र ओढ्ने केही थिएन । सिपाहीहरू प्रत्येक रात कम्तीमा तीनचोटि निद्रा बिथोल्न आउँथे । हाम्रो निद्रालाई नारकीय बनाउने र हाम्रो मनोबल धुलोपिठो पार्ने चाल थियो त्यो ।”
आफ्नै परिवारले चिनेन मलाई
शाकुराको भनाइअनुसार उनी कहिलेकाहीँ हतास हुन्थे । उनले गाजामा रहेकी आफ्नी पत्नी र बालबच्चाबारे ‘खबर केही सुनेका थिएनन्’ । तिनीहरू इजरायली बमबारीको सिकार भइसकेको अनुमान गर्थे ।
अरु कैदी–बन्दीसँगको कुराकानीले शाकुरालाई आफ्नो आत्मबल जोगाउन मद्दत पुग्यो ।
उनले भने, “मैले कारागारमा वर्षौँ बिताएका बन्दीलाई भेटेँ । तिनीहरूले मलाई मनोवैज्ञानिक रूपले मद्दत गरे । मलाई आशाको ज्योति देखाए । एक दिन मलाई थुनामुक्त गरिने, मैले आफ्नी पत्नी र बालबच्चालाई फेरि भेट्न पाउने बताए ।”
“त्यो मद्दतले मलाई जेलको यातना सहन ठुलो बल दियो ।”
सन् २०२५ जनवरी १९ को दिन थियो । एउटा इजरायली अफिसरले हमास र इजरायलबिच युद्धविराम भएको समाचार सुनायो । त्यो सुन्दा शाकुराको खुट्टा भुइँमा थिएन । कैदी साटफेर गर्दा छुटिने आशा पलायो उनमा ।
फेब्रुअरी १५ को दिन उनलाई रिहा गरियो । त्यसबेला उनलाई आफ्नी पत्नी र छोराछोरी जीवित भए–नभएको थाहा थिएन ।
उनले भने, “बस गाजा पुग्यो । जहानपरिवारलाई देखेँ । मलाई पर्खिरहेका रहेछन् । मलाई देखे पनि तिनीहरूले चिन्न सकेनन् । किनभने, मेरो तौल एकदम घटेको थियो । तिनीहरूले मलाई देखेभन्दा एकदम फरक देखिन थालेको थिएँ ।”
उनले सम्झे, “बालबच्चाले मलाई देखे । तर, आफ्नो बाबु हो–होइन, छुट्याउन सकेनन् । तर, तिनलाई देखेर म मुस्काइरहेको देखेपछि आशङ्का हरायो । कुदेर मलाई अङ्गालोमा बेरिहाले । त्यो बेला खुसीको सीमै रहेन । ईश्वरलाई धन्यवाद भनेँ ।”
शाकुराले अहिले खान युनिस सहरको नासिर मेडिकल भवनमा सरकारले चलाएको उपचार लिँदै छन् । उनलाई त्यहाँ शारीरिक र मनोवैज्ञानिक हिसाबले हेरविचार गरिँदै छ ।
चाँडै उनी पत्रकारिकतामा फर्किनेछन् । सके गाजामा एक दिन रेस्टुराँ पनि चलाउने धोको छ उनको ।
(अब्दुल्ला युनिस गाजापट्टीका पत्रकार हुन् ।)
स्रोत : इलेक्ट्रोनिक इन्तिफादा
अनुवाद : सम्यक
Leave a Reply