भर्खरै :

सिद्धि गणेश साकोसमा रञ्जना लिपि तालिमको समापन

सिद्धि गणेश साकोसमा रञ्जना लिपि तालिमको समापन

भक्तपुर, २९ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा नेपालभाषा रञ्जना लिपि तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्था सदस्यहरूको हरेक वित्तीय समस्याको समाधान गर्ने परिकल्पनाका साथ अघि बढिरहेको उल्लेख गर्दै संस्था समुदायमा आधारित भई समुदायको हित र विकासका लागि निरन्तर लागिरहेको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरूलाई दक्ष बनाउन निरन्तर सीपमूलक, क्षमता अभिवृद्धि तथा आयमूलक तालिम सञ्चालन गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति, संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रमेश दुमरुले यातु गणेश सेवाकेन्द्र संस्थाका पूर्वी भेगका सदस्यहरूको सेवाको लागि स्थापना भएको बताउँदै सहकारी संस्थाहरूले आर्थिक कारोबारमा मात्र सीमित नभई सदस्यहरू एवं समाजको विकास हुने कार्यमा पनि जोड दिनुपर्छ भन्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले सहकारी क्षेत्रको विकासका लागि संस्थाका सञ्चालक र कर्मचारीले मात्र नभई सदस्यहरूले पनि सहकारीसम्बन्धी जारी भएको संशोधित ऐन, नियमावली, निर्देशन तथा मापदण्डसम्बन्धी जानकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक किशोर गोसाईले जुनसुकै तालिममा प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता हुँदा प्रशिक्षक पनि उत्साहित र प्रेरित हुने बताउनुभयो । उहाँले शिलालेख तथा अन्य नेपालभाषाका किताबहरूमा रञ्जना लिपिभन्दा प्रचलित लिपिको बढी प्रयोग हुने जानकारी दिँदै तालिममा सिकेका ज्ञान अरुलाई पनि सिकाए मात्र तालिम सफल हुने बताउनुभयो ।
उपसमितिका सदस्य कमल कोजु, संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत विमल लवजु र प्रशिक्षार्थी अम्बिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *