भर्खरै :

यमनमाथि बमबारी युद्धतर्फ एक पाइला

यमनमाथि बमबारी युद्धतर्फ एक पाइला

विश्वका सबैजसो मुलुकविरुद्ध ‘जवाफी भन्सार’ लगाएर ट्रम्पले सट्टाबजारमा ठुलो भुइँचालो ल्याएका छन् । तर, मध्यपूर्वमा ट्रम्पले छोडेको अर्को प्रेत अझै भयानक छ । यमनमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको हवाइ हमलाले मध्यपूर्वको तनावपूर्ण वातावरण गिजोल्दै छ ।
प्यालेस्टिनप्रति ऐक्यबद्धता जनाउँदै (इरानको आडमा) हुथी विद्रोहीहरूले लालसागर पुग्ने पश्चिमा जहाजहरूमाथि हमला गरिरहेका छन् । यसलाई रोक्न फेरि एकचोटि वासिङटनले इजरायलको पक्षमा यमनमाथि दनादन बमबारी गर्न थालेको छ । (गहिरो गरी हेर्ने हो भने यो अमेरिकी युद्ध उद्योगलाई खुसी पार्ने मेलो पनि हो ।) शान्ति बहाल गर्ने वा विश्व व्यापारको रक्षा गर्ने उद्देश्य यसमा छँदै छैन । बरु, यो सैन्य कारबाहीले संरा अमेरिकालाई इरानसँगको प्रलयकारी युद्धमा डोहो¥याउने जोखिम छ । यो द्वन्द्व चर्किएको भने त्यो अमेरिकाको हितमा हुने छैन । खालि तेल अभिभ र वासिङटनका युद्धपिपासुहरूको हड्डी हाँस्नेछ । अमेरिकी युद्ध उद्योगका मालिकहरू रमाउनेछन् ।
मध्यपूर्वको दलदलमा नफस्ने ट्रम्पको घोषित अभियान हावादारी बन्न थालेको छ । युद्धपिपासुहरूले स्थिति युद्धतर्फ मोड्दै छन् । आफैले दिएको वचन उल्ट्याएर ट्रम्पले विश्वासघात गर्दै छन् । यमनमाथिको बमबारी यो वर्षकै भयानक हमला हो । यसबाट सैन्य कारबाहीमा होमिने अमेरिका सरकारको तत्परता उजागर हुन्छ । भर्खर बाहिर आएका केही गोप्य सन्देशबाट अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र अन्य उच्च अधिकारीले यमनमाथिको बमबारीबाट उत्साहित भएको खुलासा भएको छ । बम बर्सिन थालेपछि भान्सले ‘विजयको कामना गरे’ । हुथीहरूको मृत्युमा अन्य उच्च अधिकारीहरूले मान्छेका मुक्का, झन्डा र आगो जस्ता इमोजी देखाएर खुसी जाहेर गरेका थिए । ट्रम्पले इरानलाई धम्की दिइरहेको बेला यस्तो चुरिफुरि देखिनु मध्यपूर्वमा हात नहाल्ने उनको वचनभन्दा ठीक उल्टो वा मुठभेडको उत्ताउलो पूर्वसङ्केत हो ।
अमेरिकी आँखाबाट हेर्दा यो बमबारीकै स्थिति फेरिने छैन । शिकागो विश्वविद्यालयका प्रोफेसर जोन मेर्सहाइमरले एक अन्तर्वार्तामा भने, “ट्रम्पले हुथीहरूमाथि जतिसुकै बमबारी गरे पनि अन्त्यमा परिणाम उही हुनेछ – हुथीहरू डटिरहनेछन् ।”
यमनमाथिको बमबारी खालि लालसागरमा जहाजको बाटो निकाल्ने उद्देश्यले गरिएको होइन । एक खुलासाअनुसार भान्सले भने, “स्वेज नहरबाट अमेरिकाको व्यापार हुने ३ प्रतिशतमात्र हो । त्यहाँबाट युरोपले ४० प्रतिशत व्यापार गर्छ । तपाईँहरू हामीले नै गर्नुपर्छ भन्नुहुन्छ भने गरौँ । तर, युरोपलाई फेरि एकपल्ट फोकटमा गुण लगाउने कुराप्रति मलाई घृणा छ ।”
यो कुरा उनले अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जलाई भनेका थिए ।
खासमा यो आक्रमण बढी त इजरायलको लागि हो । गाजामा युद्धविराम हुँदा केही समयलाई हुथीहरूले आक्रमण रोकेका थिए । तर, इजरायलले गाजामा राहत सामग्री पठाउन नाका बन्द गरेपछि हुथीहरूले आक्रमण सुचारू गरेका थिए । वासिङटनले इजरायललाई गाजाको नाकाबन्दी हटाउन भन्नुपथ्र्यो । त्यसले गर्दा सो क्षेत्रको तनाव पनि मत्थर हुने थियो । तर, वासिङटनले बमबारीको बाटो रोज्यो र मध्यपूर्वमा आगो लगाउने तेल अभिभको प्रयासमा घिउ थप्यो ।
राष्ट्रपति ट्रम्पले हुथीहरूको गतिविधिको लागि इरानलाई ‘पूर्ण जवाफदेही’ बनाउने धम्की दिएका छन् । उनको सरकारले केही वरिष्ठ हुथी नेताहरूलाई तारो बनाइरहेको छ । यसबाट तिनको निहीत अभीष्ट थाहा हुन्छ । तेहरानलाई भड्काउनु र अमेरिका–इजरायलको थप ठुलो सैन्य कारबाहीलाई उचित ठह¥याउनु नै अमेरिकाको भित्री उद्देश्य हो । इराकदेखि लिबियासम्म, आक्रमण गर्नुअघि अमेरिकाका नवरुढीवादी र उदारवादी सरकारले यसरी नै भड्काउने चाल चल्थे । लडाइँका कारण ती मध्यपूर्वी देशमा ठुलो विध्वंस मच्चियो । छोटो समयका लागि पश्चिमाहरू ‘विजयी’ भए पनि त्यसले दीर्घकाललाई गञ्जागोल निम्त्यायो ।
यमनमा अमेरिकी आक्रमणका कारण धेरै जनताले ज्यान गुमाएका छन् । यमनको मानवीय कष्ट झन् बढेर गएको छ । यसै पनि यमन वर्षौँसम्मको युद्धले थल्लिएको थियो । ‘युनिसेफ’ ले ‘उत्तरी साअदामा भएको बमबारीमा परेर ६–८ वर्ष उमेर समूहका कम्तीमा तीन बालक मारिएको’ पुष्टि गरेको छ । जनजाति समूहले युद्धको मार खेप्नुपरेको छ । त्यस्तै, हुथी मिडियाले इब जिल्लामा पर्ने काजाको मानव बस्तीमा अमेरिकाले गरेको बमबारीमा १५ जना मारिएको बताएको छ । मर्नेहरूमा धेरैजसो रैथाने आदिवासी समुदायका महिला तथा बालबालिका छन् । राहतको क्षेत्रमा काम गर्ने सिद्दीक खानले ‘द गार्जियन’ लाई भने, “पछिल्लो बमबारीले यसै पनि घिटीघिटी चलिरहेको मानवीय सहायता पु¥याउने कार्यमा धक्का पुगेको छ ।” बमबारीका कारण बन्दरगाह र सडकजस्ता जीवनदायी पूर्वाधार ध्वस्त हुनाले यस्तो धक्का पुगेको उनले बताए ।
इरानले ट्रम्पको आणविक सम्झौता–वार्ता अस्वीकार गरेको छ । कूटनीतिको आवरणमा करकापको अमेरिकी नीति बुझेर उसले त्यसो गरेको बुझिन्छ । यमनमा अमेरिकाले मात्र होइन, इजरायलले पनि बमबारी गर्दै छ । यसले तेहरानको बुझाइ थप सही देखिन गएको छ । अमेरिका र इजरायलले लडाइँको लागि कम्मर कसेको देखेर झन्झन् च्यापिँदै गएको इरानले सिधै वा बिचमा कसैलाई राखेर जवाफ दिन सक्छ । त्यो स्थितिमा द्वन्द्व चरमचुलीमा पुग्नेछ । त्यसपछि विश्वको ऊर्जा बजार अस्थिर बन्नेछ, व्यापार बिथोलिनेछ र अमेरिका फेरि अर्को अन्त्यहीन युद्धमा फस्नेछ । यसबिच इजरायल भने आफ्नो रणनीतिक शत्रुलाई अमेरिकी बारुदले घाइते पार्नेछ ।
अर्कोतिर, इरानसँगको द्वन्द्व वा मध्यपूर्वमा द्वन्द्व फैलियो भने अमेरिकी रक्षा उद्योगहरूको लागि वरदान सबित हुनेछ । राष्ट्रपति ट्रम्पले धेरै ठाउँमा शत्रु बनाएका छन् । त्यसैले, युद्धको बेला उनी ती क्षेत्रलाई ‘खुसी पार्न’ बाध्य हुन सक्छन् किनभने तिनीहरू अमेरिकी स्थायी सरकार (डिप स्टेट) का हिस्सा हुन् ।
यसका ऐतिहासिक नजिर पनि छन् । इराक युद्धको बेला (सन् २००३–२००७) हतियार कम्पनी ‘लकहीड मार्टिन’ को सेयर मूल्य १५० प्रतिशत बढेको थियो । सोही अवधिमा अर्को कम्पनी नर्थरोप ग्रुमानको सेयर मूल्य १२० प्रतिशत बढेको थियो । यमनमाथि ट्रम्पले आक्रमण गरेपछि (टोमाहक मिसाइल बनाउने) रक्षा उद्योग ‘रेथियन’ र (युद्धपोत आपूर्ति गर्ने) जनरल डाइनामिक्स मालामाल हुँदै छन् । सन् २०२५ का लागि पेन्टागनको बजेट ८५० अर्ब डलर हुने प्रक्षेपण गरिएको छ । नयाँ युद्ध भयो भने त्यो बजेट अझ बढ्नेछ । इरानको आणविक कार्यक्रम र हुथी आक्रमणको निहुँमा यो नयाँ युद्ध हुने देखिन्छ । विभिन्न विश्लेषक, पत्रकार तथा आलोचकहरूले प्रायः भनेको सुनिन्छ – हतियार कम्पनीहरू लडाइँकै बेला मोटाउँछन् । किनभने, यसबेला स्थिर रहने राजस्व र सेयर मूल्य ती कम्पनीको लागि उत्प्रेरक बन्छ ।
यसरी ट्रम्पमाथि रक्षा क्षेत्रको प्रभाव बढ्न सक्छ । रक्षा उद्योगले (हवाई क्षेत्र र प्रतिरक्षा गरेर) झन्डै २० लाख अमेरिकीलाई रोजगारी दिन्छ । प्रतिवर्ष यी उद्योगहरूले १० करोड डलर रकम सरकारका उच्च अधिकारीलाई घुस खुवाउँछन् । अमेरिकामा यसलाई ‘लबिङ बजेट’ भनिन्छ । सन् २०२४ मा मात्र लकहीड मार्टिन र बोइङले रिपब्लिकनहरूको चुनाव प्रचारमा पैसाको खोलो बगाएको थियो । यिनीहरू सबै ट्रम्पको वरपर नाचेका थिए । पिट हेगसेथजस्ता मुख्य मन्त्रीहरू यमनमा युद्धको पक्षमा जमेर लागेका छन् ।
रक्षामा खर्च गर्दा घरेलु अर्थतन्त्रमा आउने बढोत्तरीले ट्रम्पको मन मोड्न सक्छ । हुथीहरूको निहुँमा गरिएको आक्रमणले इरानसँग युद्धको रूप लिएको खण्डमा अमेरिकाको कुल गार्हस्थ उत्पादन ०.५ देखि १ प्रतिशतसम्म बढ्न सक्छ । यसअघिका युद्धहरूको अध्ययन गरेर पाउल क्रुगमेनजस्ता अर्थविद्ले यस्तै आँकडा निकालेका छन् । यसलाई सैन्य किन्सवाद भनिन्छ ।
ट्रम्पका बहुमत मतदाता ‘सधैँको युद्ध’ ले वाक्कदिक्क छन् र देशलाई अलग्गै राख्नुपर्ने विचार राख्छन् । चुनावी प्रचारको क्रममा उनले देशलाई मध्यपूर्वको दलदलबाट टाढै राख्ने वाचा गरेका थिए । अर्को समस्या – इरानसँग ठुलो आकारको द्वन्द्व भएको खण्डमा तेलको भाउ अकासिनेछ । त्यो स्थितिमा उपभोक्ताहरूमाथि बज्रपात हुनेछ र पछिल्लोपल्ट भन्सार बढाएर बचाएको रकम स्वाहा हुनेछ । रक्षा उद्योगका मालिकहरूले ट्रम्पलाई रोजगारी पैदा गर्ने र सट्टाबजार फस्टाउने लोभ देखाउन दबाब दिन सक्छन् । तर, ट्रम्पको मनोदशा अस्थिर छ । घरेलु उपलब्धिमा रमाए भने उनी ठुलो युद्ध गर्नबाट जोगिन पनि सक्छन् ।
तैपनि, प्रश्न उठ्छ – हुथीहरूमाथिको आक्रमण तीव्र हुँदै छ त ? यहाँ राजनीतिक हिसाबले धेरै मूल्य नचुकाएरै रक्षा उद्योगले उच्च नाफा लिन सक्छ । हतियार उद्योगहरू युद्ध चर्काउने पक्षमा छन् । उनीहरूले हाँसीहाँसी ट्रम्पलाई उक्साउने छन् । तर, आक्रमण चर्केको खण्डमा ठुलो अनिष्ट आउन सक्छ । सन् २०२२ यता संसारले यस्तै विनाश र विध्वंस भोगिरहेको छ ।
(लेखक डा. आराहो अन्तर्राष्ट्रिय र जातीय द्वन्द्वमा विशेष दखल राख्छन् । पेसाले उनी मानवशास्त्रका अनुसन्धानकर्मी हुन् । )

स्रोत : ग्लोबल रिसर्च
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *