भर्खरै :

६ महिने आधारभूत सिलाइ, बुटिक र कपाल काट्ने प्रशिक्षणको प्रमाणपत्र वितरण

६ महिने आधारभूत सिलाइ, बुटिक र कपाल काट्ने प्रशिक्षणको प्रमाणपत्र वितरण

भक्तपुर, २९ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको ६ महिने आधारभूत सिलाइ, बुटिक र कपाल काट्ने प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा विशेष जोड दिँदै आएको बताउँदै ऐतिहासिक बिस्का जात्रा भक्तपुरको गौरव रहेकोले संयमित भएर जात्रा पर्व मनाउनुपर्ने बताउनुभयो । उहाँले वर्तमान समयमा भक्तपुर शैक्षिक गन्तव्यस्थलको रुपमा रहेको चर्चा गर्दै भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको स्थापनाको निम्ति सङ्घर्ष गर्दै गरेको समेत बताउनुभयो ।
बदलिँदो राजनैतिक परिवर्तनसँगै देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको उल्ले गर्दै उहाँले जनताको अवस्था परिवर्तको लागि समाजवादी गणतन्त्र आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति, महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक एवं कार्यपालिका सदस्य रोशनमैया सुवालले भक्तपुर नगरपालिकाले युवा तथा महिलाहरूलाई सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
आधारभूत सिलाइ तालिममा प्रशिक्षक धर्मलक्ष्मी लघुले भक्तपुर नगरपालिकाले वि.सं. २०४४ सालदेखि नै तालिम सञ्चालन गर्दै आइरहेको स्मरण गर्दै तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
समितिका सदस्य एवं कार्यपालिका सदस्य छोरीमैया सुजखुले निर्वाचनमा प्रतिबद्धता गरेको घोषणापत्रबमोजिम नगरवासीहरू सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
प्रमुख अतिथि जोशीले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा ४ नं वडा महिला सदस्य विष्णुकेशरी दुवाल र ८ नं वडा महिला सदस्य सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *