भर्खरै :

छिकोङको शुभकामना कार्यक्रम सम्पन्न

छिकोङको शुभकामना कार्यक्रम सम्पन्न

भक्तपुर, २९ चैत । भनपा वडा नं. ६ छेकोङ व्यवस्थापन समितिको आयोजनामा नयाँ वर्ष २०८२ र बिस्का जात्राको उपलक्ष्यमा नेमकिपाका सचिव तथा प्रतिनिधिसभा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले मजदुरवर्गका गुरू माक्र्सका परिवार जेनीले माक्र्सका लेखहरू सारेर र शुद्धाशुद्धी गरेर आमूल परिवर्तनको लागि सेवा गर्नुभएको र लेनिनका परिवार क्रुप्सकायाले लेनिनको सालिकभन्दा देशभरि विद्यालय खोल्न सुझाउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजित मल्लका छोरासँग मित लगाएर काठमाडौँ उपत्यका कब्जा गरी मितघात गरेका थिए । पृथ्वीनारायण शाहले रणजित मल्लका बाहिर राखेका रानीका छोराहरूलाई हातमा लिएका थिए । रामायण कथामा पनि रामचन्द्रले रावणका भाइ विभीषणलाई हातमा लिएर रावणलाई हराएका थिए । अहिले काठमाडौँ उपत्यकावासीहरूको जग्गा जमिन बिक्री बढिरहेको देश र जनताको हितमा छैन ।”
पुरूषलाई भन्दा महिलालाई ४०–४२ थरी थप रोग लाग्ने खतरा भएकोले महिलाले बरोबर स्वास्थ्य परीक्षण गराउनु जरुरी भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “करोडौँ युवालाई विदेश पठाएर नेपालको विकास हुनेछैन । सरकारले युवालाई देशभित्र रोजगारी दिनु आवश्यक छ ।”
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका गतिविधिहरूबारे जानकारी गराई बिस्का जात्रामा स्वस्थ खानपिनमा ध्यान दिन सुझाउनुभयो ।
कार्यक्रममा गोपीकृष्ण चाँगुभारी, वीरेन्द्र सुवाल र सानुमैया बजिकोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *