भर्खरै :

देशको समुन्नत विकासको लागि जनतामा सही राजनीतिक चेतना हुनुपर्ने

देशको समुन्नत विकासको लागि जनतामा सही राजनीतिक चेतना हुनुपर्ने

भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट सुरु भएको बिस्का जात्रा र नयाँ वर्ष २०८२ को शुभकामना ¥याली टौमढीमा पुगी सभामा परिणत भयो ।
टौमढीमा भएको शुभकामना सभामा अतिथि सांसद सुवालले राजनीति निःस्वार्थरूपले देश र जनताको सेवाको लागि होे र देशको सम्मुनत विकासको लागि जनतामा राजनीतिक चेतना हुनुपर्छ भन्नुभयो । उहाँले आधुनिक युगमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भक्तपुरको पहिचान बोकेको मूर्त तथा अमूर्त सम्पदाहरूसँग सम्बन्धित बिस्का जात्रा संसारभरिका स्वदेशी तथा विदेशी पर्यटकहरूले समेत प्रत्यक्ष हेर्ने भएकाले जात्रा सभ्य र सुसंस्कृतरूपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
सांसद सुवालले सरकारले देशको सन्तुलित विकास गर्न, विदेशबाट भित्रिने रेमिट्यान्सको भर नपरी स्वदेशमा आफ्नो श्रम र सीप उपयोग गरी कार्य गर्नसक्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै देशको अर्थतन्त्र जोगाउन कालोबजारी नियन्त्रण गर्न जनता सजग हुनुपर्ने चर्चा गर्नुभयो ।
“भक्तपुर नघुमे संसारका आधा भाग नघुमे सरह हुन्छ ।” भनी विभिन्न समयमा भक्तपुर भ्रमण गर्ने विद्वानहरूले उल्लेख गरेको स्मरण गर्दै भक्तपुरको सम्पदा र संस्कृतिअन्तर्गत परम्परादेखि चलिआएको बिस्का जात्रालाई सबै मिली कुनै अवरोधबिना जात्रा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा मर्यादितरूपमा मनाउन चैत १४ र १९ गते सम्बन्धित सरोकारवालाहरूको बैठक बसी आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिँदै बिस्का जात्रामा हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरूले प्रत्यक्ष अवलोकन गर्न आउने तथा विभिन्न सञ्चारमाध्यमबाट विश्वभरका नागरिकहरूले प्रत्यक्ष हेर्ने हुनाले जात्रालाई मर्यादित, व्यवस्थित र सभ्य बनाउनु नगरवासी सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
भक्तपुर सांस्कृतिक नगरका साथसाथै जीवित सङ्ग्रहालयको संसारभर परिचय दिन सफल भएको चर्चा गर्दै उहाँले सन् २०२३ मा नेपाल भ्रमणमा आएका मध्ये २५ प्रतिशतले भक्तपुर नगरको भ्रमण गरेको बताउनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गरेको पनि उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ¥यालीमा उपस्थित जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कूल कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, सुरक्षाकर्मी तथा नगरवासीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भैरवनाथको रथ वास्तुकला, भूकम्पीय, सामाजिक, ट्राफिक र स्ट्रक्चर गरी ५ वटा इन्जिनियरिङको बेजोड नमुना भएको बताउँदै बिस्का जात्राको मुख्य आकर्षणको रूपमा आजबाट रथ तान्ने जात्रालाई सभ्य, भव्य र सुरक्षितरूपमा मनाउन सम्पूर्ण नगरवासीहरूको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बिस्का जात्राको माध्यमबाट अन्तर्राष्ट्रिय समुदायमा भक्तपुरको परिचय दिइरहेको गौरवको जात्रा भएको बताउँदै बिस्का जात्राजस्तो अमूर्त सम्पदालाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको तर्पmबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै जात्रालाई व्यवस्थित र मर्यादितरूपमा सञ्चालनको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा गुठी संस्थान, भक्तपुर शाखाका प्रमुख खिमा ओलीले गुठी संस्थान, भक्तपुरले चैत २८ गते दिनको ३ बजेको समयमै जात्रा सुरु गरी जात्रालाई सफल बनाउन पुजारी, नाइके तथा नगरवासीहरूको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले समय सँगसँगै बिस्का जात्रा पनि सुधारोन्मुख हुँदै आएको उल्लेख गर्दै प्रसिद्ध बिस्का जात्रा सम्पन्न गर्न आवश्यक दुवै रथ निर्माण सम्पन्नपश्चात् जनसमुदायलाई हस्तान्तरण गर्नका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । रथ तान्ने चलनअनुसार माथि र तलको टोलमा रहेका समुदायले तान्ने भनी तोकिएको दिनमा तोकिएअनुसार नै तानी जात्रालाई भव्य, सभ्य, अनुशासित र मर्यादित तरिकाले सम्पन्न गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *