कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा प्रत्येक वर्ष मेष सङ्क्रान्तिलाई केन्द्र बनाई मनाउँदै आइरहेको तान्त्रिक र ज्योतिषीय महत्व बोकेको सांस्कृतिक एवम् ऐतिहासिक किरातकालीन बिस्केट जात्रा नेवार समुदायमा मनाइने विश्व प्रसिद्ध जात्रा हो । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेपालभाषामा बीःसित (नाग मर्यो), बी जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भएर बिस्केट जात्रा हुन गएको भनिन्छ । ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरिन्छ ।
नेपालको वास्तुकलामा तन्त्रको राम्रो प्रभाव छ । जस्तै ५५ अङ्कले श्रेष्ठ वा राजालाई बुझाउँछ, त्यसैले ५५ झ्याले दरबार बनाइयो । ५४ ले रानीलाई बुझाउँछ, ५३ ले प्रधानमन्त्री, ५२ ले प्रधानसेनापति र ५१ ले जनतालाई बुझाउँछ । शत्रुमाथि विजय प्राप्त गर्न कुशल शासकले कूटनीति, सैन्य बल, शब्द बल (तन्त्र बल) लगायतलाई प्रयोग गर्दथे । शब्दबल (तन्त्र) ले काम गरेको कसैले थाहा पाउँदैनथे । राष्ट्रलाई अप्ठेरो पर्दा राजाले शत्रु राजा, प्रधानमन्त्री वा सेनापतिलाई सिध्याउन विष कन्या पठाउँथे । (सोडारी, हरिप्रसाद, बोक्सीको जिम्मा कसले लिने ?)
यो लिङ्गो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाको बलि चढाइ रूख काटी ल्याउने प्रचलन छ । लिङ्गोमा राख्ने ध्वजा एकजोडी र लिङ्गो ठड्याउने आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।
ज्योतिषशास्त्रले चारवटा सङ्क्रान्तिलाई निकै महत्व दिएका छन् । ती हुन् : मेष (वैशाख), कर्कट (साउन), तुला (कार्तिक), मकर (माघ) । यो सङ्क्रान्तिको आफ्नै विशेषता छ । एक राशिबाट अर्को राशिमा हुने सूर्यको भ्रमणलाई सङ्क्रान्ति भनिन्छ । सोही सङ्क्रान्तिकै नामअनुसार चन्द्र मासको नामकरण गरिन्छ । जुन चन्द्र मासमा सायन मेष सङ्क्रान्ति हुन्छ । अर्थात्, वसन्त सम्पातमा सूर्यगमन हुन्छ त्यसलाई चैत्रमास भनिन्छ । वैशाखादिमासको व्यवस्था यसै सिद्धान्तमा गरिएको छ । यस पद्धतिअनुसार चैत्रमासमा सधैँ वसन्त आरम्भ हुन्छ भने आद्रा नक्षत्रमा वर्षा ऋतु आरम्भ हुन्छ । यसरी ऋतुहरूको क्रम यथावत हुने हुन्छ । ऋतुहरू ६ वटा छन् ः– वसन्त ऋतु (चैत–वैशाख), ग्रीष्म ऋतु (जेठ–असार), वर्षा ऋतु (साउन–भदौ), शरद ऋतु (असोज–कार्तिक), हेमन्त ऋतु (मङ्सिर–पुस), शिशिर ऋतु (माघ–फागुन) ।
ज्योतिषीय महत्व
आकाशमा सूर्य र चन्द्रको आकर्षणले पृथ्वीलाई प्रभाव पार्छ । पृथ्वीको पिण्ड सबैतिर एकनास नभएकोले आकर्षण शक्तिको प्रभाव पनि एकनासले पर्दैन, केही विचलन आउँछ । यसले गर्दा ध्रुव र नाडीवृत्तमा पनि विचलन आउँछ । नाडीवृत्त विचलित भएपछि सम्पात बिन्दु अर्थात् अयन बिन्दुहरू मेष सम्पात तुला सम्पात कर्कट र मकर पनि विचलित हुन्छ ।
अयन बिन्दुको यही विचलनलाई अयन विचलन (Precession of the Equnoxes) भनिन्छ । प्रथम बिन्दु (वसन्त सम्पात) विचलित भएपछि बाँकी तीनवटा बिन्दु (कर्कट, तुला र मकर) सम्पातहरूमा पनि विचलन आउँछ । त्यसैले मकरको आरम्भमा उत्तरायण र कर्कटको आरम्भमा दक्षिणायन हुने बिन्दुमा विचलन आएको देखिन्छ । विद्वान्हरूको विचारमा गतिमा मत भिन्नता भए पनि दिशा भने सबैले पश्चिमतिर सरिरहेको स्वीकारेका छन् । सूर्य सिद्धान्त्त अनुसार यसको गति ५४ विकला हुन्छ भने आधुनिक ज्योतिषीहरूले ५१ विकला जति मानेका छन् ।
भूमध्य रेखाको धरातललाई अनन्त आकाशमा फैलाउँदै लैजाँदा कल्पित खगोल (Celestia Sphere) जहाँ पुगेर काट्छ, त्यसबाट बनेको वृत्तलाई नाडीवृत भनिन्छ । समयको मान यसै वृत्तबाट थाहा हुन्छ । सूर्यको भ्रमण मार्गलाई क्रान्तिवृत्त भनिन्छ । क्रान्तिवृत्त समतलमा १२ राशि २७ नक्षत्र रहन्छन् । नाडीवृत्त र क्रान्तिवृत्त २३.५ को कोण बनाई एक अर्कोलाई दुई ठाउँमा काटेको हुन्छ । यो दुई बिन्दुलाई सम्पात बिन्दु (Equinox) भनिन्छ । यहीँ सम्पात बिन्दुबाट क्रान्तिवृत्तको उत्तरी गोल र दक्षिण गोल छुट्टिने हुनाले यसलाई अयन–बिन्दु भनिन्छ । अयनको अर्थ हो बाटो । उत्तरायणले उत्तरको बाटो दक्षिणायनले दक्षिणको बाटो भन्ने बुझिन्छ । क्र।न्तिवृत्त वक्र भएकोले सूर्य ६ मास उत्तर र ६ मास दक्षिण उदय हुन्छ । यसैलाई उत्तरायण र दक्षिणायन भनिन्छ । सूर्य क्रान्तिवृत्तमा घुम्दै जब यस सम्पात बिन्दुमा आइपुग्छ त्यसबेला दिन र रात बराबर हुन्छ । यस दिनलाई विषुवत् दिन (Equator Day) भनिन्छ । दिन बढ्ने रात घट्ने क्रममा छ भने त्यो सम्पात पूर्वको हुन्छ । यसलाई मेष विषुवत् वा वसन्त सम्पात (Varnal Equorox) भनिन्छ । त्यस्तै, दिन घट्ने रात बढ्ने क्रममा छ भने त्यो सम्पात पश्चिमको हुन्छ । यसलाई तुला विषुवत् वा शरद् सम्पात (Autummal Equinox) भनिन्छ । मेष सम्पात र तुला सम्पातमा सूर्यको प्रवेश हुनुलाई क्रमशः मेष सङ्क्रान्ति र तुला सङ्क्रान्ति भन्ने चलन छ । यस दिनलाई विषुवत् दिन (Equator Day) भनिन्छ । यो समयमा मनाउने जात्रालाई बिस्केट भनिन्छ । विषुवत् शब्द अपभंस भई बिस्केट भएको हो ।
नाडीवृत्त र क्रान्तिवृत्त शब्द अपभ्रंस भई नाग नागिनी भएको हुनुपर्छ । यो विषुवत् रेखा हो, पछि गएर विश्वध्वजा नामले प्रसिद्ध भएको हो । धार्मिक दृष्टिकोणले यो ध्वजालाई भैरव र शक्तिको प्रतीक मानिन्छ । प्रत्येक वर्षको चैत मसान्तमा विश्वनाथ भैरवको प्रतीक (लिङ्गो हात खोलेको) उठाउने र नयाँ वर्ष वैशाख १ गते अर्थात् विषुवत् दिनमा (Equator Day) ढाल्ने गर्छ । यस दिन सूर्यको राशि अंश कला विकला शून्य हुन्छ अर्थात् सूर्य सम्पात बिन्दुमा हुन्छ । एक जोडी ध्वजा लिएर हात खोलेको लिङ्गो भन्नाले दिन रात बराबर भन्ने बुझिन्छ । अर्थात् सूर्य नाडीवृत्त र क्रान्तिवृत्त हुँदै सम्पातमा बिन्दुमा प्रवेश हुन्छ ।
ज्योतिषशास्त्रले विषुवत् दिनलाई निकै महत्व दिएका छन् । प्रत्येक स्थानको समयको मान यसै दिन थाहा हुन्छ । विषुवत् दिन मध्याह्न १२ बजे, १२ अंगुलको एउटा शंकु अर्थात् सलाईको काटी समतल भूमिमा खुला स्थानमा गाड्ने । यसको दुवैतर्फ ९०–९० अंशको कोण हुनुपर्छ । ठीक मध्याह्न १२ बजे त्यस शंकुको जति छायाँ पर्छ त्यसलाई अङ्गुल व्याङ्गुलमा नाप्ने गरिन्छ । सो नाप ६ अङ्गुल ४० प्रत्यङ्गुल हुन्छ । यही नाप त्यस स्थानको पलभा हुन्छ । समयको मान यसै शंकुबाट थाहा हुन्छ । यसैको आधारमा बिस्केट जात्रा मनाएको हो ।
कुनै बेला वसन्त सम्पात बिन्दु मेष राशिको आदिमा नै पर्दथ्यो तर स्थिर नक्षत्रको सापेक्षतामा प्रतिवर्ष सर्दै, अहिले २३.५ जति पछाडि सरिसकेको छ यही मेषादी र वसन्त सम्पातको अन्तरलाई अयनांश भनिन्छ ।
निरयण–सायन–मान सूर्यले ३६० अंश अर्थात् १२ राशि भोग गरेपछि एक वर्ष पूरा हुन्छ । यसको लागि लाग्ने समय ३६५ दिन १५ घडी ३१ पल ३० विपल उल्लेख छ । स्थिर नक्षत्रका आधारमा वर्षमान निर्णय गरिने भएकोले यसलाई नक्षत्र सौर वर्र्ष (Sidereal Solor year) भनिन्छ ।
किंवदन्तीअनुसार किराँती राजाको एक अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी मात्र थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरे पनि सफल भएन । त्रेतायुगमा पनि सीता विवाह र द्वापर युगमा द्रौपदी विवाहको लागि जनक राजा र द्रौपद नरेशले पनि धेरै प्रयास गरेका थिए भन्ने कुरा पुराणमा वर्णन गरेको पाइन्छ ।
किराँती राजाले आफ्नो छोरी विवाह गर्ने व्यक्तिलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए । राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना व्यक्तिले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनुपरेका थिए । जसले गर्दा राजाले छोरीको शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाट पु¥याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो । एक दिन एक राजकुमार हनुमन्ते खोला हुँदै जाँदा वृद्ध तान्त्रिकसँग भेट गरी सम्पूर्ण रहस्यमय कुरा थाहा पाई राजकुमारले विवाह प्रस्ताव राख्न राजदरबार गए । राजाले प्रस्ताव स्वीकार गरे । राजकुमारी सँगै बसेका राजकुमार रातभरि जाग्राम बसी राजकुमारीको नाकबाट निस्केका नागनागिनीले राजकुमारलाई डस्न खोज्दा तरबारले दुई टुक्रा पारेपछि मृत्युबाट बचे । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । राजकुमारीसँग बिहे गर्न सफल दिन र सर्प अन्त्येष्टिको सम्झनामा बिस्केट जात्रा मनाउन थालिएको किंवदन्ती छ ।
टौमढी टोलको प्रसिद्ध भैरवको किंवदन्तीअनुसार लिच्छविकालमा चलाएको प्रसिद्ध जात्रा (लिङ्गो जात्रा) हेर्न आएका कासीको भैरवलाई यहाँका प्रसिद्ध तान्त्रिकले भैरवनाथलाई भक्तपुरमै स्थायीरूपमा राख्न खोजे । विश्वनाथ भैरवलाई सहकालका देवता मान्छन् । त्यसैले तात्कालीन तान्त्रिकले मन्त्रबलद्वारा समाउन खोज्दा भैरवले चालपाई भाग्न खोज्दा, शिरच्छेदन गर्न पुगेछन् । भैरवनाथको छिनिएको शिर भुईँमा खसेर गुडेर केही पर गएर अडियो । शिरविहीन विश्वनाथ कासी फर्कनुभो भने यता भक्तपुरमा तान्त्रिक विधिपूर्वक उनको शिरलाई स्थापित गरियो ।
नेपाल प्राचीनकालदेखि तन्त्रप्रधान देशको रूपमा परिचित हुँदै आएका छन् । प्राचीन समयमा तान्त्रिक पद्धतिअनुसार नै यो देशलाई सुरक्षित गरेका थिए ।
नेपाल तपभूमि र शक्ति साधनाको लागि बहुपयुक्त देश हो । नेपाल शैवधर्मको प्रमुख केन्द्र पनि हो । पुराणहरू तथा महाभारत ग्रन्थ हेर्दा नेपालमा शैवधर्म प्राचीनकालदेखि चल्दै आएको पुष्टि हुन्छ । त्यसैले भक्तपुरको हरेक धार्मिक, सांस्कृतिक र संस्कारगत कर्महरूमा शिवशक्तिको प्रधानता पाइन्छ । जस्तैः– बिस्केट जात्रा, भाद्र शुक्ल पूर्णिमा पछि चौथीको दिन ल्याउने पुलुको भैरव, गाईजात्रामा ल्याइने परालको भैरव अजिमाको प्रतीक ताहासा, सिलुमहादेव जाने चलन आजसम्म छ । त्यसैले शिव शक्तिको प्रधान्य यो देशमा छ ।
हुन त कुनै पनि जात्रा पर्व वा संस्कृति मानव जीवन चक्रबाट मोक्षप्राप्त गर्ने धार्मिक प्रयाण हो । किनभने भैरवनाथको रथ तान्दा हपको बोलीमा ह……से हुन्छ । ह…….से श्वास प्रश्वासको आरोह अवरोहको प्राकृतिक प्रक्रिया हो । यसलाई एक प्रकारको मन्त्र भन्न सकिन्छ । जात्राको हप ह…….से सत्यम, आनन्दमय शिवमय, ज्योतिर्मय एवम् शाश्वत् भनिन्छ । यो कुरा गरुड पुराणमा वर्णन गरेको पाइन्छ ।
यस जात्रामा गाइने विरहको गीत, थ थीं जा गु र स रं ग तो ल ता व……..राम हा…..। यो गीतलाई धातु राग भनिन्छ । यो गीतको रचनाकार राजा रणजित मल्ल हुन् । (स्रोत – मल्लकालीन संस्कृति र ज्योतिष विज्ञान)
Leave a Reply