भर्खरै :

झीगु ख्वप साकोसमा शुभकामना आदान प्रदान

झीगु ख्वप साकोसमा शुभकामना आदान प्रदान

भक्तपुर, २९ चैत । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. गोमारीको आयोजनामा बिस्का जात्रा तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले बिस्का जात्रा हामी सबै नेपालीको मौलिक साझा भएकोले सद्भाव कायम गर्दै शान्तिपूर्वक जात्रा सम्पन्न गर्नुपर्ने औँल्याउनुभयो ।
अघिल्लो पुस्ताले गरेका सङ्घर्षको अपनत्व नयाँ पुस्तामा दिन नसके हाम्रो पछिल्लो पुस्ताले दुःख पाउने धारणा राख्दै उहाँले अहिलेको सरकारले देशको अर्थतन्त्र बलियो बनाउने उद्योग कृषि, जलविद्युत् तथा व्यापार व्यवसाय विकास गर्ने विषयमा चासो नै नदिएको हुँदा देशको आर्थिक अवस्था कमजोर हुँदै गएको बताउनुभयो ।
अतिथि कवांले सहकारी संस्थाहरू सहकारीको सिद्धान्त तथा मूल्यमान्यताअनुसार सञ्चालन नगरिएको कारण भाग्नुपर्ने अवस्था आएको धारणा राख्दै सहकारीलाई वित्तीय रूपमा मात्र नभई सामाजिक जनजीवन, संस्कार र संस्कृतिसम्बन्धी छलफल गर्ने थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले समुदाय लक्षित सहकारी कार्यक्रमहरू वार्षिक कार्यतालिका बनाई सञ्चालन गर्नुपर्ने धारणा राख्दै सहकारीका पदाधिकारीहरू स्वयम् पारदर्शी हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद कवांको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सल्लाहकारद्वय नाति कवां, लक्ष्मीभक्त कवां तथा उपाध्यक्ष पुण्यराम कवां, सचिव आशाकुमार चिकंबन्जार, कोषाध्यक्ष विष्णुप्रसाद किसी,लेखा संयोजक अनिता सिंंख्वाल र व्यवस्थापक तुल्सीराम ग्वाछाले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *